कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्तको ऋणमा ३६ प्रतिशतसम्म ब्याज

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम लागू गरे पनि लघुवित्तले तीन गुणा बढी ब्याज लिन थालेपछि ऋणी मारमा, किस्तासमेत तिर्न नसकेपछि घर छाडेर भाग्नेको संख्या बढ्दो
कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचथरको फालेलुङ–५ रमितेकी आसमाया आले र बुहारी बिनु केरुङ आलेले दुईवटा लघुवित्तबाट एक/एक लाख ऋण लिए । ०७० सालमा समूह जमानतमा लिएको ऋण तिर्ने उपाय नहुँदा आसबहादुर आलेले श्रीमती र बुहारीसहित ०७८ भदौ १८ मा घर छाडे ।

लघुवित्तको ऋणमा ३६ प्रतिशतसम्म ब्याज

आसमाया र बिनुले गुराँस र छिमेकी नामका दुई लघुवित्तबाट लिएको दुई लाख रुपैयाँको ब्याज तिर्न नसक्दा घर छोडेका आसबहादुर डेढ वर्षदेखि पोखरामा मजदुरी गर्दै छन् । उनको घरमा अहिले कान्छो छोरा मात्रै छन् । ‘सम्पत्तिका नाममा दुई हल बारी छ, दुई महिना खान नपुग्ने त्यसको कमाइले कसरी ऋण तिर्नु ?’ आसमायाले फोनमा भनिन्, ‘डेढ वर्षदेखि पोखरा आसपास बसिरहेका छौं । तीन जनाको मजदुरीले व्यवहार चलाएर उब्रेको रकम समूहमा पठाएर ऋण घटाउँदै छौं । तिरिसकेपछि फर्किने हो ।’

फालेलुङ–५ कै धर्मराज आलेको घरमा ०७८ पुसदेखि ताला लागेको छ । स्थानीयलाई समेटेर गठन गरिएका लघुवित्त संस्थाका समूहबाट लिएको ऋण तिर्न नसक्दा आले परिवारको उठिबास लागेको हो । धर्मराजको परिवारले तीनवटा लघुवित्तबाट पाँच लाख ऋण लिएको छ । ‘तिर्ने माध्यम नभएपछि घर छोड्नुको विकल्प रहेन,’ उनी भन्छन् । घरमा ताला लगाएर हिँडेको उनको परिवार अहिले काठमाडौं आसपास मजदुरी गर्छन् ।

पाँचथरका आठवटै स्थानीय तहमा लघुवित्तको ऋण तिर्न नसक्दा घर छोड्नेको संख्या धेरै छ । व्यक्तिलाई ठूलो रकम लगानीमा धितो राख्ने र समूह जमानतमा दिने एक लाख रुपैयाँसम्मको ऋण कुनै सदस्यले तिर्न नसक्दा समूहबाटै असुल गर्ने भएकाले यस्ता संस्थाबाट पीडित हुनेको संख्या बढ्दो छ । जिल्लामा गुराँस, फरवार्ड, छिमेकी, निर्धन उत्थान, समिट, एनआईसी र स्वाबलम्बनसहित १० वटा लघुवित्त संस्था सक्रिय छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छाकी चन्द्रकला राईको घरमा पनि लघुवित्तको ऋण तिर्न नसक्दा ताला लागेको छ । राईले ०७८ असार २७ मा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट १५ प्रतिशत ब्याजमा तीन वर्षका लागि डेढ लाख रुपैयाँ लिएकी थिइन् । उनले साँवा मात्र अझै ७५ हजार तिर्न बाँकी रहेको उक्त लघुवित्तका कर्मचारी अक्षय माझीले बताए । त्यही ऋण तिर्न नसकेर घरमा ताला लगाएर अन्यत्र जानुपरेको स्थानीय शिक्षक डिकमान राईको भनाइ छ ।

केपिलासगढी–२ कै शोभा राई पनि ऋणकै कारण घर छाडेर अन्यत्र गएको उनका देवरसमेत रहेका डिकमानले बताए । ०७७ कात्तिक १ मा डेढ लाख रुपैयाँ ऋण लिएकी उनले अहिलेसम्म साँवा–ब्याज बुझाएकी छैनन् । उनले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट पनि २०७८ असोजमा डेढ लाख रुपैयाँ ऋण लिएकी छन् । डिप्रोक्सको बाक्सिलास्थित शाखाका प्रमुख रामचन्द्र राईका अनुसार उनले तीन–चार किस्ता बुझाउन बाँकी छ ।

