२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

“आई एम नट अ टेरोरिस्ट”

तपाईं कहाँबाट आएनुभएको र कहाँ जाँदै हुनुहुन्छ ?’ पेरिसको चाल्र्स दी गुल्ली (सीडीजी) विमानस्थलका कर्मचारीले पासपोर्टमा ‘अराइभल’ छाप हानेपछि अघि बढ्नै लाग्ला फ्रान्सेली प्रहरीले सोधे । जलवायु सम्मेलनको समाचार संकलनका लागि नेपालबाट आएको भनी जवाफ दिन नपाउँदै ती प्रहरीले पासपोर्ट मागे र पाना पल्टाउन थाले ।

“आई एम नट अ टेरोरिस्ट”

तपाईं कहाँबाट आएनुभएको र कहाँ जाँदै हुनुहुन्छ ?’ पेरिसको चाल्र्स दी गुल्ली (सीडीजी) विमानस्थलका कर्मचारीले पासपोर्टमा ‘अराइभल’ छाप हानेपछि अघि बढ्नै लाग्ला फ्रान्सेली प्रहरीले सोधे । जलवायु सम्मेलनको समाचार संकलनका लागि नेपालबाट आएको भनी जवाफ दिन नपाउँदै ती प्रहरीले पासपोर्ट मागे र पाना पल्टाउन थाले । तिनका आँखा भिसामा गएर रोकिए, एक छिन हेरे । त्यसपछि पासपोर्टको फोटो हेर्दै अनुहार नियाले । नाम, ठेगाना आदि पनि हेर्न थाले ।

