कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भयो' 

गण्डकी — पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् ।

'कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भयो' 

केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।

कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताए । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेको प्रतीकले बताए । उनले भने, 'कमल कक्षामा जहिल्यै पनि प्रथम हुन्थे । सानैदेखि मिहिनेती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।'

पाइलट बनेपछि समेत केसीसँग पटक-पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए । 'भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौं । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।'

उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।

केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बनेका गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । 'उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ', उनले भने, 'केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।'

प्रकाशित : माघ १, २०७९ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?