ऋण तिर्न नसकेपछि शोभा तीन बालबालिका छाडेर घरबाहिरै छन् । उनका श्रीमान् खड्गबहादुर पनि घरमा नभएकाले बालबालिकाको बेहाल रहेको डिकमानको भनाइ छ । उनका दुई छोरी र एक छोरा छन् । लघुवित्तहरूले चर्को ब्याजमा ऋण दिएको र लिनेले उद्देश्यअनुसार काम नगरेकाले समस्या आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

बर्दियाको गुलरिया नगरपालिका–४ कैलाशनगरमा समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई साँवामा जोड्दै असुल गर्ने लघुवित्तका कारण आठ घरपरिवार पलायन भएका छन् । स्थानीय आशा परियारका अनुसार घर छाडेर बेपत्ता हुनेमा सबै दलित समुदायका छन् । लघुवित्तका कर्मचारीले दैनिक ऋण असुलीका नाममा मानसिक यातना दिएको भन्दै उनीहरू एक महिनाअघि घरमा ताला लगाएर पलायन भएका हुन् । ‘निशा बुढाक्षेत्री विक, पार्वती विक, धामी विक, तिलमाया विकलगायत आठ परिवार घरमा ताला लगाएर गएका छन्,’ उनले भनिन् ।

साताअघि लघुवित्तका कर्मचारीले बिहान ११ देखि बेलुकी ५ बजेसम्म ब्याज माग्दै घर घेरेको स्थानीय रञ्जना लोहारले बताइन् । ६ महिनाअघि घर निर्माणका लागि लिएको ५० हजार ऋणको ब्याज लिन आएका उनीहरूले रकम नदिए भैंसी बेचेर असुल्ने दबाब दिएपछि गाउँलेसँग सापट लिएर ब्याज बुझाएको उनले बताइन् । कैलाशनगरका बाढीपीडित परिवारलाई गुलरिया नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । नगरपालिका र एक गैरसरकारी संस्थाले घरनिर्माणमा सहयोग गरेका थिए तर त्यतिले घर पूरा नभएपछि स्थानीयले लघुवित्तबाट ऋण लिएका थिए ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ ठाराढुंगाकी लक्ष्मी विक ३ वर्षदेखि बेपत्ता छिन् । घरखर्च र बाख्रापालनका लागि एनआईसी एसिया, डिप्रोक्स र लक्ष्मी लघुवित्तबाट १/१ लाखका दरले ऋण लिएकी उनले दुई वर्षसम्म तिर्न नसकेपछि घर छाडेर हिँडेको श्रीमान् विपिन विकले बताए । ‘जति तिर्दा पनि ऋण नसकिएपछि समस्या भयो, कता गइन्, अत्तोपत्तो छैन,’ उनले भने । लघुवित्तका कर्मचारीले अझै डेढ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै निरन्तर ताकेता गरिरहेको उनले जानकारी दिए ।

ठाराढुंगाकै गीता विकले घर र जग्गा बेच्दा पनि ऋण नसकिएको गुनासो गरिन् । लघुवित्तहरूबाट झन्डै ४ लाख कर्जा लिएकी उनले अझै एक लाख रुपैयाँ तिर्न बाँकी छ । ‘दिनदिनै माग्न आउँछन्, बाटोमा भेटिए पनि तनाव दिन्छन्,’ उनले भनिन्, ‘पासबुक पनि उनीहरूसँगै छ । डेढ लाखको घर र ५० हजारको जग्गा पनि बेचियो । अब कति बाँकी भयो भन्ने पनि स्पष्ट जानकारी दिँदैनन् ।’ पहिला ऋण दिँदा केही पर्दैन समूह बनाएमा सजिलै ऋण पाउँछौं भनेर पैसा दिए पनि अहिले चापाचाप पारेको पीडितको गुनासो छ । उनले जथाभावी पैसा र खसीबोका उठाएर लगे पनि ऋण नघटाइदिएको गुनासो गरिन् ।

