कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रिय भूपी, बेड–ल्याम्प होइनन् धर्मपत्नी !

समयको गति धारिलो बन्दै छ । भूपी, तिमीले ‘बेड—ल्याम्प’ भनेका धर्मपत्नी अब आफैं बल्दै छन् !
सविता विमली

भोरको उज्यालोमा उसलाई निभाएर/सधैं—सधैं म घरबाट निस्कन्छु 
र, हठात् म उसलाई स्पर्श गर्न पुग्छु/ऊ खुसीले धप्प बल्छ

प्रिय भूपी, बेड–ल्याम्प होइनन् धर्मपत्नी !

ऊ मेरो कोठाको ‘बेड—ल्याम्प’ !/ऊ मेरी ‘धर्मपत्नी’ !

(बेड—ल्याम्प/घुम्ने मेचमाथि अन्धो मान्छे)

कवि भूपी शेरचनको माथिको कविता पढेपछि म धेरैबेर सन्न भएकी थिएँ । हाम्रा कति हजुरआमा, आमा, फुपू, सानिमा, ठूलीआमा, काकी, दिदी, भाउजूको नियति यस्तै थियो !

म मेरै उमेरका साथी हेर्छु, बहिनी पुस्ता देख्छु । कवितामा उल्लिखित अवस्था बदलिएको छ । भोरको उज्यालोमा कसैले निभाउन नपाउँदै आफूले आफैंलाई बालेर निस्केका छन् उज्यालोको खोजीमा आजका धर्मपत्नीहरू । साँझ वा रातमा फर्किंदा उस्तै उज्यालो बोकी फर्किन्छन् सधैं अरूलाई पनि बल्न पुग्ने गरी ।

भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छोरी लिएर ऊ मकहाँ आएकी छ । केही कुरा छोरीकै सामुन्ने सुनाउँछे । छोरीलाई बाहिर पठाएर आफ्ना जीवनका बाँकी कहर कहन्छे । आफूमाथि भएको शारीरिक हिंसा, अपमान, तिरस्कार, अतिशय रुढिवादी व्यवहारबाट आजित छे । कतै वैवाहिक सम्बन्धभित्र यौन हिंसामा त परेकी छैन ? उज्यालोको खोजीमा बाहिर निस्किएकी ऊ रातमा कसैको स्पर्शमा धप्प बल्न पाउँदिनँ । पति प्रेमिकासँग अभिसारित भइरहँदा ऊ रातको अँध्यारोमा एक्लो उच्छबास छाड्छे ।

छोरी आइपुग्छे । बाबुका सबै कर्तुत देखिरहेकी उसलाई सोध्छु, ‘बाबाको त अहिले नै पनि साथी रहेछ । भोलि कुनै दिन मामुको जीवनमा पनि कोही साथी आइपुग्यो भने ?’

‘मेरो मामुले बाबाभन्दा धेरै राम्रो मान्छे डिजर्व गर्नुहुन्छ ।’

छोरीको उत्तरले मलाई खुसी बनाउँछ । हामी दुवैका आँखा जुध्छन् र केहीबेरसम्म निशब्द बन्छौं ।

१७ वर्ष टेक्दै गर्दा यो मान्छेसँग विवाह गर्न पाइनँ भने मरिदिन्छु भन्ने छोरीको धम्कीेअघि गलेका आमाबाबुले कन्यादान दिएकी ऊ छोरो दस वर्ष नपुग्दै प्रवासिन्छे । देश छोड्नुको कारण पनि ऊमाथि हुने शारीरिक हिंसा नै थियो । उसलाई पटकपटक डिभोर्स गर्न दबाब दिइन्छ, ऊ टेर्दिनँ । श्रीमान्ले विवाह गरेको खबर सुन्छे, तर पत्याउँदिनँ । जब प्रमाण नै देख्छे अनि उसलाई लाग्छ, आफूले माया गरेको मान्छेले आफूलाई छोड्न चाहेको मात्रै छैन दोस्रो विवाह नै गरिसकेको छ भने उसलाई आफूसँग कागजमा मात्र बाँधीराख्नु उचित छैन । त्यसपछि ऊ श्रीमान्ले माग्दै आएको डिभोर्स दिने निर्णयमा पुग्छे ।

