कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

फिटनेसले फेरियो दैनिकी

काभ्रेको बनेपामा युवती तथा महिलालाई लक्षित गर्दै सञ्चालन गरिएका फिटनेस सेन्टरमा युवायुवतीदेखि गृहिणीहरू शारीरिक व्यायाम गरिरहेका भेटिन्छन् । उनीहरू हरेक दिन बिहान साढे ५ बजेदेखि नै जुम्बा, एरोबिक, कार्डियो, वेट टर्निङ, एक्सरसाइज, योगलगायत व्यायाममा जुट्छन् ।
ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको बनेपा–७ धनेश्वरकी ३५ वर्षीया मीरा श्रेष्ठको दैनिकी बिहान झिस्मिसेमै सुरु हुन्छ । बिहान सबेरै फिटनेस सेन्टरमा पुग्छिन् । मीराको यो दैनिकी लामो समयदेखि नियमित छ ।

फिटनेसले फेरियो दैनिकी

स्वस्थ्य शरीरका लागि शारीरिक व्यायामलाई प्राथमिकता दिने गरेको उनी बताउँछिन् । स्वास्थ्यमा विभिन्न समस्या आएपछि चिकित्सकको सल्लाहबमोजिम शारीरिक व्यायाम गर्न थालेको उनले सुनाइन् ।

फिटनेस सेन्टर धाउन थालेयता भने आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताइन् । अस्पताल धाउँदा–धाउँदा हैरान भएकी मीराको फिटनेस सेन्टरमा व्यायाम गर्न थालेपछि स्वास्थ्यमा नसोचेको सुधार भएको अनुभव छ । ‘औषधि खाँदा मात्र कम हुन्थ्यो,’ उनले भनिन्, ‘रोगलाई पूर्ण रूपमा निको पार्न शारीरिक व्यायाम गर्नुपर्छ भन्ने डाक्टरको सल्लाहपछि फिटनेस सेन्टरमा आएर व्यायाम गरेपछि सुधार भएको छ ।’

बनेपा–७ बसपार्ककी ४७ वर्षीया सन्तना राजवंशीको दैनिकी पनि मीराको जस्तै छ । उनी बिहान पाँच बजे नै फिटनेस सेन्टर पुग्छिन् । यो कार्य एक दशकदेखि निरन्तर रहेको उनले बताइन् । स्वस्थ्य शरीरका लागि शारीरिक व्यायामलाई प्राथमिकता दिएको उनको कथन छ । स्वास्थ्यमा विभिन्न समस्या आएपछि चिकित्सकको सल्लाहबमोजिम शारीरिक व्यायाम गर्न थालेको उनले सुनाइन् । ‘डिप्रेसनको समस्याले रातभर निद्रा नलाग्ने, खान मन लाग्ने, शरीर दुख्नेजस्ता समस्या थियो,’ उनले भनिन्, ‘डाक्टरले शारीरिक व्यायाम गर्दा ठीक हुन्छ भन्ने सुझाव दिएबमोजिम फिटनेस सेन्टर आउन थालेकी हुँ । अहिले स्वास्थ्यमा निकै सुधार भएको छ ।’

स्वास्थ्य समस्याकै कारण फिटनेस सेन्टर धाउन सुरु गर्ने अर्की महिला हुन्, बनेपा गोदामचोककी ४५ वर्षीया जुली मानन्धर । चिकित्सकले शारीरिक व्यायाम गर्न सुझाएअनुसार ८ वर्षदेखि बिहानीको समय यसैमा बिताउने गरेकी छन् उनले । व्यायामले शरीरको आधा समस्या समाधान हुने गरेको उनको अनुभव छ ।

