कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

७ सय पुस्तकका लेखक

गोविन्द पौडेल

सुरु –सुरुमा ओशो रजनीशका पुस्तकहरू पढ्दा हरेक वाक्य विश्वविद्यालयको एउटा कक्षा जस्तो लाग्थ्यो । उनका दार्शनिक पुस्तक पनि उपन्यास जस्ता छन्, काव्यात्मकताले भरिएका । उनले कहिल्यै पनि आफूले पुस्तक लेखेनन् । उनका प्रवचनलाई रेकर्ड गरियो र पुस्तककारमा प्रकाशित गरियो ।

७ सय पुस्तकका लेखक

रजनीशका सात सयभन्दा बढी पुस्तक प्रकाशित छन् । एकै व्यक्तिका त्यति ठूलो सङ्ख्यामा पुस्तक प्रकाशित हुँदा कतै–कतै विषयवस्तु दोहोरिनु त कतै एक पुस्तक अर्कोसँग विरोधाभास जस्तो देखिनु अनौठो भएन । रजनीश आफैंले पनि भनेका छन्, ‘म मेरो शरीर छोडेर जाँदा मेरा करिब एक हजार पुस्तक छोडेर जानेछु । ती पुस्तकहरू आपसमा विरोधाभासपूर्णसमेत हुनेछन् । यसले तिमीलाई आफैं सत्यको खोज गर्न प्रेरित गर्नेछन् ।’
सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका विचार र तर्कले सुशोभित अनौठा स्वभावयुक्त व्यक्तित्व हुन् । उनले आफूलाई एक दार्शनिकका रूपमा होइन कविका रूपमा सम्झना गरियोस् भन्ने चाहना राखेका थिए । किनकि उनको भनाइ थियो ‘मेरो सिंगो जीवन र दर्शन काव्यात्मक छ ।’ एकै व्यक्तिसँग दर्शन, मनोविज्ञान, विज्ञान, अध्यात्म, राजनीति, इतिहास, संस्कृति, शिक्षालगायतका अनेकौं विधाको विशाल ज्ञानको भण्डारण हुनु असामान्य अवस्था हो । उनले नबोलेको विषय सायदै छ । जुन विषयमा उनी बोल्न सुरु गर्थे आफ्नो विशाल ज्ञानको सागरलाई श्रोतासामु छताछुल्ल पारिदिन्थे ।
उनी बोल्न सुरु गरेपछि हजारौं श्रोता सम्मोहनमा पर्थे । त्यो समय यति सुनसान हुन्थ्यो कि लाग्थ्यो माथिबाट एउटा सियो खस्यो भने पनि सुनिन्छ । एक पटक रजनीशको प्रवचनमा पुगेको व्यक्ति अर्को पटकको प्रवचनमा नगइरहन सक्दैनथ्यो । त्यसैले त पुनाको रजनीश आश्रममा हरेक दिन ५ देखि १० हजार मान्छे उनलाई सुन्न पुग्थे । क्रमश: पुना आश्रम स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्यो । भनिन्छ, आश्रमकै कारण तत्कालीन समयमा भारतको पर्यटन व्यवसाय १५ प्रतिशतले बढेको थियो ।
जब व्यक्तिलाई कसैसँग केही लिनुदिनु हुँदैन तब आफ्नो ब्रह्मले देखेको कुरा बोल्न कुनै डर मान्दैन । रजनीशले कसैसँगबाट सित्तैमा केही लिनु थिएन । त्यसैले उनको निसानामा राजनीतिज्ञदेखि धार्मिक पण्डितहरूसम्म परे । उनी कहिले माक्र्सवादको विरुद्धमा खनिन्थे त कहिले पुँजीवादी मुलुक अमेरिकाको छातीमै ‘कम्युन’ स्थापना गरिदिएर त्यहाँका शासकलाई तर्साउँथे । कहिले गान्धीमाथि प्रहार गर्थे त कहिले विभिन्न धर्ममाथि ।
रजनीशले विभिन्न धार्मिक समुदायमाथि हमला गरे । धर्मको खोल ओढेर कमाउने धन्दामा सक्रिय कथित धार्मिक पण्डितलाई नाङ्गो बनाइदिए । माक्र्सवादको नाममा विश्वभर चलिरहेको हत्या, हिंसा, आतंक र तानाशाहवादको विरोधमा उत्रिए । हिटलर, स्टालिन र माओविरुद्ध बोले ।