आफूले कमाएर पठाएको पनि खोज्दिनँ । छोरो छ उसैलाई हुन्छ मलाई केही चाहिँदैन भन्छे । सम्बन्ध विच्छेदको एक हप्ता नबित्दै मध्यजेठमा मध्य जाडोका पहिरनमा ऊ दोस्री श्रीमतीसँगको तस्बिर पोस्ट गर्छ । बर्सौंअघि तेरो श्रीमान्ले विवाह गरिसक्यो भन्दा नपत्याएकी ऊ छोरासँग सम्पर्क गर्न नपाएर बलिन्ध्र धारा आँसु चुहाउँछे ।

‘तँजस्तो मम्मी मलाई चाहिँदैन, आई गट न्यु मदर,’ छोराको म्यासेजले ऊ हतप्रभ बन्छे । उसलाई लाग्छ, छोराले लेखेको होइन यो म्यासेज । छोरा मसँग बोल्दा सधैं डराएर बोल्छ । भिडियो खोल्न मान्दैन । म्यासेजमा पनि ‘ओइ, तेरो के छ ? अँ भन्’ भन्छ । यो भाषा, यो शैली छोराको होइन । छोरा यस्तो छैन । यो छोराको बाबु नै बोलेको हो । मेरो छोरो उनीहरूकै नियन्त्रणमा छ । छोरासँग नियमित सम्पर्क गराउने भनेर अदालतमा ल्याप्चे लगाएर गएको ऊ यसबारे बेपर्वाह बनेर हिँडिरहेको छ ।

सामान्य चिनजानबाट साथी बन्दै गरेको समयमा ऊ बलात्कारमा पर्छे । एउटा ‘प्लान्ड रेप’ । बलात्कारपछि पनि ऊ पछ्याउन छोड्दैन । उसलाई माया गर्छु भन्छ । लामो समयसम्म पनि पछ्याइरहेपछि ऊसँगको ‘लिभ इन’ सुरु हुन्छ । छ वर्षसम्म उसले आफैं कमाएर ‘पार्टनर’ लाई पाल्ने काम गरी । सम्बन्धमा उतारचढाव आइरहे । ऊ कुलतमा फस्दै गयो । उसले सम्बन्धबाट निस्कन खोजी । तर, उसले फेरि पनि पिछा छोडेन । अहिले त सिंगो परिवार नै आएर माफी माग्न र फकाउन थाल्यो– जसरी पनि हाम्रो छोरा, भान्जा, भाइ, सालोलाई नछोड, अब ऊ सुध्रिसक्यो, नभए हामी सुधार्छौं, अब विवाह गरेर बस । परिवारले नै भनेपछि ऊ विवाह गर्ने निर्णयमा पुगी । विवाह भयो । तर, ऊ सुध्रिएन । झन् बिग्रँदै गयो । नशाको सुरमा भौतिक आक्रमणमै उत्रिन थाल्यो ।

र, अब ऊ पनि उसको सुधार केन्द्र बनिरहन नसक्ने निर्णयमा पुगी । ऊ अदालतसम्म पुग्छे भन्ने अनुमान नै थिएन सायद उसलाई । त्यसपछि भने ऊ सम्बन्धभन्दा पनि सम्पत्तिको लोभमा यसरी तिलमिलायो कि आफैंले काम छ भनेर हस्ताक्षर गर्न लगाएर लिएको श्रीमतीको खाली चेकमा करिब एक करोड रुपैयाँ आफ्ना मामाका नाममा भर्‍यो र चेक बाउन्स गरायो । हालसम्म दस लाखको पनि कारोबार नभएका उसका दुवै बैंकका खाता कालोसूचीमा सूचीकृत गरिए । सिंगो परिवार सम्पत्ति नलिन र सम्बन्ध विच्छेद गर्न दबाब दिइरहेको छ । मारेर फाले कसैले थाहा नपाउने धम्की दिइन्छ । उसलाई अपरिचित मानिसहरूले निरन्तर पछ्याउँछन् । धम्कीपूर्ण फोन आउने र यसरी पछ्याउने क्रम नरोकिएपछि ऊ बसिरहेको डेरा छोड्न बाध्य भएकी छ ।

