कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

प्रदेश नामको विषयलाई धेरै संवेदनशील बनाउन जरुरी छैन : ओली

इलाम — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेशको नामको विषयमा ठूलो कुरा नभएको र यसलाई धेरै संवेदनशील बनाउन जरुरी नभएको बताएका छन् । 

प्रदेश नामको विषयलाई धेरै संवेदनशील बनाउन जरुरी छैन : ओली

प्रतिनिधिसभा इलाम २ का विजयी सुहाङ नेम्वाङको विजय र्‍यालीपछिको सभालाई मंगलबार यहाँ सम्बोधन गर्दै ओलीले हामी सबै नेपाली पहिलो पहिचान भएको बताए । उनले कुनै जात, व्यक्ति या उसको थरका आधारमा प्रदेशको नाम राख्न नमिल्ने जिकिर गरे ।

उनले भने, 'इलाममा सूर्यले जित्यो नि त्यही हो पहिचान । त्यही हो गन्तव्य अनि उद्देश्य ।' उनले सबैले सबैको जात, धर्म, संस्कृति र कलालाई रक्षा र माया गर्नु नै पहिचान भएको बताए ।

उनले इलामको विकासको जिम्मा जनताले सुहाङ नेम्वाङलाई दिएको भन्दै यहाँ सम्पूर्ण विकासको जिम्मा सुहाङले लिने बताएका ओली थपे, 'इलामको विकासको जिम्मा सुहाङले लिनुहुन्छ, म उहाँको जिम्मा लिन्छु ।'

अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, 'मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।'

अध्यक्ष ओलीले सुवास नेम्वाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे ।

ओलीले आफ्ना उम्मेदवार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) लाई समेत धन्यवाद दिए ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए । 'म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु', उनले भने, '०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।'

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज धीरेन्द्र शर्मा र नेकपाका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज सुमन सीले वामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको जनाउँदै धन्यावाद ज्ञापन गरे । सुहाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । सुहाङले २७ हजार सात सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए ।

प्रकाशित : वैशाख १८, २०८१ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?