कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नामसरा थपिनी’ को खोजी

व्यापक चर्चा हुन्छ– गोर्खाली युद्ध कौशलको । गोर्खालीमाथि थुप्रै किताब लेखिएका छन्, डकुमेन्ट्री बनेका छन्, तर ब्रिटिस–भारतीय गोर्खा परिवारका महिलाको भोगाइबारे कतै सोधखोज छैन
सञ्जय शर्मा खेतारे

युट्युबमा ‘फर भ्यालर’ (१९४५) नामक एक मिनेट २७ सेकेन्डको एउटा श्यामश्वेत भिडियो भेटिन्छ । यो भिडियो ७८ वर्षअघि सन् १९४५ मा ब्रिटिस–भारतको नाउसेरा (हाल पाकिस्तान) मा खिचिएको हो । भिडियोको सुरुमा एक बेलायती गोरा अफिसर ‘पाँच गोर्खा’ (फिप्थ गुर्खा राइफल्स) लाई निगरानी गर्दै अघि बढ्छन् । लगत्तै, एक गोर्खा सिपाही ती गोरा अफिसरसँग हात मिलाउँछन् । गोर्खा सिपाहीको नाम नायक अगनसिं राई हो ।

‘नामसरा थपिनी’ को खोजी

दोस्रो विश्वयुद्धका बेला आफ्नो बहादुरीका लागि अगनसिं राईलाई ब्रिटिस सेनाको सबैभन्दा ठूलो पदक ‘द भिक्टोरिया क्रस’ प्रदान गरिँदै हुन्छ । अगनसिं राईसँगै वीरताका लागि सुबेदार नेत्रबहादुर थापाले पनि भिक्टोरिया क्रस पाउँदै हुन्छन् । तर, लडाइँका क्रममा नेत्रबहादुर थापाले वीरगति प्राप्त गरिसकेकाले सुबेदार थापाको नामको त्यो सम्मानित पदक थाप्न उनको परिवार पुगेको हुन्छ । सुबेदार थापाको घर तनहुँको रघु गाउँ हो । गुगल म्याप्सका अनुसार, रघु गाउँबाट नाउसेरा १६०६ किमि टाढा पर्छ । थापाको निधनमा शोक मनाउँदै गरेको परिवार सायद कतै पैदल र कतै रेल चढेर तनहुँबाट नाउसेरा पुगेको थियो ।

जब भिडियोमा सुबेदार थापाको परिवारलाई देखाइन्छ, त्यहाँ एक जना केटी र एक जना महिला सेतोमा कालोबुट्टे धोतीले टाउकोसम्म थोरै मात्र अनुहार देखिने गरी निहुरिएर उभिएका हुन्छन् । उनीहरूका साथमा एउटा गोरा अफिसर पनि छाती फुलाएर उभिएका हुन्छन् । पदक दिने अफिसरले ती केटीको हातमा जतनसाथ पदक राखिदिन्छन् र बिस्तारै पछाडि हट्छन् । ती केटी र महिला झुकेर पदक दिने अफिसरलाई नमस्कार गर्छन् ।

लगत्तै भिडियोमा ती केटी पदक लिएर उभिएकी देखिन्छिन् । अड्कल काट्दा उनको उमेर बढीमा १२ वर्ष जतिको छ । उनी जीवितै भए अहिले उनको उमेर ९० वर्ष आसपास हुनुपर्ने हो । पदक लिएर जब उनी क्यामेरामा हेर्छिन्, अनुहार भावहीन देखिन्छ । क्यामेरामा उनी सिधा हेर्छिन् अनि लगत्तै आँखा तल झुकाउँछिन् । यो सबै भइरहँदा ती केटी र ती महिलाका मनमा के–कस्ता तर्कना आइरहे होलान् ? आफ्नो गाउँ सायदै त्यसअघि छाडेका उनीहरूलाई १६०६ किमि टाढा नाउसेरा पुग्दा र सेनाहरूको ठूलो परेड देख्दा कत्तिको डर लाग्यो होला ? नाउसेरा पुग्दासम्मको उनको रेलयात्रा कस्तो भयो होला ? कोइलाबाट चल्ने रेलले ठूलो आवाजमा सिटी लगाउँदा उनीहरू कति आत्तिए होलान् ? भिडियोका उद्घोषकले भनेजस्तो भिक्टोरिया क्रस हातमा समाउँदा उनलाई ‘गर्व’ महसुस भयो होला वा सुबेदार थापा युद्धमा मरेकामा ब्रिटिस सेनासँग रिस उठ्यो होला ? वा यी कुरा सोच्न सक्ने अवस्था नै थिएन होला ?

