कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगमञ्चको नालिबेली

मणि लोहनी

नेपाली रंगमञ्चमा कामहरू भएका छन् । तर अध्ययनहरू भएका छैनन् । त्यसो त अध्ययनहरू हुँदै नभएका होइनन् । जति भएका छन् । ती सीमित थिए । अहिलेसम्म नेपाली रंगमञ्चमाथि अध्ययन गर्नेहरूले काठमाडौंको गतिविधिलाई मात्र विषय बनाउँदै आइरहेका थिए । रंगमञ्चको क्षेत्र जति फराकिलो छ, अध्ययनकर्ता, समालोचक र अन्वेषकहरूको दृष्टिकोण त्यहाँसम्म पुग्न सकिरहेको थिएन ।

रंगमञ्चको नालिबेली

त्यसो त जसरी रंगमञ्चमा एकपछि अर्का मिहिनेती र जुझारु कलाकार निर्देशकका उदय भइरहेको छ । त्यसैगरी समालोचना र अन्वेषणमा पनि एक दुई युवा रंगकर्मी जुटिरहेका छन् । त्यही एक–दुईभित्र पर्छन् कृष्ण शाह यात्री । रंगमञ्चलाई काम र अध्ययनको रूपमा मात्र नलिएर यसैमा जीवन अर्पित गरेका यिनै शाहले केही अघि बजारमा ल्याएका छन्— ‘नेपालको रंगमञ्च विगत र आगत’ । 

