१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु

सन्तोष सिंह

धनुषा — जनकपुरधामस्थित क्षयरोग उपचार हुने डिआर टीबी होस्टलमा बस्दै आएका ६ जना मध्ये एक जनाको मृत्यु भएपछि अन्य ५ जना त्रसित छन् । फागुन १४ गते देखि होस्टलमा आएका सिरहा औरहीका ६५ वर्षीय पुरुषको मृत्यु भएपछि उपचारको क्रममा रहेका अन्य ५ जना केही दिनसम्म राति डराएको होस्टल इन्चार्ज हेल्थ असिस्टेन्ट(एचए) सोलेन्द्र कुमार साहले बताए ।

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु

छ बेड क्षमता भएको होस्टेलमा ५० वर्ष उमेरभन्दा माथिका क्षयरोग‍ीहरु छन्,' साहले भने, ‘होस्टलमा बस्ने बिरामीलाई नियमित इन्टीबाइटिक, स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ । फागुनको अन्तिम साता एक जनाको मृत्युले केही दिन अन्यहरु सुत्ने बेलामा डराएका थिए ।’ सँगै उपचार गराइरहेका साथीको मृत्यु भएपछि जीवनको उतरार्धमा स्वस्थ्यसँग लडिरहेका बृद्धहरु चाँडै स्वस्थ्य भएर परिवारमा फर्किन आतुर छन् । होस्टलबाट हरेक महिना सार्वजनिक यातायातमा लालगढ उपचारका लागि जानुपर्ने र गर्मी आउनै लाग्दा सानो घरमा कोचिएर बस्नु पर्दा बिरामीहरु घर फर्किन आतुर छन्।

मधेश प्रदेशमा क्षयरोगी उपचारका लागि अस्पताल नआउने र आएपनि सहज रुपमा स्वास्थ्य जाँच तथा उपचार नपाउँदा बिरामीको मृत्यु हुने गरेको छ । नेपाल सरकारले नि:शुल्क उपचारको व्यवस्था गरेपनि अवासीय सुविधा सम्पन अस्पताल छैन । क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गरेको छ ।

मधेश प्रदेशमा ६ महिनाको अवधिमा क्षयरोगबाट १२६ जनाको मृत्यु भएको र साउनदेखि पुषसम्म ६ महिनामा १५ वर्ष मुनिका ६८४ बालबालिका सहित ४ हजार २४९ नया क्षयरोगी भेटिएको क्षयरोग न्यूनीकरणको क्षेत्रमा कार्य गर्दै आएको बागमती सेवा समाज नेपालले जनाएको छ । साउन देखि पुष सम्ममा मधेश प्रदेशमा १२६ जना मध्ये १८ जना पर्सा, १९ जना बारा, १८ जना रौतहट, १४ जना सर्लाही, २६ जना महोतरी, १५ जना धनुषा, ९ जना सिरहा, ७ जना सप्तरीमा क्षयरोगीको मृत्यु भएको छ ।

साउन देखि पुष सम्म ४९९ पर्सा, ७०१ बारा, ५४६ रौतहट, ६२९ सर्लाही, ४६९ महोतरी, ७२७ धनुषा, ३८६ सिरहा, २९२ सप्तरी जिल्लामा नयाा क्षयरोगको बिरामीहरु पहिचान भएको छ । मधेश प्रदेशमा ४ हजार ५० क्षयरोगी बिरामीले नियमित औषधि लिइरहेको बागमती सेवा समाज नेपालका कार्यक्रम प्रबन्धक नथुनी कुमार मन्डलले बताए ।

बागमती सेवा समाज नेपाल क्षयरोग न्यूनीकरणका लागि नेपाल सरकार, सेभ द चिल्ड्रेन ग्लोबल फन्डको साझेदारिमा मधेश प्रदेशको ८ जिल्लामा ६ बर्ष देखि १३६ वटा स्थानिय तह र कोसी प्रदेशका ९८ स्थानीय तह सहित २३४ स्थानीय तहमा क्षयरोग न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मधेश प्रदेशका नागरिक खुला सीमाका कारण क्षयरोगको उच्च जोखिममा परेका छन् । भारतीय शहरमा रोजगारीकालागि आवत जावत गर्नेबाट क्षय रोगको जोखिम बढाएको हो । रोजागरीका लागि भारत जानेहरुको निदान तथा उपचारका लागि पनि सीमा क्षेत्रका भारतीय शहरमा जाने गरेको पाइएकोले क्षयरोग निदान तथा उपचार सेवा प्रभावित भएको छ ।

‘हामी क्षयरोग अन्त्य गछौ’ भन्ने नाराका साथ दुई साता अघि विश्व क्षयरोग दिवस नेपालमा पनि मनाइयो । हरेक वर्ष २४ मार्चका दिन विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाईन्छ । क्षयरोग विहिन विश्वको परिकल्पना साकार पार्न प्रयास भइरदा नेपालमा चुनौतिपूर्ण परिस्थिति छ । मधेश प्रदेशमा क्षयरोग संक्रिमितको संख्या र मृतकको संख्याले सन् २०५० सम्ममा क्षयरोगविहीन विश्वको परिकल्पना चुनौतीपूर्ण परिस्थिति सिर्जना गरेको छ ।

२०८०/८१ मा साउन देखि पौष सम्ममा मधेश प्रदेशमा ४२४९ नया क्षयरोगी पहिचान भएको र १२६ जना क्षयरोगीहरुको मृत्युको तथ्यांकले यहा क्षयरोगको उपचारमा भइरहेके समस्या तथा जटिलता प्रष्ट हुन्छ । ‘राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९’ को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या प्रतिवर्ष ६९ हजार देखिन्छ भने प्रति एकलाख जनसंख्यामा २४५ क्षयरोगका बिरामीहरु छन् ।

क्षयरोग हुने दर विगत एक दशकमा बार्षिक ३Ü का दरले कम भएको देखिएको पनि क्षयरोगको अवस्था भने पहिले अनुमान गरे भन्दा झण्डै डेढ गुणा बढी देखिएको छ । नतिजाको शुक्ष्म बिश्लेषण गर्दा क्षयरोग प्रिभ्यालेन्स ६५ बर्ष माथिका उमेर समूह, पुरुष, तराई र पहाड बढी रहेको देखापरेको छ ।

प्रकाशित : चैत्र २१, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?