कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
लुम्बिनीको सामर्थ्य

लुम्बिनीलाई बृहत् अन्तर्राष्ट्रिय सम्पदा सहरका रूपमा विकास गर्नुपर्छ : भिक्षु मेत्तेय

भैरहवा — गौतम बुद्धसँग सम्बन्धित विभिन्न क्षेत्र र सम्पदालाई समेटेर बुद्धिस्ट सर्किट अर्थात् अन्तर्राष्ट्रिय बौद्ध सम्पदा शहरको रूपमा विकास गरे मात्र  लुम्बिनीको सामर्थ्य उजागर हुनसक्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताएका छन् ।

लुम्बिनीलाई बृहत् अन्तर्राष्ट्रिय सम्पदा सहरका रूपमा विकास गर्नुपर्छ : भिक्षु मेत्तेय

कान्तिपुर मिडियाले लुम्बिनीमा आयोजना गरेको 'लुम्बिनीको सामर्थ्य' कार्यक्रममा आफ्नो प्रवचन दिँदै त्रिपाठीले लुम्बिनी गुरुयोजना लागू भएको ४५ वर्षमा अनुमानित बजेटको १२ प्रतिशत मात्रै खर्च गरिएको र विकास प्राथमिकतामा नपरेका कारण सोचेजस्तो उपलब्धि हासिल हुन नसकेको बताए । नेपाल सरकार र विभिन्न विज्ञहरूको सहभागितामा सन् १९७८ मा स्वीकृत सो गुरुयोजनाको त्यतिबेलाको लागत ५५ मिलियन डलर अर्थात् अहिलेको मूल्यमा २२ अर्ब रुपैयाँ भए पनि अहिलेसम्म २ अर्ब ८० करोड मात्र सो क्षेत्रको विकास निर्माणका लागि उपलब्ध भएको उनले उल्लेख गरे ।

'आवश्यक लगानी उपलब्ध नगराउँदा विकास सम्भव हुँदैन, विकासको नारा मात्रै हुन्छ,' उनले भने, 'हाम्रो सोचाइ भगवान बुद्धसँग सम्बन्धित सबै सम्पदा र क्षेत्रहरूलाई समेटेर बृहत्तर लुम्बिनीको निर्माण गर्ने भन्ने हो । हामीसँग सम्पदा धेरै छन् तर सम्पदा क्षेत्रमा सुविधा अत्यन्तै कम छन् ।' छिमेकी भारतले बुद्धसँग सम्बन्धित स्थलहरू लगायत सम्पदाको विकास र प्रवर्द्धनमार्फत पर्यटन र समृद्धिमा हासिल गरेको सफलताको उदहारण दिँदै उनले लुम्बिनी एक धार्मिक स्थल मात्रै नभएर अन्तर्राष्ट्रिय संवाद र शान्तिको केन्द्र बन्न सक्ने संयुक्त्त राष्ट्र संघका पूर्वमहासचिव उथान्तको भनाइ स्मरण गरे ।

लुम्बिनी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्ने हो भने नेपालका अन्य सम्पदा क्षेत्रसँग जोड्न र देशकै पर्यटन तथा अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुर्‍याउन सकिने उनको राय थियो । यसअघिको साढे ४ दशकमा लुम्बिनीको विकासमा भएका घटनाक्रमको समीक्षा गर्दै उनले इतिहासको सही मूल्यांकनबाट मात्रै आगामी विकासको खाका कोर्न सजिलो हुने भनाइ राखे । खड्ग शमशेर र डा‍. फुहररले १ सय २७ वर्षअघि अर्थात् सन् १८९६ मा पत्त्ता लगाएको लुम्बिनी क्षेत्रको महत्व बुझेर यसको उचित सम्भार र प्रचार-प्रसार गरिनुपर्ने उपाध्यक्ष त्रिपाठीको राय थियो ।

प्रकाशित : माघ २१, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?