कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
[भिडियो]

भनिदिनुस्, मैले अब कस्तो गीत गाउने ?

गीतमा उठाइएको मुद्दाकै कारण मलाई परिवर्तनविरोधी भनियो । समाजमा ‘यस्तो छ है’ भन्ने देखाउँदा ‘परिवर्तनविरोधी’ भइने हो ? म गलत कि मान्छेको बुझाइ ?
प्रकाश सपुत

मेरा यसअघिका गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ को सिक्वयलकै रूपमा ‘दमाई महाराज’ रिलिज गरेँ । रचनात्मक हिसाबले अतिरञ्जनाबिनै सिर्जना गरिएको थियो– ‘गलबन्दी’ र ‘बोलमाया’ । ती दुई सिर्जनामा मैले बाँचेकै परिवेश चित्रित छ । ‘गलबन्दी’ मा गाउँको यथार्थ कथा छ– दिनैभरि घाँस–दाउरा, कुटो–कोदालो गर्ने मान्छेका कथा, साँझ सबै गाउँले एकै ठाउँ भेट भएर रोदी गाउने मान्छेका कथा । त्यो एउटा संस्कृति बनेको छ हाम्रा गाउँतिर ।

भनिदिनुस्, मैले अब कस्तो गीत गाउने ?

मेरो पुस्तासम्म आइपुग्दा घरका अधिकांश मुली बुबाहरू परिवार छाडी विदेश जानुपर्‍यो र काठको बाकसमा फर्कनुपर्‍यो । त्यो यथार्थ ‘बोलमाया’ मा चित्रण गरिएको छ । मेरो मस्तिष्कमा थियो, मैले बाँचेको समाजको कथा । त्यहाँ केही पात्र थिए । सुरुमा ती पात्रको कथा नै लेख्छु भन्ने सोच्थें । तर, काम गर्दै जाँदा सांगीतिक क्षेत्रमै बढी सक्रिय भएँ । यतैतिर धेरथोर नाम–दाम कमाएँ । पछि सोचें– ती पात्रका कथालाई संगीतसँग किन नजोड्ने ? र, कथालाई गीतमार्फत जोडेँ ।

खासमा यसलाई एउटा फिचर फिल्म नै बनाएको भए वा एउटा उपन्यास नै लेखेको भए यो पूर्ण हुन सक्थ्यो । तर, संगीतमा ढालें । किनकि मेरो पेशा र कर्म नै यही हो । जसरी गाउँको रमझम ‘गलबन्दी’ मा देखाएँ वा ‘बोलमाया’ मा (आफ्नो सपना र रहर जेसुकै हुन्) बिदेसिनुको विकल्प नभएको देखाएँ, ती सबै कथा हुन् म जन्मे–हुर्केको समाजको, मैले देखेकै कथा । र, मैले फेरि त्यही समाजमा विभेद भोगेँ, देखेँ । म त्यही विभेदको पृष्ठभूमिबाट आएको मान्छे हुँ । यस्ता विषय समाजमा नियालेर हेरेँ । मेरो हजुरबा एक धुरन्धर भजन गायक हुनुहुन्थ्यो । राम्रो गाउने भएरै हो सायद, भजन गाउने समूहको प्रमुख हुनुहुन्थ्यो ।

गाउँमा धार्मिक चाडपर्वमा, कोही विदेशबाट फर्कंदा, दसैंमा जमरा सेलाउँदा, तिहार, रामनवमी लगायतमा भजन गाइन्थ्यो । त्यसमा नेतृत्व हजुरबाको हुन्थ्यो । तीज, दसैं, तिहार, कृष्णजन्माष्टमी, माघे संक्रान्तिजस्ता जे–जति चाड हामी मनाउँछौं, ती सबै हिन्दु धर्मसँग सम्बन्धित छन् । हाम्रो आफ्नै पहिचान के ? संस्कृति के ? समाजले मान्दै आएको धर्मसंस्कृति हामी सबैको थियो ।

समाजमा एउटा मान्छे उँचो हुने, अर्को नीच ? एउटाले राज्यका सबै सुविधा पाउने, अर्कोले यही राज्यमा अपमान पिएर बाँच्नुपर्ने ? उसले कहिल्यै समान अनुभूति गर्न नपाउने ?