यस नाटय पुस्तकमा नेपालको रंगमञ्चको इतिहासको बृहत् अभिलेखन भएको छ । यो पुस्तक सामान्य पाठकदेखि नाटयकलामा चासो राख्ने अनुसन्धाता, अध्येताहरूका निम्ति पनि उपयोगी बनेको छ । यसले नेपाली रंगमञ्चको स्पष्ट र वैज्ञानिक तरिकाले कालक्रम विभाजन गर्नुका साथै कलेज र विश्वविद्यालयमा वर्षौंदेखि रहेको रंगमञ्च विषयको पाठयपुस्तकको अभावलाई समेत पूरा गरेको छ ।
पुराना कलाकार र निर्देशकका बारे समेत आवश्यक अनुसन्धान र अध्ययन नभएको बेला शाहले रंगमञ्चमा भएका पछिल्ला उपलब्धिहरूलाई समेत पुस्तकमा समेटेका छन् । नयाँ पुस्ताका कलाकार र निर्देशकहरूका बारेमा परिचर्चा गरेका छन् । पछिल्ला समयका क्रियाशील नाटककारहरूप्रति न्याय गरेका छन् । यो यस पुस्तकको सबैभन्दा ठूलो कुरा हो । इतिहासदेखि वर्तमानसम्म इमानदार भएर लेख्नु चानचुने कुरा होइन । अनुसन्धानकर्ताले तटस्थ भएर अनुसन्धान गरेका विषयलाई कुनै पनि आग्रह पूर्वाग्रहबिना डकुमेन्टेसन गर्नु ठूलो कुरा हो । यही ठूलो कुरा शाहले यस पुस्तकमा गरेका छन् । ‘अहिलेका नयाँ पुस्ताका युवा नाटक निर्देशक, कलाकार र नाटय संस्थाको कामको अभिलेखीकरण कहिले हुने होला ?’ नाटकघरहरूमा नाटक हेर्दै र नाटक प्रदर्शन गर्दै हिँड्दा शाहलाई यही प्रश्नले चिमोटिरहन्थ्यो । यही प्रश्नबाट छुटकारा पाउन उनी लागे नेपालको रंगमञ्चको विगत र आगत विषयको साङ्गोपाङ्गो अध्ययन गरिएको पुस्तक लेख्न । उनको यो अध्ययन र अनुसन्धानलाई पुस्तकको रूप दिन साथ दियो नेपाल संगीत तथा नाटय प्रतिष्ठानले । 
नाटयकर्मी शाह उदयपुरबाट काठमाडौं आएताका अर्थात् विसं ०५० सालमा महिनामा मुस्किलले १/२ वटा नाटक हुने राजधानीमा अहिले एकैसाथ नयाँ र पुराना पुस्ताका नाटकहरू मञ्चन भइरहेका छन् । नेपाली रंगमञ्चमा देखिएको यो ठूलो परिवर्तनलाई शाहले पुस्तकमा सगर्व समेटेका छन् । 
त्यसो त यो पुस्तक एक, दुई वर्षको मिहिनेतले मात्र सम्भव भएको होइन । विगत दुई दशकभन्दा लामो समयदेखि कृष्ण शाह यात्री निरन्तर रंगमञ्चसम्बन्धी शोध र अनुसन्धानमा व्यस्त थिए । यस अवधिमा उनले करिब ४० जिल्लामा गएर स्थलगत अध्ययन गरे । पूर्वमा इलामदेखि सुदूरपश्चिममा डोटी र कर्णालीको हुम्ला लगायत देशका २५ जिल्लामा रंगमञ्चको स्थिति कस्तो छ भन्नेबारे उनले खुलासा गरेका छन् । यस पुस्तकमा समेटिएको जिल्लाका रंगमञ्चीय गतिविधिले स्थलगत अध्ययनलाई पुष्टि गर्छ । भोजपुर, सुनसरी, सुर्खेत, मकवानपुर, धनुषा, कास्की, नुवाकोट, पर्वत लगायतका जिल्लाका प्रतिनिधिमूलक नाटय गतिविधिले नेपालको रंगमञ्चको क्षेत्र निकै फराकिलो रहेको प्रष्ट पारेको छ । यसैगरी पुस्तकमा नेपाली भाषाका साथै मैथिली, नेवारी, थारू लगायतका भाषाको नेपालको नाटयकलाको समेत विस्तृत रूपमा चर्चा र विश्लेषण गरिएको छ ।
सात खण्डमा विभाजित यस पुस्तकमा रंगमञ्चको सैद्धान्तिक स्वरूप, नेपाली रंगमञ्चको प्रारम्भिक अवस्था, आधुनिक कालयात्रा, मोफसलको नेपाली रंगमञ्चको स्थिति, नेपाली रंगमञ्चका प्रतिनिधि नाटक निर्देशक र कलाकारहरूको नाटयकर्मको छुट्टाछुट्टै व्याख्या र विश्लेषण गरिएको छ । 
