कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवकाशपछि महामहिम

भारतको नाकाबन्दीका कारण आम जनताले ग्यास र पेट्रोलको अभावमा कष्टकर जीवनयापन गरिरहँदा त्यसको असर पूर्वराष्ट्रप्रमुखलाई समेत पर्नु अस्वाभाविक छैन ।
जगत नेपाल

काठमाडौं — दुई महिनाअघि कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहणको केही घन्टामै राष्ट्रपति भवन शीतलनिवासमा देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवको बिदाइ समारोह आयोजना भइरहेको थियो ।

अवकाशपछि महामहिम

गणतन्त्र बहालीपछिका ऐतिहासिक मोडमा सात वर्षभन्दा बढी समय राष्ट्रप्रमुखको हैसियतमा सितलनिवासमा रहेका यादव अन्तिम दिन बिदाइ समारोहमा भावुक भएको दृष्य टेलिभिजन च्यानलले प्रसारण गरे । उच्च सम्मानका साथ रिसल्ला र कार्गेर्ेटमा प्रथम राष्ट्रप्रमुखलाई सरकारले उनका लागि व्यवस्था गरेको वागडोलस्थित निवासमा पुर्‍याइयो । 

यादव नयाँ निवासमा पुग्दा सामानहरू असरल्ल थिए । घरमा रंग लगाउने, बिजुलीको तार तान्ने, सरसफाइ गर्ने काम जोडतोडले भइरहेको थियो । घरका भित्ता ड्रिल गर्दा आउने अर्को आवाजले शान्ति भंग भइरहेको थियो । मूलगेटबाट छिर्नेबित्तिकै माथि टाउकैमाथि बडेमानको डरलाग्दो हाइटेन्सन लाइन छ । जसमा नौवटा मोटा तार लत्रिएका छन् । हाइटेन्सनको मापदण्डविपरीत बनेको भन्दै विद्युत प्राधिकरणले बत्ती दिएको छैन । 
अतिविशिष्ट व्यक्तिको आवासका लागि अवैधानिक घर किन खोजेको भन्दै सेनाका उच्च अधिकारीले मातहतका सैनिक अधिकारीको सातो खाए । तिमीहरूले के हेरेर यस्तो घर फाइनल गरेको ? राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई यस्तो घरमा राख्न कुनै पनि दृष्टिले उपयुक्त छैन । घर खोज्ने काममा संलग्न राष्ट्रपति कार्यालयका कर्मचारी र तल्लो सैनिक अधिकृतहरू नाजवाफ भए । केहीबेर सन्नाटा छायो । कोही बोलेन । 
साँघुरो बाटो, बिजुलीको हाइटेन्सन र कम्पाउन्ड वाल नभएका कारण सुरक्षाका दृष्टिले पनि यादवलाई त्यस घरमा राख्न हँुदैन भन्ने उच्च सैनिक अधिकारीहरूको निष्कर्ष थियो । तर, शीतलनिवासबाट सरिसकेपछि अर्को विकल्प थिएन । 
हुन त हाल उनी बसेको घरकै छेउमा छोरी अनिताको घर छ । तर त्यसको पनि एउटा तल्लामा भूकम्पले क्षति पुगेकाले बस्न मिल्ने अवस्थामा छैन ।
अर्कोतर्फ त्यही बेला आफ्नो घर हँुदाहँुदै राष्ट्रपति यादवका लागि सरकारले मासिक महँगो भाडाका घर खोजेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको थियो । सुरक्षाका दृष्टिले त्यो घरमा बस्न मिल्ने अवस्था छैन । यता नयाँ निवासमा भित्र छिर्न नपाउँदै आइपरेको संकट कसरी दूर गर्ने ? कोही बोल्न सक्ने कुरा भएन । अन्तमा यादव आफैंले भने ‘भइहाल्यो अब यस्तो कुरा गर्नु उपयुक्त छैन । सरकारले दिएको ठाउँमा म बस्नुपर्छ । यही घरमा बस्छु, कहीं जान्नँ ।’ 
निवर्तमान राष्ट्रपति यादव नयाँ घरमा छिरे । यादवका फोटोग्राफर किरण पन्थ त्यो दिनको घटना सम्झँदै भन्छन्, ‘घरमा बत्ती जडान गरेको छैन । प्लास्टिकको कुर्सीबाहेक बस्ने ठाउँ छैन । डेढ घन्टा प्लास्टिकको कुर्सीमा बसेपछि मात्र बल्ल उहाँको बेडरुममा पलंग तयार भयो । अझै कार्पेटिङ भएको थिएन । जताततै समानको थुप्रै थुप्रो मात्र देखिन्थ्यो ।’ 
सरेको पहिलो रात मैनबत्तीको भर पर्नुपर्‍यो । सेना र भवन विभागका कर्मचारीले रातदिन खटेर भोलिपल्ट कार्पेटिङ गरे । नजिकैको घरबाट बिजुलीको लाइन तानियो । अमेरिकामा बस्दै आएका घरधनी रवि विष्टकी आमाको त्यो घरबाट तानिएको बिजुली पनि भरपर्दो छैन । सरेको तीन चार दिनपछि नै बिजुलीको गडबडले यादव निवासका कम्प्युटर र एसी सट भए । 
