कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रशिक्षक ‘पोलिटिक्स’

विनोद पाण्डे

काठमाडौं — जर्मन बुन्डेस लिगामा बार्यन म्युनिखको ८ अंकको अग्रता छ । सिजनको सुरुआती प्रभावलाई बार्यनले वर्षको अन्तसम्म पुर्‍याइसकेको छ । पेप ग्वार्डियोलाको बार्यन लगातार तेस्रो लिग उपाधि नजिक छ । स्पेनिस लिगपछि जर्मन लिगलाई विश्वको उत्कृष्ट मानिन्छ ।

प्रशिक्षक ‘पोलिटिक्स’

त्यसका बाबजुद बार्यनले बुन्डेस लिगा नजितेमा अचम्म नै मान्नुपर्ने हुन्छ । 
तर ग्वार्डियोला सिजन समाप्तपश्चात् बार्यन छाड्दै छन् । लगातार तेस्रो लिग उपाधि दिलाए पनि उनी बायर्नमा हुने छैनन् । ग्वार्डियोलाको बायर्नसँगको सम्झौता यस सिजनपछि समाप्त हँुदै थियो । ग्वार्डियोलाको म्युनिखमै बस्ने चाहना थियो होला । हुन त उनले त्यो खुलस्त पारेनन् । यस मामिलामा मैदानबाहिर उनी आफ्नो स्वभावझैं मौन नै बसे । 
ग्वार्डियोलाले लगातार तीन उपाधि जिताए पनि त्यो बायर्नका लागि पर्याप्त नहुने भयो । विश्व क्लब फुटबलमा नम्बर एक बन्ने लक्ष्यमा बायर्न अगाडि बढिरहेको छ । युरोपियन च्याम्पियन्स लिग बायर्नले ५ पटक जितिसकेको छ । युरोपको यो प्रमुख प्रतियोगिता सर्वाधिक जित्ने सूचीमा लिभरपुलसँगैं बायर्न तेस्रो स्थानमा छ । ग्वार्डियोलाबाट बायर्नले यही आशा गरेको थियो । जुन स्पेनिस प्रशिक्षकले बायर्नलाई दिलाउन सकेका छैनन् । 
बायर्न पनि ग्वार्डियोलाको स्वभावजस्तै उनको सम्झौता नवीकरण गर्ने विषयमा मौन बस्यो । बायर्नको त्यसको अर्थ हामी सम्झौता लम्बाउँदैनौं भन्ने पनि थियो । बायर्नमा आफ्नो सम्झौता सकिने अन्तिम अवस्थामा ग्वार्डियोलाले निर्णय गरिहाले, ‘सिजन समाप्तपश्चात् म बायर्न छाड्नेछु ।’ यसले बायर्नलाई केही झस्कायो होला । तर बायर्नले यसको विकल्प तयार पारिसकेको थियो । 
इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी बायर्नका नयाँ उत्तराधिकारी भए । एन्सेलोटी तिनै हुन् जसले अक्टोबरमा मात्र बार्यनको खेल शैलीको आलोचना गरेका थिए । ‘बायर्नले खल्तीमा हात राखेर खेले पनि बुन्डेस लिगा जित्छ । त्यहाँ कुनै प्रतिस्पर्धा नै छैन, त्यसैले बार्यनको खेलमा म रमाउन सक्दिनँ ।’ यिनै एन्सेलोटीले बायर्नलाई अब एलियान्ज एरिनामा ओलार्ने छन् । खल्तीमा हात राखेर खेलाएरै एन्सेलोटीले बायर्नलाई जर्मन लिग च्याम्पियन बनाए पनि त्यसले नपुग्ने उनले आफ्नो नियुक्तिमै पक्कै बुझिसकेका छन् होला । 
