कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खेलकुदले असल राजनीतिक संस्कारसमेत सिकाउँछ : पूर्वप्रधानमन्त्री ओली

अमृता अनमोल

बुटवल — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन, असल राजनीतिक संस्कार सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए । 

खेलकुदले असल राजनीतिक संस्कारसमेत सिकाउँछ : पूर्वप्रधानमन्त्री ओली

लुम्बिनीमा बिहीबार आयोजित मदन भण्डारी स्पोर्टस् एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहत्‌रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति-व्यक्तिले खेल्न र स्वस्थ प्रतिस्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’

उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै अब संमृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । ‘खेल प्रतिस्पर्धाहरु बढाउनु पर्छ । खेलेर पनि संमृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ,’ ओलीले भने ।

पूर्वप्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न सुझाव दिए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको भन्दै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधैं प्राथमिकता दिएको बताए । सुरु खेल पूर्वाधारहरु सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने उनको भनाइ थियो । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले जोड दिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुद विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउँदै उनले आउँदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा विस्तार गरी काम थाल्ने जनाए ।

प्रकाशित : चैत्र २३, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?