म जहाँ हुर्किएँ, त्यहाँ जनजाति, बाहुन–क्षत्री र दलित सबैले उही चाडबाड र धर्मसंस्कृति मान्थे । एउटा कुरा फरक थियो– मेरो हजुरबा हरेक धार्मिक कार्यक्रममा नेतृत्व गरेर भजन गाउनुहुन्थ्यो, तर कहिल्यै भजन गाउने साथीहरूसँगै बसेर पूजा गर्न पाउनुहुन्नथ्यो, सँगै बसेर प्रसाद खान पाउनुहुन्नथ्यो । जहाँ भजन हुन्थ्यो, त्यहाँ भजनपछि खाना/खाजा दिइन्थ्यो । मेरो हजुरबा छुट्टै बसेर खानुहुन्थ्यो । दसैंमा जमरा सेलाउने दिन भजनको नेतृत्व गर्नुहुन्थ्यो, तर, हजुरबालाई जमरा सेलाउन टोलीसँगै जान कहिल्यै दिइएन । चाडपर्व र कार्यक्रमहरूमा ‘साइत पर्छ’ भनेर पञ्चेवाजा बजाउन दमाई, परियार दाजुभाइ बोलाइन्थ्यो । तर, समाजमा अन्तरघुलन भए पनि आत्मसम्मानको व्यवहार उहाँहरूले कहिल्यै पाउनुभएन । हामीले मान्ने धर्म, संस्कृति एउटै होइन र ? हामीले बाँचेको रहनसहन, पूजा गर्ने मन्दिर र भगवान् एउटै होइन ? तर, विभेद त्यहीं छ । त्यसैले ‘दमाई महाराज’ मा साधारण अर्थमा हामी सहधर्मी हौं भन्ने देखाउन खोजेको हुँ ।

मेरो प्रश्न छ– एउटै रहनसहनमा हुर्किए पनि त्यहाँ विभेद किन ? त्यसैले यहीँनेर बुझाइ गलत छ । कि हाम्रो भगवान् अलग्गै हुनुपर्‍यो, कि त्यो भगवान् ‘तेरो होइन’ भन्नुपर्‍यो ! कि मेरो हजुरबालाई भजन गाउन दिनहुन्नथ्यो ! कि परियार दाजुभाइलाई गाउँमा उत्सव, पर्व र पूजाआजामा ‘पञ्चेबाजा बजाउन आऊ’ भन्नुहुन्नथ्यो ! कि मेरो आमालाई ‘तुलसीको पूजा नगर’, मेरो श्रीमतीलाई ‘शिवको व्रत नबस’ भन्न सक्नुपर्‍यो । होइन भने हामीले मानेको धर्म र समाजले मानेको धर्म एउटै होइन ? त्यहाँभित्र पनि विभेद किन ? यो विभेदका पर्खाल भगवान्ले त पक्कै खडा गरेनन् । यी विषयलाई ‘दमाई महाराज’ मा बुझाउने कोसिस गरेको छु ।

धर्ममा के थियो ? वर्ण विभाजन किन गरियो ? तार्किक तर्क, ज्ञान, इतिहासमा यी कुरा छर्लंगै छन् । हिन्दु धर्ममा कतै न कतै विभेद छँदैछ । त्यहाँ छ– लैंगिक विभेद, जातीय विभेद । हामीले मान्दै आइरहेको धर्मसंस्कृति त्यही हो । अहिले तत्काल त्यहाँबाट बाहिर निस्किन सकिँदैन ।

आस्था–व्यवहारका हिसाबले हामीले यही सिक्दै, जान्दै आयौं । यिनलाई तत्काल परिवर्तन गर्न सकिँदैन । तर, मान्छेको चेतना र व्यवहार त परिवर्तन सकिन्छ नि ! त्यही प्रयासस्वरूप आएको हो– ‘दमाई महाराज’ । विभिन्न कालखण्डमा देशका नियम–कानुन, संविधान पुनर्लेखन गरिएका छन् । कतिपय चालचलन पनि पुनर्लेखन भएका छन् । धर्मकै कतिपय पक्ष पुनर्लेखन गरिएका छन् ।

