हिमालको हीरा रारा- कोसेली - कान्तिपुर समाचार

हिमालको हीरा रारा

विनु पोखरेल

काठमाडौँ — हामी मुगु विमानस्थलबाट ४ घन्टा बाटोमा कतै सुकिला गोरेटा त कतै ढुङ्गेदार उकालीहरू काटेर चिसो हावाले छुने सल्लाघारीको बीचमा पुगेका थियौं ।

सल्लाको सुसेलीमा हाम्रो मुस्कानको मात्रा थपिंदै थियो । केही तेर्सो बाटो हिँडेपछि हामीले यस्तो दृष्य देख्यौं कि, खुसीले हामी उफ्रियौं, दगुर्‍यौं, चिच्यायौं र करायौं । एउटा सानो फूल देख्दा टुक्रुक बसेर फोटो खिचाउनुपर्ने हामीलाई वरिपरि सारा फूलैजस्तो सुन्दर संसार देख्दा शरीरका हरेक अङ्ग खुसी भए ।

काठमाडौंको धूलो, धूवाँ, त्यसमाथि पनि सिमेन्टीको चौघेरामा निसास्सिएको मन खुला आकाश, हिउँले ढाकिएका हिमाल, वन, बुट्यान,अनि निलो तालमा एकतमासले लठ्ठियो । नीलो आकाश, तालका माथि माथि छिसिक्क छोए पनि कस लाग्लाझैं विभिन्न आकृति बनाएर बसेका सेता बादल । अनि, ताल वरिपरि हिउँको घुम्टोमा मुस्कुराइरहेका हिमालका लामा लस्कर, अलि तल सल्लाले छोपिएका पाहाड । सल्ला नभएका ठाउँमा पनि माया लाग्ने बुट्टेदार रङ्गीबिरङ्ग पात भएका बुट्यानहरू, लाग्थ्यो उनीहरू नै तालको रेखदेख गरिरहेका छन् । आहा † हीराको हारजस्तै, त्यो पनि कुनै परीको गलामा टपक्क टाँसिएझैं ।
मन हर्‍यो तालको सुन्दरताले । लाग्यो, मोहनी भन्ने शब्दसँग बल्ल मेरो भेट भयो । नजिक भएर पनि नपुगेजस्तो । चोरौं चोरौं, कतै लुकाऊँ, घुटुक्कै निलिदिउँजस्तै लाग्ने । मनले भन्यो कहाँ लिएर आइस् ? बल्ल रमाउन दिइस् मलाई ? मनसँग बोलिरहेकी म रमाउँदा रमाउँदै कतिबेला चिच्याएछु पत्तै भएन । भुइँमा खस्दा पो हामी सँगै रहेका सबै गल्ल हाँसेका ।
मुगुको गमगढीबाट ११ बजे हिँडेका हामी ताल पुग्दा २ बजेको थियो । पेट भोकले च्याम्म परेको थियो । तर त्यो खाली पेटले पनि हाम्रो खुसीको चमक खोस्न सकेको थिएन । रारा ताल घुम्न जानेलाई खाना वा नास्ता खान र बस्न तालकै किनारमा रहेको डाँफे होटलबाहेक अरू विकल्प छैन । त्यहाँ नजिक निकुन्ज सुरक्षाका लागि बसेको आर्मीको भवन र निकुन्जको अफिसबाहेक अरू घरहरू नजिकै देख्न सकिन्न ।
