२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मेलम्चीझैं नारायणगोपाल

आभास

काठमाडौं — नरायणगोपालको शब्द छनोट र धुन छनोटले नेपाली आधुनिक गीत, संगीतमा एउटा उदाहरणीय मानक स्थापित गर्‍यो । उनले स्थापना गरेको मानकको चुचुरो नाघ्ने क्षमता अरु कुनै गायकमा देखिएको छैन ।

मेलम्चीझैं नारायणगोपाल

 

सम्झन्छु–
सुदूर विगतमा
एकफेरा
यतै तलतिर 
मेरी प्रियसी इन्द्रावती भेट्न आएँथें 
प्रसिद्ध लेखक– रमेश विकल
र म पनि उर्लँदै दुगुरेथेँ
केही चरण भए पनि 
गीत सुनाऊँ कि भनेर

गीत–सङ्गीतमा 
बडा सोखिन थिए बूढा
गुनगान गाएथे 
मेरो छ्वाङ् छ्वाङ् छ्वाङ् छ्वाङ् कुर्लने
घोर्ले स्वरको समेत

मैले गाएको उही गीतकै पङ्ति त हो–
तिनको– 
‘अविरल बग्दछ इन्द्रावती’ †

अब भविष्यमा 
फेरि पनि
कुनै नयाँ लेखक 
ठाँटिएर आएछन् यतातिर 
र सुन्न खोजेछन् भने 
केही चरण 
मेरा नयाँ गीत
कोही कसैले त भनिदेलान् नि–
यताको नारायणगोपाल त
उहिल्यै बितिसक्यो †
(‘मेलम्चीको मन्तव्य’ बाट)

नारायणगोपाल बिदा भएको पच्चीस वर्ष पार गर्दै गर्दा मैले नारायणगोपाललाई काठमाडौं भित्रिसकेको मेलम्चीझैँ ठानेछु । त्यही भएर ‘मेलम्चीको मन्तव्य’ शीर्षकको आफ्नै कविताभित्र एक्कासि नारायणगोपाल सुसाएछन् ।
मेलम्ची तिर्खालु काठमाडांैका निम्ति कल्पनाको कलकल धारा भएर बगेको लामो समय भयो । कल्पनाको धाराबाट पानी बग्ने कुरा भएन । त्यसैले समयमात्र बग्यो । अझै बगिरहेछ । थाहा छैन धाराबाट समय नबगी पानी बग्ने दिन कहिले आउने हो ? सत्ताईस किलोमिटर लामो अँध्यारो सुरुङबाट आउने मेलम्ची जुन दिन काठमाडौं आइपुगे पनि त्यसको रूप कञ्चन नै हुनेछ । मेलम्चीको त्यो निर्मल रूप काठमाडौंको फोहर पखाल्दापखाल्दै कुनै दिन धमिलो बन्न विवश होला । त्यो अर्कै पाटो भयो । 
मैले नारायणगोपाललाई किन उस्तरी मेलम्चीसित जोड्न पुगेछु ? थाहा छैन । मलाई केही सीमित कुराहरू मात्र थाहा छन् त्यो मेलम्ची र ती नारायणगोपालका बारेमा । मेलम्चीको किनारमा म स्कुले जीवनमा हुँदै पुगेको हुँ । बडो आनन्दले पखालेथेँ आफ्नो शरीर त्यो खोलाको कञ्चन पानीले । खुला आकाशमुनि स्वच्छ पानीले शरीर पखाल्दा मनभित्रको मैलो पनि केही पखालिएझैँ हुन्छ । एक किसिमको आत्मरञ्जन हुन्छ पानीमा सर्वाङ्ग नाङ्गै डुबुल्की मारेर निक्लँदा । त्यतिबेला पनि त्यस्तै भएथ्यो ।