मीरा, सन्तना र जुली उदाहरण मात्र हुन् । बनेपामा पछिल्लो समय युवायुवतीदेखि गृहिणीहरू उज्यालो नहुँदै नाचगानका साथ शारीरिक व्यायाममा भेटिन्छन् । घरी कम्मर मर्काइ–मर्काइ नाच्छन् त घरी जिउ तन्काउँदै व्यायाम गर्छन् । हरेक दिनको बिहान साढे ५ बजेदेखि नै जुम्बा, एरोबिक, कार्डियो, वेट टर्निङ, एक्सरसाइज, योगालगायत व्यायाममा जुट्छन् । कोही स्वास्थ्य समस्या निवारण गर्न त कोही शारीरिक सन्तुलन चुस्त राख्न फिटेनस सेन्टरमा पुग्ने गर्छन् ।

बनेपा–७ तरकारी बजारकी ३६ वर्षीया अल्का जोशी शरीर सन्तुलन राख्न फिटनेस जाने गरेको बताइन् । ‘सुत्केरीको समयमा ज्यान लागेपछि शरीरलाई मेनटेन राख्न फिटनेस सेन्टर आउन थालेको छु,’ उनले भनिन्, ‘पहिला पनि फिटनेस सेन्टर आउने गर्थें ।’ घरको कामधन्दा दिक्क मान्नेका लागि फिटनेस सेन्टर ऊर्जा पाउने गरेको पिंकी प्रधान बताउँछिन् । ‘घरको कामधन्दा गर्दा गर्दा दिक्क लागेको हुन्छ,’ उनले भनिन्, ‘यहाँ आएर नाचगान, व्यायाम गर्दा शरीर स्वस्थ हुनुको साथै साथीहरूसँग भेटघाट हुँदा रमाइलो हुन्छ, दिनभरि मुड फ्रेस हुन्छ ।’ लकडाउनको समयमा फिटनेस सेन्टर बन्द हुँदा धेरै गाह्रो भएको उनले सम्झिइन् ।

व्यायाम गर्दागर्दै आफ्नो खानपानमा सुधार भएको बनेपा–७ की ३३ वर्षीया सुजता श्रेष्ठले बताइन् । पहिले जंकफुड बढी खाने गरेको र फिटनेस सेन्टरमा धाएदेखि स्वस्थकर र पोषिलो खानेकुरामा विशेष ध्यान दिएको उनले सुनाइन् । ‘स्वस्थ्य शरीरका लागि स्वस्थकर खानपानसँगै शारीरिक व्यायाम अति आवश्यक छ,’ उनले भनिन्, ‘त्यसैले दिनको १/२ घण्टा समय व्यायामको लागि निकाल्न सक्नुपर्छ ।’

बनेपाका युवती तथा महिलालाई लक्षित गर्दै सजिना श्रेष्ठले २०७० सालमा युनाइटेड फिटनेस एन्ड डान्स सेन्टर सञ्चालनमा ल्याएको बताइन् । उनको कथनमा एउटा परिवारलाई स्वस्थ बनाइराख्न एउटी महिलाले दिनरात मिहिनेत गर्छिन् । त्यसैले महिला स्वस्थ रहे मात्र परिवार स्वस्थ रहन्छ । ‘यही कुरालाई मध्यनजर गर्दै फिटनेस सेन्टर सञ्चालनमा ल्याएकी हुँ,’ उनले भनिन्, ‘सुरुमा फिटनेस सेन्टर र शारीरिक व्यायामबारे सर्वसाधारणलाई बुझाउन नसक्दा मान्छे जुटाउनै गाह्रो भयो ।’

सुरुमा चिनजानेका आफन्त, छरछिमेकी जुटाएर फिटनेस सेन्टर सञ्चालन गरेको जनाइन् । ‘धेरै जना लुकीछिपी आउनुहुन्थ्यो यहाँ सिक्नको लागि,’ शारीरिक व्यायामलाई जनस्वास्थ्यको अभिन्न पाटो हो भनेर बुझाउने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘फिटनेस सेन्टर आउन घरमा विभिन्न बहाना बनाएर दिदीबहिनीहरू आउनुहुन्थ्यो । तरकारी किन्न, मर्निङवाक जानजस्ता बहाना बनाएर आउनुहुन्थ्यो । अहिले दैनिकी बनेको छ ।’