रजनीश कसैसँग डराउने व्यक्ति थिएनन् । उनको यो तार्किक, निडर र हक्की स्वभाव बाल्यकालदेखि नै विकसित भएको थियो । स्कुलमा पढ्दा शिक्षकले उनलाई कसैगरी प्रार्थनासभामा उपस्थित गराउन सकेनन् । शिक्षकसँग उनको सायदै मात्र तालमेल मिल्थ्यो । शिक्षकको संकुचित विचारसँग रजनीशको विद्रोही स्वभावको मेल नहुनु अस्वाभाविक थिएन । शिक्षकसँग यिनी विश्वविद्यालयमा जे पढ्यो त्यही होइन, जे बुझेको छ त्यही मात्र पढाउनु भन्दै निहुँ खोज्थे । शिक्षकले दिने सजायको खिल्ली उडाइदिन्थे । शिक्षकले सजायस्वरूप स्कुलको वरिपरि सात चक्कर लगाएर आउन भनेको दिन उनी एघार चक्कर लगाएर आउँथे र भन्थे— आज मैले घरमा कसरत गर्न बिर्सेको थिएँ, त्यसैले एघार चक्कर लगाएर आएँ ।
रजनीशले विश्वविद्यालयमा दर्शनशास्त्र पढ्दै गर्दा कक्षामा प्राध्यापकहरूसँग बहसमा उत्रिन्थे । यसो हुनुको पछाडि एक कारण थियो । प्रोफेसरहरूको ज्ञान थोरै थियो । अतिरिक्त पुस्तक अध्ययन गर्ने यिनीहरूको बानी हुँदैनथ्यो । सीमित र बासी ज्ञान बोकेर प्रोफेसर कक्षाभित्र प्रवेश गर्थे । जुन सूचना वा ज्ञान रजनीशजस्ता अध्ययनशील विद्यार्थीका लागि अपूर्ण हुन्थ्यो । पढाइप्रति अत्यधिक आकर्षणको कारण दर्शनशास्त्रमा समेत प्राध्यापकको भन्दा रजनीशको ज्ञान निकै माथि पुगिसकेको थियो । त्यसको दबाब प्राध्यापकले थेग्न नसकेपछि २०/२१ वटा क्याम्पसबाट रजनीश निष्कासित हुनुपर्‍यो ।
विश्वविद्यालयको डिग्री हासिल गरेपछि रजनीश केही समय विश्वविद्यालयमा अध्यापन गराउन थाले । यिनको कक्षामा विद्यार्थीको चाप अत्यधिक बढी हुने गथ्र्यो । अरू कक्षाबाट समेत विद्यार्थी यिनको कक्षामा सुन्न आउँथे । यही समय रजनीश देशभर प्रवचन दिएर हिँड्न थाले । उनी जहाँ पुग्थे उनका कुरा सुन्न भीड उर्लिएर आउँथ्यो । अब रजनीशको जीवनले नयाँ मोड लिनेवाला थियो । आफ्नो अभूतपूर्व वाक् कला र विशाल ज्ञानको भण्डारणको उपयोग गर्दै ध्यान केन्द्रको स्थापना गरे । र त्यहीँ प्रवचनका शृंखला सुरु गरे । र विश्वविद्यालयको जागिरबाट राजीनामा दिए ।
रजनीशले प्रवचनको दौरानमा सन् १९६८ मा प्रेम र यौनको विषयमा प्रवेश गरे । त्यति बेलाको भारतीय समाजमा यौनको विषयमा कुरा गर्नुसमेत लाजको विषय हुन्थ्यो । तैपनि मानिसको मन यौनको कुण्ठाले भरिएको थियो । मानिस यौनको जबर्जस्ती दमनबाट मुक्ति खोजिरहेका थिए । यस अवस्थालाई रजनीशले चाल पाइहाले । त्यसैले यौनको विषयमा स्वच्छन्द र उन्मुक्त ढङ्गले प्रवचन शृंखला सुरु गरे । यौनको दमनबाट छटपटिएका मानिसलाई रजनीशले छहारी प्रदान गरे ।
रजनीशले बाहिर जबर्जस्ती यौनलाई खराब भन्दै दमन गर्ने तर भित्र दिमागभरि यौनलाई बोकेर हिँड्ने पण्डित, साधु, सन्त, सामाजिक संस्कार र परम्परामाथि झापड हाने । रजनीशको भनाइ छ, ‘यौनजस्तो प्राकृतिक प्रक्रियालाई मान्छेले विकृत बनाएको छ । यौनको दमनले मान्छेको सिंगो जीवन यौनको वरिपरि चक्कर लाइरहेको छ । पृथ्वीका पन्चानब्बे प्रतिशत कथा, कविता, उपन्यास, सिनेमा, कला तथा गीत यौनकेन्द्रित हुनु पनि यौन दमनको परिणाम हो ।’ ‘सम्भोगबाट समाधितिर’ भन्ने विश्व चर्चित पुस्तक तिनै प्रवचनको लिखित रूप हो ।
