'सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले दु:ख पायो'


काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकायले एकअर्कामा समन्वय नगर्दा निजी क्षेत्रले दु:ख पाएको बताएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहारण दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले प्रोजेक्ट सुरु गर्नुपूर्व मन्त्रालय, विभाग र सरोकारवालाबीच समन्वय नहुँदा विमानस्थल चल्न नसकेको बताए ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्य अन्तर्गत चौथो सत्र ‘पर्यटन र उडान’ बहसमा बोल्दै उनले भने ‘विमानस्थल तयार भएपछि केही दिन उडान सुरु भयो, सँगसँगै उडान पनि बन्द गर्नुपर्यो अवस्था आयो, यसको कारण समन्वय नगर्नु नै हो ।’ सरकारले प्रोजेक्ट सुरु गर्दा मन्त्रालय-मन्त्रालय बीच तथा मन्त्रालय-विभागबीच समन्वय नभएको उनले बताए । ढकालले भने 'विमानस्थल बनेपछि पर्यटक, हवाई रुट, वैदेशिक रोजगारीमा जाने नेपालीसँग सम्बन्धित श्रम, डेक्स, भिसाका सवालमा विमानस्थल तयार हुनुभन्दा अगाडि समन्वय भएन ।’