कपुचे मोहनी - कोसेली - कान्तिपुर समाचार

कपुचे मोहनी

भीम घिमिरे

गोरखाको बारपाक पुगेको टोलीका केही सदस्य साहसिक पदयात्रा रुचाउने पर्यटकलाई यहाँ पठाउन सकिने गफ दिइरहेका थिए । हुन पनि, १२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाक राङरुङ खोलाबाट ठाडो उकालो एकप्रकारको त्रास उत्पन्न गराउने खालकै भएको छ ।

गोरखाको बारपाक पुगेको टोलीका केही सदस्य साहसिक पदयात्रा रुचाउने पर्यटकलाई यहाँ पठाउन सकिने गफ दिइरहेका थिए । हुन पनि, १२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाक राङरुङ खोलाबाट ठाडो उकालो एकप्रकारको त्रास उत्पन्न गराउने खालकै भएको छ । उकालो बाटो छिचोल्दै गर्दा डाँडाका धेरै ठाउँमा पहिरो जान ठिक्क परेजस्तो देखिन्छ । तर, आतंक बढाउने जतिसुकै खबर आउन् बारपाक पुगेपछि भने डर लाग्दैन । त्यो बस्ती आफैंमा अनुपम छ । डाँडाबाट हिमाल हेर्नु, जीर्णोद्धार गर्दै उभ्याउन थालिएका घरहरू हेर्नु अन्त सहजै पाइने दृश्यमध्ये पर्दैनन् ।

त्यसो त पोखरेली पर्यटन व्यवसायी बारपाकबारे उति चासो राख्ने होइनन् । यहाँ आफ्नै खालको व्यापारकर्म छ । पदमार्ग जान इच्छ्याएर पोखरा आइपुग्ने पर्यटकलाई ट्रेकिङ एजेन्सी अन्नपूर्ण पदमार्गको फेरोमा जान हौस्याउँछ । संसारमै राम्रामध्येका परेको यो फेरोको यात्रा आफैंमा गजब छ । दिन धेरै बित्छन् । जहाँ वास हुन्छ, विश्राम हुन्छन्, ती ठाउँको व्यापार चल्छ ।
म यतिखेर बारपाक र अन्नपूर्ण फेरोको कुरा गर्न लागिरहेको छैन । ट्ेरकिङ गाइडका अगुवा जीवन सापकोटालाई मैले बारपाक पुग्दा सोधेको थिएँ– पर्यटकलाई कहिल्यै कपुचे जाउ भन्नुभएको छ ?’ उनले ‘छैन’ भने । उनीबाट के थाहा भयो भने यो अनौठो नामको ठाउँबारे गाइड स्वयम् धेरैलाई थाहै छैन ।
पोखराबाट ३९ किमि बसयात्रापछि सिक्लेस पुगिन्छ । यो सुन्दर गुरुङ गाउँबाट मच्चिएर हिँड्दा ८ घन्टाको दूरीमा पर्छ कपुचे हिमताल । अन्नपूर्ण–२ हिमशृंखलाबाट खस्ने हिमपहिरो जहाँ मुन्तिर आएर पानीमा परिणत हुन्छ, बस्छ, अनि भरिएर खोला हुँदै बग्छ, यही ठाउँ कपुचे हो । निकै जोखिमपूर्ण छन् पुग्ने बाटा । त्यसैले यो ठाउँ दूरीले पोखराबाट नजिक भए पनि प्रचार पाउनबाट वञ्चित छ । .....
