कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
लोक सेवा

पहिलो महिला टपर सहसचिव

पाल्पा रामपुरकी कृष्णकुमारी श्रेष्ठ सहसचिवका लागि हालै भएको परीक्षामा एक नम्बरमा सिफारिस भएकी छन् । आन्तरिक र खुला दुवैतर्फ परीक्षा दिएकी उनी खुलातर्फको परीक्षामा पास मात्रै भइनन्, देशकै पहिलो ‘टपर’ महिला सहसचिवको रेकर्ड नै कायम गरेकी छन् । 
‘लोक सेवाको परीक्षा एकदमै निष्पक्ष भएकाले सबैको आशा भरोसाको केन्द्र हो । लोक सेवामा लाग्न चाहनेले उमेर छादै तयारी गरिहाल्नुपर्छ । उत्तर लेख्दा विषयवस्तुमा केन्द्रित रहने र भाषिक शुद्धतामा ध्यान दिनुपर्छ ।’
विद्या राई

काठमाडौँ — नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा नाम निकालेकी कृष्णकुमारी श्रेष्ठ देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी छन् । उनलाई जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि नियुक्ति पाउन भने बाँकी नै छ । शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले मारेको यो छलाङ धेरैका लागि अनुकरणीय छ । सफलताको सिँढी पार गर्न उनले अनेकन हन्डर, ठक्करहरू छिचोलेकी छन् । 

पहिलो महिला टपर सहसचिव

३७ वर्षीय कृष्णकुमारी पाल्पाको रामपुर नगरपालिका–८ मा जन्मेहुर्केकी हुन् । उनी १६ दाजुभाइ दिदीबहिनीमध्ये कान्छी हुन् । उनकी आमा तेजकुमारी श्रेष्ठपट्टि ५ दिदीबहिनी र ३ दाजुभाइ छन् भने जेठी आमापट्टि ६ दिदीबहिनी र २ दाजुभाइ छन् । ठूलो परिवारलाई जीविकोपार्जनको मुख्य आधार भनेकै खेतीपाती थियो । उनका १४ दाइदिदीले किताबकापी समात्ने अवसर नै पाएनन् । कृष्णकुमारी र उनका कान्छो दाइ भने भाग्यमानी सावित भए । पढ्न पाएका दुवै जना सरकारी जागिरे छन् । कान्छो दाइ नेपाल प्रहरीमा असई छन् । उनी गाउँमै कक्षा १२ सम्मको पढाइ सकाएर प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बुवा लालबहादुरको ६५ वर्षको उमेरमा २०५८ जेठ १२ मा निधन भयो । उनी त्यतिखेर कक्षा ८ मा पढ्दै थिइन् । ८२ वर्षीया आमा पाल्पामा दाजुभाउजूहरूसँग छिन् । उतिबेला कृष्णकुमारीलाई विद्यालय पठाउन निकै गाह्रो थियो उनकी आमालाई । त्यसैले उनले छोरीका नाममा देवीको भाकल नै गरिन् । ‘म यस्तो थिएँ कि स्कुलै जानै मान्दैनथें । मेरी आमाले देवीको भाकल गरेर स्कुल गइदिओस् भन्नुभएपछि बल्ल स्कुल जान थालें ।’ यसपछि पढ्नु, लेख्नु उनको लत नै बन्यो । पढाइसँगै बिहान, बेलुकी घरको काम पनि सघाउँथिन् उनी । ०५९ सालमा एसएलसी पास गरेकी उनलाई भने घरको कमजोर आर्थिक अवस्थाका कारण थप पढ्न पाउने/नपाउनेमै द्विविधा थियो ।