सल्यानको दार्मा गाउँपालिकाको ढाकाडाम घर भई शारदा नगरपालिकाको श्रीनगर बस्दै आएकी अनिता बाठामगरले २०७३ मा चौतारी र मिर्मिरे लघुवित्तबाट १८ प्रतिशत ब्याजमा १७ लाख ऋण लिएकी थिइन् । त्यसबाट उनले १० वटा बाख्रा पालिन् र झन्डै ५ रोपनीमा तरकारी खेती गरिन् । ‘पाँचवटा खसी लगे, प्रत्येकपल्ट लघुवित्तका कर्मचारी आउँदा ५ सयदेखि १० हजारसम्म ब्याज तिरेकै छु, ब्याजको पनि ब्याज लाग्यो भन्दै साँवा घटाउन आनाकानी गरिरहेका छन्,’ उनले भनिन् । अझै उनको ८ लाख रुपैयाँ ऋण बाँकी छ ।

जिल्लामा शाखा कार्यालय सञ्चालन भएका लघुवित्तले बिनाधितो ऋण परिचालन गरिरहेका छन् । जसका कारण विपन्न महिला कर्जाका लागि लघुवित्तमा भर पर्दै आएको स्थानीय अगुवा कमल शर्माले बताए । ‘ऋणको चर्को ब्याजदरका कारण उनीहरू तनावमा छन्,’ उनले भने, ‘कतिपय महिलालाई ब्याज र ऋण तिर्न नसक्दा भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यता छ ।’

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम लागू गरे पनि लघुवित्तले ३० देखि ३६ प्रतिशतसम्म ब्याज लिन थालेपछि बन्गाडकुपिण्डे नगरपालिका–२ की बालिका बुढामगरलाई किस्ता तिर्न हम्मे भएको छ ।

उनले विभिन्न ७ वटा लघुवित्तमा रकम बचत गर्ने गरेकी छन् भने चार वटाबाट कर्जा लिएकी छन् । ‘हामीलाई दिने ब्याज ६ प्रतिशतभन्दा बढी छैन तर कर्जाको ब्याज ३६ प्रतिशतसम्म लिन्छन्,’ उनले भनिन्, ‘किस्ता तिर्न नसके घरमा भएको जायजेथा पनि लिन थालेका छन् ।’ श्रीनगरस्थित स्वाबलम्बन लघुवित्तका प्रमुख हरिकुमार बोहराले महिलाले आर्थिक प्रलोभनमा परेर बिनाधितो ऋण निकालेको र सापटीस्वरूप अरुलाई दिँदा फिर्ता नगरेका कारण अप्ठेरोमा परेको बताए ।

बाराको सिम्रौनगढ नगरपालिका–९ का ३८ वर्षीय उमाशंकर यादवले घर बनाउन श्रीमतीका नाममा ०६५ मा समता लघुवित्तबाट १ लाख ५० हजार, स्वरोजगार संस्थाबाट ५० हजार, नेरुडे लघुवित्तबाट १ लाख २० हजार, नेसनल माइक्रो फाइनान्सबाट १ लाख २० हजार, नेपाल ग्रामीण बैंकबाट १ लाख २० हजार, फरवार्ड कम्युनिटी संस्थाबाट ६० हजार गरी ६ वटा लघुवित्तबाट ६ लाख २० हजार ऋण लिए । दुई नाबालक छोरा रहेका उनले ६ धुर घडेरी किनेर घर बनाउँदा गाउँमा सापटीसहित १९ लाख ऋण बोकेका थिए ।

सीमापारिबाट साइकलमा सामान बोकेर जीविकोपार्जन गर्ने उनको घरमा ऋणको भारले तनाव बढ्यो । ०७६ फागुन १३ मा १७ हजार किस्ता तिर्न नसक्दा लघुवित्तका कर्मचारी र समूह (गोलिया) का महिला आएर किस्ता नतिरे घरमा ताला लगाइदिने चेतावनी दिए । ‘म कामको सिलसिलामा बाहिर हुँदा (फागुन १८ मा) श्रीमतीले विषसेवन गरिन्,’ उमाशंकरले भने, ‘घरमा आएर त्यसो भनेपछि मलाई असह्य भयो, म बाँच्दिन भनेकी थिइन्, मैले नपत्याउँदा उनलाई जोगाउन सकिनँ ।’

