पुल्चोक उक्लियो शीर्षमा
ललितपुर — सागर थिङको ह्याट्रिकको मद्दतले पुल्चोकले मंगलबार सहिद स्मारक लिग ‘सी’ डिभिजनमा नौ खेलाडीमा सीमित रानीवनलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै पुल्चोक अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको पाँच खेलबाट १२ अंक भएको छ । यस खेलसँगै प्रतियोगितमा पाँचौं चरणका खेल सकिएका छन् ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सुमन श्रेष्ठले १ गोल गरे । सुमनले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोलको खाता खोले । सागरले ८२ औं मिनेटमा आफ्नो पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
दोस्रो हाफमा रातो कार्डसँगै रानीवनले हिमाञ्चल सिंह र मिलन रेग्मीलाई गुमाएको थियो । लिग तालिकामा पुल्चोकसँगै मनोहरा पनि समान १२ अंकमा छ । पुल्चोक भने गोल अन्तरले अगाडि रहेको हो । रानीवन भने ३ अंकमै सीमित रहेर १२ औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रको ठीक माथि हो ।