कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८
कविता

अभाव एउटा शत्रुको

कल्याण श्रेष्ठ

पानी नपरेपछि खडेरी बेहोरेकै थिएँ
छिमेकीले गहिरो इनार खन्यो, र पुरानो धारा पनि सुकाइदियो

अभाव एउटा शत्रुको

उसलाई आफ्नोमा पानी नआएको भन्दा

मेरोमा आउला भन्ने चिन्ता छ

छरछिमेकमा चुलो बल्यो भने, ऊ भर्खरै खाएको भोजनको आनन्द बिर्सिन्छ

र, जुगौंजुगको भोकोजस्तै चटपटाउँछ


ऊ ठान्छ सायद, हामीबीच आदिम शत्रुता छ

तर, ऊ के बुझ्दैन भने शत्रुताको पनि एउटा स्तर हुन्छ

शत्रुलाई गर्ने व्यवहारमा त्यो स्तर हमेशा झल्किन्न

मक्केकै सही, अलिकति विवेक पनि हुनुपर्छ

तर, विवेक मरिसकेपछि

शत्रुताका लागि चाहिने मात्रामा स्तरीयता प्रकट हुन सक्दैन

किनभने शत्रुता त विवेकको फरक अभ्यास हो

विवेकबिनाको फगत ईर्ष्या र जलनले मात्रै कहाँ भइन्छ र कसैको शत्रु ?

विवेकहीन आह्रिसले त

जन्माउँछ अपराध र निम्त्याउँछ दुष्टता

शत्रुताका लागि त

कम्तीमा शत्रु समानको विवेक चाहिन्छ

जोसँग गर्न सकियोस् अप्रिय प्रतिस्पर्धा

यसो गर्न नसक्दाको पीडालाई ऊ सासैपिच्छे महसुस गर्छ

उसलाई आफू लड्नुको दुःख छ, त्योभन्दा बढी म चढ्नुको दुःख छ

म चाहन्थेँ, शिखरमा पाइला उसका पनि परुन्

आरोहण उसको पनि होस्,

तर, ऊ भने केवल मेरा पाइलाका चालहरुमा ध्यान दिएर बसिरह्यो

अनि आफू आफ्नै आह्रिसको गर्तमा खसिरह्यो

ऊ आफू हिँड्दैन, तर मेरा पाइलाहरु गन्छ

अनि अरुसँग मेरो निधारको पसिना कति बाक्लो होला है भन्छ


मलाई पछुतो एउटै कुराको छ,

मसँगको मान्छे शत्रु भन्नलायक पनि भएन

शत्रुता मलाई म जत्तिकै लाग्छ,

जसलाई मन नपरएर पनि इन्कार गर्न नसकियोस्

प्रिय छिमेकी, म तिमीलाई के भनूँ ?

तिमीले मलाई टोके पनि, म तिमीलाई टोक्न सक्दिनँ

लाख कोसिस गरेछौ भने पनि, तिमीलाई मेरो शत्रु मान्न सक्दिनँ

एउटा सुयोग्य शत्रु पनि नपाएको मेरो जीवनलाई म धन्य पनि भन्न सक्दिनँ !

प्रकाशित : श्रावण १३, २०८० १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?