‘समानुपातिकमा रास्वपाले खोस्यो कांग्रेसको मत’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस निर्वाचन अनुगमन समिति

‘समानुपातिकमा रास्वपाले खोस्यो कांग्रेसको मत’

कान्तिपुर संवाददाता

काठमाडौँ — समानुपातिकतर्फ विगतभन्दा ७ प्रतिशत कम मात्रै मत पाएको नेपाली कांग्रेसले विगतमा आफूले प्राप्त गर्दै आएको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको निष्कर्ष निकालेको छ । निर्वाचन अनुगमन तथा पर्यवेक्षण समितिले बुधबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा सहरी क्षेत्रका मतदाताको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको उल्लेख छ ।

समितिका सहसंयोजक कृष्णप्रसाद पौडेलले सहरी क्षेत्रका युवा मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीमा आकर्षित हुँदा कांग्रेसको समानुपातिक मत घटेको बताए ।

‘सबैभन्दा धेरै सहरी क्षेत्रका युवा मतदाताको मत गुमेको छ । त्यसबाहेक पहाडी र हिमाली जिल्लामा समेत विगतमा कांग्रेसले प्राप्त गर्दै आएको मत रास्वपाले खोसेको देखिन्छ,’ पौडेलले भने । समितिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई चितवनमा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । पौडेलले पार्टीले सहरी क्षेत्रमा युवालाई आकर्षित गर्ने योजना अघि सार्न नसक्दा सहरी क्षेत्रको धेरै मत गुमेको बताए ।

समानुपातिक मतमा जिल्लागतरुपमा पनि कांग्रेस निकै पछि रहेको देखिएको छ । समानुपातिक मतमा एमाले ४६ जिल्लामा पहिलो हुँदा कांग्रेस २२ जिल्लामा मात्रै पहिलो छ । प्रतिनिधिसभा क्षेत्रगत हिसावले तुलना गर्दा एमाले ७४ क्षेत्रमा पहिलो बनेको छ भने कांग्रेस ५५ क्षेत्रमा मात्रै पहिलो छ ।


त्यस्तै, माओवादी केन्द्र ५ जिल्ला र ९ क्षेत्रमा मात्रै पहिलो दल छ भने राष्ट्रिय स्वतन्त्र पार्टी २ जिल्ला र १५ क्षेत्रमा पहिलो दल छ । समानुपातिक मतमा जनमत पार्टी २ जिल्ला र ६ निर्वाचन क्षेत्रमा पहिलो दल छ । जसपा पाँच क्षेत्र र राप्रपा एक क्षेत्रमा पहिलो दल बनेका छन् ।

समितिले समानुपातिक मत बढाउन पार्टीले विभिन्न रणनीति अपनाउनुपर्ने सुझाव दिएको छ । ‘संगठन विस्तारमा पार्टीले केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिने, केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिने र विधानबमोजिम गठन भएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको नेतृत्व चयन गरेर संगठन परिचालन गर्नुपर्ने देखिन्छ,’ समितिका सहसंयोजक पौडेलले भने । समितिले पार्टीको छुट्टै थिंक ट्यांकको व्यवस्था गर्न सुझाव दिएको छ ।


‘पार्टीले अलग्गै थिंक ट्यांकको गठन गर्नु आवश्यक छ । त्यस्तो थिंक ट्यांकले पार्टीका लागि आवश्यक पर्ने विविध विषयमा सही सूचना तय गर्ने, पार्टीको नेतृत्वले सार्वजनिक ठाउँमा कुनै विषयको बारेमा बोल्दा थिंक ट्यांकले तयार गरेको सूचनालाई आधार बनाउने गर्नु आवश्यक छ,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले आमनागरिकले दैनिकरुपमा भोग्नुपरेका समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानका लागि सम्बन्धित निकायमा आ–आफ्नो ठाउँबाट पहल लिनुपर्ने सुझाव दिएको छ । सहसंयोजक पौडेलले पार्टीले गरेका कामको अनुगमन र मूल्यांकन गर्ने संयन्त्र बनाई ‘पार्टी अडिट’ गर्ने पद्धति बसाल्नु आवश्यक रहेको बताए ।

प्रकाशित : पुस २१, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

डलर देखाएर ठगी गर्ने चार जना पक्राउ

सुवास विडारी

मकवानपुर — अमेरिकी डलर देखाएर ठगी गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई सार्वजनिक गरिएको हो ।

उनीहरूलाई प्रहरीले बुधबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवस डुम्जन, बाह्रविसे–४ का २८ वर्षीय शेरबहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिकाका २८ वर्षीय देवा डुम्जन रहेका छन् ।

विशेष सूचनाको आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरू भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो ।

ठगीमा संलग्न एक जना भने फरार रहेको मकवानपुरका प्रहरी प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाँ, कागजको नक्कली नोट ८ बन्डल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित : पुस २१, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×