सामन्तवादका सबै अवशेष मेटाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारले मिटर ब्याजपीडितहरूको समस्या समाधानका लागि अलग्गै जाँचबुझ आयोग बनाएर काम गर्ने सहमति भइसकेको बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विगतमा बनेका कार्यदलका प्रतिवेदनहरूका आधारमा आयोगले काम गर्ने बताए ।

‘मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष हो । यसको अन्त्यको अर्को विकल्प छैन । यो सरकार नेपालमा सामन्तवादका सबै अवशेषहरू अन्त्य भयो भनेर सुनिश्चित गर्न चाहन्छ,’ उनले भने, ‘मिटरब्याज पीडितहरूको आन्दोलनप्रति सरकार पूरै गम्भीर छ । सरकार हरहालतमा यो समस्याको समाधान गर्न चाहन्छ । यसका लागि पहिले पनि केही पहलहरू भएका हुन्, तर अहिले सरकारले अब विशेष पहल लिएर काम गर्न चाहन्छ ।’

उनले मिटरब्याज पीडितको न्यायका लागि सरकारले कानुनमा संशोधन गर्ने निर्णय समेत गरिसकेको बताए । ‘अहिले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि जाँचबुझ आयोग नै बनाउने सहमति भएको हो । पहिलेको कार्यदलको प्रतिवेदन लुकाउन खोजिएको होइन, बरु त्यसको आधारमा आयोगले काम थाल्छ,’ उनले भने, ‘सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोग नै गठन गरेर काम अघि बढाउँछ ।’


प्रकाशित : चैत्र १९, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा मधुमेह र उच्च रक्तचापको 'स्क्रिनिङ' सुरू

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाले ४० देखि ६९ वर्ष उमेर समूहका नागरिकको मधुमेह र उच्च रक्तचापको परीक्षण सुरु गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले ४० देखि ६९ वर्ष उमेर समूहका ५ हजार १ सय २५ जनाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । उनका अनुसार स्क्रिनिङ कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको काम सुरुवात भइसकेको बताए । ७० वर्ष माथिका नागरिकको यसअघि नै स्क्रिनिङ गरेर सोही अनुसार औषधि व्यवस्थापन भइसकेको शाखा प्रमुख ढकालले बताए ।

गाउँपालिकाले त्यसका लागि स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । वडावडामा पुगेर सबैको अवस्था थाहा पाउने र सोही अनुसारको औषधि व्यवस्थापनमा गाउँपालिका जुट्ने अध्यक्ष नुनबहादुर थापाले बताए ।

पछिल्लो समय युवा अवस्थामै मधुमेह तथा उच्च रक्तचापको जोखिम बढ्न थालेको पाइएको छ । सोही अनुसार गाउँपालिकाले ४० वर्ष माथिका नागरिकको स्क्रिनिङ गर्न लागेको अध्यक्ष थापाले बताए । ग्रामीण क्षेत्रका युवाहरु मधुमेह र उच्च रक्तचापको जोखिममा परेको देखिएपछि यो सोच आएको उनले बताए । समस्या नपर्दासम्म स्वास्थ्य जाँच नगर्ने र रोगले कहिलेकाहीँ बिना लक्षण नै समस्यामा पार्ने भएकोले स्क्रिनिङ गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए ।

स्क्रिनिङबाट आउने नतिजाले रोगको न्युनिकरणका विषयमा थप योजना बनाउने उनले बताए । गाउँपालिकामा रहेका ८० वर्ष माथिका नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको छ । यो अभियान सुरु गर्ने लुम्बिनी प्रदेशकै पहिलो पालिका पूर्वखोला हो ।

प्रकाशित : चैत्र १९, २०७९ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×