२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

वडा कार्यालय पुग्नै ६ घण्टा पैदल

इलामका ८१ वडामध्येको त्यो दुर्गम हो चुलाचुली–६ साकफारा, जहाँ वडा कार्यालय पुग्न नै आसपासका बासिन्दाले ६ घण्टा पैदल यात्रा गर्छन्
विप्लव भट्टराई

इलाम — इलाम सम्झनेहरूको मगजमा आउँछ कान्लैकान्लामा हरियो चियाबारी, पहाडैपिच्छे घुम्ती काटेर बनाइएका चिल्ला सडक । चियाबारीको यो जिल्लामा सबै ठाउँ सुगम मात्र छैन । यस्तो बस्ती पनि छ जहाँ अझैसम्म न बाटो पुगेको छ न त बिजुली ।

वडा कार्यालय पुग्नै ६ घण्टा पैदल

इलामका ८१ वटा वडामध्येको त्यो दुर्गम हो चुलाचुली–६ साकफारा । यहाँ वडा कार्यालय नै पुग्न पनि आसपासका बासिन्दाले दिन माया मारेर कम्तीमा ६ घण्टा पैदल यात्रा गर्नुपर्छ । आधा बस्ती तराई र आधा पहाडी भूभागमा छ ।

मोरङ सीमावर्ती तोरीबारी र गाउँको सिरान दशमीमा वडा कार्यालय राखिएको छ । तर, बीच गाउँका बासिन्दाका लागि दुवैतिर पुग्न उत्तिनै धाउनुपर्छ । सडक नहुँदा सरकारी सेवा पाउन निकै सास्ती छ । कसैसँग रिस उठ्दा ‘साकफारा पुर्‍याइदिउँला’ भन्ने चलन छ । कारण हो, पूर्वाधार विकास नहुँदा फेरिन नसकेको उक्त बस्ती ।

साकफारा गाउँ पाँचथरको मिक्लाजुङ गाउँपालिका र मोरङको रमितेखोला र मधुमल्लासँग सीमा जोडिएको छ । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै चुरेको

अप्ठ्यारो भूभाग छिचोलेर साकफाराको फुङनाम पुगिन्छ । तराईसँगको सीमा मुस्किलले १२/१३ किलोमिटर वरपर भए पनि यहाँ सडक सहज हुने छाँट छैन । ‘समस्या देखेरै अहिले फुङनाममाथिको गाउँमा अर्को कार्यालय खोलेर वडाको सेवा दिने तयारीमा छौं,’ चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भने, ‘ठूलो र कठिन भू–बनोटका कारण साकफारा क्षेत्रवासीलाई असुविधा छ । वडाको सेवा ३ वटा केन्द्रबाट दिने व्यवस्था गर्दै छौं ।’ यो वडाको जनसंख्या ३ हजार २ सय ७० छ ।

सडकको आसैआसमा गाउँलेको पुस्तौं बितेको छ । पिठ्युँमा भारी र थाप्लोमा नाम्लोको डामले कहिले नछाडेको गाउँलेको पीडा बिरामी हुँदा अझ दयनीय बन्छ । फुङनाम र आसेटारवासीले पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ टाँडीको साखरे हुँदै, पूर्वबाट मावा खोलैखोला पैदल हिँडेर मधुमल्ला बजार र चुलीको बाटो भएर तराईका हस्पिटल पुग्नुपर्छ । ‘आकस्मिक घटना र डेलिभरी हुँदा ठूलो समस्या छ,’ फुङनामस्थित सामुदायिक स्वास्थ्य एकाइकी अनमी रेखा खनालले भनिन्, ‘कम्तीमा बर्थिङ सेन्टर भइदिए यहाँकाले ठूलो राहत पाउने थिए ।’ उक्त इकाइमा २ जना मात्र रहेको र कार्यालयको सञ्चालनदेखि ओपीडी, खोप, गाउँघर क्लिनिक, गर्भवती, सुत्केरी जाँच, ज्येष्ठ नागरिक जाँचलगायत काम गर्नुपर्दा थप समस्या भएको उनको भनाइ छ । यो स्थानमा अझै पनि घरमा नै सुत्केरी गराउने चलन छ । गाउँका कम्तीमा १० प्रतिशत मात्र अन्यत्र अस्पताल गएर सुत्केरी गराउने गरेको स्थानीय बताउँछन् । बर्खायाममा त तराईका सहरमा कोठा नै लिएर बस्नुपर्ने अवस्था भएकाले थोरै मात्र अस्पतालसम्म पुग्ने गरेका हुन् । वडाको दशमीमा स्वास्थ्य केन्द्र छ भने तोरीबारीमा गाउँघर क्लिनिकले स्वास्थ्य सेवा दिइरहेको छ ।