कफु खोला र खरिया धाराले टापुजस्तो तेर्सो बनाएको हुगु पुग्दा साँझ पर्न लागेको थियो । हिउँ खसेजस्तो चिसो सिमसिम वर्षा थामिएको थिएन । ज्यान ओताउन मैले भरिया दाइको प्लास्टिक पाएको थिएँ । दुइटा गोठ । छानोबाट धूवाँ आइरहेको देख्ता कतिखेर पुगेर भुइँमा डङ्रङ्ङ लड्नुजस्तो भएको थियो ।
तरेर जाने ठाउँ अलि पर देखियो । पहिरो खसेका बडेमानका ढुंगा छिचोल्दै अघि बढ्दा कफु खोलामा काठको मुडा देखियो । गोठबाट केही मान्छे हामीलाई हेरिरहेका थिए । कालो भोटेकुकुर नौलो देखेर भुकिरहेको थियो । बल्लतल्ल ज्यान अड्याउने ठाउँ हुगुको गोठ पुगियो । अगेना छेउमा बसेर जुका फालियो । तिनले चुसेर बनाएका घाउ गन्ती गरियो । दुवै गोडामा गरेर ७ ठाउँ चुसेछन् । जुका झार्न बोकेको नुनको पोको ज्याकेटको खल्तीमा पानीले भिजेको थियो । जुकाले चुसेका ठाउँ साह्रै चिलाउँछ । दायाँ गोडाको एउटा घाउबाट बगेको रगत थामिन निकैबेर लाग्यो । केहीबेरमा केही लडेजस्तो ठूलो आवाज आयो । हामी ओत लागेको गोठका आँगनमा हिउँ फुटाएर छरेजस्तो सेतो भयो । साथीहरूले भने, ‘कपुचेमा हिमपहिरो गएछ । यो त्यही आइपुगेको हो ।’
हामी सिक्लेसबाट पूर्व पहरै–पहरा बिहान १० बजे हिंडेका थियौं । छपक्क मिलेका ढुंगाका छाना भएका घर । बस्ती मास्तिर अन्नपूर्ण हिमशृंखला । पहिलो यात्रामा पुग्नेका लागि सिक्लेसकै आतिथ्य आनन्दको लाग्छ । अलि पर्तिर, छेउछाउ घुम्न जाउँ भन्ने नलाग्न सक्छ । पोखराबाट साँझ आइपुग्दा मलाई पनि त्यस्तै लागेको हो । तर, हामी मुलुककै होंचो ठाउँमा अवस्थित हिमताल हेर्नै भनेर निस्केका थियौं । अत: जान्न भन्न मिल्ने अवस्था भएन ।
लगातार हिंड्दा पनि ७ घन्टा लाग्ने सुनेपछि पुगेर मेरो हौसला अलि घटेको थियो । सकिँदैन होलाजस्तो लागेर साथीहरूलाई ‘तपाईंहरू जानुस् । म बरु सिक्लेसमै पर्खन्छु’ भनेर टार्न खोजेँ । यसका कारण थिए । पहाडी यात्रामा हलुका ब्याग, दरिलो लठ्ठी, सजिला स्पोट्र्स जुत्ता र छाता वा रेनकोट हुनैपर्छ । यीमध्ये मसँग भएका कुरा केही थिए भने लगाएका जुत्ता । तै साथीले छाड्ने भएनन् । हार्न मिलेन । उकालो–तेर्सो भीरैभीर र खोलाको बाटो हिँडियो ।
.....
हिंड्ने बेला सिक्लेसका चिबा (मुखिया) का दाजु भीमबहादुरको घरमा खानाको प्रबन्ध थियो । हिंड्ने बेला भाउजूले हरियो कपडाका टुक्रामा गाँठो पारेका स–साना पोका दिइन् । ‘यो राख्नु । नुन हो । जुका लाग्छन् । दल्न काम लाग्छ’, उनले भनिन् । चिबाका दाजुले पनि सम्झाए, ‘बाटो सजिलो त छैन । तर, नआत्तीकन जानु । पुगिन्छ ।’ चिबा हाम्रा गाइडमात्रै थिएनन्, उनी आफैं पनि हाम्रा साथको यात्राबाट कपुचेको अहिलेको अवस्था हेर्न चाहन्थे । डा. हुमबहादुर गुरुङको जोडबलले हाम्रो यात्रा अचानक तय भएको थियो । पर्यावरण क्षेत्रमा लामो समयदेखि भिजेका डा. गुरुङ केहीअघि नेपाल पन्छी संरक्षण संघका अध्यक्ष थिए । अहिले आफ्नै संस्था बनाएर काम गरिरहेका छन् । राजधानी बसे पनि आफ्नो पुरानो थलोमा संरक्षणको काममा उनलाई चासो रहेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकका अधिकांश हिमताल समुद्र सतहको चार हजार मिटरमाथि छन् । यात्राबाट फिरेपछि मैले विभागका निर्देशक ऋषिराम शर्मालाई फोन गरेको थिएँ । उनले कपुचे २ हजार ४ सय ३७ मिटरमा छ भन्दा अचम्म मानेका थिए । ‘हामीले अध्ययन र रेकर्ड गर्ने सबैको होइन । जहाँ कालान्तरमा जोखिम भन्ने अध्ययन हुन्छ, त्यसैको गर्छौं,’ उनले भनेका थिए, ‘कपुचे अध्ययन गरिनु जरुरी छ । यो पर्यटकीय सम्भावनाको हो भन्ने अनुमान गर्छु ।’
.....
