२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घिउको जुल्पी

सफासफुस भन्छन् । अचेलको पुस त त्यसरी नै जान्छ जस्तो पनि लाग्छ । तर ती पुस भने कहिल्यै फासफुस भएनन् । न सजिलै आए, गए । एक वर्ष पर्खेपछि मात्र आउँथ्यो पुस त्यतिबेला । पुस पन्ध्र खाजा खाने दिनका रूपमा विशेष थियो हाम्रा लागि ।

घिउको जुल्पी

अचेल पुस आधाआधीमा निकै पर्व मनाइन्छन्– तमु ल्होसार, मगर समुदायको पर्व, डोटेली संस्कृतिको ठूली रात अनि क्रिसमड डे, ह्याप्पी न्यू इयरको तयारी आदि । तर, पहाडी जिल्ला गुल्मीको एउटा कुनामा, त्यो पनि २५–२६ वर्षअघि गााउँमै आफ्नै चाडबाहेक अरू के थाहा † प्राय: सधैं मकैको आटो खानुपर्ने हाम्रा लागि भात र अरू धेरै परिकार खान पाउने विशेष दिन थियो पुस १५ त्यो पनि आफूहरूले नै पकाएर । साथीभाइसँग एकै दिनमा दुई–तीनथरी खानेकुरा पकाएर खान पाउँदा दंग पथ्र्यौं हामीहरू । यसका लागि तिहारमा देउसी–भैलो खेलेर जम्मा गरेको पैसामा केही थप गरिन्थ्यो । घरमा भएका सामान बरावर लगिन्थ्यो । तिनै पुस १५ मध्ये २०४६ सालको घटना अझै सम्झन्छु । कक्षा ५ मा पढ्थें । विगतका वर्षहरूभन्दा त्यसपटकको पुस १५ विशेष हुँदै थियो त्यो वर्ष । कारण– अरू वर्ष खीर पकाउँथ्यौं भने त्यो वर्ष जुल्पी (जेरी) पकाउने योजना थियो । 
अहिलेजस्तो गाडी चल्दैनथ्यो । फोन र टीभीको त नाम पनि सुनिँदैनथ्यो । ढिके नुन खाने चलन थियो । मैदा र चिनी भने गाउँमै पाइन्थ्यो । हामीले आवश्यक सामान अघिल्लो दिन नै किनेर ल्याएका थियौं । चामल, दाल, तरकारी, दूध तथा पकाउन चाहिने ओदान, भड्डु (कसौडी), कराई आ–आफ्ना घरबाटै लैजाँदै थियौं । अघिल्लो साँझ आमाले मैदा मुछिदिनुभयो । पकाउने तरिका पनि बताइदिनुभयो, किनकि हामीले त्यसअघि जेरी पकाएका थिएनौं । चास्नी बनाउदा घिउ हालेर चिनी पकाउँदा राम्रो हुने सुझाव थियो आमाको । वास्तवमा, जुल्पी पकाउने तयारीले म यति उत्साही थिएँ कि अघिल्लो दिन राति अबेर सुतेको म भोलिपल्ट ३ बजेतिरै उठेको थिएँ । निदाउन खोजे पनि कोल्टे फेर्दाफेर्दै उज्यालो भयो । 
चिसो अत्यधिक थियो । आवश्यक सामान डोकोमा बोकेर आठ बजेतिर लाग्यौं बनाउने स्थल खेततिर । केटाहरू र केटीहरूले अलगअलग खाने भएकाले हाम्रो समूहमा अधिकांश दाइभाइ थियौं । ठाउँ तोक्दा धान काटेर बुटी बाँकी भएका बाँझा खेतहरू रोजिन्थे । हामी घरबाट केही टाढा पानीको सुविधा भएको भीमलाल दाइको खेतमा गयौं त्यसपटक । दाउरा खोज्ने, पानी ल्याउने, चुलो बनाउने, पकाउने काम पिकनिकमा जस्तै पालैपालो गरियो । बिहान गएर खाजा बनाएर खायौं, चिसोले हात खुट्टा कठ्यांग्रिएका थिए, फुटेका खुट्टालाई चप्पलले के छेक्थ्यो र ? जुत्ता कसैको खुट्टामा थिएन । 
