फास्ट ट्रयाकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव

'मलार्इ दलहरुले सहमतिमा लिएनन्'
कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन् । अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ ।

'उग्रराष्ट्रवादले लोकतान्त्रिक विधि र प्रक्रिया कमजोर बनाउँछ,' ४०औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी विचार राष्ट्रिय समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा यादवले भने, 'अन्ततः यसले निम्ताउने भनेको अधिनायकवाद नै हो ।'

प्रधानमन्त्री केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने बताए । 'देशलाई अखण्ड राख्न खण्डखण्ड विचार राख्न हुँदैन । पहाड, हिमाल र मधेस सबै जनताको भावानको कदर गर्न सक्नुपर्छ,' यादवले भने, 'सरकार चलाउने व्यक्तिले मुलुकको एकता कायम गर्न सक्नुपर्छ ।' फास्ट र सुपर फास्ट ट्रयाकबाट संविधान जारी गरेर प्रमुख राजनीतिक दलका नेताहरूले गल्ती गरेको बताउँदै यादवले भने, 'एकपटक गल्ती भएकै हो । अब महागल्ती नगरौं ।'

दोस्रो संविधानसभाले  संविधान निर्माणको प्रक्रियालाई लिकमा ल्याउने काम गरे पनि प्रमुख राजनीतिक दलले संविधानसभाभित्र रहेका मधेसी मोर्चालाई बाहिर पठाएर संविधान जारी गर्ने ऐतिहासिक भूल गरेको यादवले बताए । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिदेखि असन्तुष्ट रहेका यादवले त्यसयताको संविधान संविधान निर्माणको प्रक्रियामा आफ्नो भूमिका नरहेको बताए । 'मलाई सहमतिमा नलिईकनै दुई पार्टीले सातबुँदे सहमति गरे । त्यसपछिको संविधान निर्माणको प्रक्रियामा म सिनमा छैन,' गुनासो पोख्दै यादवले भने, 'मलाई राजनीतिक दलले साथ दिएनन् ।'

आफूलाई मन नपर्दा नपर्दै पनि संविधान जारी गर्नु आफ्नो संवैधानिक कर्तव्य रहेको यादवले बताए ।
'नेकपा-माओवादी संविधानबाहिरै थियो । संविधान निर्माणको प्रक्रियामा रहेको मधेसी मोर्चा प्रदेशको सीमांकनको विषय लिएर बाहिरियो । उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्न मैले सुशील, प्रचण्ड, केपी र विजयलाई बोलाएर भनें । संविधान निर्माणको प्रमुख समितिमा रहेका सभापतिहरूलाई पनि बोलाएर भनें केही दिन समय लिएर समस्या हल गरौं,' यादवले भने, 'मैले १५, १० र ७ दिन कति हुन्छ समय दिउँ भनेर जोड दिए । तर, संविधानसभामा संविधान जारी गर्ने समय पारित गरेर मेरो चाहनामा ब्रेक लगाउने काम भयो ।' उनले मधेसको फोर्सलाई बाहिर राखेर संविधान जारी गर्नुपर्दा आफूलाई पीडाबोध भएको पनि बताए ।

 

प्रकाशित : पुस १६, २०७२ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेशी ब्लगरका हत्यारालाई मृत्युदण्ड

(एजेन्सी)

ढाका — २०१३ मा ढाकामा हत्या गरिएका ब्लगर अहमद राजिव हैदरको हत्यामा संलग्न दुई विद्यार्थीलाई बंगलादेशको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । हत्यामा संलग्न अन्य पाँचलाई पनि अदालतले दोषी ठहर गरेको छ ।



हत्या संलग्न संगठन अन्सरुल्ला बांग्लाका प्रमुखलाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेशमा सन् २०१५ मा मात्रै पाँच ब्लगरको हत्या भएको थियो । हत्याको विरोधमा देशव्यापी प्रदर्शनहरु भएका थिए । हैदरका पिताले भने पाँच जनाले हत्यामा आफू संलग्न भएको बताउँदा पनि दुई जनालाई मात्रै मृत्यु दण्ड दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आर्किटेक्ट हैदरले पाकिस्तानबाट बंगलादेश स्वतन्त्रताको विरोध गर्ने जमात–ए–इस्लामी पार्टीको विरोधमा आफ्नो ब्लगबाट अभियान चलाएका थिए ।

 

प्रकाशित : पुस १६, २०७२ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×