आफ्नो प्रशिक्षण र व्यवस्थापकीय जीवनमा बायर्न एन्सेलोटीको पछिल्लो क्लब हो । यसअघि उनले युभेन्ट्स, एसी मिलान, चेल्सी, पेरिस सेन्ट जेर्मेन र रियल म्याड्रिडजस्ता क्लबको प्रशिक्षक थिए । उनले रियललाई २०१४ मा च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । मिलानलाई यसअघि नै उनले यो उपाधि दिलाइसकेका थिए । च्याम्पियन्स लिग ३ पटक जित्ने केवल दोस्रो प्रशिक्षक भएर उनले 
आफ्नो नाम कीर्तिमानी पानामा लेखाएका थिए । रियललाई कीर्तिमानी दसौंपटक च्याम्पियन्स लिग जिताएको अर्को वर्ष उनलाई क्लबले बर्खास्त गरेको थियो । 
फुटबलमा प्रशिक्षकलाई जति तनाव सायदै अरूलाई हुन्छ । १–२ खेलमै अप्रत्यासित पराजय भोग्दा पनि प्रशिक्षक अर्को केही वर्षलाई बेरोजगार स्थिति हुन आउँछ । प्रशिक्षक पेसा त्यसै पनि अपजसी कार्य हो । टिमले राम्रो खेल्दा जहिले पनि खेलाडी अगाडि देखिन्छन् । हारेमा प्रशिक्षकले त्यसको सबै दोष बेहोर्नुपर्नेछ । युरोपेली क्लब फुटबलमा अहिले मालिकहरूले ठूलो लगानी गरेका छन् । यो सँगै उनीहरूको महत्त्वाकांक्षा पनि बढ्दो छ । यसको चेपुवामा परेका छन् प्रशिक्षकहरू । क्लब मालिकहरूले च्याम्यिन्स लिग वा त्यो देशको लिग कुनै एक टोलीले मात्र जित्न सक्ने यथार्थ बुझेर पनि आफ्ना प्रशिक्षकहरूमाथि अनावश्यक दबाब थुपार्ने गरेका छन् । 
प्रशिक्षक वा व्यस्थापक जीवनमा कति चाँडो उतार चढाव आउँछ भन्ने एउटा राम्रो उदाहरण लुइस इनरिकी पनि हुन सक्छन् । इनरिकीको सुरुआती वर्ष २०१४–१५ मा बार्सिलोनाले सबै प्रतियोगितामा गरी २५ खेल्दा १९ जितेको थियो । बार्सिलोनाजस्तो टोलीका लागि त्यो प्रदर्शन पनि पर्याप्त थिएन । त्यसैले ४ हार र २ बराबरीमा बार्सिलोनाका प्रमुख अधिकारीहरूको ध्यान जाँदा इनरिकी बर्खास्तीको संघारमा पुगेका थिए । यो यसै वर्षको जनवरीतिरको प्रसङ्ग थियो । 
विश्वकपमा विपक्षी खेलाडीलाई टोकेको कारण उरुग्वेली स्ट्राइकर लुइस स्वारेज प्रतिबन्धमा थिए । त्यही प्रतिबन्धका बाबजुद बार्सिलानाले उनलाई ८ करोड युरोमा किनेको थियो । प्रतिबन्ध फुकुवा भएपछि आएका स्वारेजले १२ खेलमा ३ गोलमात्र गर्न सकेका थिए । लिभरपुलमा उनले जुन प्रदर्शन देखाएका थिए त्योअनुसार बार्सिलोनामा स्वारेजले निकै कमजोर सुरुआत गरेका थिए । बार्सिलोनाले विजयको क्रमलाई निरन्तरता नदिनुको यो एउटा कारण पनि थियो । 