म जन्मेको त पूर्वको पहाड इलामको एक गाउँ लक्ष्मीपुर, बर्दुमा हो । तर थाहा पाउँदादेखि नै तराईका फाँटमा सुपारीको पातलाई तानातान गरेर खेली हुर्केको म । जिन्दगीका २५ वसन्त झापाको समथर तातो भूभागमा बिताएकी मलाई त्यो हिमालमा जाडो नहुने कुरै भएन । तर त्यो नीलो पानी नछोई मन मानेन । जुत्तामोजा खोलें अनि पानीमै पसें । चिसो पानी । हातभरि उठाएर फ्याँके आकाशतिर । पानीमा आकाशको छाया पर्दा कस्तो राम्रो । यी सबै मेरो चर्तिकाला हेरिरहेकी सहयात्री राधी भने उसले भरखरै किनेको क्यामेरामा मेरो पागलपन रिठ्ठो नबिराई कैद गर्दै थिई । उसले सोधी, ‘ओइ जाडो भएन ?’ मैले भनें, ‘छैन यार ।’ अनि ऊ पनि ज्याकेट खोलेर तयार भई फोटो खिच्न । अरू बेला ऊ भन्थी हेर अरू जे नि सहन सक्छु, भोक खप्न सक्दिनँ । भोकले मेरो रिसको पारो तात्छ । तर करिब ४ बज्न लग्दा पनि उसको मुस्कानकै पारो बढिरहेथ्यो ।
साँच्चै स्वर्ग चियाउन मन भए मुगु गए हुन्छ । जहाँ रारा तालको रूपमा स्वर्ग नै दिएको छ प्रकृतिले । त्यस वरपरको वातावरण सुन्दर नै छोडिदिएका छन् हाम्रा पूर्वजहरूले । हामी राराको सामीप्यले तृप्त नभएर त्यो दिन त्यतै बस्यौं । भोलिपल्ट बिहान ५ बजे आँखा खुल्यो । हिउँको चिसोलाई छोएर आएको घामको कलिलो किरण तालमा पर्‍यो । एकैछिनमा तिहारको दिनको झिलीमिलीझैं झकिझकाउ देखियो ताल । तालको त्यो गहिराइमा भएको अर्को ‘घाम’ (छाया) माथिको घामसँग मायालु कुरा गरेझैं ।
टलल्लै टल्किएको त्यो पानी । लाग्थ्यो ताल एउटा ठूलो मोती हो र ऊ अरू त्यस्तै ससाना धेरै मोती जन्माउँछ हरेक दिन यसैगरी । हिजोको नीलो हीरा आज मोती भएथ्यो । लाग्थ्यो ऊ अनेक रूप देखाएर हामीलाई नजानलाई आग्रह गर्दै थियो । बिहानदेखि बेलुकीसम्म रूप फेरी फेरी लोभ्याउने त्यो चालाले हामीलाई केटाकेटी बनाउँथ्यो । हामीसँगै आएको अरू सबै फर्किए । हामीलाई भने तालको साथ छोड्न मन भएन । राधी र म गोपाल भाइलाई साथ राखी त्यतै बस्यौं । तालको वरिपरि घुम्न पैदल, घोडा, साइकल जेमा गए नि सकिने रहेछ । हामीले एक एकवटा साइकल लियौं अनि तालको एक फन्को लगायौं । यति सुन्दर तालको पानी बगेर कर्णाली नदीमा मिसिँदो रहेछ । त्यही भएर रहेछ कर्णाली नदी तराई पुग्दा पनि त्यति सुन्दर भएको ।
रहर न हो, घोडा चढेर पनि एक छिन घुमियो । र त्यही होटलमा खाना खाएर, तालका रूप आँखा क्यामेरामा कैद गर्दै तालको किनारै किनार बाटो लाग्यौं । बिदा माग्न गएका हामीलाई आर्मीका क्याप्टेन भन्दै थिए ताललाई हेर्नलायक त चैतदेखि जेठसम्म हुन्छ । त्यो बेला यहाँ भुइँ नै नदेखिने गरी पहेंलै फूल फुल्छ अनि नीलो तालमाथि छपक्कै हिउँ । ओहो कस्तो राम्रो देखिन्छ
होला है ?

