बालपोषणमा सुधार गर्न लगानी आवश्यक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा बालपोषणको अवस्था सुधार गर्न सचेतना तथा बजेट तथा लगानी बढाउन आवश्यक रहेकाे सरोकारवालाले सुझाव दिएका छन् । राजधानीमा शुक्रबार आयोजित 'नेपालमा बाल पोषणको अवस्था' नामक पुस्तक सार्वजनिक गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतना खाँचो रहेको बताए ।

यस्तै उनले खानामा गरिने विभेदको अन्त्य गर्नुपर्ने बताएका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको पुस्तिका सार्वजनिक कार्यक्रममा महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक पोषणको अवस्थामा धेरै सुधार गर्नुपर्ने देखिएको सरोकारवालाहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले 'नेपालमा बालबालिकाको पोषणको अवस्था' प्रस्तुतिकरण गर्दै मधेस प्रदेशमा ५ वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको बताए ।

नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको छ। वाग्मती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा केही राम्रो देखिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिला विक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको जानकारी दिए ।

जागृति नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्त्वपूर्ण भूमिकामा जोड दिए । उनले भने–‘नागरिक समाज संगठनहरूले प्रभावकारी पोषण कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्न सरकार र अन्य सरोकारवालाहरूसँग सक्रिय रूपमा संलग्न हुनु महत्त्वपूर्ण छ ।’

यस्तै खाद्य अधिकारका लागि राष्ट्रिय संजालका संयोजक विदुर सुवेदीले बाल पोषण बाल अधिकारको विषय मात्रै नभई समग्र मानव अधिकार र खाद्य अधिकारको विषय रहेकाे बताए ।

प्रकाशित : चैत्र ११, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्

१० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्‍न पार्छ : अध्यक्ष ओली

मनोज पौडेल

कपिलवस्तु — एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाएका छन् । शनिबार बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,' उनले भने ।

आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गर्दै उनले वर्तमान सरकारले देश र जनताका लागि काम नगरिरहेको आरोप लगाए ।

‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइराखेको छैन,' ओलीले भने ।

पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचन एमालेका लागि अस्तित्वको लडाइँ रहेको तर, लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको दाबी गरेका गरेका छन् । अब आगामी निर्वाचनमा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्नका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताहरू यतिबेला 'मिसन ग्रासरुट' अभियान अन्तर्गत देशका विभिन्न जिल्लाहरूमा पुगेर कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् ।

प्रकाशित : चैत्र ११, २०७९ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×