‘ऋणको बोझ’ ले आत्महत्या !- समाचार - कान्तिपुर समाचार

‘ऋणको बोझ’ ले आत्महत्या !

छोराको बिहेमा भोजसमेत गर्दा मरिक परिवार साढे ३ लाख ऋणमा परेको थियो
अवधेशकुमार झा

राजविराज — छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मृत भेटिएका छन् । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।

सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

२० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए, त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराए । उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । यस्तै, गाउँमै रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएकामा ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ ।

हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको छोरा राजकुमारले बताए । किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।

तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको हुन सक्ने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । जिल्ला प्रहरी सप्तरीका डीएसपी नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : माघ ११, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारी बिदामा गएपछि गजेन्द्रनारायण अस्पतालको भिडियो एक्सरे ४ दिनदेखि बन्द

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे सेवा पछिल्लो चार दिनदेखि रोकिएको छ । अस्पतालको भिडियो एक्सरे सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरुलाई अस्पताल बाहिर महँगोमा भिडियो एक्सरे सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

अस्पतालमा भिडियो एक्सरे सेवा सञ्चालन गर्ने रेडियोलोजिष्ट आशिषकुमार सिंह बिदामा गएपछि सेवा नै ठप्प भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार अस्पतालमा सिंह एक मात्र रेडियोलोजिष्ट छन् । उनी बिदामा गएका कारण सेवा सञ्चालन गर्ने प्राविधिकको अभावमा भिडियो एक्सरे सेवा रोकिएको हो ।

अस्पतालमा भिडियो एक्सरे चलाउने रेडियोलोजिष्टको दरबन्दी खाली छ । छात्रवृत्ति करारमा रहेका सिंह आउँदो शुक्रबार सम्मका लागि बिदामा रहेको मेसु डा. साहले बताए ।

प्रकाशित : माघ १०, २०७९ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×