'डोटी र बाजुराको भूकम्प एक अर्कोसँग सम्बन्धित छ'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डोटी र बाजुराको भूकम्प एक अर्कोसँग सम्बन्धित छ'

लोकविजय अधिकारी

काठमाडौँ — बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । घरहरु भत्काएका र केही हताहती भएको खबर आएको छ । तर समग्रमा जानकारी आउन भने समय लाग्ने छ । भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

२०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको हामीले सम्झिन्छौं । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ । तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प भने भएको छैन ।

पूर्वमा भूकम्प जाने पश्चिममा नजाने भन्ने होइन । ८ म्याग्निच्युट वा त्यो भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरेका छौं । पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति हाम्रो जमिनमुनि सञ्चित भएर बसेको छ । पूर्व होस् कि पश्चिम हामी भूकम्पीय क्षेत्रमा छौं त्यसले यस क्षेत्रमा पटक-पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि भइनै रहन्छ । पूर्व-पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ ।

गत कात्तिकमा डोटीमा केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युड केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । आज बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो । दुवै ठाउँ नजिकै हो । एक अर्कोसँग सम्बन्धित पनि छ । पछिल्लो समयमा त्यस क्षेत्रमा भूकम्प हुने संख्या भने बढेको देखिन्छ । शक्ति सञ्चय भएपछि त्यस क्षेत्रमा भूकम्प गइराखेका हुन्छन् ।

२०३७ सालमा पनि बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको छ । महाभुकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । साना-साना भूकम्प भने जान्छ । नेपालमा दैनिकरुपमा ८-१० वटा भूकम्प गइरहेका हुन्छन् । ४ म्याग्निच्युट कमका भूकम्पहरु हामी महसुस नै गर्दैनौं । निरन्तररुपमा भूकम्प गइरहने ठाउँ भनेको जोखिमको ठाउँ हो । शक्ति सञ्चय भएर बसेको र ठूलो भूकम्प जानसक्छ भन्ने हो ।

८ वा सो भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ लाई ठूलो र ६-७ लाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरेका छौं । सुक्ष्म र अति सुक्ष्म भूकम्प हुन्छन् । हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको नेपाल पूरै भूकम्पीय क्षेत्रमा छ । जुनसुकै समयमा पनि भूकम्प हुनसक्छ । त्यसैअनुसारको तयारी गर्न आवश्यक छ ।


प्रकाशित : माघ १०, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

गोरखाको २ सय वर्ष पुरानो गुम्बामा आगलागी

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–२ स्थित हिनाङको पुङचे गुम्बामा आगलागी भएको छ । मंगलबार दिउँसो साढे ४ बजेतिर आगलागी भएको खबर आएपछि प्रहरीचौकी ल्होबाट घटनास्थलतर्फ उद्धार टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

ल्होबाट गएको प्रहरी टोलीललाई हिनाङ पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । प्रहरी टोली डेड घण्टाअघि नै घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

गुम्बा आसपास बस्ती नभएकाले आगलागीको अवस्थाबारे खुल्न नसकेको एसपी खनालले जानकारी दिए । ‘अहिले स्थानीयसँग पनि टेलिफोन सम्पर्क भइराखेको छैन, सम्पर्क नहुँदा कसरी आगलागी भयो र के कति क्षति छ भन्ने पनि कुनै जानकारी छैन,’ उनले भने ।

ल्हो, ल्ही, र स्यो बस्तीबाट गुम्बा टाढा रहेको र आगलागी भएको देखेपछि स्थानीयहरु पनि गुम्बातर्फ गएको चुमनुव्री गाउँपालिका–२ का वडा अध्यक्ष मिङगुर दोर्जे लामाले बताए । ‘म काठमाडौँमा छु, ४ बजेतिर आगलागी भएको खबर आएको थियो, गाउँलेलाई आगो निभाउन जानु भनेको थिएँ, सबै गाउँका मान्छे आगो निभाउन गएका छन्, अहिले कसैलाई फोन लागेको छैन,’ उनले भने ।

उक्त गुम्बा २ सय वर्ष पुरानो रहेको स्थानीयहरू बताउँछन् । गुम्बाका ज्येष्ठ नागरिक आवासीयरुपमा बस्दै आएका थिए । ‘चिसोले गुम्बाका कतिपय मान्छे तल झरेका थिए, गुम्बामा को को थिए, कसरी आगलागी भयो भन्नेबारे जानकारी लिन सकेको छैन,’ उनले भने ।

प्रकाशित : माघ १०, २०७९ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×