चितवन — नेपालमा सोमबार १७ औं राष्ट्रिय मह दिवस मनाइरहँदा सरकारी निकाय चितवन भरतपुरको कृषि ज्ञान केन्द्रमा महको महत्त्व र सम्भावनाका बारेमा व्यापक चर्चा भयो । तर मह उत्पादक किसानहरुको चिन्ता र छटपटी अर्कै थियो ।
महत्त्वपूर्ण खाद्य पदार्थ भए पनि नेपाली किसानले उत्पादन गरेको मह पछिल्ला दिनहरुमा बिक्री हुनै छाडेको छ । त्यसैले कृषि ज्ञान केन्द्रको कार्यक्रमपछि किसानहरु जिल्ला प्रहरी कार्यालय नजिक रहेको प्रतीक्षालयमा भेला भए । त्यहाँ उनीहरुले पाउरोटीमा मह राखेर सर्वसाधरणलाई वितरण गरे ।
सरकारी निकाय चितवन भण्डाराको मौरी विकास कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले नेपालमा वर्षमा आठ हजार मेट्रिक टन मह खपत हुने गरेको तथ्याङ्क पस्तुत गरे । तर नेपालमा वर्षमा चार हजार २६ मेट्रिक टन मह उत्पादन हुने गरे पनि बिक्री नहुने समस्या देखिएको उनको भनाइ छ । उनले गत वर्ष मात्रै किसानसँग पाँच सय मेट्रिक टन र व्यपारीसँग हजार मेट्रिक टन मह स्टक रहेको बताए ।

भरतबाट एक हजार पाँच सय ५६ मेट्रिक टन मह आयात भएको पनि उनले जानकारी दिए । ‘पोखरेल सरले नै नेपालमा आठ हजार मेट्रिक टन मह खपत हुने गरेको बताउनु भयो । हाम्रो उत्पादन गत वर्ष कै एक हजार पाँच सय मेट्रिक टन मह अहिलेसम्म बिक्री भएको छैन । आयात समेतलाई जोड्दा पनि खपतको अनुपात मिल्दै । भनेपछि नेपालीले महको नाममा के खाएका छन् त ?,’ नेपाल मौरी पालक महासंघका पूर्व अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले प्रश्न तेर्स्याए । अवैध रुपमा महको नाममा अन्य वस्तु भित्रिएको उनले बताए ।

‘यता हाम्रो उत्पादन बिक्री भएको छैन । उता उपभोक्ताले के खाएका छन् ? यसको खोज बिन हुनु पर्यो,’ उनको माग छ । गत वर्षको माघमा काठमाडौंमा ठूलो मात्रामा ‘नक्कली मह’ फेला परेको खबर आएपछि उपभोक्ताहरु सशंकित भएर मह सेवन घटाएको पौडेलको अनुमान छ । त्यसैले नेपाली मह अचेल फिटिक्कै बिक्री नभएको उनले सुनाए । ‘म ५८ सालदेखि मौरी पाल्दै आएको छ । यस्तो संकट पहिलो पटक आएको छ । मेरो घरमा १२० बाल्टी मह जम्मा भएर बसेको छ । बिक्री हुँदैन,’ उनले भने । एक बाल्टीमा ३० किलो मह अट्छ ।

नेपालमा मह उत्पादन गर्दा प्रतिकिलो चार सय रुपैयाँका हाराहारीमा लागत लाग्ने उनले बताए । भारतबाट वैधानिक रुपमा आयात गर्दा पनि २११ देखि २५० रुपैयाँमा मह नेपाल नै आएको वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए । सस्तो भएका कारण भारतीय मह आएको नेपाली किसानहरु बताउँछन् । ‘नेपाली उत्पादन यसरी बिक्री नै नहुँदा भारतबाट सस्तो मह आउनबाट कसरी रोक्ने ? भन्सार दर बढाएर हुन्छ वा अरु के उपाए छ ? सरकारले सोचोस्,’ मौरी पालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले भने ।
सरकारले तत्काल राहतका योजनाहरु नल्याए नेपाली मह उत्पादक किसानहरु पूर्णरुपमा विस्थापित हुने खतरा बढेको महासंघका पूर्वअध्यक्ष शिवप्रसाद शर्मा पौडेलले बताए । यो आर्थिक वर्षको सुरुवाती चार महिनामा पनि भारतबाट दुई सय टन मह आयात भइसकेको भन्सार कार्यालयको तथ्याङ्कमा देखिने पौडेलको भनाइ छ । ५६ साल चैत्र १३ मा आठ जिल्लाका मह उत्पादक किसान भेला भएर संगठित भएको दिन पारेर ६३ साललेखि चैत्र १३ मा किसानहरुकै सक्रियतामा राष्ट्रिक मह दिवस मनाउन सुरु भएको हो ।
प्रकाशित : चैत्र १३, २०७९ १४:०७