के नारायणगोपाल पनि मेलम्चीझैँ कञ्चन थिए ? र मैले तिनलाई त्यो हिउँखोलाको कञ्चन पानीसित तुलना गरेँ ? अहँ मलाई थाहा छैन, नारायणगोपालको स्वभाव कस्तो थियो ? पटक्कै थाहा छैन । जीवनमा तिनलाई नजिकबाट एक–दुई खेप मात्र देखेको हुँ । पहिलो खेप उहिलेको रेडियो नेपालको खुला प्रांगणमा । विज्ञापन सेवाको भवन छेउ ठिङ्ग उभिएर केही सोच्दै गरेका अग्ला नारायणगोपाल † (हुन त प्राय: आफू सानो हुँदा र सानो बनी दिँदा धेरै कुराहरू ठूला र अग्ला देखिन्छन् । नारायणगोपाल त उसै पनि अग्ला नै थिए । यद्यपि अग्ला छन् ।) उसबेला बालकार्यक्रममा संलग्न हुन पाइन्छ कि भनेर रेडियो नेपाल धाइन्थ्यो । त्यहीँ पहिलो खेप देख्दा नारायणगोपालले लगाएको हल्का नौनी रङ्गको सफा कमिज उनलाई निकै सुहाएको ठानेथेँ । उनका हातमा लेदर हो कि सेन्थेटिकका झुम्के पञ्जा थिए । सबै औंला बहिरै देखिने । त्यसताका मोटरबाइक चलाउनेले त्यसखाले पञ्जा लगाउने चलन नै थियो सायद । हाम्रो अभिवादनलाई थोरै शिर हल्लाएर फर्काएथे अपरझट भेटिएका नारायणगोपालले ।
ती अद्भुत गायकसित जोडिएका किंवदन्तीहरू भने अनेकौंपटक सुनेको छु । तिनको निजी जीवनका बारेमा समेत अनेकौं टिप्पणी सुनेको छु । सकारात्मक मात्र होइन, नकारात्मक पनि † त्यसकै प्रभावले होला एकपटकको भेटमा मैले तिनकी जीवनसंगिनी पेमलालाई सीधै प्रश्न सोध्न भ्याएको थिएँ, ‘भाउजू † नारायण दाइलाई त धेरै स्त्रीसित हिमचिम भएको मान्छे भनेर टिप्पणी गरिन्छ नि ?’
मेरो त्यो जिज्ञासा नारायणगोपालले संसार त्यागेको केही वर्षपछिको थियो । पेमला नारायणगोपालले अभ्यास गर्ने कोठाको सोफामा थिइन् । सामुन्नेको सिसादार आलमारीमा नारायणगोपालले बजाउने गाढा सुनौलो रङ्गको हार्मोनियम थियो । चुपचाप । मौन । त्यही मौन हार्मोनियमतिरबाट आँखा हटाउँदै पेमलाले मतिर आश्चर्यपूर्ण हेराई हेरिथिन् । मेरो प्रश्नले तिनको मुहारमा एकखाले मन्द आक्रोश नै दौडाएझैँ लागेथ्यो । म पनि कस्तो उल्लु ? एउटा गायककी महान् फ्यान जसले आफ्ना जीवनका सारा उमंग त्यही गायकका निम्ति समर्पण गरिन्, उनैका सामु एकखाले गँवार प्रश्न गर्न पुगेको थिएँ । प्रश्न सोधिसकेपछिको पहिलो दस–पन्ध्र सेकेन्डमै आफ्नै मनलाई हप्काउन खोज्दै हुन्छु म । पेमलाले मेरो प्रश्नलाई सामान्य रूपमा लिएको भान भएपछि भने मनले केही राहत अनुभूत गर्छ । उनी थोरै मुस्काउँदै मसित भन्छिन्– ‘भाइ † एउटा कलाकारका बारेमा कति मनगढन्ते अफवाह फैलिन्छन् ? त्योसित म राम्ररी अभ्यस्त भइसकेकी छु ।’ एक छिनको मौनतापछि फेरि थप्छिन्, ‘नारायणगोपालजस्तो सफल गायकसित कोही प्रशंसक फिदा हुनुलाई म स्वाभाविक रूपमा लिन्थेँ र लिन्छु पनि । उहाँका फ्यानका लस्करमा अनेकौं महिलाहरू पनि अवश्य उभिएका थिए । म पनि त पहिला नारायणगोपालको फ्यान बनेरै जीवनसाथी हुन आइपुगेकी हुँ नि †’ नारायणगोपालप्रति पेमलाको उदार भाव सुन्दा मेरो बोल्ती अचानक बन्द भएथ्यो ।
