तपाईं के सोच्दै हुनुहुन्छ ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तपाईं के सोच्दै हुनुहुन्छ ?

हाम्रो मस्तिष्कले सोच्ने प्रक्रिया कसरी त्रुटिपूर्ण छ ? मान्छेले आफ्नैबारे गर्ने जीवनका निर्णय किन विवेकसम्मत हुँदैनन् ? काह्नेमनको किताब ‘थिङ्‍‌किङ , फास्ट एन्ड स्लो’ ले यी प्रश्नमाथि विमर्श गरेको छ । मान्छेले घटनाको तार्किक मूल्यांकन गर्छ र सोचेर आफ्नो हितमा सही निर्णय गर्न सक्छ भन्ने पुरानो मान्यतालाई काह्नेमनको अनुसन्धानले गलत भनेको छ ।
विष्णु सापकोटा

अरू विषय विनिर्माण गर्नुपरे बिस्तारै, सोचेर गर्नुहुन्थ्यो, ‘अन्तर्मन’ को आवाज सुन्दै । जब विनिर्माणको विषय नै स्वयम् ‘सोचाइ’ छ भने सोच्न कहाँबाट सुरु गर्ने ? यस्तो अप्ठ्यारो परेका बेला आफ्नै अन्तर्मनलाई सोध्नुहुन्थ्यो । जसलाई ‘अन्तर्मन’ भनिन्छ लेख्न बसेको मूल विषयले त्यो नै बिभरको छ भन्छ ।

सोचाइबाट मुक्ति पाउने सोचाइ पनि स्वयम् एक सोचाइ मात्रै हो । जब कि बाँच्नु नै सोच्नु हो भने जीवनमा सोचाइको राज्य कहाँ छैन भन्नु ? आधुनिक पाश्चात्य दर्शनशास्त्रको इतिहासमा सायद सबैभन्दा धेरै दोहोरिनेमध्येको वाक्य होला– ‘आई थिङ्क, देअरफोर आई एम ।’ अर्थात् ‘म सोच्छु, तब न म छु ।’ सोच्न त म पक्कै सधैं नै सोच्छु । किनभने म छु । तर, आजको प्रश्न छ– म किन त्यस्तो सोच्छु, जस्तो मैले सोच्छु ?

...

त्यस दिन पनि म यस्तै–यस्तै सोचेर बसिरहेको थिएँ । अघिल्लो हिउँदमा मंसिर सकिन लाग्दातिरको त्यो बिहान बाहिर घाम लागेको थियो । बाहिरको घमाइलोभन्दा मेरो मन अझै बढी उज्यालिएको थियो । कोभिडले थोपरेको अन्तर्राष्ट्रिय यात्राको असजिलो बीच जाडो बिदामा आएको छोरा आगतलाई एयरपोर्टबाट लिएर भर्खरै घर आएका थियौं । १० कक्षापछि अमेरिका पढ्न गएदेखि नै ऊसँग प्रत्येक पटक भेट्दा मैले पत्ता लगाउन खोज्ने पहिलो गुह्य हुन्थ्यो– ऊ कतै पथभ्रष्ट त भएको छैन ? बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ नाटकका मुकुन्द कलकत्ता पढ्न गएपछि (‘पश्चिमाकरण’ र पथभ्रष्ट भएर) बाबुलाई लेखेको जस्तो चिठ्ठी कुन दिन इमेलमा पढ्नुपर्ने हो कि भन्ने चिन्ता जहिल्यै लागिराख्थ्यो । तर, जब ऊ त्यो वर्ष धेरै विद्यार्थीले देख्ने सपना अक्सफोर्ड विश्वविद्यालयमा पढ्न पुगेको थियो र त्यसमा पनि आफूले पढ्ने विषयमध्ये गणित र दर्शनशास्त्रलाई प्रमुखका रूपमा छानेको थियो, समले कलकत्ता पठाएर बिगारेको मुकुन्दलाई मैले बिर्सन थालेको थिएँ ।

घर पुगेर एकछिन गफिएपछि रातभरको उडानको थकानले ऊ सुत्न खोज्दै थियो । तर, मैले सोधिहालें, ‘कस्तो हुँदो रहेछ त अक्सफोर्डमा फिलोसोफीको पढाइ ?’ ऊ दुई वर्ष अमेरिकी कलेजमा अन्डरग्रयाजुएट पढेर तेस्रो वर्षका लागि त्यहाँ गएको थियो । मेरो अनुहारतिर हेरेर भन्यो, ‘विलियम्स (अमेरिकाको कलेज) मा जस्तो ‘रिगरस’ (घोट्टिनुपर्ने) त छैन, तर रमाइलो नै छ । यो सेमेस्टरमा मैले (जर्मन दार्शनिक) इम्मान्युएल कान्टमाथि पेपर लेखें । कान्ट अलिक डिफिकल्ट फिलोसफर हो, बट आई इन्जोएड ।’ छोराले कान्टमाथि पेपर लेखेको सुनेर म मख्ख पर्न के लाग्दै थिएँ, उसले भनिहाल्यो, ‘बुवा, हजुरले मलाई त्यो (फ्रेन्च फिलोसफर) रेने डेकार्टको ‘आई थिङ्क, देअरफोर आई एम’ भनेर जे भन्नुहुन्थ्यो नि पहिले, त्यसको अर्थ त त्यो होइन रहेछ नि । अर्कै रहेछ ।’

ऊ सुत्न जानुअघि ‘त्यो अर्कै अर्थ’ के रहेछ भनेर सोध्दै सोधिनँ । नचाँहदा नचाहँदै पनि मेरो मनमा फेरि एकाएक कलकत्ताको मुकुन्द आइपुग्यो । सोचें, ‘यत्रो अन्तरालमा भेट भएको छ । त्यो विषय पछि सुनाए पनि त हुन्थ्यो ।’

तुरुन्तै म घरमा कसैले थाहा नपाउने गरी डेकार्ट खोतल्न माथिल्लो तलाको अध्ययन कक्षमा पुगें, जहाँ मेरा आँखा पहिले त विल डुरान्टको ‘द स्टोरी अफ फिलोसोफी’ मा परेका थिए, जसमा डेकार्टको दर्शनको पनि चर्चा छ । चार्ल्स भ्यान डोरेनको ‘अ हिस्ट्री अफ नलेज’ देखि त्यहाँ अरू पनि मिल्दाजुल्दा केही किताब त थिए नै । नजिकै अर्कोपट्टि पसारिइरहेको अस्तित्ववादी दार्शनिक जाँ पल सात्रको ‘बिइङ् एन्ड नोथिङ्नेस’ मा अचानक आँखा पर्दा यस्तो सोचाइ आयो मानौं यो किताबले भनिराखेको छ, ‘मलाई फेरि उचाल, सब ठीक हुन्छ ।’

आखिर बीसौं शताब्दीमा आइपुग्दा फ्रान्सेली अस्तित्ववादी लेखकहरूले ३०० वर्षदेखि पाश्चात्य चिन्तन प्रणालीको मुलधार बनेको यो ‘आई थिङ्क...’ लाई सच्याउन खोजेका थिए । उनीहरूले भनेका थिए, ‘पहिले म छु, तब न म सोच्छु (एग्जिस्टेन्स प्रिसिड्स एसेन्स) ।’ अर्थात् सत्यभन्दा अघि मेरो अस्तित्व छ । जब म नै छैन भने के–को सत्य ? कसको सत्य ? सोच्ने कसले ? एकैछिन मनमा आयो, यतै लागौं कि ? तर, फेरि सोचें– मेरो अहिलेको समस्या डेकार्टको त्यो वाक्यको अर्थ के हो भन्ने होइन । न त अस्तित्व अगाडि आउँछ कि सत्य भन्नेमा मन्थन गर्ने नै हो । तत्कालको मेरो समस्या म अहिले किन आफ्नै घरमा एउटा चोरजसरी खुसुक्क ‘आई थिङ्क...’ को ‘अर्को अर्थ’ बुझ्न कुनै किताब खोज्न आएको छु भन्ने हो । मेरो समस्या छोराबारे मैले किन त्यो सोचें, जुन मैले सोचें भन्ने हो, जसको जवाफ डेकार्टले दिँदैनन्, उनले भनेको वाक्यको अर्थ जेसुकै होस् ।

त्यसपछि मैले छेवैमा भएको नोबेल पुरस्कार विजेता ड्यानिएल काह्नेमनको चर्चित र प्राज्ञिक क्षेत्रमा निकै प्रभावशाली ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ भन्ने पुस्तक समातें, जुन मैले पाँच वर्षअघि पहिलो पटक पढेको थिएँ । यस आलेखको केन्द्रीय विवेचनामा यही पुस्तकले झक्झक्याएका धारणा हुनेछन् । हुन सक्छ, चर्चा गरिने कतिपय सन्दर्भले तपाईं–हामीले दुःख गरेर संवर्धन गरको हाम्रो आफ्नो ‘इगो’ अलिकति आहत होला । पढ्दै गर्दा तपाईंलाई लाग्न सक्छ, जीवनमा गाह्रो–साँघुरो निर्णय गर्नुपर्ने संवेदनशील समयमा आफू भर पर्ने आफ्नो अन्तरात्मा नै जब बिभरको छ, त्यस्तो बेला अब कसलाई सुन्ने, कसलाई भन्ने होला ?