‘यु मुस्लिम ?’ ती प्रहरीले सोधे । ‘यस मुस्लिम फ्रम एसियन कन्ट्री,’ जवाफ दिएँ । उनले टाउको तलमाथि हल्लाए । केही बेरमै ‘थ्याङ्क्स’ भन्दै पासपोर्ट थमाए । हुन त मलाई मात्रै यसरी जाँचिएको होइन । काला अनुहार भएका, दाह्री पालेका र मुस्लिम नाम भएका अधिकांशलाई अलि बढी केरकार गरेको देखिन्थ्यो । यसबाहेक उनीहरूले शंका गरेका जो कोही विमानस्थलमै केरकारमा परेको देखें । मसँगै रहेका सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का सचिव बिर्खबहादुर शाहीलाई भने बस्ने होटल, पैसा, आईडीकार्डबाहेकमा चासो दिएनन् ।
आईएसद्वारा पेरिस आक्रमणको झन्डै दुई सातापछि हामी उक्त सहर प्रवेश गर्दै थियौं । ३० नोभेम्बरदेखि ११ डिसेम्बरसम्म त्यहाँ भएको जलवायु सम्मेलनमा भाग लिन विश्वभरबाट राष्ट्रप्रमुख तथा सरकारप्रमुख, सरकारी अधिकारी, गैरसकारी प्रतिनिधि तथा स्वतन्त्र विज्ञ र पत्रकारलगायतको ओइरो लागेको थियो । त्यहाँको सरकारले उच्च सतर्कता अपनाएको थियो । विमानस्थलसम्मै सेना परिचालन गरिएको थियो ।
.....
एकै समयमा विमानस्थल झरे पनि अर्कै टर्मिनलमा झरेकाले साथीहरू रमेश भुसाल, सविन शर्मा र घनश्याम पाण्डेसँग भेट हुन सकेन । हामीले बुक गरिएको घरसम्म पुग्न ट्याक्सी लिने चढ्यौं । चालकले ८० युरो मागें । हामीले हुन्छ भनेपछि उनले कताकता घुमाएर ४० मिनेटजतिमा हाम्रो लोकेसनमा पुर्‍याए । होटल पुग्नेबित्तिकै त्यो चालकले ठगेको थाहा भयो, यति दूरीको भाडा जम्माजम्मी ३० युरो लाग्ने रहेछ । अघिल्लो दिनै पेरिस पुगेका वनविज्ञ वसन्त गौतमले प्रतिक्रिया दिइहाले, ‘ठगहरू जहाँ पनि हुन्छन् ।’
३० नोभेम्बरमा सम्मेलनस्थलतिर लागियो रेल चढेर । रेलबाट झरेपछि सहभागीलाई सम्मेलनस्थलस्म्म पुर्‍याउन सयौं सटल बस राखिएका थिए । बसबाट झर्नेबित्तिकै विश्वभरका झन्डाहरूमा आँखा ठोक्किए । आयोजकले सम्मेलन परिसरमा सबै देशका झन्डा र नाम लेखेर खम्बा ठड्याएको रहेछ । आफ्नो झन्डा खोज्यौं । मुलुकमै राष्ट्रियताको खोजी भइरहेका बेला सात समुद्रपारि आफ्नो झज्डा देख्दा गौरवान्वित भयौं । तस्बिर खिचायौं, अनि भित्र प्रवेश गर्‍यौं । सम्मेलन कक्षभित्र छिर्न विमानस्थलभन्दा कडा जाँच । जाँच केन्द्रमा सेना, प्रहरी, स्वयंसेवकलगायतका सुरक्षाकर्मीको ताँती । भित्र पुग्दा सम्मेलन सुरु भइसकेको थियो ।
पहिलो दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत १५० देशका राष्ट्रप्रमुखले सम्बोधन गरे । मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेकाले नेपालबाट भने सरकारप्रमुखको उपस्थिति थिएन । नेपाली टोलीको नेतृत्व वातावरणमन्त्री विश्वेन्द्र पासवानले गरेका थिए ।
.....
पेरिसमा आईएसले आक्रमण गरेका घटनास्थल हेर्ने रहर थियो । नयाँ ठाउँ र भाषाको समस्या भएकाले एक्लै जान गाह्रो थियो । पेरिसमै बस्ने दिदी अनुराधा पौडेलको सहयोगमा आईएसले आक्रमण गरेको कन्सर्ट हल, रेस्टुरेन्टलगायत स्थानको अवलोकन गरियो । ती ठाउँमा आक्रमणकारीका गोलीले जताततै प्वालैप्वाल बनाएको रहेछ । विभिन्न देशबाट त्यहाँ पुगेकाहरूले शान्तिका लागि पुष्पगुच्छा चढाउने र अगरबत्ती बाल्ने गरिरहेका थिए । अमेरिकी राष्ट्रपति ओबामाले पनि घटनास्थल पुगेर पुष्पगुच्छा अर्पण गरें । सम्मेलनकै दौरान स्विट्जरल्यान्ड घुम्ने निधो गरें । दिदी अनुराधाले रेलभन्दा बस सस्तो हुने सुझाएपछि युरोलाइनको नाइट बसको टिकट काटियो । पेरिसको गुल्लेनी स्टेसनबाट बस समात्यौं । पत्रकार साथी अमृत तिमिल्सिना र म सँगै र सविन शर्मा पछिल्लो सिटमा । बसमा हामीबाहेक ४० जना थिए । इन्टरनेट, शौचालय सुविधासहितको वातानुकूलित बस । रातभरमा दुईपटक आराम गर्‍यो बसले । दुईजना चालकले पालैपालो चलाएका थिए ।