हुगुमा दुई दशकअघि १२ वटा गोठ रहेछन् । अहिले एउटामात्रै छ । मह–सिकारी मेजा गुरुङको गोठ । मेजाका छोरा प्रकाश बाटो देखाउँदै सिक्लेसबाट हाम्रा साथै गएका थिए । गोठमा मुली भेटिएनन् । भेटिए प्रकाशकी आमा नौमाया, काठमाडौंबाट आएका ९ वर्षे भाञ्जा र गोठाला बसेका माइला भनिने मानबहादुर तामाङ । मेजाको सिकार कथा सुन्नका लागि थुप्रै थिए । केही वृत्तचित्रमा पनि आएको सुन्न मिल्यो । हुगुको गोठहरू नयाँ पुस्ता सेनामा भर्ती जाने चलनले बिस्तारै उठेका थिए । पुराना पुस्ताले गोठको भरको आम्दानीले सन्तान हुर्काएका थिए । नयाँ पुस्ता गोठ स्याहारेर बसेनन्, बरु अभिभावकलाई पनि सिक्लेस र पोखरामा घर बनाएर गोठ छाड्न बाध्य पारे । हेर्दा–सुन्दा रमाइलो लागे पनि मान्छेका बस्तीभन्दा टाढा गोठको बसाइँ सुख होइन ।
मेजाका तीन भाइ छोरामा पनि एउटा हङकङ, अर्का आयरल्यान्ड रहेछन् । जेठा छोरा प्रकाश १४ वर्ष साउदी अरबमा काम गरेर फिरेका थिए । अब उनी आमालाई सघाइरहेका थिए । बजार पुगेर चाहिने सामान गोठ ल्याउने । गोठबाट घिउ, तरकारी बजार लैजाने । ‘पटकपटक गरेर साउदीको गर्मीमा १४ वर्ष बिताएँ,’ प्रकाशले भने, ‘अब जान्नँ । यतै बस्छु । गरेदेखि यतै पेटपालो हुन्छ ।’
नौमायाले छाड्न नसकेकै कारण मेजाको गोठ थामिएको थियो । हामी पुगेका बेला मेजा पोखरामा बन्दै गरेको घर कुरिरहेका छन् भन्ने सुनियो । गोठमा डेढ दर्जन भैंसी र १ सय ४० बाख्रा पालिएका थिए । हुगुमा स्याउ हुने रहेछ । हामी पुग्दा केही पुराना गोठका संरचनासँगैका स्याउका बोटमा फूल लागेका थिए । कपुचे यात्रामा जानेका लागि हुगुको गोठ नै एक मात्र विश्रामको थलो हो । यहाँ नबसे ७/८ घन्टा वरपरको बाटोमा कतै वास छैन । हामीले पुगेको रात पाहुनाका लागि भात र ढिँडो रुचिअनुसारको भोजन व्यवस्था भयो । गोठमा आगो बालेर स्लिपिङ ब्यागभित्र ज्यान लुकायौं ।
बिहानै चिया सुरुप्प पारेपछि अब थियो मात्र २ घन्टाको बाटो । पहाडका बाटाहरूमा सबैभन्दा उदेकलाग्दो कुरो के हो भने हिंडिरहेकाहरूका लागि १ घन्टा भनिन्छ । अभ्यस्त नभएकाहरूलाई त्यही बाटो तीन घन्टा लाग्यो भने पनि अचम्म नमान्दा हुन्छ । २ हजार २५ मिटर उचाइको हुगुबाट दक्षिण–दक्षिण लेकाली जंगल छिचोलेर कपुचे पुगिने रहेछ ।धेरै ठाउँ ठू–ठूला रूख लडेका थिए । गाडी आउजाउ हुने ठाउँ नजिक हुँदो हो भने ती सुकेका रूखका पात पनि बढारेर बोरामा कोचेर काम लाग्छ भनेर लैजानेहरू हुन्थे । बडेमानका सुकेका रूख झन् कहाँ यसरी रहन पाउनु † यहाँ भने रूखहरूमा लेउ पलाएका थिए ।
अघि बढ्दै गएपछि रूखहरूमा हिउँ अडिएको देखिए । भुइँभरि छपक्क सेतो थियो । हामी पुगेको डिल २५ सय ४६ मिटर उचाइको रहेछ । यहाँबाट मुन्तिर तालकै सतहको उचाइ २ हजार ४ सय ३७ मिटर । डिलबाट मुन्तिर झर्न सजिलो बाटो थिएन । यहाँ मान्छे नआउने भएकाले कतै गोरेटा रहेनछन् । हिंड्न ठाउँ बनाइएको थिएन । माथि हिमालबाट बेला बेला हिउँका डल्ला लड्दै तालमा छप्ल्याङ्ङ–छप्ल्याङ्ङ गर्थे । घाम लागेको थियो । हावा चिसो थियो ।
ताल हेर्दा मदिराको गिलासमा आइसका टुक्रा तैरिएको सम्झाउने । तर, यहाँ गिलास गिलास थिएन । तमतन्न नीलो पानी भएको ताल । तैरिएका हिउँ । हामीले अघिल्लो दिनको कष्टपूर्ण हिंडाइको थकान सबै यहाँ बिर्सियौं । यात्रा थाल्दा यतिको उचाइका हिमताल देख्न पाइएला भन्ने पत्यार लागेकै थिएन । तर, यहाँ हाम्रा अघि ताल थियो । ‘यो ताल पहिले सानो आकारको थियो,’ डा. हुम गुरुङले सुनाए, ‘१० वर्षयता आकार बढ्दै आएको हो ।’ यहाँसम्म आइपुग्ने पदमार्ग बनाउन सकेमात्रै पनि साहसिक पदयात्रा रुचाउनेहरूलाई पोखरानजिकै अनौठो गन्तव्य हुने उनले बताए । सिक्लेस पार्चे गाविसमा पर्छ । यो अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअन्तर्गतको संरक्षण कार्यक्रम सञ्चालन भएको एरिया हो । वनजंगल छिचोलेर पुगिने यो ताल मादी नदीको मूल भएको स्थानीय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरुङले बताए । हामीसँगै रहेका मनबहादुरले निकैबेर वरपर घुमेर बाटो बनाउन सकिने ठाउँ खोजिरहे । ‘वर्षको दुईपल्टजस्तो म यहाँ आउँछु,’ उनले भने, ‘यहाँ आउनलाई बाटो थोरैमात्रै सजिलो बनाउन सकियो भने सिक्लेस आएकाहरूलाई कपुचे घुम्न जाउ भन्न सकिन्थ्यो ।’ एक घन्टा हाराहारी समय ताल आसपासमा बिताएपछि हामी फेरि हुगु फर्कियौं । त्यो दिनको रात हुगुमै बित्यो । पाहा हन्टिङ र सिस्नुको फाँडोले माइला दाइले आतिथ्य गरे ।