जजसले अन्तर्मनमा विश्वास गर्नुहुन्छ, उहाँहरूका लागि खुसीको खबर छ कि अन्तर्मन भन्ने चीज वास्तवमै हुन्छ, जसलाई सजिलोका लागि अंग्रेजीमा ‘इन्टुइसन’ भनेर बुझ्दा हुन्छ । तर, उहाँहरूकै लागि फेरि दुःखको खबर यो छ कि सभ्यता र संस्कृतिमा अक्सर श्रद्धा वा ‘ग्लोरिफाई’ गरिएको यो अन्तरात्मा वा अन्तरमन– जे भने पनि, सायद आफ्नो श्रद्धाको त्यति धेरै हकदार छैन । किनकि यो त्यति भर गरिहाल्न मिल्ने यन्त्र होइन । किनकि यसले हतारमा सोच्छ, विस्तारै सोच्न सक्दैन । किनकि यो अल्छी छ । किनकि यसले तत्काल मनमा उपलब्ध ‘इम्प्रेसन्स’ वा ‘पर्सेप्सन’ मा भर परेर फ्याट्टै निर्णय गरिहाल्छ । किनकि यसले तार्किक हुन मन पराउँदैन ।

तपाईंलाई लाग्ला, आफ्नो अन्तरात्माले त भित्री इच्छा बुझेर, तपाईंको हितमै निर्णय गर्ने होला । यदि तपाईं त्यस्तो सोच्नुहुन्छ भने यो लेख पढिसक्दा केही दुःखी हुन सक्नुहुन्छ । तपाईंको अन्तरात्माले अहिले नै दुःखी हुने संकेत गरिसकेको पनि हुन सक्छ । ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ को विषयलाई यसरी पनि भन्न सकिन्छ– ‘हामी मान्छे त विवेकशील प्राणी हौं, हामी र्‍यासनल रूपमा सोच्छौं, जीवनका अनगिन्ती घुम्तीमा हामीले लिने निजी निर्णय तार्किक हुन्छन्’ भन्ने सोच्नुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । हुन सक्छ, अहिले यी पंक्ति पढ्दै गर्दा पनि तपाईंलाई आफ्नो अन्तरात्माले धोका दिइरहेको छ ।

त्यसैले यदि तपाईं ‘म त केही अप्ठ्यारो विषयमा निर्णय गर्नुपर्‍यो भने आफ्नै अन्तरात्मालाई सोध्छु’ भनेर मक्ख पर्ने खालको मानिस हुनुहुन्छ भने, दुःखसाथ भन्नुपर्छ– तपाईं सायद आफ्नै हितअनुकूल निर्णय गर्न नसक्ने मानिस हो कि ? अनि तपाईंलाईं कहिलेकाहीं यदि यी धेरै पढे–लेखेका मानिस किन यति सारो मूर्ख हुन् भन्ने लाग्छ भने सायद त्यसको जवाफ पनि प्राज्ञिक अनुसन्धानले दिइसकेको छ । र, त्यो साँचो हो । पढे–लेखेको ‘ज्ञानी’ हुनु र ‘र्‍यासनल’ नहुनु अलग विषय हुन् । किनकि तपाईंको ज्ञान दिमागको एक ठाउँमा भण्डारण भएर बसेको हुन्छ । जति ज्ञान भए पनि त्यो तपाईंको मस्तिष्कमा कतै स्मृति बनेर बसिरहेको हुन्छ । कुन बेला त्यो स्मृतिको कुन पाटोलाई उपयोगमा ल्याउने ? कुन सूचना कसरी प्रयोग गर्ने ? त्यो तपाईंको अन्तर्मनको काम हो । मस्तिष्कमा धेरै ज्ञान भएर को भयो, यदि तपाईंको ‘इन्टुइसन’ ले खाली एकांगी खालको मात्रै सूचना सम्झन खोज्छ भने ?

नेपालमै हेर्नुस् त, कति धेरै पढे–लेखेका मानिस अझै राजतन्त्रको, वंशको आधारमा हामीले हाम्रा अधिनायक पाउनुपर्छ भनेर वकालत गर्छन् ! बुझिहाल्नुभो अब, उनीहरूको समस्या कहाँ छ ! समस्या त्यही धोकेबाज अन्तर्मनमा छ, जसको मुख्य बनोट नै पूर्वाग्रहहरूमा आधारित हुन्छ, जसले आफैंभित्रका अरू संज्ञानतर्फ आफ्नै सचेत मनलाई ‘एक्सेस’ नै दिँदैन । तसर्थ पढे–लेखेको हुनु र असंगत विचार बोक्नु, सँगसँगै जान सक्ने विषय हुन् । र, यो निष्कर्ष पंक्तिकारको होइन, शास्त्रको हो ।

...

इजरायली मूलका प्रसिद्ध अमेरिकी प्राध्यापक काह्नेमनको पुस्तक ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ ले लेखकका दशकौंदेखिका अनुसन्धानका निष्कर्ष एकै ठाउँमा पस्केको छ । उनको अध्ययनले इंगित गरेका निचोडहरू हामी मान्छेले कुनै चीजलाई मूल्यांकन गर्दा आम रूपमा कस्ता त्रुटिहरू गर्छौं भन्नेमा केन्द्रित छन् । जीवनका महत्त्वपूर्ण मोडमा हामीले आफ्नैबारे लिने निर्णय तर्कसंगत हुनुको साटो कसरी ‘र्‍यासनल’ हुँदैनन् भनेर उनले वर्षौंको अनुसन्धानपश्चात् गहन प्रमाण पेस गरेका छन् । त्यतिबेलासम्म स्थापित अर्थशास्त्रको मान्यता थियो– मान्छेले आफ्नो निजी आर्थिक निर्णय गर्दा सोचविचार गरेरै गरेको हुन्छ । यो मान्यतालाई काह्नेमनको सिद्धान्तले कडा चुनौती दिएको थियो । र, भनेको थियो– हाम्रा आर्थिक निर्णय हामीलाई तर्कसंगत छन् भन्नेजस्तो लागे पनि यथार्थमा त्यस्ता नहुन सक्छन् ।

खासमा मनोविज्ञान विधाका प्राज्ञ काह्नेमनले २००२ को नोबेल पुरस्कार भने अर्थशास्त्रतर्फ पाएका थिए । जीवनका अरू निर्णय (जस्तो, प्रेमिकासँग सानोतिनो खटपटमै ब्रेकअप गर्ने वा आफ्नो प्रेमी बेवकुफ छ भन्ने जान्दाजान्दै उसैसँग विवाह गर्ने, कलेजमा कसैको संगतले गर्दा पढ्ने विषय नै अर्कै रोज्ने वा फुटबल विश्वकपमा कुन देशलाई समर्थन गर्ने) त ‘र्‍यासनल’ नभई, केवल अन्तरमनबाटै गरिन्छ रे ! तर, मान्छेहरू आर्थिक निर्णय अलि सोचेर, तर्कमा आधारित रहेर गर्थे होलान् भन्ने थियो । त्यस मान्यतालाई त्रुटिपूर्ण भन्दै कसरी आर्थिक निर्णयसमेत हामी तर्कभन्दा अन्तरमनमै आधारित रहेर गलत तरिकाले गर्छौं भनेर काह्नेमनले प्रतिपादन गरेको सिद्धान्त उत्तिकै रोचक पनि छ । त्यो सिद्धान्त हामी आफैंलाई भित्रैबाट जिस्क्याउने, उडाउने र व्यंग्य गर्ने खालको छ ।