‘घर–घरमा गएर बुझाउनुपर्थ्यो, त्यो बेलामा,’ उनले भनिन्, ‘समय परिवर्तन भएको छ, अहिले फिटनेस सेन्टर कहाँ छ भनेर खोज्दै बुझ्नको लागि आउनुहुन्छ ।’ सुरुमा ५ जनाबाट सुरु गरेको फिटनेस सेन्टरमा हालसम्म २ हजारभन्दा पनि बढीले सेवा लिइसकेको उनले बताइन् । बिहान र बेलुका गरी दुई सिफ्टमा व्यायाम गराइन्छ । करिब ४० जना नियमित हुन्छन् ।

अहिले स्वास्थ्यप्रति धेरै सचेतना बढेको सञ्चालक सजिनाले बताइन् । ‘सामान्यभन्दा सामान्य कुरामा पनि ख्याल राख्न थालिएको छ,’ स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले भनिन्, ‘स्वस्थ खानपानदेखि शारीरिक व्यायाममा मानिसहरू धेरै चनाखो भएका छन् । व्यायाम गर्न कुनै उमेरले छेक्दैन । यहाँ १३ वर्षदेखि ६५ वर्ष उमेर समूहका दिदीबहिनी हुनुहुन्छ ।’ बनेपा, साँगा, नाला, भैंसेपाटीलगायतका क्षेत्रबाट दिदीबहिनी व्यायाम गर्न आउने गरेको जनाइन् ।

शारीरिक व्यायाम गर्दा शरीर स्वस्थ, स्फूर्त, सन्तुलन हुनुको साथै सुन्दर देखिन्छ । थाइरोइड, प्रेसर, सुगर, मानसिक रोग, पेटसम्बन्धी समस्या, महिनावारी गडबडी, नसासम्बन्धी समस्या, ढाड दुख्ने, घुँडा दुख्नेलगायत विभिन्न समस्या लिएर आउने गरेको फिटनेस सञ्चालक एवं नृत्य प्रशिक्षक सजिनाले बताइन् । चिकित्सकले दिएको सल्लाह र सुझावबमोजिम व्यायाम अभ्यास गराउने गरिन्छ ।

‘यहाँ आएर अभ्यास गरेको करिब ३ महिनामा उहाँहरूको स्वास्थ्यमा सुधार आएको पाएको छु,’ उनले भनिन्, ‘शारीरिक व्यायाम सुरु गरेपछि बीचमा छोड्नु हुँदैन, निरन्तरको अभ्यासले मात्रै स्वास्थ्य सन्तुलमा आउँछ ।’ व्यस्त दैनिकी र अस्वस्थकर खानपानले हाम्रो स्वास्थ्य कमजोर हुने गर्छ । स्वस्थ खानापान अनिवार्य भएजस्तै दैनिक एक/डेढ घन्टाको समय शारीरिक व्यायाम अनिवार्य गर्नु उत्तम हुने उनले बताइन् ।

यसैगरी, बनेपामा रहेको उरा डान्स सेन्टरले युवती तथा महिलालाई शारीरिक व्यायामका लागि जुम्बा, एरोबिकलगायत गतिविधिमा संलग्न गराउँदै आएको छ । पनौतीका स्थानीय सुनिता ताम्राकार र रमिला रञ्जितकारले फ्लाई गर्ल्स जुम्बा एन्ड जिम सेन्टर खोलेका हुन् । ‘बिहान र साँझको समय ३ सिफ्टमा ६० जना महिला दिदीबहिनीहरू सहभागी हुनुहुन्छ,’ सुनिताले भनिन्, ‘शारीरिक व्यायाम गर्दा शरीर स्वस्थ भएको प्रतिक्रिया पाएका छौं ।’ शारीरिक व्यायाम विलासिता नभई आधुनिक जीवनशैलीको नयाँ उदाहरणका रूपमा विस्तार गरिएको उनले जनाइन् ।

प्रकाशित : भाद्र २८, २०८० ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?