धादिङको सेरदुङबाट २२ वर्षअघि सिक्लेस आएका माइलाको कथा बेग्लै थियो । उनी फेरि धादिङ गएनन् । ‘गुरुङ भाषा बुझ्छु, अलिअलि आउँछ पनि,’ उनले रमाइलो पारामा भने, ‘नेपालीजस्तो पटट बोल्न जान्दैन ।’ निर्माण मजदुर भएर लमजुङका साथीसँगै आएका माइला मेजाको अनुरोधमा गोठमा चार वर्षदेखि रहेछन् । जेठ र असार यार्सागुम्बा टिप्न जाने, अरू बेला गोठका बाख्रा चराउने दैनिकी ।
‘मेरो बानी राम्रो छैन । अम्मल धेरै छन्,’ उनले भने, ‘पैसा नहुने होइन हुन्छ । चुरोट पिउन परो, रक्सी खान परो । सक्किई जान्छ ।’ उनलाई आफ्नो दिनचर्यामा कुनै पछुतो रहेको कुराकानीले बुझाएन । हँसिला, ठट्यौला ।

हुगुबाट सिक्लेस फिरेपछि थाहा भयो कपुचेको अध्ययन केहीअघि एकजना जापानी प्राध्यापकले गरेर गए । होटल नमस्तेका सञ्चालक धन गुरुङका अनुसार गत फागुन दोस्रो साता तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेसनका सहायक–प्राध्यापक जिरो कोमोरीले तालमा करिब २ घन्टा बिताए । अघिल्लोपल्ट ५ महिनाअघि आउँदा उनी मादी तर्न नसकेर तालमा पुग्न सकेका थिएनन् । पछिल्लोपल्ट पट्याएर बोक्न मिल्ने डुंगा लिएर आएका थिए ।
‘डुंगा लिएर तालमा घुम्यो,’ गुरुङले भने, ‘नापजोख पनि गर्‍यो ।’ उनलाई त्यहाँ पुर्‍याउन गाउँबाट आफूसहित तीनजना गएका उनले सुनाए । कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको निकालेको हिसाब आफूले टिपेर राखेको उनले बताए । ‘जाँदा डुंगा मलाई छाडेर गएको छ,’ उनले भने ।
गुरुङ भाषामा कपुचेको अर्थ ‘हिउँ भत्केर खस्ने समथर भाग’ भन्ने बुझिने रहेछ । पोखरा फिरेपछि कहिलेकाहीं ट्ेरकिङ गाइड भेट हुन्छन् । म सोध्छु, ‘कपुचे जानुभएको छ ?’ गएको छु भन्ने उत्तर मैले पाएको छैन । भूकम्पपछि यो ताल र जाने बाटोको अवस्थाबारे सिक्लेसवासीसँग बेलाबेला कुरा हुन्छ । बाटो उस्तै छ । भत्के–बिग्रेको छैन तर, सजिलो पनि छैन ।

प्रकाशित : पुस ११, २०७२ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास लेखनको ड्यासबोर्डमा महेशचन्द्र रेग्मी

युग पाठक

काठमाडौं — हिजोआज बौद्धिक फेसनमा चलेको प्रश्न छ– नेपाल किन बनेन ? यो प्रश्नको जवाफ खोज्न माथापच्ची गर्नेहरूले निकालेको लगभग साझा जवाफ यस्तो छ– इमानदार, नैतीकवान, सदाचारी नेता नभएर ।

हिजोआज बौद्धिक फेसनमा चलेको प्रश्न छ– नेपाल किन बनेन ? यो प्रश्नको जवाफ खोज्न माथापच्ची गर्नेहरूले निकालेको लगभग साझा जवाफ यस्तो छ– इमानदार, नैतीकवान, सदाचारी नेता नभएर। त्यसो त इमानदारी, नैतिकता, सदाचारजस्ता शब्द बडो सुन्दर सुनिन्छन्, व्यवहारमा यी शब्दलाई कसरी र कोद्वारा अथ्र्याइन्छ त्योचाहिँ फरक कुरा हो । नेपालमा सबैजसो सार्वजनिक तथा सरकारी संस्थाहरूको नेतृत्वसमेतलाई जोड्दा पाँच लाखभन्दा धेरै त नेताहरू नै छन् ।
वास्तवमा यो प्रश्न नै आग्रही छ । मानौं कुनै विदेशी महानगरको चकाचौंध हेरेर ईश्र्या गरेजस्तो । नेपाललाई स्विजरल्यान्ड बनाउने अमूर्त सपनाजस्तो । त्यसैले जवाफ पनि कुनै धर्मगुरुको ढोंगी उपदेशजस्तो निस्कियो । अब प्रश्न अर्कै तरिकाले सोधौं । नेपाल कस्तो बन्यो ? त्यस्तै किन बन्यो ? कस्तो बन्नुपथ्र्यो ? जस्तो बन्नुपथ्र्यो त्यस्तो किन बनेन ? जवाफ अमूक नेताको व्यक्तिगत इमानदारी, नैतिकता वा सदाचारमा होइन, खास प्रकारका व्यक्ति जन्माउने राज्य र समाजको चरित्रमा खोज्नुपर्ने होइन र ?