‘थिङ्किङ, फास्ट एन्ड स्लो’ पढ्दै, घोत्लिँदै गर्दा मेरो मनमा अक्सर आउने धारणा के हो भने– हामीले जीवनका विभिन्न घुम्तीमा लिएका कतिपय महत्त्वपूर्ण निर्णय– जसका कारण हामी अहिले जहाँ छौं, त्यहाँ छौं– जति असन्तुलित भए पनि ती निर्णय असन्तुलित थिए भनेर हामी सकभर स्विकार्दैनौं । बरु उल्टै तिनै असंगत निर्णयलाई जिन्दगीभर मनोवैज्ञानिक रूपमा ‘र्‍यासनलाइज’ गर्न खोज्छौं । आफूले विश्वविद्यालयमा अर्कोको सट्टा किन यो विषय पढें भन्ने निर्णय होस् कि एउटा पेसाको सट्टा किन अर्को पेसामा आएँ भन्ने होस् । यतिसम्म कि, समाजका लागि केही गर्छु भन्ने अठोट भएको एउटा युवा लोकसेवा पास भएको केही वर्षमै भ्रष्टाचारी हुन्छ । जबकि तार्किक रूपमा सोच्दा त्यसो गर्नु ठीक होइन भन्ने उसलाई राम्रोसँग थाहा छ । तर, यथार्थमा के भइदिन्छ भने उसले जिन्दगीभर आफू तुलनात्मक रूपमा ‘खास भ्रष्ट छैन’ भनेर आफ्नो ‘सानो’ भ्रष्ट आचरणलाई ‘र्‍यासनलाइज’ गरेर बाँच्छ । उसको श्रीमतीलाई पनि राम्रोसँग थाहा हुन्छ, श्रीमान्को स्वच्छ आम्दानी कति हुन्छ र कति तलबितल गरेर कमाएको हुन्छ । तर, श्रीमतीको अन्तर्मनले पनि त्यो सबै माफ गरिरहेको हुन्छ । र, श्रीमतीले भनेकी हुन सक्छिन्, ‘अरूका श्रीमान्ले झन् कति कमाएका छन्, हाम्रो उहाँ त सारै सोझो ।’ (सरकारी जागिरे अधिकतम पुरुष नै भएकाले श्रीमतीको उदाहरण दिइएको हो । श्रीमतीको ठाउँमा श्रीमान् भने पनि हुन्छ) । अब कसरी भन्ने त हामी मानिस सधैं सोच–विचार गरेरै घटनाको मूल्यांकन गर्ने प्राणी हौं भनेर ?

काह्नेमनका प्राज्ञिक सिद्धान्तलाई हाम्रा दैनिक जीवनका रमाइला उदाहरणमार्फत चर्चा गर्न फेरि फर्कौंला । अहिले एकैछिन उनकै प्राविधिक शब्दावलीमा उनले भनेका थप केही विषयमा विमर्श गरौं । हाम्रो सोच्ने प्रक्रिया मूलतः दुई प्रणालीमध्ये एकमा हुन्छ । पहिलो प्रणालीअन्तर्गतको सोच्ने प्रक्रिया धेरै प्रयास नलाग्ने, स्वचालित हुन्छ । सोच्छु भनेर नसोच्दै आफैं सोचिने प्रक्रिया । यो ‘इन्टुइसन’ वाला सोच्ने प्रणाली हो, जसलाई मैले अन्तर्मन र अन्तरात्मा भनेको छु । कतिपय आध्यात्मिक मानिसले अन्तरात्मा भनेको धेरै विशाल, रहस्यमयी वा ईश्वरीयजस्तो कुनै चीज हो भन्ने पनि ठान्न सक्छन् । यसलाई जसरी बुझे पनि सारमा उही हो । भौतिक रूपमा बुझे पनि, मनोवैज्ञानिक रूपमा सम्झे पनि वा ईश्वरीय रूपमा कल्पे पनि मनको गहिराइमा जे छ, जसको आधारमा मान्छेका सोचाइ स्वचालित उत्पन्न हुन्छन्, अन्तरात्मा त्यही हो ।

जन्मँदै आएका (जेनेटिक) सेलहरू, सानो छँदाको हुर्काइ, मनमा परेका विभिन्न प्रभाव, संगत, लामो समयदेखि पालेका आस्था–विश्वास ! यी सबैलाई पहिलो (अन्तर्मन) प्रणालीमा राख्न सकिन्छ, जसले स्वचालित रूपमा सोच्छ । छिटो सोच्छ । ‘नसोचीकनै’ सोच्छ । र, हामीले सोच्ने दोस्रो प्रणाली वास्तवमै नसोचीकनै सोच्ने होइन कि, सोच–विचार गरेर मात्रै सोच्ने प्रणाली हो । यसरी सोच्न हामीले प्रयास गर्नुपर्छ, सचेत रूपमा । जस्तो कुनै गणितको समस्या समाधान गर्नुपरे हाम्रो सोचाइको दोस्रो प्रणाली सक्रिय हुनैपर्छ । कुनै महत्त्वपूर्ण बैठकमा आफ्ना भनाइ राख्नु छ भने बुँदाहरू लेखेर लगिने कारण त्यही हो । लेख्न बस्दा थोरै भए पनि बिस्तारै सोचिन्छ र दोस्रो प्रणाली बढी सक्रिय हुन्छ ।

पुस्तकमा काह्नेमनले भनेका छन्, ‘खासमा दोस्रो (बिस्तारै सोच्ने) प्रणालीले आफूलाई यो किताबको हिरो ठान्ला, तर खास हिरो पहिलो प्रणाली नै हो ।’ यस भनाइको गहिरो अर्थ छ, जुन उनको मुख्य सिद्धान्त नै हो । हामी अक्सर पहिलो प्रणालीअन्तर्गत नै, छिटोछिटो सोचिरहेका हुन्छौं । र, दोस्रो प्रणालीलाई पहिलोले धेरै नै प्रभावित पारिरहेको हुन्छ । हाम्रा आफ्ना सांस्कृतिक समुदाय, नस्लप्रतिका गौरव, धार्मिक आस्था, राजनीतिक झुकाव आदिलाई उदाहरण मानेर हेरौं त एक पटक । यी सबै पहिलो प्रणालीलाई प्रभाव पार्ने खजाना हुन् । यी प्रभावकै कारण हामीले धेरै व्यक्तिबारे यस्ता अन्तर्मन बनाएर बसेका हुन्छौं कि उनीहरूका नयाँ विचार र व्यवहारलाई पनि पूर्वाग्रही भएर हेर्छौं, समभावमा मूल्यांकन गर्नै सक्दैनौं । भनाइ छ नि, मन नपराएको मान्छेले मकै चपाएको देख्दा पनि रिस उठ्छ । किनकि त्यहाँ पहिलो प्रणाली सक्रिय भइरहेको हुन्छ । मकै चपाइएको तरिकाकै कारण रिसाउनु हुँदैन भन्ने दोस्रो प्रणालीलाई थाहा नहुने होइन । तर, सोचाइको पहिलो ‘सनातनी’ प्रणालीले दोस्रो ‘तर्कशील’ प्रणालीलाई पाएसम्म प्रभाव जमाउन खोजिहाल्छ । र, धेरैजसो त्यो प्रणाली सफल भएकै हुन्छ । र, ऊ विद्वान् नै भए पनि आफूले मन नपराएको मान्छेले मकै चपाएको देख्दा उसलाई साँच्चै रिस उठिहाल्छ ।