सन् १९८१ देखि १९८५ सम्म रजनीशको स्वकीय सचिवमा रहेकी मा आनन्द शीलाले आफ्नो पुस्तक ‘डन्ट किल हिम’ मा आफ्ना पुराना स्मृति कोट्याउँछिन्, ‘कुनै पनि विश्वविद्यालयले त्यति बृहत् ज्ञान दिन सक्दैन । रजनीशसँग सँगै बस्दाको हरेक सेकेन्ड एउटा सिंगो सेमेस्टरजस्तो लाग्थ्यो... । रजनीशले आफ्ना शिष्यलाई भोलि गरे पनि हुने काम आजै गर्न निर्देशन दिन्थे । उनका लागि भोलि भन्ने शब्द थिएन । कि अहिल्यै हुन्छ अन्यथा कहिल्यै हुँदैन... । रजनीशलाई कुनै सल्लाहकारको जरुरत थिएन । उनी केवल निर्देशन दिने व्यक्ति थिए । उनका हरेक क्षण कुनै महान् उद्देश्य प्राप्तिका कदमजस्ता लाग्थे... ।
एक पटक पुना आश्रममा रजनीशले प्रवचन दिइरहेको बेलामा एउटा मान्छेले चक्कु उनीतिर फ्याँक्यो । संयोगवश चक्कु उनको नजिकैबाट मात्र पार गर्‍यो । तर रजनीशले चक्कु देखेर एक पटक पनि आँखा झिम्क्याएनन् । प्रवचन एक पटक पनि रोकेनन् । आक्रमण कसले गर्‍यो, चक्कु कहाँबाट प्रहार भयो भन्नेसँग उनको कुनै सरोकार रहेन ।
सन् १९८१ मा रजनीश अमेरिका पुगे र ओरेगन राज्यको एक ठाउँमा फालिएको ६४ हजार एकड क्षेत्रफलको बाँझो जमिनलाई खरिद गरे । चार वर्षभित्र त्यो विशाल मरुभूमिजस्तो जमिनलाई सुव्यवस्थित सहरमा परिणत गरिदिए । जुन सहरभित्रै विमानस्थल थियो । आफ्नै ५ वटा विमान थिए । ५ सय गाडी थिए । २५० आफ्नै बसहरू थिए । ५००० जना मान्छे एउटै परिवार भएर बस्थे । अमेरिकाजस्तो पुँजीवादी मुलुक जसलाई कम्युनिस्टको जस्तो विशाल संघ स्थापना भएको चित्त बुझेन । एकपछि अर्काे गर्दै रजनीशलाई दु:ख दिन थाल्यो । विभिन्न बाहानामा पक्राउ गर्‍यो । व्यवस्थित सहरलाई छिन्न भिन्न बनाइदियो । र, अन्त्यमा अमेरिकाबाट निष्कासित गरिदियो ।
ओशो रजनीशले आफ्नो वाक् र तर्क शक्तिको बलमा विश्वभरका राजनीतिज्ञलाई थर्कमान बनाइदिए । एउटा यस्तो व्यक्ति जो पूर्ण रूपमा नि:सस्त्र छ । जोसँग साथमा शब्द र तर्क मात्र छ त्यस्तो व्यक्तिलाई विश्वका एक्काइसभन्दा बढी मुलुकले प्रवेश दिन इन्कार गरे । किनकि उनले लगातार राजनीतिज्ञमाथि खुला आक्रमण गरेका थिए ।
राजनीतिज्ञप्रति यिनको दृष्टिकोण कहिल्यै सकारात्मक बनेन । विश्वका सबै समस्याको कारक राजनीतिज्ञ र धार्मिक पण्डितहरूलाई ठान्थे । त्यसैले त राजनीतिज्ञप्रति उनको व्यंग्यात्मक कथन थियो, ‘राजनीतिज्ञलाई अपराधी राखिएको जेलमा र जेलमा रहेका अपराधीलाई राजनीतिज्ञ भएको ठाउँमा ल्याएर राखिदिने हो भने हालका समस्या केही कम हुनेछन् ।’

(मा आनन्द शीलाको ‘डन्ट किल हिम’, अनुपम पोखरेलको ‘ओशोको जीवन कथा’, विकासानन्द : ‘सकारात्मक विद्रोह’, ओशोका विभिन्न पुस्तक र वेवसाइटको सहयोगमा)

प्रकाशित : फाल्गुन १४, २०७३ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?