यहाँनेर माओत्सेतुङको एक प्रेरक प्रसंग सुनौं । कुनै दिन माओकी आमा ओछ्यान परिन् । उनले माओलाई बोलाएर भनिन्– बाबु, बगैंचाको स्याहार गर्ने जिम्मा तेरो भो । किशोर माओले बगैंचाको खुब स्याहार गरे । १०–१५ दिनपछि माओकी आमा सन्चो भइन् । बगैंचा हेर्छिन् त, बोटहरू मुर्झाएका, पात पहेँलै भएका । उनले छोरालाई भनिन्– बाबु, तैंले बगैंचाको स्याहार त गरिस् । दिनहुँ पात पुछिस्, हाँगा पखालिस् र टल्काइस्, तर जरामा भने पानी हालिनस् । बगैंचा त आखिर मुर्झाइसकेछ । जराको स्याहार गरेको भए, पात र हाँगा त त्यसै टल्किहाल्थे । पछि माओले क्रान्ति गाउँका किसानबाट उठाउने निर्णय लिए, किनभने उनलाई थाहा भयो चीनको जरा भनेका किसान हुन् ।
नेपाल कस्तो छ, त्यस्तो किन छ भन्ने प्रश्नको जवाफ नखोजीकन यस्तो देशबाट कस्तो उन्नति फलाउन सकिन्थ्यो भन्ने नै थाहा हुँदैन । हाम्रो समाज यस्तै किन छ र कस्तो बन्न सक्छ भन्ने कुरा पत्ता लगाउन पक्कै पनि यसको ऐतिहासिक अध्ययन आवश्यक पर्छ । आज धेरैलाई नेपाल कुनै विदेशी महानगरजस्तो बनिदिए हुन्थ्यो भन्ने हुटहुटी छ । समाजवादी चिन्तक प्रदीप गिरीको शब्दमा, नेपाल कुनै स्विजरल्यान्डजस्तो होइन, नेपालजस्तै बन्ने हो । बीउ पनि यहीँ छ र त्यो बीउ हुर्काउने तरिका पनि यही राज्य र समाजको अध्ययनबाट निकाल्न सकिन्छ ।
त्यसैले महेशचन्द्र (एमसी) रेग्मीका पुस्तकहरू महत्त्वपूर्ण छन् । आर्थिक इतिहासका विभिन्न पक्षको खोज गरेर रेग्मीले नेपालको इतिहासलेखन परम्परालाई नै फरक मोड दिएका छन् । उनका पुस्तक नछिचोलीकन नेपालको वास्तविक आन्तरिक गति बुझ्न सकिँदैन । कुनै सदाचारी, इमानदार र नैतिकवान नेताको निगाहबाट अचानक देश स्विजरल्यान्ड बन्न सक्छ भन्ने तर्कना रेग्मीका पुस्तकसँग ठोक्किएर चकनाचुर हुनेवाला छ । माओकी आमाले भनेझैं नेपाली राज्य र समाजको जरा अध्ययन गरेर वर्तमानबारे चिन्तन गर्ने हो भने रेग्मीका पुस्तक टेबलमा राख्नोस् र पाना पल्टाउनोस् ।
इतिहास लेखन
नेपालमा व्यवस्थित इतिहास लेखन र प्रकाशन २००७ सालपछि मात्र सुरु भयो । त्यसअघि कर्कप्याट्रिक, हेमिल्टन, ओइलफिल्डजस्ता बेलायती दूत र फ्रान्सेली इन्डोलोजिस्ट सिल्भाँ लेभीले नेपालको इतिहास तथा तत्कालीन शासनप्रणाली तथा अन्य तथ्य संकलन गरेर पुस्तक लेखे । पर्सिभल ल्यान्डनलाई त चन्द्रशमशेरले सारा सुविधा उपलब्ध गराएरै इतिहास लेख्न लगाए । पछि सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य आदिले नेपालमै इतिहास लेखनको ढोका खोले । त्यसपछि संशोधन मण्डल, डीआर रेग्मी, योगी नरहरिनाथलगायत धेरै इतिहासकार देखा पर्दै गए । यसैबीच लुड्विग स्टिलर, लिओ इ रोज, भुवनलाल जोशी, धनबज्र बज्राचार्यजस्ता इतिहासकार सक्रिय भए । पुराना वंशावली, सरकारी कागजात, शिलालेख, ताम्रपत्र इत्यादि प्राथमिक स्रोतहरूको संकलन, अध्ययन र व्याख्या मार्फत इतिहासलाई समृद्ध पार्न यसबीच धेरै इतिहासकारले योगदान गरिसकेका छन् ।