भिडियोका उद्घोषक ती केटी सुबेदार थापाकी श्रीमती (उद्घोषणमा अंग्रेजीमा बिथ्रोड भनिएको छ, जसको अर्थ ‘हुनेवाला श्रीमती’ हो) रहेको मात्र भन्छन् । उनको नाम भन्दैनन् । ती अर्की महिलाबारे झनै केही भन्दैनन् । सायद उनी सुबेदार थापाकी आमा थिइन् ।

यो भिडियो मैले भेटेपछि सुबेदार थापाकी ‘श्रीमती’ लाई इन्टरनेटमा खोजें । कतै ‘नामसरा थपिनी’ त कतै ‘नैनसरा मगर्नी’ उल्लेख भएकी उनलाई धेरै ठाउँमा ‘सुबेदार थापाकी श्रीमती’ भनी उल्लेख थियो । अनि नामसराको इतिहास यत्तिमै सकिन्छ । नाउसेराबाट तनहुँ फर्केपछि उनलाई के भयो ? उनको पुनः विवाह भयो–भएन ? ब्रिटिस–भारत सरकारले उनलाई के कस्तो आर्थिक वा अन्य सहायता गर्‍यो ? यसबारे कतै केही लेखेको पाइएन । पोखराको ब्रिगेड अफ गुर्खाजको कार्यालय र भारतीय गोर्खाको पेन्सन अफिसले समेत उनीबारे केही थाहा नभएको र सुबेदार थापाको पेन्सन कसैले नलिएको बताए । नामसरा यसै इतिहासको एउटा महत्त्वपूर्ण घटनाको साक्षी बनेर सुटुक्क हराइन् । सुबेदार थापाले पाएको ‘भिक्टोरिया क्रस’ भने अहिले पाँच गोर्खाको मुख्यालय भारतको सिलोङमा संगृहीत छ । मैले सुबेदार थापाका आफन्तसँग कुरा गर्दा नामसराबारे कुनै ठोस प्रमाण नभेटेकाले यहाँ सुबेदार थापा र नामसराको चर्चालाई यत्तिमै रोकेर अगाडि बढ्छु ।

नामसराले सुबेदार थापालाई गुमाएजस्तै थुप्रै नेपाली महिलाले विभिन्न कालखण्डमा युद्धमा श्रीमान् गुमाएका छन् । ब्रिटिस–भारतीय सेनामा आबद्ध थुप्रै नेपाली पहिलो र दोस्रो विश्वयुद्ध, मलेसिया र बोर्नियो अनि फकल्यान्डको युद्ध, इराक र अफगानिस्तानमा हालै भएका द्वन्द्वमा संलग्न मात्र भएनन्, बहादुरी प्रस्तुत गर्दागर्दै थुप्रैले ज्यान गुमाए, अंगभंग भए । तर, कथा दुःखका मात्र छैनन्, थुप्रै कथा सुखद पनि छन् ।

यसरी बेलायती गोर्खा सेना, भारतीय गोर्खा सेना, सिंगापुर पुलिसलगायत विदेशी सेनामा भर्ना हुने पुरानो चलन हो, जुन अहिलेसम्म पनि चलिआएकै छ । यसरी विदेशी सेनामा भर्ती हुने ठूलो संख्या गण्डकी प्रदेशबाट छ । नेपालमा रघुजस्ता थुप्रै गाउँ छन्, जहाँबाट ठूलो संख्यामा युवा भर्ती हुन जान्थे वा गल्लावाला आएर केटाहरूलाई लिएर भारत पस्थे । गण्डकीका साथै लुम्बिनी र कोशीका धेरै मानिस हाल बेलायतमा बसोबासको अधिकार प्राप्त गरी उतै बस्दै आएका पनि छन् ।