शाह उत्कृष्ट नाटककार, निर्देशक र कलाकारसमेत हुन् । नेपालमा सर्वप्रथम संकेत नाटकको अवधारणा विकसित गर्दै त्यसलाई प्रयोगमा ल्याउने एक प्रयोगवादी रंगकर्मीको पहिचानसमेत उनले बनाएका छन् । यो पुस्तकलाई उनको रंगमञ्चप्रतिको निरन्तर लगाव, सक्रियता, नवीन सोच र साधनाको प्रतिफल मान्न सकिन्छ । लिच्छवीकालीन, मल्लकालीन हुँदै आधुनिक नेपालको रंगमञ्च परम्परा, विकास र प्रयोगबारे विस्तृत, गहन र पूर्ण रूपमा कुनै कृति बनेको छ भने अहिलेसम्मलाई चाहिँ सायद यही पुस्तक हो भनेर दाबी गर्न सकिने थुप्रै आधारहरू नेपाली रंगमञ्च विगत र आगतले बहन गरेको छ । 
त्यसो त पछिल्लो समय, नेपाली नाटक लेखन र निर्देशन क्षेत्रमा शाह सक्रिय छन् । विनीत स्वभावका उनी नेपाली नाटय क्षेत्रका अग्रज पुस्ताहरूका पदचिह्न पछयाउँदै नेपाली रंगमञ्चलाई समृद्ध बनाउन दत्तचित्त छन् । नेपाली नाटकको इतिहासदेखि सैद्धान्तिक पक्षहरूलाई केलाउन पनि उत्तिकै क्रियाशील छन् । उनको त्यही क्रियाशिलताकै उपलब्धि हो यो पुस्तक । 
नेपाली रंगमञ्चको विकास र विस्तार लिच्छवी कालमा भएको मानिन्छ । नेपालमा लिच्छवीकालको लगभग ३ सय ५० वर्षको इतिहास छ । कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्री वाङहुएनचेको यात्रा वृत्तान्तअनुसार वैशालीबाट आएकाहरूले किराँतहरूलाई विस्थापित गरी लिच्छवी वंशको स्थापना गरेका हुन् । र लिच्छवी राजाहरूले नै नेपालमा संगीत, नाच र कलाकौशलको विकास गरे । नेपाली रंगमञ्चको आधुनिक कालयात्राचाहिँ विसं. १९९५ देखि सुरु भएको शाहको अध्ययनले भन्छ । बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ को प्रदर्शनपछि आधुनिक नाटक प्रवेश भएको मानिन्छ । त्यसमा १९९५ देखि ०२९ सालसम्म आधुनिक रंगमञ्चको प्रथम चरण, ०३० देखि ०४६ सम्म द्वितीय चरण र ०४७ देखि ०७२ सालसम्मलाई तृतीय चरणको रूपमा शाहले दाबी गरेका छन् । यसका साथै उनले नेपाली रंगमञ्चमा भएका प्रयोगहरूबारे पनि उल्लेख गरेका छन् । उनको अध्ययन यथार्थको नजिक किन पनि छ भने उनले पुराना रंगकर्मीसँग पटकपटक अन्तरक्रिया गरेका छन् । पुराना अनौपचारिक दस्तावेज र लेखोटहरूलाई केलाएका छन् । 
पछिल्लो समय प्रयोगका रूपमा रंगमञ्चमा साहित्यका अरू विधाहरू कथा, कविता, निबन्ध, लघुकथाको मञ्चनबारे पनि शाहले पुस्तकमा लेखेका छन् । साथै सडक नाटक, गीति नाटक, कचहरी, संकेत नाटकबारे पनि उनले पुस्तकमा समेटेका छन् । 
नेपाली रंगमञ्चलाई समृद्ध, फराकिलो र जीवन्त बनाउने निर्देशकहरूका संक्षिप्त चिनारी पनि उनले पुस्तकमा राखेका छन् । बालकृष्ण समदेखि पछिल्लो पुस्ताका घिमिरे युवराजसम्मको नाटय–यात्राबारे उल्लेख गरेका छन् । यसैगरी, नेपाली रंगमञ्चमा समर्पित कलाकारहरू रत्नदास प्रकाशदेखि पछिल्लो पुस्ताका दयाहाङ राई र महिला कलाकारतर्फ बुद्धिदेवी महर्जनदेखि सरस्वती चौधरीसम्मका संक्षिप्त नाटय–यात्राबारे पुस्तकमा उल्लेख गरिएको छ ।
पाँच सय बीस पृष्ठको यो पुस्तक नेपाली रंगमञ्चका विषयमा पूर्णचाहिँ छैन । पुस्तक पल्टाउँदै जाँदा रंगमञ्चका नसमेटिएका धेरै प्रसंगहरू भेटिन्छन् । रंगमञ्चको विकास र उत्थानका लागि दूरदराजमा बसेर साधनारत केही कलाकार र निर्देशक छुटेका पनि छन् । प्राचीनकालदेखि नै विभिन्न जातजातिमा परम्परागत रूपमा हुँदै आएका नाटकहरूबारे पुस्तक मौन छ । गुरुङ, मगर, राई, लिम्बूका नाटयकर्म समेटिन सकेको छैन । र, पनि नेपाली रंगमञ्चबारे अध्ययन गर्न एउटा ठूलो आधार यस पुस्तकले तयार पारेको छ । केही पनि नहुनुभन्दा केही त भयो– हो, यो पुस्तकको सौन्दर्य पनि यही हो । 

प्रकाशित : वैशाख १६, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?