उसले सम्बन्धलाई लगभग सात वर्ष पूरा समय र मौका दिई । यी सब एकोहोरो उसका तर्फबाट मात्रै रहे । अर्को पक्ष सम्बन्धप्रति अतिशय बेपर्वाह रह्यो । लोग्नेका यावत् उपेक्षाका बाबजुद उसले लोग्नेकै गृहस्थी कसरी सम्हालिरहेकी छे ? म छक्क पर्थें । त्यो गृहस्थीमा उसको केही थिएन, कोही थिएन । छोराछोरी लोग्नेका थिए, परिवार, आफन्त पनि लोग्नेकै । आधा शताब्दी उमेर काटेको लोग्ने मानिसले एउटी कुमारी केटीका काँधमा आफ्नो गृहस्थीको भारी बिसाएको थियो । उसले लोग्नेका छोराछोरी, आफन्त सबैलाई आफ्नो बनाई । तर, लोग्ने नै उसको हुन सकेन ।

‘हिजो छोरी पढ्न विदेश उडी । अब म तँलाई भेट्छु । अलिक समय निकाल है मेरो लागि । कुरा गर्नु छ तँसँग,’ छोरीकै कारणले अडिएकी थिई ऊ । ऊ गई । अब उसले पनि निर्णय गरी भन्ने मेरो अनुमान मिल्यो । उसले केही दिनमा घर छोडी । मसँग भेट्दा नै उसले आफ्नो बस्ने बासको व्यवस्था गरिसकेकी थिई ।

हिँड्ने बेला लकरबाट निकालेर गहनाको पोको लोग्नेका हातमा सुम्पिई । किताब र कपडाका दुईवटा झोला बोकेर निस्किई । सम्बन्धमा महिलालाई विवाह भन्ने नामको धागोले त्यसै बाँधेर राखिहाल्छ, त्यसलाई जोगाउने काम पनि उसैको हो, म पुरुषले केही गर्नै पर्दैन भन्ने उसको लोग्नेको पुरुष अहम्को ओइलाउने पालो थियो अब । ऊ खुट्टा ढोग्ने अवस्थामा आइपुग्यो । ऊ निस्किई । उसको बखान गरेर आफ्नो कमजोरी स्विकारेर लामा लामा म्यासेज र इमेल आउन थाले । सम्पत्ति उसको नाममा गरिदिने भन्न थालेको थियो । उसले कहिल्यै सम्पत्तिको लोभ गरेकी थिइनँ । संवाद अनि संवेदनाहीन सम्बन्धको सकसबाट मुक्ति मात्र खोजेकी थिई । उसले के चाहेकी थिई र ऊ के दिन्छु भनिरहेको थियो !

तथापि पत्रमा देखाएको भावुकता, प्रेम र आत्मस्वीकृतिले उसलाई हुरीमा हल्लिरहेको पात बनाइरहेको थियो । ऊ कमजोर देखिई । ‘फर्किने हो त ?’ ‘म फर्किए पनि ऊ सुध्रिँदैन । मैले उसको यो रूप पहिला पनि देखेकी छु । समाजमा राम्रो देखिन ऊ जे पनि गर्न तयार हुने मान्छे हो । उसलाई चिन्ने मानिसहरूले मलाई गाली गरिरहेका पनि होलान् यस्तो लोग्ने छोडेकोमा । उसको वास्तविक रूप मैले भोगेको छु । सामान्य चिनजानमा यो मान्छेलाई चिन्नै सकिन्न । त्यही भएर मैले यो सम्बन्धलाई यतिका वर्ष दिएँ ।’

