जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड’

काठमाडौँ — लामो समयदेखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने मानेडाँडा आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई यो वर्षको ‘निक साइमन्स अवार्ड २०२२’ प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको तीनदिने ‘एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ मा उक्त एवार्ड प्रदान गरिएको हो ।
ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान र उनीहरूले भोगिरहेका समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले यो सम्मेलन गत १४ वर्षदेखि निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको छ ।
सम्मेलनको पहिलो दिन स्वास्थ्यकर्मीहरूले काम गर्दा भोगेका अनुभवहरूलाई कथाको रुपमा तयार पारेर पठाइएका कथाहरूमध्येबाट उत्कृष्ट ७ लाई प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिपछि सम्मेलनका सहभागीहरूले छलफल गरेर निकालेको निचोडलाई स्वास्थ्य मन्त्रालयलगायत विभागीय प्रमुखहरू समक्ष समेत प्रस्तुत गरेका थिए ।
निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अर्चना अमात्यका अनुसार सम्मेलनको उद्देश्य ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई हौसला प्रदान गर्ने र उनीहरूलाई माथि उठाउने, निरन्तर मेडिकल शिक्षा (सीएमई) प्रदान गर्ने, सरकारी पद्धतिबारे छलफलका लागि फोरम प्रदान गर्नेलगायतका छन् ।
निक साइमन्स इन्स्टिच्युटका बोर्ड अध्यक्ष एवं पूर्वमन्त्री विद्याधर मल्लिकले पहाडदेखि मधेससम्मका दुर्गम र ग्रामीण स्वास्थ्य उत्थानको क्षेत्रमा इन्स्टिच्युटले निरन्तर कार्य गर्दै आएको बताए ।
सम्मेलनमा ५१ जिल्लाका ९१ जना ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका प्यारामेडिक्स, नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीको सहभागिता छ । साथै सातवटै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशक तथा स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न विभागका निर्देशकहरू पनि कार्यक्रममा सहभागी छन् ।
प्रकाशित : चैत्र ९, २०७९ १४:३१