पहिलो प्रणालीको निरन्तरको काम भनेको मनभित्रै ‘कथा बनाउने’ हो– घटनाबारे, मान्छेबारे वा आफ्नै पहिलेको कुनै अनुभूतिबारे । हाम्रो मनमा रहने स्मृति तिनै अन्तर्मनले बनाएका कथा हुन् । र, दोस्रो प्रणाली पहिलोले बनाएको कथाको प्रभावमा पर्छ । त्यसैले हामीले ‘सोचविचारी’ गरेका निर्णय नै वा जीवनरूपी घुम्तीका अनगिन्ती छनोट प्रायः त्रुटिपूर्ण हुन्छन् । जस्तो, देख्नेबित्तिकै कोही मान्छे मनपर्दो हुन्छ, कोही हुँदैन । यस्तो मूल्यांकन हामी निमेषमै गर्छौं, अति शीघ्र । त्यसमा कुनै ‘लोजिक’ लगाउँदैनौं । त्यतिन्जेल पनि ठीकै छ । तर, यदि त्यो मान्छे मनपर्दो रहेछ भने उसले भनेका कुरामा हामी सहमत हुने सम्भावना बढी हुन्छ । पहिलो गैरतार्किक मूल्यांकनले त्यो मानिस मन नपर्दो ठहर्‍याएको रहेछ भने उसको प्रस्तावमा हामी असहमत हुने सम्भावना बढी हुन्छ । यसको अर्थ के हो भने बिस्तारै सोच्ने दोस्रो प्रणालीलाई त्यतिन्जेल पहिलोले प्रभाव पारिसकेको हुन्छ ।

यसो होइन कि हाम्रो मष्तिस्कले तार्किक रूपमा सोच्नै सक्दैन । तर, वास्तविकता के हो भने तार्किक रूपमा त्यसै सोचिँदैन, त्यसका लागि प्रयास गर्नुपर्छ । ‘प्रोज एन्ड कन्स’ को हिसाब गरेर सोच्न समय लगाउनुपर्छ । हाम्रो दोस्रो प्रणालीले यो सबै प्रयास गर्दागर्दै अघिल्लो प्रणाली ‘ल, छिटो गर’ भन्दै हस्तक्षेप गर्न आइहाल्छ । र, दोस्रो प्रणालीले पनि ‘ल भैगो त’ भनेर लत्तो छाड्छ । जीवनमा हामीले गर्ने अधिकतम परिस्थितिका मूल्यांकन र व्यक्तिगत निर्णय त्यसरी नै थाहै नपाई लत्तो छाडेर गरिएका हुन्छन् ।

‘थिङ्किङ, फास्ट एन्ड स्लो’ माथि घोत्लिँदा मलाई धेरै घत परेको अर्को पनि सिद्धान्त छ । जीवन एक हिसाबमा अनगिन्ती अनुभवको सँगालो भन्ने त छँदैछ । तर, एउटा कुनै दिनको अनुभव होस् वा महिनाको वा केही वर्षको नै किन नहोस्, हामीले त्यो अनुभवबारे पछि जीवनभर सम्झँदा सम्झने भनेको केही सेकेन्डमा मात्रै हो, मनले बनाएको एउटा सानो कथाका रूपमा । जस्तो, मैले कुनै ठाउँमा एक वर्ष जागिर गरेको थिएँ, २० वर्षपहिले । त्यस जागिरको एक वर्षबारे मैले अहिले सम्झँदा जहिल्यै सम्झने पाँच–दस सेकेन्ड मात्रै हो । हो, मैले त्यो जागिरको अनुभवबारे जीवनभर सम्झिराखौंला, हजारौं पटक । तर, नाप्ने हो भने प्रत्येक पटक सम्झने केबल केही सेकेन्डका लागि मात्रै हो । र, मैले त्यो अनुभवबारे जति पटक सम्झे पनि सम्झने कुनै एउटा वा अर्को स्मृति–कथा मात्रै हो । त्यो सम्पूर्ण एक वर्षमा कति धेरै अनुभवका शृंखला थिए होलान्, तर ती सबै अनुभव स्मृतिमा थिग्रिँदा ‘पाँच सेकेन्डको कथा’ बनेर बसेको हुन्छ । त्यो पाँच सेकेन्डमा थिग्रिएको पूरै वर्ष एउटा सुखद स्मृति पनि हुन सक्छ, दुःखद पनि । एक हप्तासम्म बिदा मनाउन जाँदा प्रायः सबै दिन, सबै पल रमाइला बिते । तर, तपाईंको स्मृतिमा होटलबाट चेकआउट गर्ने बेला कुनै एक जना स्टाफको रूखो व्यवहार मात्रै अड्केर बस्न सक्छ जीवनैभर । अनि तपाईंलाई लाग्न सक्छ, त्यो होलिडे नै खत्तम थियो ।

विगतका कुनै घटनाबारे ‘यो सम्झने मन छ, म बिर्सूं कसोरी ?’ भन्दै तपार्इं जे–जे सम्झेर बस्नुभएको छ नि, अहिलेको यो सम्झनाले त्यतिबेलाको त्यो अनुभवलाई आधिकारिक रूपमा प्रतिनिधित्व गर्दैन । हाम्रो वास्तविक अनुभवको यथार्थ चक्र र त्यसलाई पछिसम्म ‘सम्झने मन’ मा रहेका स्मृति–कथा फरक हुन् । मानौं कलेज पढ्दाताका मेरी प्रमिका थिइन् । अहिले दिनकै बाह्रपल्ट सम्झे पनि उनलाई सम्झने भनेको एक पटकमा औसतमा पाँच सेकेन्डका दरले, दिनभरमा कुल मिलाउँदा एक मिनेट मात्रै हो । उनलाई धेरै सम्झन्छुजस्तो लाग्नु सम्झने बेलाको तत्क्षणको भ्रम हो । र, उनलाई सम्झँदा के सम्झने भन्ने पनि अन्तर्मनले पछि बनाएको एउटा कथा हो, त्यतिबेलाको वास्तविक अनुभूति होइन । यस्तो लेखिरहँदा, सधैं सम्झनामा बाँच्ने मनहरूप्रति मेरो सहानुभूति छ ।

यहाँनेर एउटा थप विषय नोट गरिहालौं । मान्छेले सोचेका हुन सक्छन्, कुनै घटना जीवनभर भुल्न सकिनँ । त्यसरी सोच्दा यस्तो लाग्छ, मानौं हामीले सधैंभर ती घटना सम्झिराखेका हुन्छौं । तर, खास सम्झेको समयलाई मापन गर्ने हो भने एक पटकमा त्यो केही सेकेन्डका लागि मात्रै हुन्छ । सम्झेको बेला मात्रै लामो समयसम्म वा सधैंभर सम्झेको जस्तो लाग्ने हो । सम्झनचाहिँ कहिलेकाहीं, केही सेकेन्डका लागि मात्रै सम्झिएको हुन्छ । तर, जहिले फ्याट्ट सम्झ्यो, त्यतिबेला लागिरहेको हुन्छ, उनलाई सधैं सम्झेको छु । सारमा यत्ति बुझौं– सम्झना भनेको मनले पछि बुनेको एउटा कथा मात्रै हो, त्यति बेला घटेको वास्तविक घटनाको त्रुटिरहित प्रतिविम्ब होइन ।

लेखको सुरुमा मैले असाध्यै छिटो–छिटो सोचिरहेको थिएँ । ‘आई थिङ्क, देअरफोर आई एमको अर्थ अर्कै रहेछ’ भनेर सुत्न गएको मेरो छोरा दुई घण्टाजत्तिमा उठुन्जेल आफ्नो सोच्ने प्रक्रियालाई बिस्तारै ढिलो बनाउने प्रयास गरेको थिएँ मैले । र, बिस्तारै नै मैले उसलाई सोधें, ‘ल भन न त, डेकार्टले भन्न खोजेको खास के रहेछ ?’

‘मैले मेरो अस्तित्वबारे शंका गर्न मिल्दैन, किनकि शंका गर्ने नै म आफू हुँ, जो बाँचेको भएरै शंका गर्न सकेको छु । मैले शंका गर्छु (सोच्छु), त्यसको अर्थ म छु ।’ छोराले शास्त्र अर्थ्याएको देखेर होला, मैले उसको व्याख्यालाई तर्कशील भएर परीक्षण गर्नुको साटो केवल (मक्ख परेको बाउ बनेर) सुनेको मात्रै रहेछु । अहिले एक वर्षपछि ‘बिस्तारै सोच्दा’ यस्तो लाग्छ कि त्यस दिन दोस्रो पटक पनि मेरो अन्तर्मनले मलाई परिस्थितिको मूल्यांकन त्रुटिपूर्ण गराएको थियो ।

प्रकाशित : पुस ३०, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

तपाईंको पहाड घर कहाँ हो ?