पढ्दै पढाउँदै

संयोगवश, पढेकै स्कुलमा पढाउने काम पाइन् उनले । प्राथमिक तहको शिक्षकका लागि दरबन्दी रिक्त थियो । दुई जनाको उम्मेदवारी परेको थियो । पढाइमा अब्बल भएकाले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष धर्मबहादुर आचार्य, तत्कालीन प्रअ हरिप्रसाद खनाल र समुदायले आन्तरिक छलफल गरेर उनैलाई अवसर दिए । यसपछि खर्च जुटाउन केही हदसम्म सजिलो भयो । रामपुरको सहिद बहुमुखी क्याम्पसमा भर्ना भइन् । मासिक तलब १५ सय रुपैयाँ पाउँथिन् । कलेजमा मासिक शुल्क ४५० रुपैयाँ तिर्नुपर्थ्यो ।

प्राथमिक तहमा पढाउँदै उनले आईए र स्नातक सकिन् । बिहान साढे ६ देखि क्याम्पसमा कक्षा सुरु हुन्थ्यो, विद्यालय १० बजे । विद्यालय र क्याम्पसको दूरी आधा घण्टा टाढा भएकाले अन्तिम पिरियड प्रायः छुटाउनुपर्थ्यो । क्याम्पस पढ्दा उनले आईए पहिलो वर्ष, स्नातक पहिलो र तेस्रो वर्ष छात्रवृत्ति पनि पाइन् ।

गुरुहरूले देखाएको बाटो

पढाइमा उनको लगाव देखेर सहिद बहुमुखी क्याम्पसका तत्कालीन सहायक क्याम्पस प्रमुख मुरारी काफ्ले र प्राध्यापक सूर्यप्रसाद घिमिरेले स्नातकोत्तर पूरा गर्न काठमाडौं जान सुझाउँथे । ‘श्रद्धेय गुरुहरूले तपाईंले राम्रो पढ्नुभएको छ । काठमाडौं जानुस्, बरु एकछाक खानुस्, त्यो भनेको अवसरको ठाउँ हो भन्नुहुन्थ्यो,’ उनले सुनाइन् । उनीहरूकै सुझावले हौसिँदै काठमाडौं आइन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मानविकी संकायअन्तर्गत अंग्रेजी विषयमा ०६५ चैतमा भर्ना भएर स्नातकोत्तर सुरु गरिन् ।

स्नातक पढुन्जेल खासै घर नछोडेकी उनलाई काठमाडौंमा आउँदा डेरा बस्नुपर्छ भन्नेसम्म थाहा थिएन । काठमाडौं पढ्दै गरेका अग्रजहरूलाई सोध्दाखेरी सरकारी कलेज भएकाले वर्षको पाँच हजार रुपैयाँ ‘फि’ बुझाए पुग्ने भनेका भरमा आएकी थिइन् । पढाउने जागिर खाँदा बचत गरेको २५ हजार रुपैयाँ लिएर काठमाडौं पढ्न आएकी थिइन् । यतिले मात्रै खर्च पुग्दैन थियो । दाइदिदीहरूले पठाइदिन्थे ।

विवाहपछि श्रीमान्को साथ

स्नातकोत्तर पढ्दै गर्दा नेपाली सेनामा कार्यरत भदाले विवाहको कुरा चलाए । कुरा चलाइएका केटा थिए, शान्ति सेनाको मिसनमा जाँदा भेट भएका भदाका साथी गोरखाका जगतबहादुर बानियाँ । उनी अहिले सुवेदार पदमा कार्यरत छन् । जगत जागिरसँगै ताहाचल क्याम्पसमा शिक्षा योजना व्यवस्थापन (ईपीएम) विषयमा स्नातकोत्तर गर्दै थिए । कृष्णकुमारी र जगतबीच भेटघाट र कुराकानी भयो । दुवै पक्षका परिवारबीच सहमति भएपछि अन्तरजातीय मागी विवाह भयो । उनीहरूले ०६७ सालमा टेकुको पचली भैरव मन्दिरमा विवाह गरे । यसपछि पढ्न र करियर बनाउन श्रीमान् आडभरोसा बने ।