स्थानीयले यातायातका लागि पहल नगरेका होइनन् । पहिले मावा खोलैखोला हिउँदयाममा गाडी चल्थे । बर्खा लाग्नासाथ बाटो बगाएर लैजाने भएपछि उनीहरूले चुरेमा खोलेको ट्र्याकलाई विकास प्राथमिकतामा राखेका छन् । गाउँ पुग्ने आधा भागसम्म बलजफ्ती यातायातका साधन चलाउने गरिए पनि यात्रा जोखिमपूर्ण हुने गरेको छ ।

सुगम जिल्ला इलामको दुर्गम क्षेत्र साकफारा सदरमुकामबाट सबैभन्दा टाढा छ । यात्रा गर्दा आङ सिरिंग हुने सडक चुरेको टुप्पोबाट खोलिएको छ । सडकका दुवै भागको फेदमा दुई खोला बग्छन् । यसैले पनि उक्त सडकको यात्रा निकै जोखिमपूर्ण छ । पश्चिमबाट धेमे र पूर्वबाट लुकुवा पहिरो, अनि दक्षिणबाट पुवा खोला पहिरोका कारण फुङनाम र आसेटार जोखिममा छन् । उक्त क्षेत्रवासी मोरङको मधुमल्ला बजारमा नै निर्भर छन् । ‘डरलाग्दो भीरपहरा छिचोलेर दालचामल किन्न मधुमल्ला नपुगी धर नै छैन,’ स्थानीय दीपक श्रेष्ठ भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो आवश्यकता भनेको सडक हो ।’

बर्खामा यो क्षेत्रका बासिन्दा पालिका केन्द्र र सदरमुकामसँग छुट्टिएझैं हुन्छन् । मधुमल्ला, तोरीबारी, फुङनाम हुँदै पाँचथरको रविसम्म जोड्ने सडक २०२६ सालमा शिलान्यास भएको हो । उक्त खण्डको २०२९ सालमा सिक्रेसम्म ट्र्याक खोलिएको स्थानीय बताउँछन् । धेरै कष्टका साथ केही वर्षअघि मात्र तोरीबारीदेखि पाँचथर दारे गौणा सिमानासम्म करिब ३० किलोमिटर ट्र्याक खोलिएको छ । सडक निर्माण भने अघि बढेन ।

गाउँले कुचो र अदुवालगायत बेच्न तराईका बजार पुग्छन् । नुन, तेल, चामल भारी लिएर घर फर्कन्छन् । हिउँदमा आधा बाटो गाडी पुग्दा पनि केही राहत हुन्छ । साकफारा–फुङनाम–आसेटारका बासिन्दाको पूर्वाधारमा पहिलो ठूलो खाँचो चुलीको बाटो हो । आसेटारबाट १३ किलोमिटर चुली छिचोल्दा मधुमल्ला पुगिन्छ । मधुमल्लादेखि दशमीसम्मको दूरी ३२ किलोमिटर छ । पर्यटकीय क्षेत्र मिक्लाजुङ छुट्ने बाटो कुनै लामो पुलबिना पाँचथरको सीमासम्म पुग्न सक्ने भएकाहरूले प्राथमिकता दिइनुपर्ने स्थानीयको भनाइ छ ।

राई, नेवार, तामाङ, मगर, लिम्बू बहुल बसोबास रहेको साकफारामा कतिपयले सौर्य ऊर्जामार्फत काम चलाएका छन् भने केहीका घरमा लघु जलविद्युत्को बिजुली पुगेको छ । निम्न परिवारका धेरै अहिले पनि टुकीको भरमा छन् । उक्त वडामा पर्ने मावा तोरीबारी, कर्केनीटार, सिके, सिस्नेटार, फुङनाम, कोलबोटे, आसेटार, सुनारे, दशमी, कालापानीलगायत गाउँमा विद्युत् विस्तार हुन सकेको छैन ।

प्रकाशित : वैशाख २, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?