मेरो पहाडमा सपना छ, श्रम छ, संस्कृति छ, प्रकृति छ । तन्नेरीहरुले खिप्दै गरेको साकेवाको ढोल छ । तरूनीहरुले सिलाउँदै गरेको छिटको फरिया छ । उँभो हिमालतिर लम्किरहेका कर्‍याङकुरूङको हूल छ । सबथोक गाउँमै छ । र, कविता गाउँमै छ ।
भूपाल राई

पचासको दशकतिर लेखिएको एउटा आफ्नै कविता ‘दाजै कविता गाउँमै छ’ यतिखेर आफैंभित्र आत्मसमीक्षाको कठघरामा छ । गाउँको महिमामण्डन र झन्डै–झन्डै आत्माप्रवञ्चक शैलीमा लेखिएको त्यो कवितालाई त्यतिखेर एकखाले पाठकहरूले आफ्नै कथा ठाने । त्योसँग त्यस्ता मानिस बढी प्रभावित थिए, जो गाउँबाट सहर पसेका थिए । त्यसबारे अक्सर तिनीहरू नै बखान गर्थे, जो आफूले छाडेर आएको गाउँ सम्झेर नियास्रो मान्थे । पछि ०५७ सालमा साझा प्रकाशनले त्यही नाममा एउटा संग्रह नै छाप्यो । मलाई लाग्छ, मेरो कविता–यात्राको राजमार्गमा त्यसले एउटा खास माइलखुट्टीको काम गरेको छ ।

कत्तिलाई लाग्न सक्छ, दशकौंअघिको आफ्नो कृतिउपर त्यति नै समयपछि फेरि परिभ्रमण गर्दा त्यो त्यतिकै मनमोहक लाग्छ । त्यत्तिकै उपयोगी । मानिस त्यसै पनि अतीतमुखी त छ नै । त्योमाथि ऊ छ अतिशय प्रेमी पनि । उसलाई आफूले छाडेर हिँडेका हरेक पाइला र पहलुहरू उत्तिकै प्रिय लाग्छ । तर, आज झन्डै अढाई दशकपछि जब आफ्नो त्यो कविता सम्झिरहेछु म अनेक सोचले ग्रस्त छु । लगभग द्विविधाजस्तो– सायद म यतिखेर स्वमूल्यांकनको प्रक्रियामा छु ।

नभने पनि हुन्छ ‘दाजै कविता गाउँमै छ’ शतप्रतिशत गाउँको कविता थियो । गाउँकै कथा । तर, त्यो गाउँ कहाँ थियो/छ ? त्यसको एउटै उत्तर छ– पहाडमा । त्यो पहाड कहाँ छ ? पूर्वी नेपालमा । त्यो पहाडमा के छ ? एक खास समुदायको घना बस्ती छ । त्यहाँ उनीहरूको सपना छ । श्रम छ । संस्कृति छ । प्रकृति छ । त्यहीँ तन्नेरीहरूले खिप्दै गरेको साकेवाको ढोल छ । तरुनीहरूले सिलाउँदै गरेको छिटको फरिया छ । संगीतको सप्तकझैं गह्रा भिजाउँदै बगिरहेको पानीको मुहान छ । उँभो हिमालतिर लम्किरहेका कर्‍याङकुरुङको हूल छ । चिबे चराको पुच्छर र ढुकुरको गाँडमा बाँचिरहेको किंवदन्ती छ । थुबिक्मा चरी र दिदी–बहिनी डाँडाको वियोगान्त कथा छ । सब गाउँमै छ । त्यसैले मैले भनें, कविता गाउँमै छ ।

यो त भयो लगभग एउटा आत्मसम्मोहन । आफ्नो मन र मस्तिष्क एकाकार भएर चुलिएको अतिशय मोह, जसले एक कविलाई कविता लेखायो । तर, कविता गाउँमै छ भनिरहँदा र कुनै निहित चाखप्रति अतिरेक मोह जताइरहँदा बिर्सनु हुँदैन कि त्यहाँ बिषालु सर्पझैं फणा उठाइरहेका अन्य प्रश्नहरू पनि हुन्छन् । जस्तो, के पहाड मात्रै त्यस्तो चीज हो, जसले कसैलाई कविता लेखाउँछ ? के मधेस/मैदानमा कविता छैन ? के श्रम पहाडी गाउँमा मात्रै छ ? आफू र आफ्नो भन्ने सघन भाव के पहाडको कुनै गाउँको मात्रै विषय हो ? मधेसको कुनै देहातमा के ती सब चीज छैनन् ? के सपना सहरमा छैन ? यदि कविता गाउँमै (गाउँमा मात्र) छ भने अरू के खोज्न मानिसहरू गाउँ छाडिरहेछन् ? केको लालसाले मानिसहरू स्थानान्तरण हुन्छन् ? आफ्नो पुर्खाको नासो चट्टै बिर्सेर, आफू जन्मेको–खेलेको धूलो टक्टक्याएर हामी किन अन्यत्र भौंतरिइरहेछौं ? किन हामीले आफ्नो सपनाको गाउँ पर्खिरहन सकेनौं ? त्यत्रो कविता फल्ने आफ्नै गाउँलाई थामिरहन हामीलाई केले दिएन ? अझ स्थानान्तरणको क्रममा हामिले आफू र आफ्ना सारा दलिलहरू अन्यत्रै रोप्न थाल्यौं । आफ्नो सपनाको हक दाबी अरूतिरै खोज्न थाल्यौं । मलाई कता–कता यो कुरा यतिखेर कुनै षड्यन्त्रपूर्ण कथाजस्तो लागिरहेछ । अथवा कुनै अर्थराजनीति प्रश्नजस्तो । मलाई यो कुरा झन् त्यतिखेर बढी पेचिलो लाग्यो, जतिखेर पाँच/छ महिनाअघि झापामा मलाई कसैले यस्तो प्रश्न सोध्यो, ‘तपाईंको पहाड घर कहाँ हो ?’

...

झापा धरमपुर–झिलझिलेस्थित किरात राई यायोख्खा सभाहलभित्र कार्यक्रमको तयारी कार्य भइरहेको थियो । धरमपुर निवासी युवा भाइहरू हल सजाइरहेका थिए । बाहिर भुइँ बरन्डामा मलाई केही मानिसले घेरिरहेका थिए । म थिएँ झापाका युवा कवि विराट किरातीको निम्तो मान्न काठमाडौंबाट गएको एक थान प्रमुख अतिथि । एकै छिनपछि मेरो हातबाट ‘मनमाया बान्तवा प्रतिष्ठान’ द्वारा प्रदान गरिने साहित्य/कलासम्बन्धी पुरस्कार वितरण हुँदै थियो । ठीक त्यही बेला मलाई घेरिरहेका मानिसमध्येबाट कोही एक जनाले त्यो प्रश्न सोध्यो, जसले मलाई यति लेख्न उद्यत गरायो ।

मैले भने, ‘हैन म त काठमाडौंबाट आको ।’

‘काठमाडौं भए पनि पहाड घर त होला नि ?,’ उसले फेरि सोध्यो किनभने उसलाई थाहा थियो मेरो सामुदायिक पहिचानको रैथाने ठेगाना काठमाडौं हुनै सक्दैन ।

भने, ‘काठमाडौं पनि पहाडै हो ।’

‘हैन पुर्ख्यौली पहाड भनेको... ।’

अन्तिममा प्रस्ट्याएँ, ‘भोजपुर ।’