दिउँसो १ बजेतिर खीर र तरकारी खायौं । त्यसपछि सुरु भयो जुल्पी पकाउने पालो । त्यसअघि कसैले नपकाएकाले म नै अघि सरें । अघाउन्जेल आफूले खाएर रहेको घरमा पनि लगिदिने योजना थियो हाम्रो । आमाले भनेबमोजिम सुरुमा चास्नी बनाउनुपथ्र्यो । त्यसका लागि एक किलो जति घिउ कराइमा राखेर पगालियो । अर्को चुलोमा कराईमा तेल तताएर ठिक्क पारिएको थियो । जुल्पी घुमाउन प्वाल पारेको कपडाको रुमालमा गिलो मैदा तयारी अवस्थामा थियो ।
घिउ पग्लेपछि एक किलो चिनी राख्यौं । पग्लेको घिउमा पूरै चिनी डुबेन । तैपनि चलाउँदै गर्दा भिज्न त भिज्यो तर पसलमा देखेजस्तो चास्नी भएन । सबैले मैतिर हेरिहरेका थिए । म भने घिउमा चिनी घोटिरहेको थिए । जति डाडु घुमाए पनि चास्नी झोल भएन । बरु डढेर रातो हुँदै गयो । म छटपटिएँ, मध्यपुसको जाडोमा पनि मलाई चिढचिढ्ती पसिना आयो । म न रुन सकें न हाँस्न नै । के गर्ने भन्ने ‘आइडिया’ कसैलाई भएन । केही उपाय नलागेपछि बाक्लो र रातो लेदो चास्नी झिकेर कसौंडीमा खन्याइयो । 
आजजस्तो भए तत्कालै मोबाइल फोनबाट सोध्न सकिन्थ्यो । घरबाट टाढा भएकाले जाने/आउने गर्न पनि सकिएन । अब जुल्पी पकाउन सुरु भयो । जुल्पी त पाक्यो । घुम्यो पनि । तर कराईबाट निकालेपछि कसौंडीको चास्नीमा डुबेन । घुमाउन त घुमाइयो तर रस पसेन । जुल्पीमा रस नपसेपछि हामी सबैको खुसी पनि उड्यो । सबैले मैलाई गाली गर्न थाले । ‘नजानेको भए भन्नुपथ्र्यो,’ सबै मतिर खनिए । मेरो रिसको पारो तात्यो । सबै आमाले गर्दा भएको भनेर मनमनै उठ्नुसम्म रिस उठ्यो । मैले आमालाई दोषी देखाएँ । तर उम्किने ठाउँ थिएन । जुल्पी पकाउने जिन्दगीको पहिलो मौका त्यसै खेर गयो । चास्नीका नाममा घिउ र चिनीको लेदोमा जुल्पी नडुवेपछि बाहिरबाट लेदो राखेर खाने उपाय निकालियो । तर सोचेजस्तो भएन, त्यो पनि तीतो पो भएछ । घीउमा चिनी डढेपछि तीतो त हुने नै भयो । 
सबै सपना भताभुंग भएपछि साँझ पाँच बजेतिर हामी घरतिर लाग्यौं । म रिसले मुर्मुरिंदै घरतिर दगुरें । कतिखेर घर पुगेर आमाका अगाडि चास्नीको लेदो र मुछेको मैदा खन्याइदिऊँ भएको थियो । साँझपख सिरेटो चलेको भए पनि मलाई जाडोप्रति वास्तै थिएन । सरासर घर गएर आमाको छेउमा रिसले डोको घोप्ट्याइदिएँ, सबै भुइँभरि । अनि, घिउमा चिनी हाल्न भनेकाले सबै बिग्रियो भन्दै रोएँ । आमा त उल्टो घिउ मिसाउन पो पठाएको भन्दै हाँस्नुभयो । तर त्यो जवाफले मेरो आँसु रोकिएन, सुँक्कसुँक्क गरिरहें । आमाले सम्झाउँदै भन्नुभयो, ‘चास्नीका लागि पानी उमालेर चिनी हाल्नुपथ्र्यो र त्यसमा घिउ मिसाउँदा मीठो र नरम हुुन्थ्यो ।’ उहाँले भोलि आफैंले जुल्पी पकाइदिने आश्वासन दिनुभयो । आमाले कत्ति फकाउँदा पनि म सन्तुष्ट भइनँ । त्यो साँझ भोकै सुतें ।्

 

 

प्रकाशित : पुस ११, २०७२ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?