१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरा धरामा धरावासी

मणि लोहनी

काठमाडौं —
कृष्ण धराबासी दु:खहरूसँग हिँडिरहे अक्सर । दु:खै बोकेर दौडिरहे । दु:खलाई घिसारिरहे सधैं ।
अथवा यसो भनुँ, धरावासीसँंग दु:ख छुटिनै मानेन कहिल्यै ।

धरा धरामा धरावासी

कृष्ण धराबासी दु:खहरूसँग हिँडिरहे अक्सर । दु:खै बोकेर दौडिरहे । दु:खलाई घिसारिरहे सधैं ।
अथवा यसो भनुँ, धरावासीसँंग दु:ख छुटिनै मानेन कहिल्यै ।

कहाँ पुग्न म हिँडिरहेछु केही थाहा छैन मलाई,’ मेरो मोटरसाइकलको पछाडि बसिरहेका उनी निकै दार्शनिक पारामा बोले, ‘कहाँसम्मको हो, मेरो यात्रा केही थाहा छैन ।’ मलाई उदेक लाग्यो । उनकी श्रीमतीका अन्तिम दिनहरूताका शिक्षण अस्पतालमा मैले उनलाई निकै हतास भेटेको थिएा । अहिले त्यत्तिकै हतास त होइन, तर उनको अनुहारमा उत्साह देखिएन ।
‘चौब्बीस सालदेखि बसाइ सरेको म, यो बहत्तर सालसम्म बसाइ नै सरिरहेको छु,’ उनले फेरि भने । भर्खरै अमेरिकाबाट काठमाडौं आएका हुन् उनी । उनका दुइटा कृति काठमाडौं बसाइकै क्रममा प्रकाशन हुँदैछन् । एउटा उपन्यास ‘ग्रेट फल्स’ र अर्को यात्रा सस्मरण हुनुपर्छ ।
उनी अर्थात् कृष्ण धरावासी ।
उनको निबन्ध सुनेर रेडियोमा कुनै बेला निकै भावुक भएथें म । भावुक मात्र होइन । सिर्जनाको शक्तिको महसुस भएको थियो त्यतिखेर । मेरो क्याम्पसकालीन दिनहरू थिए ती । उनको ‘नारीभित्र त्यस्तो के छ हजुर ?’ निबन्ध रेडियो नेपालको चर्चित कार्यक्रम साहित्य संसारमा बजिरहेको थियो, दाहाल यज्ञनिधिको स्वरमा । बिहानको समय थियो, म ओच्छ्यानमै पल्टिरहेको थिएँ । त्यो निबन्ध सुनिरहँदा मभित्र छुट्टै किसिमको ऊर्जा, भावुकता र तरलता उत्पन्न भएको थियो ।
कृष्ण धराबासी दु:खहरूसँग हिँडिरहे अक्सर । दु:खै बोकेर दौडिरहे । दु:खलाई घिसारिरहे सधैं । अथवा यसो भनुँ, धरावासीसँंग दु:ख छुटिनै मानेन कहिल्यै । त्यसो त दोस्रो विवाहपछि उनमा केही फुर्तीहरू बढेको छ । उनको अनुहारमा केही उत्साहहरू थपिएका छन् । उनको जीवनमा एउटा ठूलो आँट र भरोसा थपिएको छ ।
‘दाइ किन सरिरहनुभएको छ बसाइ ? किन यसो भन्नुभयो ?’ मैले सोधें ।
‘२०२४ सालमा बाबुले झापाको शनिश्चरे ल्याए मलाई पाँचथरबाट । बसाइ सरेरै आएका थियौं हामी । शनिश्चरे आएको नौ वर्षपछि बाबु बित्नुभो । र, बसाइ सर्ने पालो मेरो आयो ।’
‘अनि ?’ मैले फेरि सोधें ।
‘बाबु बितिसकेपछि म परिवारसहित शनिश्चरेपछि झापाकै बिर्तामोड बसाइ सरें । बिर्तामोडमा केही समय बसें । साहित्य सिर्जना गरें । जीवनका धेरै संघर्ष गरें ।’
उनको जिन्दगी कति सन्दर्भमा एउटा पाठ बन्न सक्छ धेरै जीवनका लागि । सिक्न चाहनेहरूका लागि धरावासी विश्वविद्यालय हुन् जीवन संघर्षको । उनको जीवन दु:खबाट दु:ख हँुदै दु:खसम्म पुगेको छ । यसबीच पटक पटक भेटिएका खुसी र सफलताहरूले नै हो उनलाई मजबुत र जीवनवादी बनाएको ।
धरावासी जीवनवादी मानिस हुन् । उनकै साथी भरत भुर्तेलले आत्महत्या गरेको दिन उनले दार्शनिक पारामा भनेका थिए, ‘जीवनसँग किन हार्‍यो यो मान्छे ? जीवन त जिउने चीज हो नि भाइ । किन भागेको होला यो ?’
