२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

पूर्वसंकेत चिने रोक्न सकिन्छ आत्महत्या

कठोर कदम उठाउन सक्ने संकेत र गतिविधि समयमै पहिचान गरेर व्यक्तिगत वा व्यावसायिक रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराए सकिन्छ अधिकांशलाई जोगाउन
भावनात्मक परिस्थितिका कारण हुने घटनामा भने त्यस्तो संकेत स्पष्ट हुँदैन । आत्महत्या गर्ने व्यक्तिले दिने पूर्वसंकेतमा आफन्त, साथीभाइबाट टाढा बस्न खोज्ने, काममा अरुचि, एकान्तमा बढी बस्न खोज्ने आदि हुन्छन् ।
अतुल मिश्र, विद्या राई

काठमाडौँ — पोखराको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले एक महिनाअघि घरमै झुन्डिएर आत्महत्या गरे । बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्यले खातीमाथि दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुन सक्ने प्रहरी अनुसन्धानमा खुलेको थियो ।

पूर्वसंकेत चिने रोक्न सकिन्छ आत्महत्या

उनले आत्महत्या गरेकै दिन उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक पनि बसेको थियो । यसअघि व्यवसायी प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित संसद् भवनअगाडि आफूलाई आत्मदाह गरे ।

गत असोजमा डिम्बाशय क्यान्सरको उपचार गराइरहेकी १५ वर्षीया किशोरीले अस्पतालमै आत्महत्या गरिन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा चौथो स्टेजमा पुगिसकेको क्यान्सरको उपचार भइरहेको थियो । उपचार क्रममा परिवारले १३ लाख रुपैयाँ खर्चिसकेका थिए । किशोरीका बाबु रोजगारीका क्रममा भारतमा थिए, उनी कान्छी आमासित अस्पताल आएकी थिइन् । आमा खाना खान निस्किएका बेला सँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा देखिनन् । उनको शव अस्पतालको छतमा भेटिएको थियो ।

२०७८ पुस पहिलो साता ओखलढुंगाको बालज्योति माविमा ढिला आइपुगेको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु बुढाथोकीले प्रवेश नदिएपछि कक्षा ८ की १४ वर्षीया किशोरीले आत्महत्या गरिन् । प्रवेश नपाउनेमा उनीसहित झन्डै २० जना थिए । अध्यक्षले धम्क्याएपछि १२ जना घर फर्किए । बाँकीलाई प्रार्थना सकिएपछि नाम टिपेर आइन्दा ढिला नआउने सर्तमा कक्षाभित्र जान दिइएको थियो । एक छात्राले घर पुगेर कोठामा विष सेवन गरिन् । उपचारका क्रममा उनको मृत्यु भयो ।

नेपाल प्रहरीका अनुसार मुलुकमा हरेक दिन औसत १८ जनाले आत्महत्या गर्छन् । आर्थिक वर्ष २०७४/७५ देखि चालु आवको मंसिरसम्मको ६५ महिनाको अवधिमा ३३ हजार ८ सय ६१ जनाले आत्महत्या गरेको तथ्यांक छ । यी प्रहरीमा रिपोर्टिङ भएका घटना मात्रै हुन् । ‘आत्महत्याको प्रयास गरेकाहरूको संख्या मृत्यु भएकाको दाँजोमा धेरै हुन सक्छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता पोषराज पोखरेल भन्छन्, ‘आत्महत्याका प्रयास गरेकाहरूबारे समाजले कतिपय अवस्थामा सूचना नदिने गरेकाले यकिन तथ्यांक भन्न सकिँदैन ।’ २०७८/७९ मा मुलुकभरमा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको रेकर्ड छ । चालु वर्षको पछिल्लो ६ महिनामा मात्रै ३ हजार १ सय ६४ जनाले आत्महत्या गरेका छन् । जसमा ५६.१९ प्रतिशत पुरुष, ३२.६४ प्रतिशत महिला, ४.२६ प्रतिशत बालक र ६.८९ प्रतिशत बालिका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि ७ लाख ३ हजारभन्दा बढीले आत्महत्या गर्छन् । योबाहेक प्रत्येक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याको प्रयास हुन्छ । डब्लूएचओको पछिल्लो अध्ययनअनुसार प्रत्येक वर्ष एचआईभी, औलो, स्तन क्यान्सर, युद्घ र हत्या (होमिसाइड) को तुलनामा आत्महत्याका कारण मर्नेहरू धेरै हुन्छन् ।