एक शताब्दी (वा त्योभन्दा थोरै बढी) अघिसम्म मात्रै होइन, हाम्रा आमाहरू सती गएका ? श्रीमान्को मृत्युपछि श्रीमती सती जानुपर्ने प्रथा थियो, त्यो हट्यो त । परिवर्तन भयो त ! सती नगए पनि हुने रैछ त ! धार्मिक आस्थाले मान्छेलाई अनुशासनमा राख्छ, जीवनबारे बुझाउँछ । तर, अन्धविश्वासले मान्छेलाई दुःख दिन्छ, विभेद खडा गरिदिन्छ । त्यही अन्धविश्वासविरुद्ध सहधर्मी बनेर ‘दमाई महाराज’ आएको हो ।

गीतमा क्रिस्चियन वा मुस्लिम बनेर ‘तेरो हिन्दु धर्म ठीक छैन’ भनेको भए त्यो गलत हुन्थ्यो । जुन धर्म मान्दै आएँ, जुन भोग्दै आएँ, त्यसैलाई त गीतमा देखाएको हुँ मैले । त्यसैले मेरा केही सहकर्मी, लेखक, दलित अधिकारकर्मीले यस्ता पात्रमाथि अतिरञ्जित गर्नु, व्यंग्य गर्नु सर्वथा गलत छ । हाम्रो समाजले अझै लय पक्रिइसकेको छैन । समाजमा सभ्यता बसिसकेको छैन । मेरा गीतले समाजमा प्रायः ‘डिबेट’ सिर्जना गर्ने गरेको छ । हामी परिवर्तन हुँदै गरेको समयमा छौं । एकतन्त्रीय राज्यव्यवस्था हटेर लोकतन्त्र, गणतन्त्र स्थापना भएको हो । त्यसैले यो ‘आफ्ना’ कुरा सुनाउन पाइने बेला पनि हो । यो बेलामा पनि भन्न नपाए कहिले भन्ने हाम्रा कथा ?

समाजमा एउटा मान्छे उँचो हुने, अर्को नीच हुने ? एउटा मान्छेले राज्यबाट पाउने सबै सेवासुविधा पाउने, अर्कोले यही राज्यमा अपमान पिएर बाँच्नुपर्ने ? उसले समान अनुभूति गर्न नपाउने ?

त्यो कुरा गर्दा ‘डिबेट’ गर्ने, चित्त दुखाउने, मिलेर बसेको समाजमा ‘के लैंगिकताको कुरा उठाइरहेको’ भन्ने ! यस्तो पनि हुन्छ ? त्यति मात्रै होइन, यस्तो पनि भनिन्छ– ‘कहाँ गरिबीको वर्गीय कुरा उठाइरहेको ? कहाँ जातीय विभेदको कुरा उठाइरहेको ?’ यसो भन्नेहरू परिवर्तन नै चाहँदैनन् ।

यस्ता गीतहरू आइरहँदा मलाई ‘परिवर्तन विरोधी’ पनि भनियो । परिवर्तनविरोधी म हुँ कि मलाई प्रश्न गर्नेहरू हुन् ? समाजमा ‘यस्तो छ है’ भन्दा ‘परिवर्तनविरोधी’ भइने ? यसमा म गलत कि उहाँहरूको बुझाइ गलत ? राज्यले सबैलाई एउटै र समान व्यवहार गर्नुपर्छ । ‘सबैले समान व्यवहार पाएका छैनन् है’ भनेर मैले प्रत्येक गीतमा प्रश्न गरिरहेको छु । आजित भएर गीतमार्फतै मैले भन्नुपर्‍यो, ‘यो देश मेरो पनि होइन र ?’ राज्यलाई प्रश्न मात्रै होइन, गीतमार्फत चेतना जगाउने काम पनि गरेको छु ।