त्यसपछि भने प्रश्नकर्ता चुप लाग्यो । सायद ऊ मेरो उत्तरले सन्तुष्ट थियो किनभने भोजपुर एउटा खाँटी पहाडी जिल्ला थियो, जहाँबाट सयौं परिवार बसाइँ सरेर मधेसका नयाँ बासिन्दा भएका छन् । यही कारण उसलाई लागेको हुन सक्छ, मेरो पनि नयाँ मुकाम अवश्य त्यतैकतै हुनुपर्छ, जसको पहाड घर हुनु अनिवार्य थियो । ऊ चुप भएपछि अब भित्रभित्रै वाचाल हुने पालो मेरो थियो । एक्कासि सम्झिएँ– मैले पनि काठमाडौंमा भेटिएका झापा, मोरङ, सुनसरी घर बताउने पहाडे मूलका अनेक मानिसलाई अनेकचोटि त्यही प्रश्न सोधेको छु । त्यस्तै पश्चिम तराईतिर पनि कतिले कतिलाई त्यसरी नै सोधेका होलान् । तर, त्यही प्रश्न जब खुद मलाई सोधियो, त्यसपछि पो त्यसको अनपेक्षित धक्काले मलाई कता–कता हल्लायो । मलाई लाग्यो, अवश्य केही छ त्यसको अन्तर्यमा, जसले कुनै उत्तरको माग गरिरहेछ । सोचें, नेपालको बसोबास र जनसंख्या वितरणको परम्परागत इतिहासले पक्कै पनि एउटा खास चित्र दिलाउँछ । यो चित्र पछिल्लो कालमा भत्किएको अवश्य छ । तैपनि न आजसम्म कोही हिमाली जातिलाई ‘तपाईंको हिमाल घर कहाँ हो’ भनेर सोधिएको थाहा छ । न पहाडमा भेटिएको कुनै तराईवासीलाई नै उसको तराई घरबारे सोधिएको छ । तर, अनौठो छ, यस्तो प्रश्न किन पहाडी मूलका मानिसलाई मात्रै सोधिने गरिन्छ ? सम्भवतः त्यो प्रश्नले संकेत गरेको अन्तर्यमा अवश्य केही छ ।

नेपाल भनिने देशले प्राप्त गरेको आधुनिक राज्यको इतिहास कोट्याउने हो भने सायद त्यो अन्तर्य केही–केही फेला पार्न सकिन्छ । किनभने लामो समयदेखि कथित राज्यको परिकल्पित केन्द्रमा एकछत्र रूपमा त्यही पहाड बिराजमान छ । नेपाली राज्यसत्ताको सञ्चालन र नेपाली राष्ट्रियताको निर्माण त्यही पहाड नामक भाष्यमा टिकेको छ । पहाड नेपाली राष्ट्रवादको केन्द्र हो, जो एककोषीय अमिबाको न्युक्लियसजस्तै हो । हिमाल, तराई त संयोगले त्यसको वरिपरि रहेको प्लाज्मा मेम्ब्रेनजस्तो मात्रै हो । अमिबा अस्तित्ववान् या जीवित छ कि छैन भन्ने कुरा त्यसको केन्द्रमा बिराजमान न्युक्लियसको जीवनमा भर पर्छ । प्लाज्माहरूले त त्यसको अस्तित्व रक्षाका लागि सेवा गर्ने मात्रै हो । नेपाली राष्ट्रवादको यो पहाडी न्युक्लियसवादले त्यसैले लामो समयदेखि मधेसलाई परहेजमा राख्यो । हिमाललाई नजरअन्दाज गर्‍यो । राष्ट्रवाद यसरी एकात्मक पहाडी वैचारिकीको आधारमा निर्माण भयो । इतिहासमा यो वैचारिकिको सुरुवात पृथ्वीनारायण शाहकै पालादेखि भएको देखिन्छ । उनीभन्दा अघिका सेनहरूले उँधो उँधो चुरे–भावरतिर बसेर उँभोका पहाडहरूतिर स्वशासित राज्य गर्थे । तर, पृथ्वीनारायणले संघीय ढाँचाको त्यो प्रणाली तोडेर आफ्नो राज्यको न्युक्लियस ‘हिन्दुस्थाना’ सोचका रूपमा पहाडमा केन्द्रीकरण गरे । ‘असिल हिन्दुस्थाना’ उनको यस सोचको मूल मन्त्र थियो ।

‘असिल हिन्दुस्थाना’ को यही मन्त्रलाई पछिका महेन्द्र शाहले विरासतमा प्राप्त गरे । एकल धर्म, एकल जाति र एकल क्षेत्रको यो वैचारिकीलाई पहाडमा संकेन्द्रित गरेर महेन्द्रले पुर्खाको ‘असिल हिन्दुस्थाना’ को मनोकांक्षालाई मूर्तरूप दिन खोजे । यही मन्त्रको आधारमा उनले एउटा चर्को पहाडी राष्ट्रवाद निर्माण गरे, जसलाई महेन्द्रीय राष्ट्रवादको नामले पनि चिनिन्छ । उनले निर्माण गरेको यो पहाड संकेन्द्रित राष्ट्रवाद यति खतरनाक थियो, त्यसले तराई–मधेसलाई अराष्ट्रिय देख्थ्यो । उनलाई दक्षिणी सिमानामा फैलिएका मधेसीहरूबाट नेपालको राष्ट्रियता जोगिन्छ भन्ने पटक्कै लाग्दैनथ्यो । त्यसैले उनले आफ्नो राष्ट्रवाद तराईतिर विस्तार गर्ने योजना बनाए । यसका लागि पहाडी मूलका मानिसलाई मधेसमा बसोबास गराउने अभियान नै चलाए । यसबाट मधेसको जमिन, अर्थराजनीति, संस्कृति आदि गम्भीर अतिक्रमणमा पर्न गयो, जुन नियोजित थियो । आफ्नो राष्ट्रवाद जोगाउन या विस्तार गर्नका लागि महेन्द्रले चालेका केही संस्थागत अभियान हेरौं–

पुनर्वास कम्पनीको स्थापना

यो बेग्लै हो कि ‘पुनर्वास कम्पनी’ नाम झट्ट सुन्दा सुखद लाग्छ । सकारात्मक, जनप्रेमि र जनहितकारी । तर, गहिरिएर हेर्ने हो भने यसको छद्म दृष्टि केवल तराईका विशाल र बन्जर फाँटहरूतिर सोझिएको देखिन्छ । मानौं पुनर्वास भन्नु नै पहाडका खातिर तराईका जमिनहरूको वितरण र दोहन मात्रै हो ।

यद्यपि पृथ्वीनारायण शाहको नेपाल एकीकरणपश्चात् तात्कालिक शासकहरूले पनि पटक–पटक तराई क्षेत्रतिर चासो नदिएका होइनन् । पहाडियाहरूलाई तराईमा पुनर्वास गराउन पटक–पटक कोसिस पनि नगरिएको होइन । तर, तिनीहरूको त्यो चासो केवल तात्कालीन आवश्यकता या आर्थिक व्यवस्थापनसँग मात्रै जोडिएको चासो थियो । किनभने त्यतिखेरका शासकहरूलाई सेना र राज्यको खर्च जुटाउन राजस्वको स्रोत चाहिएको थियो । करको दायरा विस्तार गर्नु थियो । तर, घना जंगल, उष्ण हावापानी र मलेरियाको डरले मानिसहरू तराई झर्न डराउँथे । त्यसैले उनीहरूले तराईको विशाल र खेर गइरहेका निर्जन फाँटहरूलाई आफ्ना सेवक र सेनाहरूका लागि बिर्ता र जागिर बाँड्ने काममा उपयोग गरे । ‘...बाँझो जमिन र घना जंगलहरू केही नागरिक, सेना, अभिजात वर्गका सदस्यहरू, विजित राज्यका प्रमुख आदिलाई ‘बिर्ता’ को रूपमा र सरकारी सेवक तथा कर्मचारीहरूलाई तलब वा पारिश्रामिक बापत ‘जागिर’ को रूपमा वितरण गरिन्थ्यो ।’ (रेग्मी एमसी, १९७१, अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री) ।