इतिहास दर्शनका ज्ञानीहरूको भनाइ छ– इतिहास तथ्यहरूको संकलनभन्दा धेरै व्याख्या हो । अझ महत्त्वपूर्ण सबाल हो, व्याख्या कसको दृष्टिकोणबाट गरिन्छ ? नेपालमा सुरुवाती इतिहास लेखन राजा महाराजा र नेपाल खाल्डो (काठमाडौं) को दृष्टिकोणबाट गरियो । पञ्चायतकालमा राज्यबाट प्रोत्साहन पाएका इतिहासकारहरूले पनि यही परम्पराको अनुसरण गरे । यो पंक्तिकारको अनुभवमा स्कुल, कलेजका पाठ्यपुस्तकदेखि अन्य इतिहासका धेरैजसो पुस्तकमा अधिकांश मेहनत शाहवंशको गुणगान, राणाशासनको निन्दा र काठमाडौं (जसलाई धेरै पछिसम्म नेपाल भनेर चिनिन्थ्यो) को शासकीय अहम् चित्रण गर्नमा लगाइएको छ ।
ती पुस्तकको ऐतिहासिक टाइमलाइनमा आफू, आफूजस्ता सर्वसाधारण र आफू बाँचेको समाजको गति फेला नपरेको अनुभव यो पंक्तिकारको छ । कैयौं प्रसंगमा यस्तो लाग्छ इतिहासकारले राजामहाराजाका खोपीमा जासुस त राखेको थिएन ? इतिहासकारहरूको मेहनतलाई उच्च सम्मान गर्दै यहाँ इतिहासलेखनले राज्य र समाजबीचको अन्तक्र्रिया, शासक र जनताको अन्तरसम्बन्धजस्ता विषय केलाइदिएको भए देश र समाज बुझ्ने र बदल्ने काम अझ द्रुत हुन्थ्यो कि भन्ने प्रसंग मात्र उठाइएको हो ।
यही प्रसंगमा आउँछन्, एमसी रेग्मी । लुड्विग स्टिलर र एमसी रेग्मी दुवैको एउटा साझा स्वीकारोक्ति के छ भने नेपालको शासकीय इतिहासमा भूमि निर्णायक तत्त्वका रूपमा रहेको छ । पाकेट खर्चका लागि समेत साहुसँग सापटी लिनुपर्ने गोर्खाका राजा पृथ्वीनारायणमा गोर्खाली साम्राज्य बनाउने सपना भूमिकै मोहले पैदा गरेको थियो । भूमि कब्जा गर्ने मोह, भूमिको वितरण र व्यवस्थापन नेपालको आर्थिक इतिहासको एक महत्त्वपूर्ण हिस्सा देखिन्छ । रेग्मीका ‘अ स्टडी इन नेपाली इकोनमिक हिस्ट्र’ शीर्षकका दुई किताबले पृथ्वीनारायणकालको गोर्खादेखि राणाशासनको लगभग अन्त्यसम्मको नेपालको आर्थिक इतिहास बताउँछ ।
एमसी रेग्मीले पनि धेरैजसो सरकारी दस्तावेजहरूकै अध्ययन गरेका छन् । तर उनको इतिहासलेखनले त्यहाँबाट परम्परागत धारासँग सम्बन्धविच्छेद गर्छ जहाँ उनी भूमिमा गोर्खाली भारदारले कब्जा जमाउँदै लगेको र किसान क्रमश: कृषि मजदुरमा परिणत भएको अवस्थाको व्याख्या गर्छन् । उनले पक्कै पनि अर्थतन्त्रको इतिहास लेखेका हुन्, तर उनका पुस्तकहरू पढ्दा गोर्खाली राज्यविस्तारपछि नेपाल राज्यको विकास कसरी हुँदै आयो, सत्तामा बस्नेहरूले कसरी जनताको व्यापक शोषण गरे, किसानले किन बचत अन्नलाई पुँजीमा रूपान्तरण गर्न सकेन इत्यादि अनेक विषय खुल्दै जान्छन् ।
किन पढ्ने एमसी रेग्मीलाई ?