पेमलाको बोलीमा मात्र होइन आँखामा पनि नारायणगोपालप्रतिको समर्पण भावको निरन्तरता झल्कन्थ्यो । मैले अरू विषय कोट्याउन नपाउँदै तिनले नारायणगोपालका थप प्रसंगहरू सुनाउन थालिन्, ‘भाइ † नारायणलाई महाको घमण्डी भनेर पनि त चित्रण गरिन्छ नि † त्यस्ता अफवाह नारायण स्वयंका कानसम्म पनि आइपुग्थे । उहाँलाई ती हल्लासित खास चासो थिएन । गीत, सङ्गीतसित मात्र चासो थियो । कसरी राम्रो गाउने ? कसरी राम्रा गीत छान्ने र राम्रा गीत पाउने भन्नेमा बढी चासो थियो । हो, नारायणगोपालको स्वाभिमानको पारो भने निकै कडा थियो है †’ 
त्यसपछि उनले मलाई एउटा प्रसंग सुनाइन्, ‘एक खेप ओमबहाल आसपासमा हुनुपर्छ भाइ † कुनै कलाकारको घरमा जमघटको निम्ता आएको थियो । कारणबस त्यस दिन म साथमा गएकी थिइनँ । भएछ के भने नारायणगोपाल पूर्वपरिचित घरको रोज्जा र सजिसजाउ बैठकमा प्रवेश गरेर सोफामा बस्नु भएछ । एक छिनपछि घरको रेखदेख गर्ने कामदारले त्यो कोठा अन्य विशिष्ट पाहुनालाई छुट्याइएको भन्दै उहाँलाई अर्को कोठामा सर्न अनुरोध गरेछन् । त्यसलाई नारायणगोपालले आफ्नो अपमान सम्झेर ‘को विशिष्ट ? पाहुना बोलाएपछि सबै विशिष्ट †’ भनेर कड्किनुभएछ । खासमा त्यो कोठा दरबारियाहरूका लागि व्यवस्था गरिएको रहेछ । त्यो थाहा पाएपछि त नारायणगोपाल झन् टसमस नभई त्यहीँ बस्नुभएछ । घरमुलीले वैकल्पिक व्यवस्थापन गरे कि कसो ?† पछि नारायणगोपाल बसेकै कोठामा गानबजाना सुरु भएपछि दरबारियाहरू पनि त्यहीँ मिसिएछन् । नारायणगोपालबाट त्यो घटना सुनिसकेपछि, ‘त्यति सानो कुरामा किन किचकिच गरेको त ? खुरुक्क अर्को कोठामा सरिदिएको भए भइजान्थ्यो नि त हौ †’ भनी मैले भनेथेँ । मेरो कुरा सुनेर नारायणगोपाल मसित पनि झोक्किनुभएथ्यो, ‘घरमा बोलाएपछि सबै पाहुना बराबर नि † बसिसकेको मान्छेलाई ठाउँ फेर्न भनेर भन्ने हो त ?’ नारायणको झोंक शान्त भएपछि मैले त्यसो भए आज पनि घमण्डीको तक्मा भिरेर आइएछ त भनें । उहाँले हाँस्दै होइन, होइन † पछि त सब ठीक भइहाल्यो नि † त्याँ फ्यानहरूलाई मैले मेरो क्यासेट उपहार दिएर आएँ नि भन्नुभयो । अब भन्नुस् त ? नारायणगोपाल घमण्डी हुनुहुन्थ्यो कि स्वाभिमानी ? मैले त उहाँभित्र कहिल्यै घमण्ड भेटिन । तर पनि भन्नेले भनिरहे भाइ † नारायणगोपाल महाको घमण्डी हो भनेर †’