आत्महत्या गर्ने व्यक्तिले दिएको संकेत समयमै पहिचान गरेर व्यक्तिगत वा व्यावसायिक रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराए अधिकांशको ज्यान जोगाउन सकिने त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा सरोजप्रसाद ओझा बताउँछन् । उनका अनुसार शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागमा हरेक महिना सरदर १५–२० जना आत्महत्याको प्रयास गरेकाहरू उपचारका लागि पुग्छन् । आत्महत्या गर्ने दाँजोमा यसको प्रयास गर्नेहरू २० देखि २५ गुणासम्म बढी हुन्छन् । शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागको बहिरंग सेवामा आउने बिरामीमध्ये झन्डै २० प्रतिशत डिप्रेसनका बिरामी हुन्छन् । डब्लूएचओको अनुमानअनुसार विश्वव्यापी रूपमा ५ प्रतिशत वयस्क डिप्रेसनले पीडित छन् ।

***

नेपाल प्रहरीको साइबर ब्युरोले पनि जानकारीमा आएका आत्महत्या प्रयासलाई रोक्ने गरेको छ । काठमाडौंमा आर्थिक रूपले सम्पन्न परिवारका युवायुवतीको विवाह भयो । जब तीन सन्तान जन्मिए, परिवारका अरू सदस्यले ‘खाने र बस्ने काम मात्रै गर्छौ’ भन्न थाले । यसपछि युवक कमाइ गर्न विदेशिए, युवती आफ्ना सन्तान र परिवारको हेरचाह गर्दै बसिन् । विदेशिएका पतिसँगको सम्बन्ध राम्रै भए पनि एक परपुरुषसँग चिनजानपछि शारीरिक सम्पर्क हुन पुग्यो । ती पुरुषले युवतीसँगको सम्बन्ध ‘क्यामरा’ ले खिचेर राखेका रहेछन् । पछि कुराकानीका क्रममा युवतीले पुरुषसँग आफू पतिकै मायाप्रेममा रहेको अभिव्यक्ति दिइन् ।

यसपछि उनले शारीरिक सम्पर्कका नग्न तस्बिर, भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले । उनी आत्महत्या प्रयासको अवस्थामा पुगिन् । आफ्नो झोलामा विषजन्य पदार्थ बोकेर हिँड्थिन् । आफ्नो मानसिक समस्याबारे उनले भान्जीलाई सुनाइन् । भान्जीले यसबारे साइबर ब्युरोमा जानकारी गराइन् । ‘त्यसपछि त युवतीलाई अरू नै बहानामा भेटेर नाटकीय ढंगबाट कुरा गर्‍यौं, सम्झाइबुझाइ परामर्श गर्‍यौं,’ ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले भने ।

तस्बिर, भिडियो सामाजिक सञ्जालमा हालिदिने धम्की दिने पुरुषलाई ब्युरोले नियन्त्रणमा लियो । निरन्तरको मनोसामाजिक परामर्शपछि युवती पहिलेझैं अवस्थामा छिन् । पछिल्लो दुई वर्षमा आत्महत्याको प्रयास गरिरहेका ४१ जनालाई बचाउन सफल भएको खड्गी बताउँछन् ।

मानसिक स्वास्थ्य विज्ञका अनुसार ‘करिअर’ सुरुवात गर्दा र सेवा निवृत्त हुने समयमा डिप्रेसन बढी देखिएको छ । २० देखि ३० वर्ष र ५० देखि ६० वर्ष उमेरबीचमा डिप्रेसन बढी देखिएको छ । आत्महत्याका कारण डिप्रेसन, मादक पदार्थको अम्मल, दैनिक समस्या सुल्झाउन नसक्ने अक्षमतालगायत रहेको डा. ओझा बताउँछन् । ‘आत्महत्याको निर्णय लिने व्यक्तिले केही न केही संकेत अवश्य गर्छ । समयमै पहिचान गरेर छिटोभन्दा छिटो उपचार र काउन्सेलिङ दिँदा धेरै हदसम्म जोगाउन सकिन्छ,’ उनले भने । सम्बन्धविच्छेद, आर्थिक समस्या, बेरोजगारी, जागिर गुम्नु, शारीरिक वा यौनसम्बन्धी दुष्प्रयोग (एब्युज), आघात (ट्र्रमा) मदिरा वा लागूऔषध दुर्व्यसन, क्यान्सर, दीर्घरोग, कडा खालका निको नहुने रोग पनि कतिपय अवस्थामा आत्महत्याको कारक बन्न सक्ने विज्ञको भनाइ छ ।