पछिल्लो दुई दशकमा राज्यसत्ताले संस्थागत गरेका असमान सम्बन्धहरूको बहस चलिरहेको छ । खसआर्य समुदाय र आदिवासी जनजाति बीच, मधेसी र पहाडीबीच, गैरदलित र दलितबीच, पुरुष र महिलाबीच, बलिया समुदाय र अल्पसंख्यक/पिछडावर्ग समुदायका बीचका असमान सम्बन्धहरू । राज्यबाट संरक्षण पाएका खान्दानी धनी तथा हुनेखाने वर्ग र गरिब किसान तथा मजदुर वर्गका बीचको अन्यायपूर्ण सम्बन्धमा पनि कुनै न कुनै रूपले समुदायगत असमानता प्रकट भइरहन्छ ।
यी सम्बन्धहरू कुन जराबाट उम्रेका हुन् त ? ‘ल्यान्डओनरसिप इन नेपाल’ मा एमसी रेग्मीले भूमिको स्वामित्वको इतिहास यसरी खोतलेका छन् कि जवाफ यसै पाइन्छ । गोर्खाली राज्यविस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने भाइभारदार, सैनिक नेतृत्व तथा पुरोहित र सहयोगी ब्राह्मणहरूलाई विजित भूमि बिर्ता र जागिरका रूपमा दिइयो । ती अनिवार्य रूपमा गोर्खाली क्षत्री वा बाहुन हुन्थे । पूर्वका केही किपट (लिम्बुवान, किराँत क्षेत्रका सामुदायिक स्वामित्वको जग्गा) तथा धार्मिक संस्थाका गुठीबाहेक धेरैजसो भूमि बिर्ता र जागिरका रूपमा दिइन्थ्यो । मधेसको उर्बरा जमिनको स्वामित्व पनि यसरी नै अनुपस्थित जमिनदार (एब्सेन्टी ल्यान्डलर्ड) लाई दिइन्थ्यो, जो काठमाडौं वा कुनै पहाडमा बस्थ्यो र बाली उठाउन हिउँदमा मधेस झथ्र्यो । जंगबहादुरले मधेसको जग्गाजमिन व्यवस्थित गर्न जब जिम्दार प्रथा सुरु गरे, ती जिम्दारहरू अनिवार्य रूपले पहाडी मूलकै हुन्थे ।
यी त उदाहरण मात्रै हुन् । रेग्मीका पुस्तकमा इतिहासका त्यस्ता धेरै विशेषताहरू केलाइएको छ जसले नेपाल राज्यभित्र बसोबास गर्ने विविध समुदायबीच असमान सम्बन्धको बीउ रोपिएको सजिलै देखिन्छ । ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सेसन इन नेपाल’ तथा अरू आर्थिक इतिहासका विस्तारित व्याख्या पढ्न तत्काल भ्याइएन भने ‘थ्याच्ड हट्स एन्ड स्टुको प्यालेसेज’ मात्र
पढ्दा पनि रेग्मीका अध्ययनको निष्कर्षहरू थाहा पाइन्छ । किसानको जीवनमा केवल बोझ मात्र थप्ने र हाड घोट्दा पनि हातमुख जोर्नै कठिन अवस्थामा पुर्‍याउने राज्यसत्ताको चरित्र इतिहासभरि देखिन्छ । उत्पादन गर्ने किसान सधैं झुप्रोमा तर किसानको पसिना लुट्ने खान्दानी एलिटको भने वैभवशाली दरबार खडा हुने स्थितिको योभन्दा सुन्दर खोज के हुन सक्छ ?