मनपर्दो फ्यान भेटियो भने उपहार दिन मिल्छ भनेर नारायणगोपाल कोटको खल्तीमा क्यासेट बोकेर हिंड्थे भनी पेमलाको बोलीबाट सुन्दा म तीनछक् परिरहेको थिएँ । नरायणगोपालका बारेमा मेरै निकट रहेका पाका मान्यजनहरू पनि निकै टिकाटिप्पणी गर्थे । तिनै टिकाटिप्पणीको आधारमा हामी नारायणगोपालप्रतिको धारणा बानाउँथ्यौं । र पनि हामी केही युवालाई भने उनको व्यक्तिगत जीवनसित अलिक थोरै चासो थियो । हामी त उनका गीतका पो फ्यान थियौं त † तर हामी संलग्न भएको सांस्कृतिक फाँट कम्युनिस्टहरूसित निकट थियो । त्यसबेलाका हाम्रा नेपाली कम्युनिस्टहरू मान्छेको चरित्रलाई सम्भोगसित मात्र सम्बन्धित मूल सिद्धान्त ठान्थे । सायद अहिले पनि उसै ठान्छन् होला कि कसो † तर ती कम्युनिस्टहरूकै आन्तरिक जीवन र व्यबहारमा भने तिनले मानेको सिद्धान्तभन्दा सधैँ उल्टोपाल्टो भइरहेको हुन्थ्यो । त्यही भएर हुनुपर्छ आफूले निर्माण गरेको सिद्धान्तको बोझले आफैँ थिचिने नियति कम्युनिस्टहरूमा बढी देखिन्छ । 
व्यक्तिगत सम्बन्धका विषयमा युवाहरू आफ्नो अघिल्लो पुस्ताभन्दा जहिले पनि अलिक उदार हुन्छन्झैँ लाग्छ । तत्कालीन हाम्रो पुस्ता पनि यौनका विषयमा पहिलो पुस्ताभन्दा अलिक उदार नै थियो । तर त्यस विषयमा खुला बहस हुने अवस्था भने थिएन । प्रेमप्रसंगका सामन्य बाहिरी सम्बन्धसमेत आलोचित हुने माहोलमा सम्भोगजस्तो आन्तरिक सम्बन्धका बारेमा कसरी बहस हुनु र ? धन्न राल्फाकालीन समयमा कसो–कसो हाम्रा अगुवाहरूले ‘ओपन सेक्स’ को अवधारणामा छलफलसम्म चलाएउने आँट गरेका थिए रे † तर हाम्रो सामाजिक परम्पराको संकोचले नै हुनुपर्छ राल्फाकालमा यौनलाई स्वतन्त्रतासित जोड्नेहरू कालान्तरमा आफैँ साँघुरिँदै जान बाध्य भए । त्यही साँघुरोपनको प्रतिध्वनिपछि टिकाटिप्पणीमा परिणत हुँदै गयो कि जस्तो लाग्छ । 
त्यस्ता टिप्पणीले कुनै चर्चित व्यक्तित्वको सामाजिक प्रतिष्ठामा कतिको प्रभाव पार्‍यो ? भन्न सकिन्न । तर, वैयक्तिक र आन्तरिक सम्बन्धलाई मात्र चरित्र नाप्ने कसी मान्दा हामीभित्र एकखाले रूढ चिन्तन बाँची रह्यो । हाम्रो परिवेश प्रगतिशील आवरणमा गुम्सिएर छुवाछूतवादी बनिरह्यो । यस्तो छुवाछूतको मार पुरुषले भन्दा धेरै नेपाली नारीहरूले खेप्दै आएका छन् । धन्न नारायणगोपाल पुरुष थिए †
नारायणगोपालको चारित्रिक पाटोमा मात्र होइन उनको साङ्गीतिक यात्रामाथि पनि टिप्पणी त हुन्थ्यो । तर त्यो पनि सिद्धान्तको गह्रौं र पूर्वाग्रही जाँतोको पिसाइमा पथ्र्यो । नारायणगोपालले गाएका गीत र तिनका विषयवस्तुले नेपाली समाजको घेरालाई कत्तिको फराकिलो बनायो या बनाएन ? तिनका गीतले सामाजिक मनोदशाको प्रतिनिधित्व गर्थे कि गर्दैनथे ? उनको विधा भावनासित धेर सम्बन्धित विषय हो कि सिद्धान्तसित ? मानवीय भावना सैद्धान्तिक वादभन्दा फरक भएर बाँच्न सक्छ कि सक्दैन ? नारायणगोपालको कलाकर्म कुन वादबाट अभिप्रेरित थियो ? यस्ता विषयमा अहिलेसम्म पनि विचारविमर्श भएका छैनन् । 