साढे ४ बजेतिर बसलाई प्रहरीले रोक्यो । फ्रान्स र स्विट्जरल्यान्डको सीमा रहेछ । एक महिलासहित तीन प्रहरी बसमा छिरे । जाँच सुरु भयो । हामीभन्दा अघिल्तिरका सिटमा बसेका केहीको पासपोर्ट हेर्दैै तुरुन्तै फिर्ता गरे । हामीभन्दा ठ्याक्कै अगाडि दुई बच्चासहित मुस्लिम महिला र एक पुरुष थिए । उनीहरूका पासपोर्ट हेरेर प्रहरीले खल्तीमा हाल्यो । मेरो पनि पासपोर्ट हेर्‍यो, भिसा हेर्‍यो केही नभनी खल्तीमा राख्यो । अमृत र सविनको पासपोर्ट, भिसा हेरेर तत्कालै फिर्ता दियो । पछाडितिरबाट पनि केही मुस्लिमका पासपोर्ट लिएछ । पासपोर्ट प्रहरीले लगेपछि अलि डर लाग्यो, मनमा चिसो पस्यो । आतंकवाद र विश्वभरका आक्रमणमा संलग्न कुनै मुसलमान नामधारीकै कारण विश्वभरका अरू मुसलमानलाई पनि हेर्ने नजर बदलिएको छ । हुन त, आतंकवादको कुनै जात र धर्म हुँदैन, त्यो थाहा भएर पनि मुस्लिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैन । यो विडम्बना नै हो । विश्वको जुनसुकै कुनाको मुस्लिमलाई पनि शंकाको घेरामा परिहाल्ने । स्विट्जरल्यान्ड सीमाको जाँचलाई त्यसैको परिणति ठानेर चित्त बुझाएँ ।
‘पासपोर्ट फिर्ता दिन्छ नआत्तेऊ’ सँगै रहेका अमृतले सान्त्वना दिए, ‘तिम्रो पासपोर्ट राखेर के गर्छन् यिनीहरूले ।’ तर पनि चित्त बुझेन, मुस्लिम नामकै कारण मेरो पासपोर्ट स्विस प्रहरीले कब्जामा लिएको थियो । म कुनै आतंकवादी त थिइनँ/होइन । थिएँ त केवल, एक नेपाली मुसलमान ।
बस जाँच गर्न आएका तीनमध्ये एक प्रहरी बसमै बसिरहे । अरू दुईजना हाम्रा पासपोर्ट बोकेर गाडीमा हुइँकिए । आधा घन्टापछि तिनै दुई प्रहरी पासपोर्ट लिएर आए, एक एक गर्दै फिर्ता दिए । मैले पनि पाएँ, ‘थ्याङ्क्स’ भनें । पल्टाएर हेरें, उस्तै रहेछ, पासपोर्टमा केही गडबडी गरेको रहेनछ । लामो सास फेरें । पछाडि एकजनालाई प्रहरीले बसबाट तल झर्न भने । उसले अस्वीकार गर्‍यो । उसको नामै लिएर प्रहरीले फेरि भन्यो, ‘सद्दाम यु गेट डाउन ?’ ती सद्दाम हुसैन इराकबाट आएका रहेछन् ।
आफैं नझरेपछि प्रहरीले समातेरै तल झारे । उसको ब्यागसमेत प्रहरीले सँगै लिएर गयो । बसका एक चालकलाई पनि सद्दामसँगै लगे, सायद भाषाको समस्या भएर होला । सद्दामले पनि फ्रेन्च नजान्ने रहेछन् । उनलाई कहाँ लगियो थाहा भएन । बढी चासो राखे आफैं झमेलामा परिने डर !पछि चालकले भनेअनुसार उसको राहदानीमा आशंका गरिएको रहेछ । सीमाको जाँच सकिएपछि बस अघि बढ्यो । क्षणभरमै जेनेभा पुगियो । जेनेभाको रमझमले अघि बिग्रिएको ‘मुड’ लाई ‘फ्रेस’ बनायो । जताततै घडीका टावर र सोरुम । जेनेभालाई घडीको सहर भन्दा पनि हुने रहेछ ।
केही दिनको स्विट्जरल्यान्ड घुमाइपछि पेरिस फर्कियौं, फर्कंदा सीमामा पहिलाजस्तो समस्या भएन । पेरिसबाट बेल्जियमको ब्रसेल्स जाँदा पनि जाँचमा परिएन । तर, भाषाको समस्याचाहिँ बेहोरियो । सकेसम्म अंग्रेजी बोल्दै नबोल्ने । युवा पिंढीकाले अलिअलि अंग्रेजी मन पराउने रहेछन् । दुई साताभन्दा बढीको युरोप बसाइपछि सीडीजी विमानस्थलबाट स्वदेश फर्किने बेला अंग्रेजी बुझ्ने कर्मचारीसँग माउन्ट एभरेस्टको देशबाट आएको भनेर सुनाउन पाउँदाचाहिँ गौरवको अनुभूति भयो ।

प्रकाशित : पुस ११, २०७२ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?