कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओझाको उपन्यास 'ऐँठन' सार्वजनिक

काठमाडौँ — उपन्यासकार विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास 'ऐँठन' लिएर आएका छन् । शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ ऐँठन सार्वजनिक गरेका हुन् ।

ओझाको उपन्यास 'ऐँठन' सार्वजनिक

सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउने गरी लेखक ओझाले उपन्यासमा सजिव चित्रण गरेको बताए । साथै उनले राज्यले द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवस्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उल्लेख गरे ।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताउँदै पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने उल्लेख गरे । पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उनको भनाइ थियो । साथै उनले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई सशक्त बनाएको बताए । कलात्मक लेखन र कल्पनाको विशाल संसार निर्माणले पाठकलाई अचम्मित पार्ने उनको भनाइ थियो ।

नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन् । उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताइन् । लेखकले सृजनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरिन् । तर आफ्ना कथाहरु लेख्न विवेक ओझाका कृतिले प्रेरित गर्ने पनि उनको भनाइ थियो । पुस्तकको सशक्त पक्ष भने युद्ध लेखेर शान्तिको सन्देश दिनु रहेको उनले उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए । लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने बताउँदै उनले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताउँदै पाठकले मनपराउने आशा व्यक्त गरे । पुस्कतलाई सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो । ओझाको यसअघि ऐलानी उपन्यास प्रकाशित छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?