उसबेलादेखि नै जीवनका सबै आयामलाई सैद्धान्तिक कसीमा मात्र घोट्नेहरूको एउटा तप्काले नारायणगोपाललाई ‘बुर्जुवा’ को प्रतिनिधि गायक भनिदियो र उनको कलाकरितालाई बहसबाटै बाहिर पारिदियो । अर्कोतर्फ नारायणगोपालको निकटमै रहेको एउटा अर्को तप्का पनि थिएछ जसले कुनै बेला नारायणगोपाललाई कम्युनिस्ट नै हो पनि भन्ठान्थ्यो रे † 
‘पलेंटी’ शृंखला संयोजन गर्दा मैले नारायणगोपालको दौंतरी पुस्तासित पनि काम गर्ने अवसर पाएँ । उनका दौंतरीहरूको मुखबाट सुनेँ– नारायणगोपालले २०१५ सालको चुनावमा पुष्पलालको प्रचारमा गीत गाउँदै हिँडेका रहेछन् । त्यही आधारमा कम्युनिस्टलाई मन नपराउने उनका दौंतरीहरू उनीसित अलिक टाढिएका समेत रहेछन् । नारायणगोपालको सन्दर्भ उठ्दा एक दिन डा. राममान तृषितले आफूसित भनेको सन्दर्भ सम्झन्छु, ‘सानालाई उतिबेला कोही कोहीले कम्युनिस्ट बनेर बिग्रने भयो नै भनेकै हो ।’ राममान तृषितले भनेको ‘साना’ नारायणगोपालका केही निकनेममध्येको एउटा नाम रहेछ ।
एउटा लोकप्रिय गायकका बारेमा सार्वजनिक टिकाटिप्पणी हुनु स्वाभाविक नै हो । तर उनका निजी कुरामा टिप्पणी केन्द्रित हुँदा एउटा सफल कलाकारबाट नयाँ पुस्ताले सिक्ने धेरै सकारात्मक कुराहरू छायामा पर्ने रहेछन् । नरायणगोपालको शब्द छनोट र धुन छनोटले नेपाली आधुनिक गीत, संगीतमा एउटा उदाहरणीय मानक स्थापित गर्‍यो । उनले स्थापना गरेको त्यो मानकको चुचुरो नाघ्ने क्षमता अहिलेसम्म पनि अरू कुनै गायकमा देखिएको छैन । सायद शब्द र सङ्गीतको गहिराइ चिन्ने त्यही क्षमताले नारायणगोपाललाई सर्वमान्य गायक बनायो । सर्वमान्य शब्दले मलाई नारायणगोपालसित जोडिएका पछिल्ला केही चर्चाहरू पनि सम्झना भइरहेका छन् ।
नेपाली वाम राजनीतिका सबै धारहरूले गीत, संगीतलाई आफ्नो हितका निम्ति चलाखीपूर्वक प्रयोग गर्दै आएका छन् । प्रगतिशील अथवा जनसंस्कृतिका नाममा नेपालका कम्युनिस्ट पार्टीहरूले अहिले पनि आफ्ना सांस्कृतिक विभाग सञ्चालन गरेका छन् । तिनका सांस्कृतिक र साहित्यिक विभागले प्राज्ञहरू ‘निर्माण’ गर्ने प्रचलनसमेत बसालिसकेका छन् भन्दा फरक पर्दैन । त्यही छुट्टै नयाँ संस्कृतिको वकालत गर्ने कम्युनिस्ट पार्टीका चर्चित अगुवाहरूले समेत ती ‘बुर्जुवा’ नारायणगोपालको प्रशंसा गर्न भने चुकेका छैनन् ।