मध्यम प्रदर्शनका लागि बार्सिलोनाले इनरिकीलाई अन्तिम विकल्प दिएको थियो । बाँकी सबै इतिहास बन्यो । बार्सिलोनाले खेलेको ६ मध्ये ५ उपाधि जित्यो । स्पेनिस लिग, च्याम्पियन्स लिगको उपाधिमा फिफा क्लब विश्वकप पनि थप्यो । सुपर स्टार लियोनेल मेसी घाइते हुँदा पनि बार्सिलोनाको गोलको थुप्रो रोकिएनन् । नेयमार र स्वारेजले मेसीको अनुपस्थितिलाई नै बिर्साइदिए । बार्सिलोनालाई वर्षको पाँचौं उपाधि दिलाउँदा स्वारेजले क्लब विश्वकपको २ खेलमा ५ गोल गरे । त्यही पनि ग्वार्डियोलाभन्दा महान् होइनन् इनरिकी । ग्वार्डियोलाले २००९ मा बार्सिलोनालाई खेलेको सबै ६ उपाधि दिलाएका थिए । 
इनरिकी बार्सिलोनाका महान् खेलाडी हुन् । तर प्रशिक्षणमा आएको धेरै भएको छैन । उनी ४ वर्षअगाडि बार्सिलोनाको बी टिमलाई हेर्दै थिए । त्यसपछि उनी २०११ मा इटाली गए । एएस रोमा उनको नयाँ गन्तव्य थियो । उनी २ वर्षलाई रोमा सम्हाल्ने सम्झौतासहित गएका थिए । रोमा युरोपियन प्रतियोगितामै छनोट हुन सकेन । उनीसँग क्लब छाडनुको विकल्प रहेन । स्पेन फर्किएर उनले २०१३ मा सेल्टा भिगो सम्हाले । त्यही एक सिजन उनले त्यो क्लब हेरे । सेल्टा नवौं स्थानमा रह्यो । सेल्टाले बार्सिलोनाको प्रमुख प्रतिद्वन्द्वी रियललाई लिगमा २–० ले पराजित गरेको थियो । ‘आफ्नो प्रडक्ट’ बाहेक इनरिकीसँग बार्सिलोना प्रभावित लिनुको कारण यो पनि थियो । 
६ महिनाअगाडि मात्र पनि जोसे मोउरिन्होले त के विश्व फुटबलमा धेरै कमले यो दिन आउला भनेर सोचेका थिए होलान् । मेमा मोउरिन्होले चेल्सीलाई इङ्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । चेल्सीबाट पोर्चुगिज व्यवस्थापकको यो तेस्रो प्रिमियर लिग उपाधि थियो । सिजनको सुरुआतदेखि नै चेल्सीले लय समात्न सकेन । त्यो अहिलेसम्म जारी छ । चेल्सी अहिले रेलिगेसन क्षेत्रभन्दा धेरै टाढा छैन । अन्तत: चेल्सीले बाध्य भएर मोउरिन्होलाई बर्खास्त गर्न बाध्य भयो । माउरिन्हो यस्ता व्यवस्थापक हुन् जसलाई चेल्सीले कमजोर प्रदर्शनका बाबजुद पनि बोर्ड बैठकबाटै पूरा विश्वास प्रदान गरेको थियो । त्यसले पनि चेल्सीको प्रदर्शन माथि उठ्न सकेन । 
मोउरिन्होको स्थानमा चेल्सीले फेरि गुस हिडिङ्कलाई अन्तरिम व्यवस्थापकको जिम्मेवारी दियो । मोउरिन्होको बाहिर्गमन र हिडिङ्कको आगमनको क्रममा चेल्सी नेतृत्वविहीन थियो । यही बिन्दुमा चेल्सीले सन्डरल्यान्डलाई प्रिमियर लिगमा पराजित गरेर रेलिगेसन क्षेत्रमा जानबाट रोकिएको थियो । चेल्सीका समर्थकले त्यहाँ पनि मोउरिन्होप्रति उर्लिदो सम्मान देखाउनुका साथै आफ्नै खेलाडीको आलोचना गरे । ‘थ्री र्‍याट्स’ भनेर डिएगो कोस्टा, सेस फाब्रिगास र इडिन हाजार्डप्रति खनिए । उनीहरूलाई मोउरिन्होले सहयोग नगरेको भनेर आलोचना गरे । ती समर्थकको भनाइमा यी तीन खेलाडीले मुसा बनेर आफ्नै घर प्वाल पारेका थिए । चेल्सीमा मोउरिन्होको यो दोस्रो कार्यकाल थियो । त्यहाँ पनि उनी परिचित रहे । यही कारण कम्तीमा अहिलेका चेल्सीका प्रशंसकले मोउरिन्होलाई बिर्सने छैनन् । 