यसरी लामो समयसम्म राज्यको आर्थिक दायित्व वा राजस्वको स्रोतसँग मात्रै जोडिएको तराई/मधेससँग एकाएक महेन्द्रको उदयपछि अर्को एउटा जबर्जस्त वैचारिकी जोडिन पुग्यो । त्यो थियो– महेन्द्रीय राष्ट्रवाद । भनिसकियो, उनीद्वारा निर्मित त्यो राष्ट्रवादी भावनाको रेडिमेड स्रोत पहाड हुनाले त्यसलाई स्थापित गर्न तराईको फाँटसम्म झर्नैपर्थ्यो । यसका लागि पहाडी मूलका मानिसलाई मधेसमा पुनःस्थापित गर्नु अनिवार्य हुन्थ्यो । यसले कथित नेपाली राष्ट्रियता वा राष्ट्रवादको गोलीले एकैचोटि दुइटा चरा मार्न सक्थ्यो । पहिलो त, यसले पहाडी राष्ट्रवादको भावनालाई मधेसी मैदानसम्म विस्तार गर्थ्यो । दोस्रो, पहाडी समुदायको पुनर्वासले दक्षिणी सीमामा मानव सीमारेखा या मानव ढालको काम गर्थ्यो । र, उनी सोच्थे यही मानव ढालले मात्रै देशको दक्षिणी सिमानाको सुरक्षालाई मजबुत बनाउँथ्यो । त्यसैले ऐतिहासिककालदेखि सुस्त ढंगले चलिरहेको तराईको जमिनमाथिको पुनःस्थापना कार्यलाई महेन्द्रले युद्धस्तरमा अगाडि बढाए । उनले सन् १९६४ मा ‘पुनर्वास कम्पनी’ को नाममा एउटा सरकारी कम्पनी नै स्थापना गरेर पुनर्वासको कामलाई राज्यकै स्तरबाट बडो आक्रामक ढंगले अगाडि बढाए । यस क्रममा सन १९६४ देखि १९७७ सम्मको अवधिमा जम्मा १५ हजार १ सय ४ हेक्टर जमिनमा ७ हजार ६ सय ९१ परिवार तराईमा बसाइँ सरेको देखिन्छ (सिन्हास जर्नल, भोल्युम ११) । यद्यपि यो लक्षित उद्देश्यसमेत हासिल गर्न नसकेको एउटा सामान्य सरकारी तथ्यांक मात्रै हो । त्यस्ता अरू कैयौं आँकडा अझै होलान्, जो कुनै पनि तथ्यांकमा समेटिएका छैनन् ।

तराई पुनर्वासको यो आक्रामक अभियानलाई महेन्द्रले त्यतिखेर अनेक नाममा चलाए । कहिले पहाडी जनसंख्या नियन्त्रणका नाममा, कहिले भूमिहीनहरूलाई जग्गा वितरण त कहिले प्रकृति प्रकोपपीडितहरूको पुनःस्थापनका नाममा । तर, दृश्यमा जे देखिए पनि गुप्तमा यो उनीबाटै प्रदत्त एकात्मक राष्ट्रवादद्वारा निर्देशित अभियान थियो । सारमा यो पहाडिया मूलका मानिसहरूकै विस्तृति कार्य थियो । यसलाई पुष्टि गर्न अरू धेरै कुरा गर्नैपर्दैन । दोस्रो विश्वयुद्धपश्चात् बर्माबाट फर्किएका पहाडी मूलका मानिसलाई दक्षिणी सिमानाहरूमा पुनर्वास गराइनुले नै यो गुप्त योजनालाई पुष्टि गर्छ । जोगबनी, भैरहवा, नवलपरासी आदि क्षेत्रका नाका–नाकामा गएर हेर्ने हो भने आज पनि त्यहाँ बर्मेली टोलहरू भेटिन्छन् । सुदूरपूर्वी जिल्ला ताप्लेजुङ, पाँचथरका पहाडी आदिवासी मानिसहरूलाई महाकालीपारिका चाँदनी दोधारा बस्तीहरूमा केवल पुनर्वासकै लागि पुनर्वास गराइएको थिएन । यथार्थमा यो उनकै पहाडी राष्ट्रवादबाट निर्देशित एउटा अनौठो प्रयोग थियो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग

पूर्व–पश्चिम राजमार्गजस्तो भीमकाय योजनासँग के कुनै कथित राष्ट्रवादको महत्त्वाकांक्षा जोडिएको थियो होला ? सामान्यतः त्यस्तो नलाग्न सक्छ । तर, के विकास नामका सबै भाष्य निसर्त रचिन्छन् ? प्रश्न त यहीँबाट सुरु हुन्छ ।

सन् १९६१ (२०१९ वैशाख १) मा नवलपरासी गैंडाकोटमा स्वयं महेन्द्रद्वारा शिलान्यास गरिएको पूर्व–पश्चिम राजमार्गसँग पनि अवश्य विकासको त्यही कथ्य रचिएको थियो । पूर्व झापा जिल्लाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको बनवासासम्म लगभग १ हजार २८ किलोमिटर लम्बाइको यो राजमार्गले समग्र देशकै अर्थतन्त्र कायापलट हुने प्रचार पनि गरिएकै हो । तर, यति हुँदाहुँदै पनि के सबै प्रश्न हल भइसकेका हुन् ? सोचौं त, किन त्यस्तो पहिलो महत्त्वाकांक्षी योजनाको सुरुवात तराईबाटै गरियो होला ? के पहाडका बस्तीहरू सबै सुविधासम्पन्न भइसकेका थिए ? तराईको पनि त्यस्तो क्षेत्रमा, न त्यसले मधेशको मध्यमुटुलाई छुन्थ्यो न पहाडको छातीलाई जोड्थ्यो । विश्लेषकहरू भन्छन्– यो राजमार्गको परियोजना त्यस्तो धरातलीय रेखामा कोरियो, जसले कोर मधेशको अर्थ–सामाजिक प्रणालिलाई चलायमान गराउनुको सट्टा झन् शून्यप्राय बनाइदियो । मधेसको हित सोचेर बनाइएको भए यो राजमार्गको रेखा कोर मधेसको मुटुमा कोरिनुपर्थ्यो । यसले त मधेसको अर्थ–सामाजिक गतिविधिको पुराना केन्द्रहरूलाई भत्काएर अन्य ठाउँमा स्थानान्तरण गरिदियो । यसबाट पुष्टि हुन्छ, यो मधेस हितलाई सोचेर रचिएको योजनै थिएन । बाहिर–बाहिर जति नै विकासको बखान गरे पनि यसको अन्तर्यले त्यसैले दुइटा गुप्त उद्देश्य पुष्टि गर्छ । पहिलो, मधेसको परम्परागत अर्थ–सामाजिक सम्बन्धलाई खल्बल्याउनु । दोस्रो, राजमार्गको समानान्तर नयाँ पहाडी मानवरेखा निर्माण गर्नु ।

योभन्दा अर्को महत्त्वपूर्ण कुरा जसबारे धेरैले अनुमान गरेका छैनन्, त्यो निकै अर्थपूर्ण छ । निहित उद्देश्यअनुरूप राजमार्गतर्फ पहाडी समुदायको बसोबास आकर्षित हुनु त स्वाभाविक थियो नै, तर त्यसको घोषणापश्चात् विकासको भाष्यसँग जोडिने यातयातका अन्य कुनै पनि ठूला योजना त्यसपछि देशमा देखा परेनन् । किन ? अहिलेको मध्यपहाडी लोकमार्गजस्तो योजना त कल्पनाभन्दा बाहिरको कुरा थियो । तर, दशकौंसम्म पहाडी जिल्लाहरूलाई यातायातका निम्नतम सुविधाबाट पनि विमुख राखियो । किन ? यही किन पछाडीको कारणले लामो समयसम्म सेवा, सुविधा, अवसर र विकासको तिर्खाबाट व्याकुल पहाडी समुदायहरू हूलका हूल पूर्व–पश्चिम राजमार्गको छेउछाउ बसाइँ सरेर झरे । बसाइँ सराइको यस्तो बाध्यकारी परिस्थितिलाई बढावा दिन यो एउटा नियोजित साजिस थिएन भने अरू के थियो ?

पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण सम्पन्न हुन यद्यपि झन्डै चालीस वर्ष लाग्यो । तर, त्यसले बोकेको दीर्घकालीन उद्देश्यको परिणाम आज हेर्नुस्– काँकडभित्तादेखि कञ्चनपुरसम्म सयकडौं नयाँ बस्ती र नयाँ अनुहार थुप्रिएका छन् । त्यत्तिकै संख्यामा झरीका च्याउझैं नयाँ सहर उम्रिएका छन्, जसका लागि शतप्रतिशत पहाडी समुदायको योगदान छ । एउटा नयाँ राष्ट्रवादी सिमाना कोरिएको छ । नयाँ मानव ढाल तैनाथ छ । कतिऔं रैथाने मानिस आफ्नो थातथलोबाट विस्थापित भएका छन् । पहाड घर भएका लाखौं मानिस मधेसका बासिन्दा भएका छन् । र, तिनीहरूमध्ये प्रत्येकले प्रत्येकलाई गर्ने पहिलो प्रश्न यस्तो छ, ‘तपाईंको पहाड घर कहाँ हो ?’