२०४६ सालको जनआन्दोलनअघि मदन भण्डारी नेपाल कम्युनिस्ट पार्टी मालेको शीर्ष नेतृत्वमा थिए । उनी गीत–संगीतमा कत्तिको गहिरो रुचि राख्थे ? राम्ररी थाहा भएन । तर हामीले सञ्चालन गरेको ‘आस्था सांगीतिक कार्यक्रम’ मा गीत सुन्न भने बागबजारको फ्रान्सेली केन्द्रमा एक दुई खेप लुसुक्क आइपुगेथे । ‘आस्था परिवार’ नामको साङ्गीतिक समूह वाम आन्दोलनमा संलग्न अघिल्लो पुस्ताका कलाकार र केही युवा कलाकारहरूको संगमले बनेको थियो । आफूहरू जीवनपरक र सार्थक सङ्गीतका पक्षधर भएको दाबी ‘आस्था’ ले गथ्र्यो । आफ्नो उद्देश्यमूलक गीति अभियानमा कम्युनिस्ट पार्टीको स्वनामधन्य नेता उपस्थित हुनुलाई कलाकारले गर्वपूर्वक हेर्ने नै भए । हामीले आफ्ना गीत सुन्न मदन भण्डारी आउने गरेको सन्दर्भलाई सकारात्मक रूपमा लियौं । त्यसको केही अन्तरालमा जनआन्दोलन भयो र बहुदल स्थापना भयो । बहुदलपछि मदन भण्डारी चर्चाको चुलीमा पुगे । एउटा साप्ताहिक पत्रिकामा मदन भण्डारीको अन्तरवार्ता छापियो । प्रश्नोत्तरको लस्करमा छापिएको एउटा वाक्यले तत्कालीन वाम कलाकारहरूमा एउटा तरङ्ग फैलायो । मदन भण्डारीले सबैभन्दा मन पर्ने गायकमा नारायणगोपालको नाम लिइदिए । त्यसले जनसंस्कृतिका नायक ठानी बसेका केही कलाकारहरूको चित्त कुँडियो । त्यो चित्त कुँडाइ ईष्र्याबाट सिर्जना भएको थियो या सिद्धान्तबाट ? अझैसम्म पनि यसै भन्न सक्दिनँ ।
२०४६ सालपछिको करिब दुई दशक सत्तालाई बन्दुकको नालबाट जन्माउने प्रयत्न भयो । बन्दुकको नालबाट जन्मने सत्तालाई मलजल र स्वागत गर्न फेरि नयाँ जनकलाकारहरूको पंक्ति तयार भयो । ती नयाँ र जोसिला जनकलाकारका कार्यक्रम हेर्न सुन्न तिनका उच्च र स्वनामधन्य नेता पनि उस्तै गरी उपस्थित भए, जसरी हाम्रा कार्यक्रममा मदन भण्डारीहरू उपस्थित हुने गर्थे । 

नयाँ क्रान्तिकारी नेताले त कार्यक्रम हेरे मात्र होइन, जनकलाको प्रभावले तिनलाई भावविह्वल बनायो । कार्यक्रम अवलोकन गर्दै हाते जालीरुमाल निकालेर तिनले आफ्ना बलिन्द्रधारा आँसु पुछे । नेताका आँसु समाचार बने । सायद नवनेताहरूले नयाँ क्रान्तिकारीहरू क्रूरमात्र होइन संवेदनशील पनि हुन्छन् भन्ने सन्देश फैलाउन चाहेथे । त्यसको अगुवाइ कामरेड प्रचण्डले गरेका थिए । प्रचण्डसित पनि एक दिन कुनै पत्रकारले उनलाई धेरै मन पर्ने कुनै गायकको नाम लिन अनुरोध गरे । उनले पनि नारायणगोपालकै नाम लिइदिए । यसपटक पनि जनसंस्कृतिमा लागेका कलाकारहरूले चित्त निकै कुँडाए रे † यो चित्त कुँडाइ पनि ईष्र्याबाट प्रेरित थियो या सिद्धान्तबाट ? फेरि पनि भन्न सक्दिनँ ।