ठूलो खर्च गरेको म्यानचेस्टर सिटीको प्रदर्शन पनि उस्तै छ । स्थिर प्रदर्शन गर्न नसक्दा सिटी तेस्रो स्थानमा झरिसकेको छ । प्रिमियर लिगमा सिटीको यही प्रदर्शनले निरन्तरता पाएमा र च्याम्पियन्स लिगमा माथि उठ्न नसकेमा व्यवस्थापक म्यानुएल पेलेग्रिनी सिजन समाप्त हुनुअगाडि नै बर्खास्तीमा परेमा कुनै आश्चार्य हुनेछैन । पछिल्लो तीन खेल जित्न नसक्दा लिभरपुलका नयाँ व्यवस्थापक योर्गेन क्लपमाथि पनि दबाब बढेको छ । 
म्यानचेस्टर युनाइटेड छाडेपछि प्रशिक्षक र व्यवस्थापकीय जीवनबाट संन्यास लिने उद्घोष लुइस भान गालले गरिसकेका छन् । इङ्ल्यान्ड आउनुअघि उनलाई सोधिएको थियो, ‘युनाइटेडजस्तो टोली हेर्नु कति चुनौती छ ?’ त्यसको जवाफमा भान गालले आफू २५ वर्षदेखि यस पेसामा रहेकाले योबारे राम्रो अनुभव भएको बताएका थिए । भान गाल अलिक घमण्डी छन् । उनको जवाफ प्राय: यस्तै रहने गर्छ । अहिले भान गाल ठूलो दबाबमा छन् । युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । प्रिमियर लिगमा पनि पाँचौं स्थानमा झरिसकेको छ । युनाइटेडका पूर्वखेलाडीहरूले नै भान गालको आलोचना गरिरहेका छन् । युनाइटेडसँगको आफ्नो सम्झौता समाप्त हुनु डेढ वर्ष बाँकी छ तर त्यो अगाडि नै उनले अवकाश जीवन बिताउनुपर्ने स्थिति आएको छ । 
बायर्न छाड्ने निर्णय गरेपछि युरोपेली फुटबल बजारमा सबैभन्दा ठूलो महत्त्व तिनै ग्वार्डियोलाको छ । अर्को सिजनमा उनी म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीमध्ये कुनै क्लबको व्यवस्थापक बन्न पनि सक्छन् । त्यसपछि बजारअनुसारको ठूलो भाउ माउरिन्होकै छ । ओल्ड ट्राफोर्डमा नर्विचसँग २–१ ले पराजित हुँदा युनाइटेडका प्रशंसकले भान गाललाई गालीमात्र गरेनन्, मोउरिन्होलाई नयाँ व्यवस्थापक बनाउनुपर्ने आवाज पनि उठाए । 
भान गाल सोच्दा हुन् लगातार तीन उपाधि नजिक पुगेर ग्वार्डियोला त बार्यनजस्तो क्लबमा निरन्तर हुन सकेनन् भने म के । आर्सनल व्यवस्थापक आर्सन वेङ्गर यी सबै चर्चाबाहिर छन् । उनले एकरूपको टिम राखेका छन् । धेरै खर्च पनि गर्दैन, कम पनि हाल्दैनन् । प्रदर्शन पनि त्यही एकरूपको छ, प्रिमियर लिगमा तेस्रो वा चौथो । वेङ्गरको यही आर्सनल अहिले उत्कृष्ट लयमा छ, प्रिमियर लिगको राम्रो दाबेदार बनेर उभिएको छ । 

 

प्रकाशित : पुस ११, २०७२ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?