त्यसरी त कहिल्यै सोचिएन
एउटा कोपिला थियौँ फक्रिन लागेका
बनाउन चाहन्थ्यौँ फूलजस्तै जीवन
फर्केर हेर्दा कति डाहा गर्यौं, एकले अर्काको
फूलले पनि कहीँ डाहा गर्छ ?
त्यसरी त कहिल्यै सोचिएन !
खेलमै रमाउँथ्यौँ साथी–संगीसँग
खेलमै बुन्थ्यौँ संसार जित्ने सपना
सोच्यौँ, यी साथीहरुलाई जित्नुपर्छ
यिनले भन्दा धेरै छिटो हिँड्नुपर्छ
तर यात्रामा अँध्यारो आउँछ, बिरानो–पथ पनि आउँछ
धेरै टाढा पुग्न त साथ–साथ हिँड्नुपर्छ
त्यसरी त कहिल्यै सोचिएन !
व्यर्थको तुष पालेर प्रियजनसँग बोलेनौँ
अन्तिम पटक छुट्टिँदा अँगालोसमेत साटेनौँ
‘तिम्रो मनमा पनि विरहको आँधी चलिरहेको होला ?’
त्यसरी कहिल्यै सोधेनौँ ।
ती मानिस जो गए जीवनबाट, फेरि कतै नभेटिन सक्छन्
भेटिँदा पनि पहिलेजस्तै नदेखिन सक्छन्
मुस्कानको अँगालोले बेरेर तिनलाई करिब राख्न सकिन्थ्यो
त्यसरी कहिल्यै सोचेनौँ ।
हिजो जो थियो बित्यो
आज छ सामुन्ने
भोलिको छैन ठेगान
पछुतो मानेर कहाँ विगत बदलिन्छ
उल्टै पाएको खुसी गुम्न सक्छ
‘आजचाहिँ सबै दुःख बिर्सेर खुसी–खुसी जीवनलाई स्विकार्छु’
त्यसरी त आजसम्म सोचिएन !
साना खुसी, साना बहार
सानै हुने रहेछ जीवनद्वार
सामान्य हुनुमै शक्ति हुनेरहेछ
शक्ति पाएपछि पो मान्छे असामान्य बन्ने रहेछ
यति मामुली कुराहरु पनि मनमा लिइएन
त्यसरी त कहिल्यै सोचिएन !
सोचिएन कहिल्यै त्यसरी त !
प्रकाशित : मंसिर ३०, २०८० १०:०७