प्रकाशित : पुस ११, २०७२ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास लेखनको ड्यासबोर्डमा महेशचन्द्र रेग्मी

युग पाठक

काठमाडौं — हिजोआज बौद्धिक फेसनमा चलेको प्रश्न छ– नेपाल किन बनेन ? यो प्रश्नको जवाफ खोज्न माथापच्ची गर्नेहरूले निकालेको लगभग साझा जवाफ यस्तो छ– इमानदार, नैतीकवान, सदाचारी नेता नभएर ।

हिजोआज बौद्धिक फेसनमा चलेको प्रश्न छ– नेपाल किन बनेन ? यो प्रश्नको जवाफ खोज्न माथापच्ची गर्नेहरूले निकालेको लगभग साझा जवाफ यस्तो छ– इमानदार, नैतीकवान, सदाचारी नेता नभएर। त्यसो त इमानदारी, नैतिकता, सदाचारजस्ता शब्द बडो सुन्दर सुनिन्छन्, व्यवहारमा यी शब्दलाई कसरी र कोद्वारा अथ्र्याइन्छ त्योचाहिँ फरक कुरा हो । नेपालमा सबैजसो सार्वजनिक तथा सरकारी संस्थाहरूको नेतृत्वसमेतलाई जोड्दा पाँच लाखभन्दा धेरै त नेताहरू नै छन् ।
वास्तवमा यो प्रश्न नै आग्रही छ । मानौं कुनै विदेशी महानगरको चकाचौंध हेरेर ईश्र्या गरेजस्तो । नेपाललाई स्विजरल्यान्ड बनाउने अमूर्त सपनाजस्तो । त्यसैले जवाफ पनि कुनै धर्मगुरुको ढोंगी उपदेशजस्तो निस्कियो । अब प्रश्न अर्कै तरिकाले सोधौं । नेपाल कस्तो बन्यो ? त्यस्तै किन बन्यो ? कस्तो बन्नुपथ्र्यो ? जस्तो बन्नुपथ्र्यो त्यस्तो किन बनेन ? जवाफ अमूक नेताको व्यक्तिगत इमानदारी, नैतिकता वा सदाचारमा होइन, खास प्रकारका व्यक्ति जन्माउने राज्य र समाजको चरित्रमा खोज्नुपर्ने होइन र ?
यहाँनेर माओत्सेतुङको एक प्रेरक प्रसंग सुनौं । कुनै दिन माओकी आमा ओछ्यान परिन् । उनले माओलाई बोलाएर भनिन्– बाबु, बगैंचाको स्याहार गर्ने जिम्मा तेरो भो । किशोर माओले बगैंचाको खुब स्याहार गरे । १०–१५ दिनपछि माओकी आमा सन्चो भइन् । बगैंचा हेर्छिन् त, बोटहरू मुर्झाएका, पात पहेँलै भएका । उनले छोरालाई भनिन्– बाबु, तैंले बगैंचाको स्याहार त गरिस् । दिनहुँ पात पुछिस्, हाँगा पखालिस् र टल्काइस्, तर जरामा भने पानी हालिनस् । बगैंचा त आखिर मुर्झाइसकेछ । जराको स्याहार गरेको भए, पात र हाँगा त त्यसै टल्किहाल्थे । पछि माओले क्रान्ति गाउँका किसानबाट उठाउने निर्णय लिए, किनभने उनलाई थाहा भयो चीनको जरा भनेका किसान हुन् ।
नेपाल कस्तो छ, त्यस्तो किन छ भन्ने प्रश्नको जवाफ नखोजीकन यस्तो देशबाट कस्तो उन्नति फलाउन सकिन्थ्यो भन्ने नै थाहा हुँदैन । हाम्रो समाज यस्तै किन छ र कस्तो बन्न सक्छ भन्ने कुरा पत्ता लगाउन पक्कै पनि यसको ऐतिहासिक अध्ययन आवश्यक पर्छ । आज धेरैलाई नेपाल कुनै विदेशी महानगरजस्तो बनिदिए हुन्थ्यो भन्ने हुटहुटी छ । समाजवादी चिन्तक प्रदीप गिरीको शब्दमा, नेपाल कुनै स्विजरल्यान्डजस्तो होइन, नेपालजस्तै बन्ने हो । बीउ पनि यहीँ छ र त्यो बीउ हुर्काउने तरिका पनि यही राज्य र समाजको अध्ययनबाट निकाल्न सकिन्छ ।
