कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाकै जिम्मामा मतदान केन्द्र

दैलेख — सदरमुकामस्थित त्रिभुवन मावि मतदानस्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् । मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत खटिएका छन् ।

महिलाकै जिम्मामा मतदान केन्द्र

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रमेश श्रेष्ठले महिला एक्लैले पनि काम गर्न सक्छन् भन्ने विश्वाससाथ दुई केन्द्रमा महिलामात्रै खटाइएको बताए । उनका अनुसार यसलाई नमुना मतदान केन्द्रका रूपमा लिइएको छ ।

उनले अन्य ७ स्थानमा महिलालाई मतदान अधिकृत खटाइएको जनाए । व्यवस्थापनमा सहज होस् भनेर नजिकैका केन्द्रमा महिला कर्मचारी खटाइएको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लामा रहेका १ सय ९६ केन्द्रमध्ये दुईसहित ७ केन्द्रमा महिला मतदान अधिकृत खटाइएको छ । ‘यसअघिका चुनावमा पनि मैले मतदान अधिकृतको जिम्मेवारी पूरा गरिसकेकाले यो पटक सहज हुनेछ,’ मतदान अधिकृत ज्ञवालीले भनिन् ।


सबै केन्द्रमा पुगे कर्मचारी
मतदानका लागि सबै निकायले तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेशसभा सदस्यका लागि ४ क्षेत्र तोकिएको दैलेखमा १ लाख ३९ हजार ९ सय ४४ मतदाता छन् । जिल्लामा ४ नगरपालिका र ७ गाउँपालिका छन् । क्षेत्र १ मा ७० हजार १ सय ९० र क्षेत्र नम्बर २ मा ६९ हजार ७ सय ५४ मतदाता छन् ।

निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावमा खटिने कर्मचारीलाई तालिम दिएर आवश्यक सामग्रीसहित खटाएका छन् । सबैजसो केन्द्रमा टोली पुगेको प्रजिअ विश्वराज न्यौपानेले जानकारी दिए । केन्द्रको नक्सा तयार पार्ने, स्थानीयस्तरमा समन्वय बैठकको आयोजना गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । 

यस्तै, पाल्पाको तानसेन नगरपालिका–४ र ८ वडामा रहेका ४ केन्द्रमा पनि मतदान अधिकृतसहित सबै कर्मचारी महिला छन् । मोहनकन्या माविका २ र शारदा माविका २ केन्द्रमा महिला छन् । महिलाले सबै जिम्मेवारी पूरा गर्न सक्ने मतदान अधिकृत जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले बताइन् । उक्त केन्द्रको दुई मतदानस्थलमा ७/७ गरी १४ कर्मचारी छन् । तानसेन ४ को मोहनकन्या मावि, सिल्खानटोलको ‘क’ मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले सामान्यको सूचीमा राखेको छ । 

जिल्लामा मतदानको सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोही स्थानको ‘ख’ मतदान केन्द्रमा पनि ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा एकता बराल छिन् । संवेदनशील मानिएका केही मतदान केन्द्रमा पनि महिला मतदान अधिकृत छन् ।

मोहनकन्याको ‘क’ केन्द्रमा सहायक मतदान अधिकृत जिल्ला अस्पतालकी स्टाफनर्स प्रज्ञा काफ्ले छिन् । सहायक कर्मचारीमा माथागढी गाउँपालिकाकी नाप्रास संगीता थापा, नवकिरण प्रावि हुमिनकी शिक्षक शारदा ढुंगाना, रैनादेवी छहरा गापाका सहायक महिला विकास निरीक्षक मीनादेवी आचार्य र दोभानमाविकी शिक्षिका माया पाण्डेय छन् । यस्तै सहयोगीमा समेत मालपोतकी लक्ष्मीदेवी उपाध्याय र डिभिजन सडककी लक्ष्मी सुवेदी छन् । ‘ख’ केन्द्रमा सहायक मतदान अधिकृत मालपोत कार्यालयकी डोलमाया सारू छन् ।

सहायक कर्मचारीमा पालुङ स्वास्थ्यचौकीकी सुशीला लाम्टाङे, रामपुर इलाका हुलाकी चित्रा कुमारी श्रेष्ठ, भैरव नवदीप विद्यालयकी पार्वती रायमाझी, बालविकास आधारभूत विद्यालयकी कमला ढेंगा छन् । सहयोगीमा विशेष नापीकी अम्बिका भण्डारी र जिल्ला निर्वाचन कार्यालयकी मीना घिमिरे छन् । जिल्लामा सोमबारै मतदान केन्द्रमा मतदान अधिकृत पुगेर सर्वदलीय बैठक बस्ने र व्यवस्थापनको कार्य सुरु भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

 

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?