झापामा नै हुँदा उनले लेखे विभिन्न कथा, निबन्ध, उपन्यास र कविताहरू । कृष्ण धरावासीको मलाई मन नपरेको भनेको कविता मात्रै हो । कविताबाहेक उनले जे जे लेखे सबै प्रिय लेखे । राम्रो लेखे । धरावासीका प्रत्येक सिर्जनाहरूमा संवेदनाको एउटा उचाइ छ । त्यति मात्र होइन दु:खको तस्बिर छ । उत्साह छ उनका सिर्जनामा । उत्साह कसरी भने, जीवनलाई बााचिरह्यो भने जीवन आफैं अगाडि बढ्छ भन्ने सकारात्मक सत्यहरू भेटिन्छन् । उनका सिर्जनामा दु:खहरूमा, संघर्षहरूमा र अप्ठ्याराहरूमा हार्नु हुन्न है भन्ने सन्देश छ । उनको भाषिक क्षमताको पनि म प्रशंसक हुँ । त्यो मजबुत भाषा, त्यो संवेदित शैली । कहाँ जसको पायो त्यसको सिर्जनामा भेटिनु ?
झापा आएपछि नौ वर्ष दु:ख अभाव र अप्ठेरोकै बीच उनको जिन्दगी बितिरहेको थियो । कलिलो उमेरमा पिताजी बितेपछि उनका संघर्षका दिन सुरु भए । शनिश्चरेबाट बिर्तामोड बसाइ सरिसकेपछि त्यहीं उनले साहित्य सिर्जना गर्न थाले । साहित्यिक संघर्षहरू, संगतहरू र साहित्यिक संगोष्ठीहरूमा सहभागी हुन पाए । त्यहीं रहँदै उनले रेडियो नेपालको संवाददाता बने । स्थानीय पत्रपत्रिकाहरूमा काम पनि गर्न थाले ।
कृषि विकास बैंकका कर्मचारी उनी जागिरसंँगसँगै काठमाडौं आइपुगे, दुबसु क्षेत्रीको साथ र सहयोगमा । उनी तीन सन्तान र श्रीमती लिएर काठमाडौं बसाइ सरे । काठमाडौं आएपछि उनले के के पाए के के गुमाए त्यसको हिसाबकिताब बेग्लै छ । मदन पुरस्कार पाए । साहित्यिक सम्मान र अभिनन्दनहरू थापे । विभिन्न कृतिहरू प्रकाशन गरे । उनको चर्चा झन्झन् चुलियो । त्यही बीचमा उनले आफ्नो प्रिय सीताजीलाई गुमाए । दु:ख, संघर्ष, अभाव र अप्ठ्याराहरूका बीचमा एउटा ठूलो साथ छुट्यो उनीबाट । दु:ख किन एउटै मान्छेलाई मात्र पर्छ ? उनलाई देख्दा हामी नै आत्तिन्थ्यौं । हामी नै कमजोर बन्थ्यौं । हामी नै डराउँथ्यौं तर्सिन्थ्यौं ।
त्यही बीचमा पनि संघर्ष जिन्दगीको उनले चलाइरहे ।
दोस्रो विवाहले उनमा अर्कै किसिमको उत्साह थपियो । भन्न त मानिसहरू कुन अवस्थामा
छोड्लान र ? उनका सिर्जनामा खोट देखाउन नसक्नेहरूले सीताजीको निधनपछि उनका कृति र त्यसमा बहेको आँसु र त्यसलगत्तै उनले गरेको विवाहलाई लिएर धेरै कुरा गरे, राम्राभन्दा नराम्रा । तर त्यस्ता कुराहरूले कुनै माने राख्दैन जिन्दगीमा । महत्त्वपूर्ण त उनको सिर्जना हो अनि उनको व्यक्तित्व । उनले बााचिरहेको जीवन ।
धरावासी आफ्नो जीवनप्रति सचेत छन् । उनको जीवनमा विद्यमान संघर्ष त्यही सचेतताको प्रमाण हो । ‘म अहिले काठमाडौंबाट अमेरिका पुगेको छु । अमेरिका बसाइ नै सरेको हुँ । र केही वर्ष त्यही बसेर छोराछोरीलाई पनि उतै लगिसकेपछि सायद मेरो बसाइसराइ टुंगिन्छ कि ?’ उनले फेरि भने ।
जेठो छोरो यतिखेर इन्डोनेसियामा छन्, शरणार्थीसम्बन्धी एउटा संस्थामा काम गर्ने सिलसिलामा, आउँदो वर्ष उनी श्रीलंका जाँदैछन् ।
‘अर्को छोरो काठमाडौंमै छ । यो वर्ष पढाइ सकिँदैछ । अबको दुई वर्षमा मैले उसको विवाह गरिदिएर अमेरिका पुर्‍याइसक्नुपर्नेछ,’ उनले भने । छोरी अमेरिकामै छिन्, उनीसँगै । अहिले काठमाडौं आएकी ती छोरीको यही माघमा बिहे हुँदैछ झापामा । ‘कान्छो छोरोलाई पनि अमेरिका लान पाए मेरो काम सकिन्थ्यो र सायद रोकिन्थ्यो २०२४ सालदेखिको निरन्तरको बसाइसराइ,’ उनले भने ।
‘धेरै थोक गरिसक्नुभो दाइ । अब स्वास्थ्यको ख्याल गर्नु,’ मैले भनें ।
‘म स्वास्थ्यप्रति सचेत छु,’ उनी गम्भीर बने ।
‘दाइ तपाईंका एक से एक कृति छन् । अब स्वास्थ्य नै ठूलो मान्नु है ।’
‘होइन भाइ, म लेख्न त छाड्दिनँ ।’

प्रकाशित : पुस ११, २०७२ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?