मलेरिया उन्मूलन

ब्रायन हड्सनले थारूहरूका विषयमा एउटा अनौठो र विष्मयकारी तथ्य प्रकाश पारे । थारूहरूको डीएनए परीक्षणबाट पत्ता लाग्यो कि उनीहरू मलेरिया निरोधक जाति हुन् । उनीहरूलाई मलेरियाले असर गर्दैन किनभने उनीहरूभित्र मलेरिया प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) पहिल्यैदेखि सुरक्षित छ । उनका अनुसार, करिब तीन हजार वर्षअघिदेखि मलेरियासँग जुध्दा–जुध्दा उनीहरूमा यो क्षमता विकास भएको हो ।

यस खोजबाट मूलतः तीन तथ्य उजागर हुन्छ । पहिलो, थारू जाति र मलेरियाबीच अन्योन्याश्रित सम्बन्ध छ । दोस्रो, नेपालको मलेरिया क्षेत्र थारूहरूको आदिम भूमि हो । र तेस्रो, तिनीहरू तीन हजार वर्षभन्दा अघिदेखि त्यहाँ छन् ।

अब प्रश्न उठ्छ, जब थारू अथवा त्यहाँका मूल वासीलाई नै मलेरियाले असर गर्दैन भने ‘मलेरिया उन्मूलन’ जस्ता कार्यक्रम केका लागि ? कसका लागि ? के कारणले यो प्रपञ्च रच्नुपरेको हो ? उत्तर सपाट छ– पहाडिया राष्ट्रवाद सुदृढ गर्न । राष्ट्रवादको नाममा पहाडिया समुदायको विस्तार गर्न ।

बीसौं शताब्दीको मध्यावधिसम्म पनि थारूबहुल क्षेत्र मलेरियाग्रस्त क्षेत्र मानिन्थ्यो । पहाडी मानिसहरू त्यहाँ बसोबास गर्न त के आउ–जाउ गर्नसमेत डराउँथे । तर, सन् १९५५ मा जब चितवन जिल्लाबाट मलेरियाविरुद्धको पहिलो अभियान सुरु गरियो र छिट्टै त्यो अभियान पूर्णतः सफल भएको घोषणा गरियो, तब पहाडिया मानिसको चहलपहल सुरु भइहाल्यो । चितवनको सफलतापछि ‘नेपाल मलेरिया उन्मूलन संघ’ नै खडा गरेर पूर्व–पश्चिमका अन्यान्य जिल्लाहरूतर्फ पनि अभियान द्रुत गतिले अगाडि बढ्यो । यसको प्रभावले थारूबहुल क्षेत्रमा एक्कासि यस्तो हुन गयो कि पहाडी बसाइँ सराइको वर्षा नै हुन थाल्यो । ‘नेपाल मलेरिया उन्मूलन संघ’ को रेकर्डअनुसार, सन् ७०–८० को दशकमा तराईका १३ जिल्लामा मात्रै ४८ दशमलव ३ प्रतिशतले जनसंख्या वृद्धि भयो (गुरुङ हर्क, रिजनल प्याटरन्स अफ माइग्रेसन इन नेपाल) ।

अब हेरौं, तीन हजार वर्षदेखि मलेरियासँग लड्दै–लड्दै आइरहेका थारूहरूको अवस्था अहिले भिन्नै छ । मलेरियालाई जितेका थारूहरूले आखिरमा त्यही मलेरिया उन्मूलनको प्रपञ्चसँग हार्नुपर्‍यो । पहाडी समुदायको आक्रामक बसाइँ सराइ र अतिक्रमणका कारण तिनीहरूले आफ्नै जमिन र थातथलोबाट बेदखल हुनुपर्‍यो । आफ्नै आदिम भूमिबाट च्युत हुनुपर्‍यो । आफैंले आवाद गरेको सरहदमा आफैं बेघरबार हुनुपर्‍यो । हुँदाहुँदा आफ्नै जमिनमा आफैं कमैया बस्नुपर्‍यो । कम्लरी हुनुपर्‍यो । हेर्दाहेर्दै आफ्नो भाग्य, भविष्यका लागि पहाडिया मालिकहरूसँग निर्भर हुनुपर्‍यो । भनिन्छ, मलेरिया उन्मूलनको घोषणा त्यस्तो एक षड्यन्त्रपूर्ण अस्त्र थियो, जसले सारा थारूको सफाया गर्ने डीडीटी पाउडरको काम गर्‍यो ।

स्मरणीय कुरा, महेन्द्रको देहान्त भएको लगभग ४४ वर्षपघि, विसं ०७२ मा टीकापुर नरसंहारकारी घटना हुन पुग्यो । कैलालीको भूमि रणमैदानमा परिणत भयो । सारा थारू बस्तीमा आगो लगाइयो । थारूहरूको रगत, पसिनाले सिँचेको भूमिमा ‘अखण्ड सुदूरपश्चिमाञ्चल’ नामको पहाडी राष्ट्रवादले परेड खेल्यो । यो त्यही राष्ट्रवादी आगोको बीउ थियो, जसलाई कुनै दिन महेन्द्रले झोसेर हिँडेका थिए । यो त्यही आगोको बीउ हो, जसलाई यतिखेर ‘पहाड घर हुनेहरू’ ले झोसिरहेका छन् ।

...

आउनुहोस्, अन्त्यमा अब फेरि फर्कौं झापा झिलझिलेतिरै । ‘मनमाया बान्तवा प्रतिष्ठान’ को पुरस्कार वितरण कार्य समयमै सम्पन्न भइसकेको छ । अलिकति समय उब्रेको छ बेलुकीको । त्यसैले आकस्मिक रूपमा तय भएअनुसार एक टोली निस्कन्छ सताशीधाम भ्रमणमा । आकस्मिक तय भएको कार्यक्रमसँग जोडिएको छ मेरो नाम । खोलै खोला, सानो सुरुङमार्गजस्तो चुरेको गल्छीभित्र छिरिरहेका बेला एक्कासि मैले कसैलाई सोधें, ‘केही दिनदेखि म यहाँ छु । एक जना पनि यहाँका रैथाने मान्छे देख्दिनँ । कहाँ गए ती सब ?’

छेउमै थिएछन् विराट किराती । जवाफ दिए, ‘तिनीहरू सब विस्थापित भैसके । अब तिनीहरूलाई देख्न उँधो झर्नुपर्छ, सिमानातिर ।’

अघिअघि हिँडिरहेछन्, खोलामा फड्को हान्दै झापावासी कविहरू मुनाराज शेर्मा, सेलिङ केसी, साङ्सेन पन्दाक, हेमकुमार लावती । विराटको उत्तरको रन्कोले एक्कासि सम्झेँ– तिनीहरू सबको एउटा न एउटा ‘पहाड घर’ अवश्य छ । अलि पछाडी छन् जितेन साम्पाङ, सुरेन्द्र राई, निहाङ किराती, पवन चाम्लिङ, कविराज चाम्लिङ, जो सबै पहाडकै पैदावारहरू हुन् । छेउका विराटलाई हेर्छु, अनि नियाल्छु आफैंलाई । लाग्छ, हामी सब पहाड घर भएका एक से एक आततायीहरू हौं । सब अतिक्रमणकारी हौं । ‘पहाड घर’ जो कुनै दिन महेन्द्रले झोसेर हिँडेको अन्ध राष्ट्रवादी आगोको बीउ थियो, अथवा विस्तार र अतिक्रमणको ऐतिहासिक षड्यन्त्र थियो, हामी त्यसैका एक–एक अंशियार हौं । र, यतिखेर पूर्वी मधेसको भूमिमा भेटिएर एकअर्कालाई निश्चिन्त सोधिरहेछौं, ‘तपाईंको पहाड घर कहाँ हो ?’

प्रकाशित : पुस २३, २०७९ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×