दसैंको टीकाको दिन उसको फोन आउँछ । ऊ लोग्नेले पठाएको म्यासेज पढेर सुनाउँछे । उसले म्यासेजमा आत्महत्या गर्ने धम्की दिएको थियो । ऊ बस्ने ठाउँ नजिकै वा उसको कार्यालयको छेउमा वा नजिकैको मन्दिरमा श्रीमतीको तस्बिर र फोन नं. छातीमा राखेर मर्ने धम्की थियो त्यो । फोन अफ गरेर हराएको ऊ केही घण्टापछि घर आइपुग्छ । र, त्यो धम्की श्रीमतीलाई गलाउने अर्को अस्त्र थियो उसको । जुन काम लागेन ।

रातको १ः३४ मा उसको म्यासेज आएको रहेछ । केही त अनसेन्ट पनि गरिएको थियो । बिहान म उसलाई जवाफ फर्काउँछु । ऊ भेट्ने कुरा गर्छे । तर, फेरि उसको फोन आउँदैन । उसले भोग्दै आएको यातना कताकति मसम्म आइपुगेका छन् । सार्वजनिक कार्यक्रमहरूमा भेट हुन्छ । ऊ सामान्य बन्छे । म थाहा नपाए झैं गर्छु । सन्तानको भविष्य सम्झिएर उसले सहेको यातना कुनै दिन अप्रिय खबरमा पढ्नु नपरोस् भन्ने कामनाभन्दा म केही गर्न सक्दिनँ ।

लामो समयपछि हामी भेटिएका छौं । उस्तै हार्दिकता र उस्तै स्नेहका बीचमा हामी गफिन्छौं । ‘मेरो घर भएन । यस्तै भयो...!’ मेरो आँखामा प्रश्न देखेपछि ऊ सुनाउँछे— ‘छोटोमा भन्छु ल । ऊ ‘गे’ रहेछ । उसले मलाई ढाँट्यो । आफ्नो पहिचान लुकायो । आफ्नो कमजोरी लुकाउन ममाथि हिंसा गर्‍यो । मलाई पनि त्यसबारे केही थाहा थिएन । यस्तो पनि हुन्छ भन्ने सत्य स्वीकार्न मलाई पनि प्रशस्त समय लाग्यो । समाज, परिवार र इज्जतको डरले म दस वर्षसम्म निर्णय गर्न नसकेर अल्मलिएँ ।’

भर्खरै मात्र प्रेम असफल भएपछि एक चिकित्सकले कोशीमा जीवन विसर्जन गरे । नेपाली सेनाका मेजरले पनि यो वर्षामा भेरी नदीमा आफूलाई बगाइदिए ।

प्रिय कवि ! बेड—ल्याम्पलाई आजको समयमा कवितामा अटाउनुपरे तिमी कुन बिम्बमा प्रयोग गर्थ्यौ ? हिजो पनि तिमीले बेड—ल्याम्पको आरोप लगाएका धर्मपत्नीले नै घरगृहस्थी, परिवार, परम्पराको साख जोगाएका थिए र आज पनि । ओछ्यानमा बल्न त हिजोजस्तै आज पनि तिनलाई अरूकै स्पर्शको खाँचो होला । तर, धर्मपत्नीहरू रातदिन बलेर नै गृहस्थी र परिवारको प्राण धानिएको सत्य हो । समयको गति यति धारिलो बन्दै छ कि तिमीले बेड—ल्याम्प भनेका धर्मपत्नीहरू अब आफैं बल्दै छन् । सम्बन्धका हर सकस सहेर जीवन अर्पण गर्न आजका धर्मपत्नीहरू तयार छैनन् भन्न गाह्रो छैन । प्रिय भूपी ! तिम्रो समयमा, तिम्रो जीवनमा धर्मपत्नी बेड—ल्याम्प थिए होलान् अब होइनन् ।

(लेखक विमली अधिवक्ता हुन्)

प्रकाशित : फाल्गुन १२, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?