त्यसैले महेशचन्द्र (एमसी) रेग्मीका पुस्तकहरू महत्त्वपूर्ण छन् । आर्थिक इतिहासका विभिन्न पक्षको खोज गरेर रेग्मीले नेपालको इतिहासलेखन परम्परालाई नै फरक मोड दिएका छन् । उनका पुस्तक नछिचोलीकन नेपालको वास्तविक आन्तरिक गति बुझ्न सकिँदैन । कुनै सदाचारी, इमानदार र नैतिकवान नेताको निगाहबाट अचानक देश स्विजरल्यान्ड बन्न सक्छ भन्ने तर्कना रेग्मीका पुस्तकसँग ठोक्किएर चकनाचुर हुनेवाला छ । माओकी आमाले भनेझैं नेपाली राज्य र समाजको जरा अध्ययन गरेर वर्तमानबारे चिन्तन गर्ने हो भने रेग्मीका पुस्तक टेबलमा राख्नोस् र पाना पल्टाउनोस् ।
इतिहास लेखन
नेपालमा व्यवस्थित इतिहास लेखन र प्रकाशन २००७ सालपछि मात्र सुरु भयो । त्यसअघि कर्कप्याट्रिक, हेमिल्टन, ओइलफिल्डजस्ता बेलायती दूत र फ्रान्सेली इन्डोलोजिस्ट सिल्भाँ लेभीले नेपालको इतिहास तथा तत्कालीन शासनप्रणाली तथा अन्य तथ्य संकलन गरेर पुस्तक लेखे । पर्सिभल ल्यान्डनलाई त चन्द्रशमशेरले सारा सुविधा उपलब्ध गराएरै इतिहास लेख्न लगाए । पछि सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य आदिले नेपालमै इतिहास लेखनको ढोका खोले । त्यसपछि संशोधन मण्डल, डीआर रेग्मी, योगी नरहरिनाथलगायत धेरै इतिहासकार देखा पर्दै गए । यसैबीच लुड्विग स्टिलर, लिओ इ रोज, भुवनलाल जोशी, धनबज्र बज्राचार्यजस्ता इतिहासकार सक्रिय भए । पुराना वंशावली, सरकारी कागजात, शिलालेख, ताम्रपत्र इत्यादि प्राथमिक स्रोतहरूको संकलन, अध्ययन र व्याख्या मार्फत इतिहासलाई समृद्ध पार्न यसबीच धेरै इतिहासकारले योगदान गरिसकेका छन् ।
इतिहास दर्शनका ज्ञानीहरूको भनाइ छ– इतिहास तथ्यहरूको संकलनभन्दा धेरै व्याख्या हो । अझ महत्त्वपूर्ण सबाल हो, व्याख्या कसको दृष्टिकोणबाट गरिन्छ ? नेपालमा सुरुवाती इतिहास लेखन राजा महाराजा र नेपाल खाल्डो (काठमाडौं) को दृष्टिकोणबाट गरियो । पञ्चायतकालमा राज्यबाट प्रोत्साहन पाएका इतिहासकारहरूले पनि यही परम्पराको अनुसरण गरे । यो पंक्तिकारको अनुभवमा स्कुल, कलेजका पाठ्यपुस्तकदेखि अन्य इतिहासका धेरैजसो पुस्तकमा अधिकांश मेहनत शाहवंशको गुणगान, राणाशासनको निन्दा र काठमाडौं (जसलाई धेरै पछिसम्म नेपाल भनेर चिनिन्थ्यो) को शासकीय अहम् चित्रण गर्नमा लगाइएको छ ।