गोर्खालीहरूको युद्ध कौशलबारे थुप्रै चर्चा हुने गरेका छन्, थुप्रै किताब लेखिएका छन्, केही डकुमेन्ट्री पनि बनेका छन् । तर, नामसराजस्ता ब्रिटिस–भारतीय गोर्खा परिवारका महिलाको भोगाइलाई वास्ता गरिएको छैन । बेलायतका विभिन्न सहरमा रंगीचंगी लुंगी लगाएर हिँडिरहेका बोजु, छ्यामा र माइजूहरूलाई न कसैले उनीहरूको विगतबारे प्रश्न गरेको छ, न श्रीमान् सैनिकका रूपमा विदेश जाँदा घरपरिवारको सुखदुःखको सम्झना गरेको छ । समग्रमा, गण्डकीका थुप्रै नामसरा नेपाली समाजमा जन्मिए, हुर्किए र विश्वयुद्धजस्तो भयानक क्षणलाई आफ्ना श्रीमान् वा छोरा वा बुवाका रूपमा गुमाएर प्रत्यक्ष भोगे अनि चुपचाप यी सबै संवेदना र भोगाइ आफूसँगै लिएर मृत्युवरण गरे । न उनीहरूको गुणगान गाइयो, न उनीहरूलाई कसैले आफ्नो कथाको मुख्य पात्र बनाए ।

यी विषयलाई दृष्टिगत गरेर मैले आफ्नो विद्यावारिधिमा यिनै महिलाको भोगाइलाई सैद्धान्तिकीकरण गर्ने जमर्को गरें र पोखरामा दुई वर्ष बसेर मानिसहरूसँग प्रत्यक्ष एवं भर्चुअल कुराकानी गरें । पोखराको गोर्खा मेमोरियल म्युजियमको अभिलेखालय खोतलेर मैले ‘पर्वते’ र ‘द खुकुरी’ नामका ब्रिटिस गोर्खा सेनाका सन् १९४९ देखि प्रकाशित पत्रिका एवं ऐतिहासिक किताबमा प्रकाशित फोटोहरूबाट महिलाको उपस्थिति खोजें ।

अभिलेखालयमा मैले नामसराजस्ता गोर्खा सेनाका श्रीमती मात्र नभएर ब्रिटिस सेनामा आबद्ध महिला शिक्षक, नर्स, रेडियो प्रस्तोता, युद्धकालमा सेनालाई पृष्ठभूमिमा रहेर मद्दत गर्ने महिला र आफू नै युद्धभूमिमा उत्रिएका महिलाको कथा पनि भेटें । बीएफबीएस गुर्खा रेडियो सन् १९५२ मा सञ्चालनमा ल्याउन नेपाली महिला लीना देवराजको ठूलो योगदान छ । उनले सन् १९५९ मा मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) पदक पाएकी थिइन् ।

शोभाकुमारी क्षत्री (आमाजी) ले सन् १९३८ देखि १० गोर्खा (टेन्थ गुर्खा राइफल्स) मा नर्सका रूपमा काम गरेर धेरैको ज्यान बचाइन् । र, सन् १९६० मा ब्रिटिस एम्पायर मेडल (बीईएम) पाइन् । सन् १९५६ मा नेपाल, सिंगापुर, मलाया हुँदै बेलायत पुगेर, नर्स बनेर ब्रिटिस आर्मीको मेजरका रूपमा रिटायर्ड भएकी थिइन् मेजर राधा रावत । ब्रिटिस सेनाको सबैभन्दा ठूलो पदमा पुग्ने पहिलो नेपाली महिला उनै मेजर रावत हुन् । यस्ता थुप्रै प्रतिनिधि महिला छन्, जो नेपालबाट धेरै वर्षअघि विदेश गएर, सीप सिकेर नेपाली मात्रलाई नभएर विश्वलाई नै आफ्नो सेवाले प्रभावित बनाउन सफल भए ।

नामसरा, मेजर रावत, लीना देवराज र आमाजीका जस्ता फोटो–कथालाई मैले फेसबुक र इन्स्टाग्राममा गोर्खाली महिला र गुर्खा विमेनका नामबाट साझा गरेको छु । तर, यस्ता कथा थुप्रै छन् । गण्डकी प्रदेश, नेपाल र बेलायतका कुनाकुनामा विरहका गीत गाइएका छन् । परिवारसँगको मिलनपछि खुसीका क्षण बिताइएका छन् । भोगाइहरू त्यसै मरेर गएका छन् वा कुनै कथा सुन्ने कानको खोजीमा बसेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?