गत वर्षको एउटा लिट्रेचर फेस्टिबलमा यो विषय पुन छलफलमा आयो । यही सन्दर्भमा मेरा अग्रज सङ्गीतकार रामेशले त नेताहरू पथभ्रष्ट भएकाले तिनमा विचलन आएकोले त्यस्तो भएको हो, भनिदिए । छलफलमा सहभागी मैले भने आफ्नो धारणा फरक तरिकाले राख्न चाहेँ । नारायणगोपाललाई मन पराएकै कारणले मदन भण्डारी वा प्रचण्ड विचलित भएको भन्ने सैद्धान्तिक गहिराइ मजस्तो सामान्य कलाकारमा हुने पनि भएन । मलाई त लाग्छ– मनलाई सधैँ सिद्धान्तले डोहोर्‍याइरहन सक्दैन रहेछ । समाजमा राजनीतिक परिवर्तनका लागि अनेकखाले विद्रोह हुन्छन् । विद्रोहको उत्कर्ष एकजुगमा एकचोटि आउने कुरा हो । एक जुगमा एकचोटि आउने कुरालाई मनले हरबखत बोकिरहन सम्भव हुँदैन रहेछ । त्यही भएर सायद विद्रोही मदन र प्रचण्डका मनले पनि नारायणगोपालको भावनाप्रधान अभिव्यक्तिलाई रुचाए हुन् । मैले अझ प्रस्ट भन्न चाहें– नेताहरूले नारायणगोपाल मन पराए भनेर जनसंस्कृतिमा लाग्नेहरूले चित्त दुखाउने होइन † बरु आफ्नो कलाकारिताको प्रभावकारी शैलीबारे मूल्यांकन पो थाल्नुपर्‍यो 
त † किन नारायणगोपालको जस्तो प्रभावकारी भएन जनसंस्कृतिको आलाप ? त्यता पो सोच्ने हो त †
म त आजसम्म पनि मानवीय भावनाको उचाइ सिद्धान्तभन्दा अग्लो हुन्छ र मान्छेको भावना सिद्धान्तबाट मात्र निर्देशित हुँदैन भन्ने ठान्छु । नारायणगोपालले अँगालेको अभिव्यक्ति शैलीमा त्यही मानवीय भावनाको आयाम झल्कन्थ्यो । झल्किरहेछ । मानवीय भावनाको आयाम मनको गहिराइको जगमा उभिएको हुन्छ जस्तो लाग्छ । त्यसैले मनको कुरा सर्वकालिक हुन्छ । नारायणगोपाल मन केन्द्रित कलाकार थिए । त्यसैले तिनी सामयिक र सान्दर्भिक भएर बाँचेका छन् । 
हिजोआज नेपाली डायस्पोराको निकै चर्चा हुने गर्छ र त्यसलाई निकै नौलो डिस्कोर्स सुरु गरिएझैँ पनि ठानिन्छ । तर नारायणगोपालले नेपाली सङ्गीतको डायस्पोरालाई उहिले नै सम्बोधन गरेका हुन् । नारायणगोपाल नभइदिएका भए आसामको डिब्रुगढमा जन्मेका हरिभक्त कटुवाल नेपाली मूल प्रवाहको गीति साहित्यमा स्थापित हुन्थे हुँदैनथे ? भन्न गाह्रो छ । दार्जिलिङको साङ्गीतिक धारलाई नेपालतिर आकर्षित गर्न पनि नारायणगोपालकै प्रभावशाली साङ्गीतिक व्यक्तित्वले सहज बनाएको हो भन्ने प्रशस्त आधार छन् । यो अर्थमा पनि नारायणगोपालको कलाकारिता सामयिक र सान्दर्भिक देखिन्छ ।