ती पुस्तकको ऐतिहासिक टाइमलाइनमा आफू, आफूजस्ता सर्वसाधारण र आफू बाँचेको समाजको गति फेला नपरेको अनुभव यो पंक्तिकारको छ । कैयौं प्रसंगमा यस्तो लाग्छ इतिहासकारले राजामहाराजाका खोपीमा जासुस त राखेको थिएन ? इतिहासकारहरूको मेहनतलाई उच्च सम्मान गर्दै यहाँ इतिहासलेखनले राज्य र समाजबीचको अन्तक्र्रिया, शासक र जनताको अन्तरसम्बन्धजस्ता विषय केलाइदिएको भए देश र समाज बुझ्ने र बदल्ने काम अझ द्रुत हुन्थ्यो कि भन्ने प्रसंग मात्र उठाइएको हो ।
यही प्रसंगमा आउँछन्, एमसी रेग्मी । लुड्विग स्टिलर र एमसी रेग्मी दुवैको एउटा साझा स्वीकारोक्ति के छ भने नेपालको शासकीय इतिहासमा भूमि निर्णायक तत्त्वका रूपमा रहेको छ । पाकेट खर्चका लागि समेत साहुसँग सापटी लिनुपर्ने गोर्खाका राजा पृथ्वीनारायणमा गोर्खाली साम्राज्य बनाउने सपना भूमिकै मोहले पैदा गरेको थियो । भूमि कब्जा गर्ने मोह, भूमिको वितरण र व्यवस्थापन नेपालको आर्थिक इतिहासको एक महत्त्वपूर्ण हिस्सा देखिन्छ । रेग्मीका ‘अ स्टडी इन नेपाली इकोनमिक हिस्ट्र’ शीर्षकका दुई किताबले पृथ्वीनारायणकालको गोर्खादेखि राणाशासनको लगभग अन्त्यसम्मको नेपालको आर्थिक इतिहास बताउँछ ।
एमसी रेग्मीले पनि धेरैजसो सरकारी दस्तावेजहरूकै अध्ययन गरेका छन् । तर उनको इतिहासलेखनले त्यहाँबाट परम्परागत धारासँग सम्बन्धविच्छेद गर्छ जहाँ उनी भूमिमा गोर्खाली भारदारले कब्जा जमाउँदै लगेको र किसान क्रमश: कृषि मजदुरमा परिणत भएको अवस्थाको व्याख्या गर्छन् । उनले पक्कै पनि अर्थतन्त्रको इतिहास लेखेका हुन्, तर उनका पुस्तकहरू पढ्दा गोर्खाली राज्यविस्तारपछि नेपाल राज्यको विकास कसरी हुँदै आयो, सत्तामा बस्नेहरूले कसरी जनताको व्यापक शोषण गरे, किसानले किन बचत अन्नलाई पुँजीमा रूपान्तरण गर्न सकेन इत्यादि अनेक विषय खुल्दै जान्छन् ।
किन पढ्ने एमसी रेग्मीलाई ?
पछिल्लो दुई दशकमा राज्यसत्ताले संस्थागत गरेका असमान सम्बन्धहरूको बहस चलिरहेको छ । खसआर्य समुदाय र आदिवासी जनजाति बीच, मधेसी र पहाडीबीच, गैरदलित र दलितबीच, पुरुष र महिलाबीच, बलिया समुदाय र अल्पसंख्यक/पिछडावर्ग समुदायका बीचका असमान सम्बन्धहरू । राज्यबाट संरक्षण पाएका खान्दानी धनी तथा हुनेखाने वर्ग र गरिब किसान तथा मजदुर वर्गका बीचको अन्यायपूर्ण सम्बन्धमा पनि कुनै न कुनै रूपले समुदायगत असमानता प्रकट भइरहन्छ ।
यी सम्बन्धहरू कुन जराबाट उम्रेका हुन् त ? ‘ल्यान्डओनरसिप इन नेपाल’ मा एमसी रेग्मीले भूमिको स्वामित्वको इतिहास यसरी खोतलेका छन् कि जवाफ यसै पाइन्छ । गोर्खाली राज्यविस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने भाइभारदार, सैनिक नेतृत्व तथा पुरोहित र सहयोगी ब्राह्मणहरूलाई विजित भूमि बिर्ता र जागिरका रूपमा दिइयो । ती अनिवार्य रूपमा गोर्खाली क्षत्री वा बाहुन हुन्थे । पूर्वका केही किपट (लिम्बुवान, किराँत क्षेत्रका सामुदायिक स्वामित्वको जग्गा) तथा धार्मिक संस्थाका गुठीबाहेक धेरैजसो भूमि बिर्ता र जागिरका रूपमा दिइन्थ्यो । मधेसको उर्बरा जमिनको स्वामित्व पनि यसरी नै अनुपस्थित जमिनदार (एब्सेन्टी ल्यान्डलर्ड) लाई दिइन्थ्यो, जो काठमाडौं वा कुनै पहाडमा बस्थ्यो र बाली उठाउन हिउँदमा मधेस झथ्र्यो । जंगबहादुरले मधेसको जग्गाजमिन व्यवस्थित गर्न जब जिम्दार प्रथा सुरु गरे, ती जिम्दारहरू अनिवार्य रूपले पहाडी मूलकै हुन्थे ।
यी त उदाहरण मात्रै हुन् । रेग्मीका पुस्तकमा इतिहासका त्यस्ता धेरै विशेषताहरू केलाइएको छ जसले नेपाल राज्यभित्र बसोबास गर्ने विविध समुदायबीच असमान सम्बन्धको बीउ रोपिएको सजिलै देखिन्छ । ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सेसन इन नेपाल’ तथा अरू आर्थिक इतिहासका विस्तारित व्याख्या पढ्न तत्काल भ्याइएन भने ‘थ्याच्ड हट्स एन्ड स्टुको प्यालेसेज’ मात्र
पढ्दा पनि रेग्मीका अध्ययनको निष्कर्षहरू थाहा पाइन्छ । किसानको जीवनमा केवल बोझ मात्र थप्ने र हाड घोट्दा पनि हातमुख जोर्नै कठिन अवस्थामा पुर्‍याउने राज्यसत्ताको चरित्र इतिहासभरि देखिन्छ । उत्पादन गर्ने किसान सधैं झुप्रोमा तर किसानको पसिना लुट्ने खान्दानी एलिटको भने वैभवशाली दरबार खडा हुने स्थितिको योभन्दा सुन्दर खोज के हुन सक्छ ?
प्रचलित इतिहासमा गोर्खाली वीरहरूको गुणगान हुन्छ र पृथ्वीनारायणको राज्यविस्तार अभियानलाई ‘नेपाल एकीकरण’ को सुन्दर आख्यानमा सजाइएको हुन्छ । ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खा एम्पायर’ पढ्नुस् वा ‘इम्पेरियल गोर्खा, एन एकाउन्ट अफ गोर्खाली रुल इन कुमाउँ’ पढ्नुस्, गोर्खाली कसरी साम्राज्यवादी चरित्रका थिए भन्ने व्याख्या पाउनुहुन्छ । २५ वर्षको शासनकालमा कुमाउँका जनतामाथि गोर्खालीले थोपरेको अत्याचारको कल्पना गर्न सक्नुहुन्छ र नेपाल–अंग्रेज युद्धमा कुमाउँका जनताले किन अंग्रेजलाई साथ दिए, जवाफ पाइन्छ ।
जुनसुकै समाजभित्र आफूलाई बदल्ने र नयाँ बनाउने ऊर्जा हुन्छ । सबाल हो त्यो ऊर्जा चिन्ने र परिवर्तनको अभियानमा प्रयोग गर्ने । रेग्मी पटकपटक दोहोर्‍याउँछन्– गोर्खालीले भौगोलिक ‘एकीकरण’ त गरे तर आर्थिक ‘एकीकरण’ को प्रयासै भएन । विजित क्षेत्रका जनताबाट उठाउने जति कर, कुत सबै उठाइयो, झारा (ज्यालाबिनाको मजदुरी) तिराइयो, तर व्यवस्थित आर्थिक प्रणालीमा राज्यका सबै जनतालाई बाँध्ने काम भएन । यसका सामाजिक, सांस्कृतिक र राजनीतिक आयामहरू पनि छन् । हिन्दू वर्णव्यवस्थामा जबर्जस्ती ढालेर भिन्न जातीय, क्षेत्रीय सभ्यतालाई शासन गर्ने कानुनी, राजनीतिक बाटो अपनाइएको इतिहास हो हाम्रो । त्यसैले व्यवस्थित आर्थिक प्रणाली निर्माण गर्नुभन्दा जनताको श्रम र उत्पादनलाई जबर्जस्ती खोसेर काठमाडौंमा वैभवपूर्ण शक्ति स्थापना गर्नमा सबैजसो शासक लागेको पाइन्छ ।
