कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरको उपचारमा अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रबार आयोजित ३२औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले क्यान्सरका बिरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिएका हुन् ।

क्यान्सरको उपचारमा अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई नि:शुल्क र समान पहुँचको ग्यारेन्टी गरेपनि उपचारको अभावमा गरिब जनताले विभन्न रोगबाट मृत्युवरण गर्नुपरेकोमा दुःख व्यक्त गरे ।‍ उनले कार्यक्रममा बोल्दै अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको बताए ।

नेपालमा बर्सेनि ३० हजारभन्दा बढी क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तराष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताए । संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानी हुन नसकेको बताए । अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको बताए ।

नेपाल अर्वुद रोग निवारण संस्थाले रोकथाम कार्यक्रम अन्तर्गत क्यान्सर सचेतना कार्यक्रम र शिविरहरू सञ्चालन गर्दै आएको छ । सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भूमिका खेल्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष श्रेष्ठले संस्थाले चाँडै उच्चस्तरको विश्वसनीय डायोग्नोष्टिक केन्द्रको अवधारणा अघि सार्ने बताए ।

संस्थाको दुई दिने केन्द्रीय सभामा ४५ जिल्लाका २ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो भने सभाले संस्थाको विधानमा तेश्रो संशोधन समेत गरेको छ ।

प्रकाशित : पुस ३०, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?