कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोक्यो रीको सौन्दर्य खोज्दै

सुनीता साखकर्मी

काठमाडौं — झन्डै २४ वर्ष अगाडि । उनी अन्दाजी १४ वर्षका थिए । सिन्धुलीका विद्यालयमा तिनताक दसंंैदेखि तिहार नसकुन्जेलसम्म बिदा हुन्थ्यो । बुवा टुरिस्टको भारी बोक्ने काम गर्थे ।

गोक्यो रीको सौन्दर्य खोज्दै

त्यसपटक भने बुवाले उनलाई पनि यात्रामा जानको लागि भने । र, उनी बुवासँगै यात्रामा निस्किए । बुवाले ठूलो भारी बोके, उनलाई पनि सानो भारी बोकाए । भरियाबाट सुरु भएको उनको यात्रा अहिले टुरिस्ट गाइडमा आइपुगेको छ । उनी अर्थात् दावा लामा तामाङ । उनले भरिया वा ट्ेरकिङ गाइडका रूपमा विभिन्न हिमाल, ताल, हिम नदीहरूको यात्राका क्रममा खिचेका तस्बिरहरूलाई नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखेका छन् । 

‘यात्राका क्रममा मैले ३३ देखि ३४ हजारको हाराहारीमा फोटो खिचिसकेका छु,’ उनले भने, ‘प्रदर्शनीमा ३३ वटा फोटा राखेको छु ।’ भारी बोकेर कमाएको पैसाले उनले सुरुमा कम्प्याक्ट क्यामेरा किने । सानो लेन्सको कारण फोटो राम्रो आउँदैनथ्यो र उनी अटो सिस्टममै फोटो खिचिदिन्थे । उनी सबैभन्दा बढी सगरमाथाको बेसक्याम्पमा पुगेका छन् । ‘सगरमाथा बेसक्याम्पमा झन्डै ५० चोटिभन्दा बढी पुगेँ हुँला, गनेको छैन,’ उनले भने । २००९ मा यूकेबाट आएका ५० जना विद्यार्थीको टोलीलाई गाइड गर्दै उनले सगरमाथाको बेसक्याम्प पुर्‍याए । त्यसबाट फर्किएपछि उनले ठमेलमा ‘ट्राभल टाइम्स’ एजेन्सी सुरु गरे । त्यो राम्रैसँग चल्यो र उनले राम्रो क्यानोनको क्यामेरा किने । त्यसपछि उनले यात्राका क्रममा झनै राम्रो फोटो खिच्न पाए । २०१२ मा उनले फोटोग्राफीको ट्ेरनिङको लिएपछि त झनै उनले राम्रो फोटो खिच्न सके । 

उनी आफूलाई ‘लक्की’ मान्छन् । विभिन्न मौसमका बेला एउटै ठाउँमा पुग्दा त्यस ठाउँको हावापानी र अवस्थाबारे जान्न पाएका छन् । उनी सगरमाथा बेसक्याम्पका साथै अन्नपूर्ण, कञ्चनजंघा, मकालु हिमालको बेसक्याम्पमा पुगेका छन् । उनले गोक्यो रिको फोटोहरू राखेका छन् । उनी यो ठाउँलाई ‘फोटोग्राफीमा सोखिनका लागि उत्कृष्ट ल्यान्डस्केप’ को रूपमा व्याख्या गर्छन् । सगरमाथा, नुप्से, ल्होत्से, पुमोरी, लोबुचे, नोग्जुम्बा, रेन्जोला हिमाललगायत गोक्यो ताल एकै नजरमा देखिन्छ । र, उनले २०१३ मा खिचेका फोटो प्रदर्शनीमा मुख्य आकर्षणको केन्द्र हो ।

उनका फोटोमा सेता हिमाल टल्किएको देखिए पनि वास्तविक अवस्थामा भने निकै कमी आइसकेको उनले सुनाए । ‘यो फोटो २०१३ मा खिचेको हुँ । त्यतिबेला अफ सिजनमा पनि सेता हिउँ हुन्थे,’ उनले भने, ‘अहिले अफ सिजनमा यहाँको हिमनदी कालो पत्रले ढाकेको हुन्छ र निकै पातलो भइसकेको छ । यस्तै वास्ता नगरी छोड्ने हो भने १० वर्षपछि यो हिमनदी नै देखिँदैन ।’ उनले चीन र भारतमा सञ्चालनमा रहेका अत्याधिक कार्बनडाइअक्साइड उत्पादन गर्ने औद्योगिक कलकारखानाहरूका कारण यस्तो भएको अनुमान लगाए । भने, ‘उनीहरूले उत्पादन गरेको ग्यासको असर हामीलाई परिरहेको छ । त्यसैले उनीहरूले हाम्रो सम्पदा जोगाउनको लागि फन्डिङ गर्नुपर्छ र हामीले पनि जोगाउनुपर्छ । नत्र त्यो क्षेत्र अबको केही समयपछि मासिन सक्छ ।’ 

मानिसको पर्यटकीय गन्तव्यको रूपमा रारा, मुस्ताङ मात्रै परिरहेको अवस्थामा उनले गोक्यो रीमा पनि पर्यटनको सम्भावना प्रचुर रहेको देखाउने उद्देश्यले प्रदर्शनी गरेको बताए । यो मात्र नभएर उनले काभ्रेको तेमालमा आफ्नै लगानीमा आठ कक्षासम्म पढाइ हुने श्री सनमन प्राथमिक विद्यालय खोलेछन् । प्रदर्शनीमा बिक्री भएका फोटाहरूबाट उठेको पैसा उनले सोही विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर वृद्धिमा खर्च गरिने उनले सुनाए । 

प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?