हामीकहाँ बहुसंख्यक हिन्दुहरू छन्, त्यसैले त्यहीसँग जोडेर यो गीत बनाएको हुँ । म एक कलाकार भएकाले भोलि क्रिस्चियन वा मुस्लिम भएर पनि अभिनय गर्न सकिन्छ । तर, यहाँ हिन्दु धर्म मान्नेहरू धेरै भएकाले त्यहाँभित्रै किन आवाज नउठाउने ? भन्ने सोचेरै सामान्य भाषाको भजनमार्फत गीत ल्याएको हो । धेरै गीत ‘पार्ट–२ आउँछ’ भनेर छाड्ने गरेको छु । अर्को सिर्जना आए त्यसैमा जोडौंला भनेर त्यसो गर्छु । तर, ‘बोलमाया’, ‘गलबन्दी’ र ‘दमाई महाराज’ एउटा पूरा कथा हो । ‘बोलमाया’ को केटाको परिवार दमाई समुदायबाटै हो भनेर त्यतिखेरै देखाएको थिएँ । ‘गलबन्दी’ मा सानो बालकलाई मन्दिरबाट भगाइएको एउटा दृश्य छ । मन्दिरबाट किन भगाइएको रैछ ? त्यो ‘दमाई महाराज’ ले भन्छ । ‘दमाई महाराज’ बनाउन करिब ५ वर्ष लाग्यो ।

एउटा सर्जकले यत्तिको प्रभावकारी सिर्जना गर्नु उसको सफलता होइन र ? मैले प्रस्तुत गरेका विषय गलत छन्, मेरो सिर्जनाले अपराध सिर्जना गरिरहेको छ भने राज्यले मलाई कारबाही गरोस् । गीतमा खराब विषय देखाइरहेको वा खराब कथा भनिरहेको भए र त्यसले समाजमा नकारात्मक असर गरिरहेको भए म सर्जक नभई अपराधी भएँ । डलर र चर्चा कमाउन मेरो सिर्जनामा गलत विषयवस्तु समेटिएको भए मलाई अपराधी घोषणा गरेर कारबाही गरे हुन्छ । होइन भने मेरो सिर्जनाबाट सबैले मनोरञ्जन लिइरहुनुभएकै छ । प्रत्येक गीत चल्नु भनेको दर्शकश्रोताले मन पराउनु हो । त्यसैले यसलाई कलाका रूपमा हेर्नुपर्छ । हिन्दु धर्म र दलित समुदायलाई जोडेर लेखहरू नलेखिएका हुन् र ? के यो एकदमै नयाँ विषयवस्तु हो ? कतिपयले मेरो थरलाई लिएर ‘दमाई महाराज’ किन बनाइस् ? ‘कामी महाराज’ किन बनाइनस् ? तँ पनि त्यही समुदायको हो ? भनेर प्रश्न गर्नुभयो । साहित्यिक र कलात्मक हिसाबले अर्थ लागोस् भनेर यो गीत बनाइएको हो ।

धर्ममा महाराजहरू हुन्छन् । महाराज कसरी बनाउने त ? ‘दस हजार महात्मा ईश्वर’ महाराज भन्दा साँच्चै गुरुजस्तो सुनियो । ‘यत्तिसम्म सोच्न सक्ने ? यस्तो कलात्मक ? यस्तो पात्रहरू सिर्जना गर्न सक्ने ?’ भनेर मेरो साहित्यिक, कलात्मक क्षमताप्रति कसैको प्रश्नै छैन । जजसले ‘सस्तो लोकप्रियताका लागि प्रकाशले यसो गर्छ’ भन्नुभएको छ, त्यो उहाँहरूको डाहा हो ।

विचारमाथि विमर्श गरौं, होइन भने अनावश्यक टीकाटिप्पणी गर्नु गलत छ । समाजमा यही विषय छ त, गर्ने के ? यी कुरा समाजमा हुनुभएन नि त । कि समाजमा सबैलाई सुखैसुख हुनुपर्‍यो, म सुखका गीत बनाउँछु । कि समाजमा प्रेम मात्रै हुनुपर्‍यो, प्रेमकै गीत मात्र बनाउँछु । समानता हुनुपर्‍यो, समानताकै गीत बनाउँछु । विभेद छ, अनि विभेदकै गीत आउँछन् । कला/साहित्य समाजको ऐना हो र यी विषय जनजीवनसँग जोडिएका छन् पनि भन्ने अनि समाज, जीवनसँग जोडिएका गीत बनाउँदा डलर कमाउन, चर्चा कमाउन बनायो भन्दै उछितो काढ्ने ? यो विरोधाभास किन ? तपाईंहरू नै भनिदिनुस्, मैले अब कस्तो गीत गाउने ?

प्रकाशित : श्रावण २७, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?