कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सुनसान भए सदरमुकाम

ताप्लेजुङ — स्थानीय तहको चुनावमा भोट हाल्न मतदाता आ–आफ्ना नगर÷गाउँ फर्किएपछि पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सदरमुकाम सुनसान भएका छन् । तीनवटै जिल्लाका सदरमुकामस्थित प्रमुख बजारमा आइतबार व्यापार ठप्प प्रायः रह्यो ।

सुनसान भए सदरमुकाम

स्थानीय तहको चुनावमा भोट हाल्न मतदाता आ–आफ्ना नगर÷गाउँ फर्किएपछि पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सदरमुकाम सुनसान भएका छन् ।

तीनवटै जिल्लाका सदरमुकामस्थित प्रमुख बजारमा आइतबार व्यापार ठप्प प्रायः रह्यो । सधैं भीडभाड हुने ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम र इलामको इलाम सदरमुकाममा बन्द÷व्यापार, जागिरलगायतका विभिन्न पेसा÷व्यवसायमा रहेका मतदाता आ–आफ्ना गाउँ र नगर फर्किएका हुन् ।

सदरमुकाम रहेका प्रमुख नगरपालिकामा आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रचार अभियानमा सक्रिय विभिन्न दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ता, शुभेच्छुक र आफन्तसमेत आइतबार गाउँ फर्किएपछि प्रमुख व्यापारिक केन्द्र रित्तिन थालेको फुङलिङ बजारकी व्यवसायी मेनुका राईले बताइन् । सदरमुकामबाट यात्रु बोकेर बाहिरिने गाडी आइतबार प्रशस्त देखिए, तर सदरमुकाम भित्रिने यात्रुवाहक गाडी खासै देखिएनन् । शिक्षण संस्थासमेत बन्द भएपछि सदरमुकाममा पढाउने शिक्षक र पढ्ने विद्यार्थीसमेत घर फर्कन थालेपछि शनिबारदेखि सदरमुकामको भीड घट्न थालेको थियो ।

ग्राहक आउने क्रम घटेपछि सदरमुकाम बजारका धेरैजसो पसल र व्यवसायसमेत चुनावसम्मका लागि बन्द भएका छन् । आइतबार बिहान फुङलिङ बजारमा चियानास्ता र खानाका होटल पाउनसमेत हम्मे परेको थियो । फुङलिङ बजारको सधैं भीडभाड हुने ‘भण्डारी खाजा घर’ आइतबार सुनसान थियो, खाजाका आइटमसमेत केही थिएनन् । जिज्ञासा राख्दा खाजा घरका मालिक तामन भण्डारीले कान्तिपुरसित भने, ‘बजार सुनसान भइसक्यो, को आउँछ र खाजाको आइटम बनाउने ? भोलि (सोमबार) म पनि आफ्नै गाउँपालिकामा जान्छु, भोट हालेको भोलिपल्ट फर्केर खाजा घर खोल्छु ।’

सदरमुकाम बजार सोमबारदेखि चुनावको दिनसम्म पूरैजसो बन्द हुने यहाँका व्यवसायी बताउँछन् । ती व्यवसायीका अनुसार अत्यावश्यक खाद्यान्न र औषधिलगायत केही पसलबाहेक अरू सोमबारदेखि चुनावसम्म पूरैजसो बन्द हुनेछन् ।

तीनवटै पूर्वी पहाडी जिल्लामा आइतबारदेखि मनसुनी वर्षा सक्रिय हुन थालेको छ । आइतबार तीनवटै जिल्लामा दिनभरजसो वर्षा भयो । नदी र खोलानालामा बाढी आउन थालेको छ ।

मतदानको तिथिभन्दा तीन दिनअघिदेखि बढ्न थालेको मनसुनी वर्षाले मतदाता चिन्तित भएका छन् । ‘चुनावको दिन पानी नपरिदियोस्, बाटोघाटोमा पहिरो नगइदियोस् भन्ने हाम्रो कामना छ,’ मतदान गर्न उत्साहित मतदाता भन्छन् । यहाँका सबै दल र उम्मेदवारसमेत बढ्न थालेको मनसुनी वर्षाले चिन्तित छन् । ‘वर्षाका कारण भोट दिन मतदाता नआउने हुन् भन्ने डर लागेको छ,’ सबै दलका स्थानीय नेता भन्छन् ।

वर्षाका कारण मतदानमा खटिएका प्रमख निर्वाचन अधिकृतदेखि सबै कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत पिरोलिएका छन् । उनीहरूलाई वर्षाका कारण मतपेटिका र मतपत्र मतदानस्थलमा पुर्‍याउन, पानीबाट बचाई सुरक्षित ढंगले मतदान गराउन र मतदान सकिएपछि आ–आफ्नो केन्द्रमा लग्न र गणना गर्न समस्या हुने चिन्ताले पिरोलेको हो । ‘वर्षाका कारण पहिरो गएर मतदाता नआउने हुने कि भन्ने मात्र होइन कि आफैं मतदान केन्द्रमा जानै नसकिने हो कि, मतपत्रलाई पानीबाट जोगाउन नसकिने हो भन्ने चिन्ता छ,’ मतदानमा खटिएका कर्मचारीले भने ।

तीनवटै जिल्लाका सदरमुकाम जोड्नेबाहेक अरू सबै सडक कच्ची छन् । ठूलो वर्षा हुनासाथ कच्ची सडकमा गाडी चलाउन सकिँदैन । गाडी चलेनन् भने मतपेटिका र मतपत्र मतदान स्थलमा पुर्‍याउन र फर्काउन तथा मतदातासमेत मतदानस्थलमा पुग्न गाह्र्रो हुनेछ । मतदाता मतदानस्थलमा पुग्न कम्तीमा एकदेखि तीन घण्टा हिँड्नु पर्छ ।

अझ ताप्लेजुङको उत्तरी भेकमा मतदाता मत दिन ६ घण्टासम्म हिँडेर मतदान स्थलमा पुग्नुपर्ने ठाउँसमेत छन् । ताप्लेजुङको उत्तरी भूभागका कतिपय अप्ठ्यारो ठाउँका मतपेटिका र मतपत्र हेलिकप्टरबाट लानुपर्ने र ल्याउनुपर्ने स्थिति छ । मौसमका कारण हेलिकप्टरबाट मतपेटिका र मतपत्र लान तथा ल्याउन नसकिने हो कि भन्ने चिन्ता निर्वाचन कर्मचारीहरूको छ ।

प्रकाशित : असार १२, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?