काठमाडौंको सत्ता षड्यन्त्रको खेलमा एक पक्षले जित्नासाथ हार्ने पक्षको बिर्ता, जागिर सबै खोसिन्थ्यो । यसले सुदूर गाउँमा बस्ने किसानको जीवनमा पनि प्रत्यक्ष प्रभाव पाथ्र्यो । उदाहरणका लागि, सन् १८४३ मा माथवरसिंह थापा प्रधानमन्त्री भए । तत्कालै उनको पुरानो बिर्ता पुनस्र्थापित भयो र थप २२ सय रोपनी धानखेत जागिर दिइयो । उनको छोटो प्रधानमन्त्री कालमा उनले बारा, रौतहट, सप्तरी र महोत्तरीमा थप २५,३४६ बिघा जग्गा बिर्ता पाए । यसबाट थाहा हुन्छ शक्तिशालीले कसरी राज्यको शक्ति प्रयोग गरेर व्यक्तिगत धन जम्मा गर्थे र दरबारमा किन षड्यन्त्रको खेल भइरहन्थ्यो ।
दरबारको यो खेलबाट गाउँका मुखिया जिम्दार पनि प्रशिक्षत हुन्थे र गाउँका किसानको श्रम र उत्पादन कसरी हत्याउने भन्ने प्रतिस्पर्धामा हुन्थे । तिनै टाठाबाठाहरू गाउँका जनतालाई चक्रवर्ती ब्याजमा ऋण लगाएर भर्चुअल पैसाको खेती गर्थे । सत्तासँग सम्बन्ध बनाएका तर जातैले श्रम नगर्ने काठमाडौंका एजेन्टको हातमा भर्चुअल सत्ता, श्रम र उत्पादन गर्ने जनता सदैव बँधुवा मजदुरसरह भएपछि समाजले उन्नति गर्ने बाटो नै बन्द भयो । आजसम्म यसका प्रभावहरू अस्तित्वमा छन् ।
काठमाडौंबाट पठाइएका भारदार, सुब्बा, जिम्दारहरू गाउँगाउँमा गएर कसरी आफ्नै शासन चलाउँथे भन्ने तथ्यको जरामा पस्दा आजका हाम्रा राज्य संयन्त्र, त्यसका हाकिम र राजनीतिक एलिटले कसरी भर्चुअल शासन चलाउँछन् त्यो बुझिन्छ । कुमाउँमा पठाइएका भारदार र सुब्बा हुन् वा मधेस पठाइएका जिम्दार र बिर्तावाल, सबैले आफ्नै शासन चलाए । परिणामस्वरूप भयानक आर्थिक अराजकता इतिहारभरि देखियो । त्यतिमात्र होइन, राज्यको ढुकुटीमा काठमाडौंका शक्तिशालीले कसरी लुट मच्चाए त्यो आजको भ्रष्टाचारको चरित्र बुझ्न मद्दत गर्ने खालको छ ।
एमसी रेग्मी पढ्दा नेपाली सत्ता र जनताको सम्बन्ध मात्र बुझिँदैन, समस्याको जरासम्म पुग्न पनि मद्दत गर्छ । राज्य र जनताको बीचमा एकअर्कालाई विकसित गर्ने सम्बन्ध विकास नगरेसम्म उन्नतितिर जाने बाटो भेटाइँदैन । त्यसका लागि सामाजिक, आर्थिक, राजनीतिक अन्तरविरोध हल गर्दै जानुपर्ने हुन्छ । रेग्मीलाई पढेर जरा बुझ्ने हो, जराको उपचार गर्ने हो । इमानदारी, सदाचार र नैतिकता त्यही उपचारबाट पैदा हुन्छ ।

प्रकाशित : पुस १७, २०७२ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×