नयाँ प्रविधिले मुटुको उपचारमा सहज : डा. सिंह 

कान्तिपुर संवाददाता

काठमाडौँ — म्याक्स अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा बलवीर सिंहले ‘ट्रान्सक्याथर इरोटिक भल्ब रिप्लेस्ट्मेन्ट (टिएभीआर) प्रविधि 'ओपन हार्ट सर्जरी' गर्नुपर्ने अवस्थाका बिरामीका लागि वरदान भएको बताएका छन् । काठमाडौंका मुटुरोग विशेषज्ञहरुसँग शुक्रबार अनुभव सुनाउँदै डा. सिंहले भने, 'न्यूनतम इन्भेसिभ शल्यक्रिया'को सुरुआतसँगै अब बिरामीहरूका लागि ओपन हार्ट शल्यक्रियामात्र विकल्प रहेनन् ।' 

चौध वर्षअघि नेपाल आएको सम्झना गर्दै उनले मुटुरोगको उपचारमा नेपालमा पनि प्रगति भएको उल्लेख गरे । अहिले गंगालाल अस्पतालमा यस्ता नविनतम प्रविधिको प्रयोग सुरु भएको सुन्दा खुसी लागेको उनले बताए । यस विधिबाट बढी उमेर भएका धेरै अप्रेसन गरेका तथा फोक्सोलगायत रोगको समस्या भएकाहरुका लागि वरदान रहेको उनले जनाए।

इन्टरभेन्सन कार्डियोलोजीमा भएको प्रगतिले उपचारका नतिजाहरूमा धेरै सुधार गरेको भन्दै डा. सिंहले छिटो र उपयुक्त उपचारका साथ बाँच्न सम्भव बनाउँदै लगेको बताए ।

त्यसैगरी उनले मुटुको चाल गडबडीको अवस्थामा धेरै प्रभावकारी हुने मुटुको 'क्रायोएब्लेसन' प्रविधिसमेत आइसकेको जनाउँदै यो न्यूनतम इन्भेसिभ प्रक्रिया भएकाले पूर्णतया सुरक्षित भएको पनि बताए ।

इन्टरभेन्सन कार्डियोलोजीमा ट्रान्सक्याथेटर एओर्टिक भल्भ रिप्लेसमेन्ट तथा 'मिट्रल भल्भ' न्यूनतम इन्भेसिभ सर्जिकल प्रविधिले 'ओपन हार्ट सर्जरी' बिना उपचार सहज बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञहरु डा यादवदेव भट्ट, डा रोशन राउत, डा जेपी जैसवाल, डा शेखर राजभण्डारीलगायत सहभागी थिए ।

प्रकाशित : वैशाख २३, २०८० २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा समालोचक प्राध्यापक गोविन्दराज भट्टराई, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीलगायतले उक्त उपन्यास लोकार्पण गरेका हुन् । यो उपन्यास नेपाली गीतसंगीतका धरोहर मानिएका मास्टर मित्रसेन थापामगरको जीवनकथामा आधारित छ । 

मास्टर मित्रसेन (१८९५ डिसेम्बर २९–१९४६ अप्रील ६) नेपाली संगीत क्षेत्रमा लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकारका रूपमा चिनिन्छन् । उनै मित्रसेनले गाएका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ गीतलाई नेपाली समुदायमाझ चर्चित छ । त्यही गीतको बोललाई लिएर साहित्यकार हितानले ‘लाहुरेको रेलिमाई’ उपन्यासको रचना गरेका हुन् ।

मित्रसेन १/१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगिएका थिए । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली संगीत, साहित्य र समाजसेवामा बाँकी जीवन समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । उनको योगदानलाई लिएर भारत सरकारले ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो । यसैगरी नेपाल सरकारले समेत ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो ।

‘यो उपन्यास ८० प्रतिशत मास्टर मित्रसेनको यथार्थ जीवनवृत्त र बाँकी साहित्यिक कल्पनामा आधारित छ,’ डायरीको रुपमा प्रस्तुत गरिएको उपन्यासका हितानले भने, ‘मित्रसनबारे उपन्यास लेख्छु भनेर सन् २०१५ देखि छ वर्ष निरन्तर अनुसन्धान गरेको छु । मित्रसेनको पुर्ख्यौली थलो पर्वतदेखि जन्मथलो भारतको भाग्सु धर्मशालासम्म, मित्रसेनबारे भारतीय लेखकका पुस्तकदेखि नेपाली लेखक तथा विद्यावारिधि शोधार्थीसम्म, बेलायत, बेल्जियम र फ्रान्समा रहेका युद्ध स्मारक, युद्ध संग्रहालयहरू चहारें । परिवारजनदेखि मास्टर मित्रसेन सिञ्जाली थापामगर प्रतिष्ठानसम्म सम्पर्क गरेर अनुसन्धान गरेर यो आख्यान तयारी भई प्रकाशनमा आएको हो ।’

उपन्यास कृतिबारे बोल्दै समालोचक भट्टराईले नेपाली साहित्यमा युद्ध साहित्य विधामा रचित प्रथम विश्वयुद्धका योद्धाको जीवनमा आधारित पहिलो औपन्यासिक कृति भएको बताए । कृतिबारे कवि विमला तुम्खेवा, लेखक राजकुमार बानियाँलगायतले चर्चा गरेका थिए ।

उमेरले ५६ वर्षीय उपन्यासकार हितान स्वयं ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरी त्यहीं वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्यावरण साहित्य अभियन्ताका रूपमा परिचित हितानको ‘बिछोडअघिको रात’, ‘वाग्मती ब्लुज’ कवितासंग्रह, ‘थकित पृथ्वी’ कथासंग्रह, ‘इको उत्सर्जन’ निबन्धसंग्रह, ‘जयबहादुर हितानमगर : व्यक्तित्व कृतित्व’ लगायत कृति प्रकाशित छन् ।


प्रकाशित : वैशाख २३, २०८० २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×