पूर्वी नवलपरासीको पुरानो कावासोतीका नन्दराम पंज्ञेनीसहितले सीवाईसी नेपाल लघुवित्तबाट पशुपालन व्यवसायका लागि श्रीमतीको नाममा साढे तीन लाख ऋण लिए । पछिल्लो चार महिनादेखि साँवा–ब्याजको किस्ता बुझाउन नसक्दा लघुवित्तका कर्मचारीले हरेक दिन फोन गर्ने र कालोसूचीमा राख्ने धम्की दिँदै घरमा आउने गरेको बताए । यो समस्या यहाँका थुप्रै किसानलाई रहेको उनले बताए । धितो नहुने किसानलाई सामूहिक जमानीमा ऋण दिने भएकाले आफूहरू यस्तो संस्थामा जान परेको स्थानीय शिवराज भण्डारीको अनुभव छ । कर्जा बुझाउन नसकेपछि कावासातीकी नर्मदा रानाभाटको संयोजकत्वमा पीडितले एउटा समिति नै बनाएर विवरण संकलनको काम सुरु गरेका छन् ।

पूर्वी नवलपरासीस्थित सीवाईसी नेपाल लघुवित्त संस्थाकी प्रमुख शारदा रानाले संस्थाको नियमअनुसार कर्जा प्रवाह र असुली गर्दै आएको बताइन् ।

भूकम्पले भत्काएको घर पुनर्निर्माणका लागि आरुघाट गाउँपालिका–५ आरुआर्वाङकी गीता गुरुङले स्वाबलम्बन लघुवित्तबाट चार वर्षअघि सात लाख ऋण झिकिन् । चारवर्षे किस्ताबन्दीमा ऋण लिएकी उनले मासिक २८ हजार रुपैयाँ बुझाउँथिन् । उनको किराना पसल थियो । श्रीमान् सुदीप घर निर्माणको काम गर्थे । लघुवित्तका कर्मचारी किस्ता रोकिँदा घरमै आइपुग्थे । उनले स्वावलम्बनको किस्ता तिर्न साधना लघुवित्तबाट एक लाख निकालिन् । ऋणको भार झन बढ्यो । ‘व्यापार पनि कम, किस्ता पनि धेरै, श्रीमान्को पनि कमाइ छैन,’ उनले भनिन्, ‘पसलमा सामान थप्न पनि सकिएन, आम्दानी घट्यो, झनै ऋणमा डुब्यौँ ।’

गत साउन १० मा किस्ता तिर्न दबाब दिन पुगेका साधनाका कर्मचारीले गीताले घाँटीमा लगाएको तिलहरी र मंगलसूत्र लगे । ‘कि पैसा देऊ, कि गहना फुकाल भनेपछि तिलहरी र मंगलसूत्र फुकालेर दिएँ,’ उनले भनिन् । ऋणको भारले थिच्दै जाँदा गीता अहिले गाउँमा बस्न सक्ने अवस्थामा छैनन् । श्रीमान् सुदीप साउनदेखि सम्पर्कविहीन छन् । आरुआर्वाङकै मैते गुरुङ पनि लघुवित्तको ऋण तिर्न नसक्दा गत वैशाखबाट सम्पर्कविहीन छन् । उनी साधना, डिप्रोक्स, स्वावलम्बन, एनआईसीबाट गरी झन्डै १२ लाख रुपैयाँ ऋणको बोझमा थिए । गत कात्तिक २२ मा किस्ता नतिरेको भन्दै गोरखा नगरपालिका–७ थर्पुकै कल्पना घिमिरेलाई लघुवित्तका कर्मचारीले लछारपछार गरे । ‘तीन महिना मात्र किस्ता तिर्न रोकिएको हो,’ उनले भनिन्, ‘अहिले किस्ता तिर्न कुनै उपाय छैन, धान पराल गर्ने बेला छ, हामी तिर्छौं भन्दा पनि लछारपछार गरे ।’ कल्पनाले डिप्रोक्सबाट पनि ३ लाख ऋण झिकेकी छन् ।

- लक्ष्मी गौतम (पाँचथर), डम्बरसिं राई (खोटाङ), कमल पन्थी (बर्दिया), विप्लव महर्जन (सल्यान), महेश केसी (रुकुम पश्चिम), लक्ष्मी साह (बारा), नारायण शर्मा (पूर्वी नवलपरासी) र हरिराम उप्रेती (गोरखा)

प्रकाशित : फाल्गुन १, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?