यादव सरेको तीन चार दिनसम्म सेना र भवन विभागका कर्मचारीले तीव्र रफ्तारमा मर्मत र पूर्वराष्ट्रप्रमुखका लागि आवश्यक पर्ने सामानको बन्दोबस्त गर्ने काम जारी राखे । त्यसपछि भने सरकारले पूर्वविशिष्टलाई दिने सुविधाको टुंगो नलगाएको भन्दै उनीहरू फर्किए । त्यसको एक सातापछि भवन विभागका एक उच्च अधिकारी यादवलाई भेट्न पुगेका थिए । उनी फर्किएपछि यो दुई महिनामा सुरक्षामा खटिएको सेनाबाहेक सरकारका कुनै अधिकारी यादव निवास पुगेका छैनन् ।
यादव सरेको पाँचौं दिन कात्तिक १७ गते म पहिलोपटक वागडोल पुगेको थिएँ । बाहिर आँगनमा राखिएको सेतो प्लास्टिकको कुर्सीमा बसेर हामीले झन्डै एक घन्टा कुरा गर्‍यौं । यादवले भने, ‘सौभाग्यबस मैले राष्ट्रको सर्वोच्च पदमा पुग्ने अवसर पाएँ । अब राष्ट्रिय एकता बलियो बनाउने, हिमाल, पहाड, तराई जोड्ने खालका सामाजिक काममा जीवनको बाँकी समय लगाउने सोचाइ छ ।’ 
आफूलाई भेट्न आउने शुभचिन्तकसँग यादव स्वास्थ्य, शिक्षा, वातावरण त्यसमा पनि खासगरी उनको चाहनामा सरकारले सुरु गरेको चुरे संरक्षणका लागि कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमै सल्लाह लिने गर्छन् । 
भारतको नाकाबन्दीका कारण आम जनताले ग्यास र पेट्रोलको अभावमा कष्टकर जीवनयापन गरिरहँदा त्यसको असर पूर्वराष्ट्रप्रमुखलाई समेत पर्नु अस्वाभाविक छैन । बिजुली नियमित छैन । तेलको अभावमा जेनेरेटर चलाउन सकिएको छैन । जसका कारण यादवको नियमित भेटघाटको कार्यक्रम पनि प्रभावित हुन पुगेको छ । 
बिहान ८.३० बजे केही मानिस भेट्ने । ११ देखि १२ बजे बीचमा खाना खाने । अनि एक डेढ घन्टा आराम गर्ने र दिउँसो एक साढे १ बजेदेखि बेलुका साढे तीन बजेसम्म मानिस भेट्ने उनको दैनिकी छ । कांग्रेस महामन्त्री हुँदै मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको भूमिकामा पुगेका यादवमा पहिला मधुमेहको समस्या थियो । राष्ट्रपति भएपछि नियमित र अनुशासित व्यायाम तथा खानपानको नियन्त्रणबाट मधुमेहको समस्या उनले दूर गरेका हुन् । 
सरकारले मासिक १ लाख ३० हजार तिर्ने गरी यो घर भाडामा लिएको छ । डाइनिङ र ठूलो हल भए पनि कोठा भने कम छन् । सुरक्षाका लागि खटिएका तीन दर्जन सैनिकलाई बस्ने ठाउँ छैन । उनीहरू टेन्टमा गुजारा चलाइरहेका छन् । सेनाले खटाएका भान्सेबाहेक उनको निजी सचिवालय बनेको छैन । 
पूर्वराष्ट्रपतिको भूमिकामा आएपछि उनी केही सामाजिक कार्यक्रम र संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको पुस्तक विमोचनबाहेक अरू कार्यक्रममा खासै सहभागी भएका छैनन् । 
यादवलाई अहिले अस्थायी प्रबन्धअन्तर्गत राखिएको हो । तर पूर्वराष्ट्रप्रमुखलाई राख्नका निमित्त कुनै दृष्टिले यो घर उपयुक्त देखिँदैन । भौतिकशास्त्रका प्राध्यापक शेखर गुरुङ भन्छन्, ‘हाइटेन्सन नजिक दुर्घटनाको जोखिम हुने भएकाले नै घर बनाउन नपाइने कानुन विश्वभर बनाइएको पाइन्छ । हाइटेन्सन लाइनमा तीव्रगतिमा पास हुने रेडियसनले मानिसको स्वास्थ्यमा नराम्रो असर गर्छ ।’ 
हुन त अहिलेको अर्को व्यवस्था नहुन्जेलका लागि पूर्वराष्ट्रपति यादवलाई त्यो आवास उपलब्ध गराइएको हो । उनी निवृत्त हुनुभन्दा दुई साताअघि शीतलनिवासले पूर्वराष्ट्रपतिका लागि उपयुक्त, व्यवस्था गर्न सरकारलाई अवधारणा पत्र पठाएको थियो । 
त्यतिबेला सरकारसँग यादवले काभ्रे, भक्तपुर वा भैंसेपार्टीतिर कटेज स्टाइलको कम्पाउन्ड र गार्डेनसहितको सानो घर आफ्ना लागि उपयुक्त हुने सल्लाह दिएको समाचार सार्वजनिक भएको थियो । यो अस्थायी आवासबाट स्थायीमा सर्दा सायद उनको इच्छा पूरा होला कि †

 

 

प्रकाशित : पुस ११, २०७२ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?