प्रचलित इतिहासमा गोर्खाली वीरहरूको गुणगान हुन्छ र पृथ्वीनारायणको राज्यविस्तार अभियानलाई ‘नेपाल एकीकरण’ को सुन्दर आख्यानमा सजाइएको हुन्छ । ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खा एम्पायर’ पढ्नुस् वा ‘इम्पेरियल गोर्खा, एन एकाउन्ट अफ गोर्खाली रुल इन कुमाउँ’ पढ्नुस्, गोर्खाली कसरी साम्राज्यवादी चरित्रका थिए भन्ने व्याख्या पाउनुहुन्छ । २५ वर्षको शासनकालमा कुमाउँका जनतामाथि गोर्खालीले थोपरेको अत्याचारको कल्पना गर्न सक्नुहुन्छ र नेपाल–अंग्रेज युद्धमा कुमाउँका जनताले किन अंग्रेजलाई साथ दिए, जवाफ पाइन्छ ।
जुनसुकै समाजभित्र आफूलाई बदल्ने र नयाँ बनाउने ऊर्जा हुन्छ । सबाल हो त्यो ऊर्जा चिन्ने र परिवर्तनको अभियानमा प्रयोग गर्ने । रेग्मी पटकपटक दोहोर्‍याउँछन्– गोर्खालीले भौगोलिक ‘एकीकरण’ त गरे तर आर्थिक ‘एकीकरण’ को प्रयासै भएन । विजित क्षेत्रका जनताबाट उठाउने जति कर, कुत सबै उठाइयो, झारा (ज्यालाबिनाको मजदुरी) तिराइयो, तर व्यवस्थित आर्थिक प्रणालीमा राज्यका सबै जनतालाई बाँध्ने काम भएन । यसका सामाजिक, सांस्कृतिक र राजनीतिक आयामहरू पनि छन् । हिन्दू वर्णव्यवस्थामा जबर्जस्ती ढालेर भिन्न जातीय, क्षेत्रीय सभ्यतालाई शासन गर्ने कानुनी, राजनीतिक बाटो अपनाइएको इतिहास हो हाम्रो । त्यसैले व्यवस्थित आर्थिक प्रणाली निर्माण गर्नुभन्दा जनताको श्रम र उत्पादनलाई जबर्जस्ती खोसेर काठमाडौंमा वैभवपूर्ण शक्ति स्थापना गर्नमा सबैजसो शासक लागेको पाइन्छ ।
काठमाडौंको सत्ता षड्यन्त्रको खेलमा एक पक्षले जित्नासाथ हार्ने पक्षको बिर्ता, जागिर सबै खोसिन्थ्यो । यसले सुदूर गाउँमा बस्ने किसानको जीवनमा पनि प्रत्यक्ष प्रभाव पाथ्र्यो । उदाहरणका लागि, सन् १८४३ मा माथवरसिंह थापा प्रधानमन्त्री भए । तत्कालै उनको पुरानो बिर्ता पुनस्र्थापित भयो र थप २२ सय रोपनी धानखेत जागिर दिइयो । उनको छोटो प्रधानमन्त्री कालमा उनले बारा, रौतहट, सप्तरी र महोत्तरीमा थप २५,३४६ बिघा जग्गा बिर्ता पाए । यसबाट थाहा हुन्छ शक्तिशालीले कसरी राज्यको शक्ति प्रयोग गरेर व्यक्तिगत धन जम्मा गर्थे र दरबारमा किन षड्यन्त्रको खेल भइरहन्थ्यो ।
दरबारको यो खेलबाट गाउँका मुखिया जिम्दार पनि प्रशिक्षत हुन्थे र गाउँका किसानको श्रम र उत्पादन कसरी हत्याउने भन्ने प्रतिस्पर्धामा हुन्थे । तिनै टाठाबाठाहरू गाउँका जनतालाई चक्रवर्ती ब्याजमा ऋण लगाएर भर्चुअल पैसाको खेती गर्थे । सत्तासँग सम्बन्ध बनाएका तर जातैले श्रम नगर्ने काठमाडौंका एजेन्टको हातमा भर्चुअल सत्ता, श्रम र उत्पादन गर्ने जनता सदैव बँधुवा मजदुरसरह भएपछि समाजले उन्नति गर्ने बाटो नै बन्द भयो । आजसम्म यसका प्रभावहरू अस्तित्वमा छन् ।
काठमाडौंबाट पठाइएका भारदार, सुब्बा, जिम्दारहरू गाउँगाउँमा गएर कसरी आफ्नै शासन चलाउँथे भन्ने तथ्यको जरामा पस्दा आजका हाम्रा राज्य संयन्त्र, त्यसका हाकिम र राजनीतिक एलिटले कसरी भर्चुअल शासन चलाउँछन् त्यो बुझिन्छ । कुमाउँमा पठाइएका भारदार र सुब्बा हुन् वा मधेस पठाइएका जिम्दार र बिर्तावाल, सबैले आफ्नै शासन चलाए । परिणामस्वरूप भयानक आर्थिक अराजकता इतिहारभरि देखियो । त्यतिमात्र होइन, राज्यको ढुकुटीमा काठमाडौंका शक्तिशालीले कसरी लुट मच्चाए त्यो आजको भ्रष्टाचारको चरित्र बुझ्न मद्दत गर्ने खालको छ ।
एमसी रेग्मी पढ्दा नेपाली सत्ता र जनताको सम्बन्ध मात्र बुझिँदैन, समस्याको जरासम्म पुग्न पनि मद्दत गर्छ । राज्य र जनताको बीचमा एकअर्कालाई विकसित गर्ने सम्बन्ध विकास नगरेसम्म उन्नतितिर जाने बाटो भेटाइँदैन । त्यसका लागि सामाजिक, आर्थिक, राजनीतिक अन्तरविरोध हल गर्दै जानुपर्ने हुन्छ । रेग्मीलाई पढेर जरा बुझ्ने हो, जराको उपचार गर्ने हो । इमानदारी, सदाचार र नैतिकता त्यही उपचारबाट पैदा हुन्छ ।

प्रकाशित : पुस १७, २०७२ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×