आत्महत्या गर्ने झन्डै ९० प्रतिशतभन्दा बढी व्यक्तिले कुनै न कुनै पूर्वसंकेत दिने उनीहरू बताउँछन् । भावनात्मक परिस्थितिका कारण हुने घटनामा भने त्यस्तो संकेत स्पष्ट हुँदैन । आत्महत्या गर्ने व्यक्तिले दिने पूर्वसंकेतमा आफन्त, साथीभाइबाट टाढा बस्न खोज्ने, काममा अरुचि, एकान्तमा बढी बस्न खोज्ने आदि हुन्छन् । ‘उनीहरूलाई समयमै परामर्श र उपचार गराउँदा, परिवारले सपोर्ट गर्दा र समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्दा सामान्य जीवनयापनमा फर्काउन सकिन्छ,’ डा. ओझाले भने ।

आवेगमा आएर आफूलाई क्षति पुर्‍याए पनि घाइते भएर उपचारमा आउने अधिकांशलाई पुनः बाँच्ने इच्छा हुने गरेको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. किरण नकर्मीले बताए ।

‘दुई पटक आफूलाई जलाएर मार्ने कोसिस गरेकालाई दुवै पटक उपचार गरेर बचाएका छौं,’ उनी भन्छन्, ‘ती व्यक्ति उचित मनोवैज्ञानिक सल्लाह र उपचारपछि हाल पूर्ण रूपमा ठीक छन् ।’ राज्यले आत्महत्या रोकथामलाई प्राथमिकतामा राखेर जनचेतना अभिवृद्धि, सर्वसुलभ मनोपरामर्श र चिकित्सा सेवाको पहुँच विस्तार गर्न सके आत्महत्या रोक्न सकिने डब्लूएचओको अध्ययनले देखाउँछ । तर बढ्दो आत्महत्याको दरलाई रोक्न पर्याप्त ध्यान दिइएको छैन । स्वास्थ्य मन्त्रालय, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सुदूरपश्चिम, कर्णालीलगायतका संघीय अस्पतालमा उपयुक्त मात्रामा मानसिक स्वास्थ्य विशेषज्ञ पुर्‍याउन नसकिएको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मानसिक स्वास्थ्य समस्याको परामर्शका लागि पाटन मानसिक अस्पतालमा चौबिसै घण्टा ११६६ नम्बरको टेलिफोन सेवा उपलब्ध रहेको बताए ।

‘बिरामीलाई हरबखत सहयोग गर्नुपर्छ’

ऋषभ कोइराला, मनोचिकित्सक तथा अनुसन्धानकर्ता

मानिस स्वस्थ भए पनि डिप्रेसनलगायत मानसिक स्वास्थ्यसम्बन्धी रोगले गर्दा आवेगमा आएर आत्महत्या हुने गरेको पाइन्छ । यसबाहेक आर्थिक, सामाजिक कारणले पनि मानिसलाई आत्महत्या वा त्यसको प्रयासमा पुर्‍याएको हुन्छ । हाम्रो अध्ययनले आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिने देखाउँछ । यसका लागि मानसिक अस्वस्थता भएकालाई समयमै मनोपरामर्श गराउने, परिवार र आफन्तले ध्यान दिने, हरबखत सहयोग गर्ने गर्नुपर्छ । एउटा व्यक्ति, एउटा समूह, मनोचिकित्सक, मनोपरामर्शकर्ताबाट मात्रै रोकथाम सम्भव छैन, समाजका हरेक व्यक्ति सचेत हुनुपर्छ । व्यायाम, आहारविहार र व्यवहार स्वस्थ राखे आत्महत्याको सोचै आउँदैन ।

मानसिक स्वास्थ्यको पहुँच र सचेतना अहिले बढेको छ । मानसिक अस्पताल भनेर छुट्टै स्थापना गर्नेभन्दा पनि हरेक ठूला अस्पतालमा मानसिक स्वास्थ्योपचारको ओपीडी राख्नुपर्छ । किनकि मानसिक अस्पतालमा जाने भन्नेबित्तिकै नराम्रो दृष्टिले हेर्ने स्थिति यसले कम गराउँछ । राज्यले मानसिक स्वास्थ्य सेवालाई महत्त्व दिएको देखिन्छ । बजेट कार्यक्रमहरू बढ्दै छन्, ओपीडीहरू थपिएका छन्  पुग्दो नभए पनि आवश्यकताअनुसार बढाउनुपर्छ ।

यसैगरी नागरिकका आर्थिक, सामाजिक आवश्यकतालाई पनि राज्यले सम्बोधन गर्नुपर्छ । जहाँ राज्य सञ्चालनमा स्थायित्व हुन्छ, त्यहाँ मानसिक स्वास्थ्य राम्रो हुन्छ । हरेक मानिसमा फोन र इन्टरनेटको पहुँच बढिरहेको अवस्थामा सामाजिक सञ्जालको सदुपयोग गर्दै आत्महत्या रोकथामबारे सचेतना बढाउनुपर्छ ।

प्रकाशित : फाल्गुन १८, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?