अस्तिको एक साँझ डिल्लीबजारबाट मैतीदेवीतर्फ लम्कँदै गरेको हुन्छु । एउटा पसलमा केही युवाहरू गीतार बजाउँदै नारायणगोपालकै गीत गाउँदै गरेका देख्छु । सुन्छु । नारायणगोपाललाई यसरी निरन्तर बचाउने तिनका भावनात्मक सिर्जनाको प्रभाव त छँदैछ । त्यसबाहेक उनलाई बचाउने उनका अरू थप कुरा पनि छन् । कलाप्रतिको उनको महान् समर्पण † जीवनभर तिनले कला साधना त गरे नै । जीवनपश्चात् पनि आफ्ना साङ्गीतिक सपनाहरू साँची राखेर गए । साँच्चै नारायणगोपालले कथित जनवादीहरूले भन्दा कैयौं ठूलो उदाहरण व्यवहारमा प्रदर्शन गरेर गएका छन् । तर तिनको त्यो पाटो अलिक छायामा परिरहेको छ । हुन त भौतिक लोभ र छलकपटले ग्रस्त समाजमा तिनको उदाहरणीय दानीपन छायामा पर्नु अस्वाभाविक पनि होइन । 
तिनले आफ्नो निवासमा आफ्नो अनुपस्थितिको अवस्थामा पनि युगौंसम्म अर्केस्ट्रा गुन्जिरहोस् भन्ने परिकल्पना गरे । त्यो कल्पना साकार पार्न आफ्नो सारा सम्पत्ति ट्रस्टको अधीनमा जाओस् र एउटा ‘गीत–गंगा’ बगिरहोस् भन्ने इच्छा राखे । पेमलाले आफ्नो सारा मनोबल लगाएर नारायणगोपालको इच्छालाई व्यवहारमा ल्याउने प्रयत्न गरिन् । नारायणगोपाल र आफूले जम्मा गरेको सम्पूर्ण निजी सम्पत्ति ट्रस्टको जिम्मा लगाइन् । समयले पेमलालाई नारायणगोपालको सिङ्गो सपना पूरा गर्ने मौका भने दिएन । ‘गीत–गंगा’ को गुञ्जन सुन्ने उत्कट इच्छा गर्दागर्दै नारायणगोपालकी अद्वितीय प्रशंसकले पनि संसारबाट बिदा लिइन् । तर अझै पनि नारायणगोपाललाई हरेक दिन सुन्ने र मन पराउने प्रशंसकको लस्कर छ । जसमा स्वनामधन्य नेतादेखि सर्वसाधारणसम्म सम्मिलित छन् । थोरैमा वर्षको एक दिन नै भए पनि नारायणगोपाललाई सम्झनेहरूको कुनै खाँचो छैन । तर लाग्छ, नारायणगोपालको सपनालाई माया गरी सुमसुम्याइदिने र सफल पारिदिने भने खास कोही छैन । 
नारायणगोपालको अवसानकै समयतिर हो काठमाडौंमा मेलम्चीको चर्चा भएको । त्यो नदी सन्त नेता कृष्णप्रसाद भट्टराईको मुखारविन्दबाट चर्चामा आएथ्यो । बूढाले मेलम्चीको पानीले काठमाडौंको सडक सफा गरेर यो सहरलाई सिंगापुर बनाउन सकिन्छ भनिदिएथे । खासमा कृष्णप्रसाद भट्टराईले असम्भव सपना देखेका थिएनन् । तर उनको सपनालाई सुरुमा त हामी धेरैले हावैहावामा उडाइदियौ । राज्यले पनि मेलम्चीप्रति बारम्बार अड्चनको बाटो अवलम्बन गरेर आइकनिक नारायणगोपालको सपनालाई जस्तै बेवास्ता गरिरह्यो । 
मेलम्ची र नारायणगोपालप्रतिको बेवास्ताको त्यो सिलसिला अझै पनि जारी छ । सायद राज्यको यही उदासीनता देखेर होला मैले नारायणगोपालमा मेलम्ची र मेलम्चीमा नारायणगोपाल अनुभूत गर्न पुगेछु । थाहै छ, मेलम्ची यता भित्रिए पनि उतै बग्दै रहे पनि पानीको गतिशील स्वभावमा कुनै परिवर्तन आउने छैन । आशा छ, नारायणगोपालका गीतले फैलाउने मानवीय भावमा पनि उस्तै निरन्तरता रहिरहनेछ ।

प्रकाशित : पुस ११, २०७२ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?