कृष्णकुमारीको पढाइबाट प्रभावित भएका घरपट्टिका आफन्तले श्रीमान्मार्फत दोस्रो वर्ष स्नातकोत्तर पढ्दै लोक सेवा तयारी गर्न सल्लाह दिए । विवाहअघि लोक सेवाबारे उनी खासै जानकार थिइनन् । ०६४ सालतिर खरिदारमा फाराम खुलेको थाहा पाइन् । म्याद सकिएर पनि दोब्बर दस्तुरमा भर्ने म्याद छ भन्ने पाएकै भरमा बुटवल गएर फाराम भरेकी थिइन् । परीक्षाको तयारी कसरी गर्ने भन्ने थाहा थिएन । आफूले पढेका सामान्य ज्ञानका पुस्तकहरू पढेर भए पनि पास होइन्छ कि भन्ने आसले परीक्षा दिइन् । परीक्षा दिएर फर्केपछि नतिजा आयो, आएन कहिले थाहै पाइनन् ।

विवाहपछि श्रीमान् र आफन्तहरूको सल्लाहअनुसार स्नातकोत्तर गर्दै पुतलीसडकको नेम इन्स्टिच्युटबाट लोक सेवाको तयारी कक्षा लिइन् । पहिलो पटक खरिदार, नायब सुब्बा र अधिकृत सबै तहको परीक्षा दिइन्, कुनैमा पास भइनन् । तयारी चलिरहेकै थियो, ०६९ सालमा फेरि परीक्षा दिइन् । प्रथम श्रेणीमा स्नातकोत्तर पनि पास गरिन् । लोक सेवा परीक्षाको नतिजा कुर्दै गर्दा काठमाडौंका विभिन्न बोर्डिङ स्कुलहरूमा पढाउने जागिरका लागि इच्छा राखिन् । जहाँ गए पनि स्नातकोत्तर गरिसकेर पनि बोर्डिङमा जागिर खोजिरहेको भनेर शैक्षिक प्रमाणपत्रकै महत्त्व नभएको जसरी व्यवहार देखाउँथे । उनलाई लाग्थ्यो ‘मेरो शैक्षिक प्रमाणपत्रको कहीं न कहीं काम त लाग्छ नि !’ यसपछि कतैकहीं काम नगरीकनै लोक सेवा तयारी कक्षामा केन्द्रित भइन् ।

शाखा अधिकृत तहमा महिला कोटातर्फ सिफारिस भइन् । ०७० भदौ १९ मा अधिकृत भएपछि उनी सूचना प्रविधि मन्त्रालयअन्तर्गत धादिङ हुलाक कार्यालयमा पोस्टिङ भइन् । अधिकृत हुँदा १३० जना सिफारिसमा परेकामा उनी मेरिटमा १८ औं नम्बरमा थिइन् । तर धेरैले ‘महिला कोटामा पास भएको, कमजोर छ’ भन्थे । जागिरसँगै उपसचिवको तयारी थालिन् उनले । ०७१ सालमा पहिलो सन्तानका रूपमा छोरी जन्मिइन् । श्रीमान् श्रीमती मिलेर पढाइ, घरपरिवार, जागिर सम्हाल्दै अघि बढे । यही क्रममा ०७३ सालमा दोस्रो पटक शान्ति सेना मिसनमा जान पाउने अवसरसमेत छाडिदिए ।

अधिकृत भएको चार वर्षपछि उपसचिव

कृष्णकुमारी धादिङबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भइन् । हरेक शनिबार इन्स्टिच्युट पुगेर उपसचिवको तयारी परीक्षा दिन्थिन् । ०७४ सालमा दिएको आन्तरिकतर्फको परीक्षाबाट उपसचिवमा सिफारिस भइन् । ०७५ असार २७ गते उपसचिवका रूपमा गोरखा नगरपालिकामा पहिलो पोस्टिङ भइन् । भर्खर–भर्खरै संघीयता लागू भएको थियो । नगरपालिकामा १८ महिना बसेर सेवा प्रवाह गर्दा तीन तहका सरकारको शासन व्यवस्थाबारे जान्ने मौका पाइन् । ०७७ सालमा दोस्रो सन्तानका रूपमा छोरा जन्मिए । यसअघि नै उनी गोरखाबाट रक्षा मन्त्रालयमा सरुवा भइसकेकी थिइन् । रक्षा मन्त्रालयमा २७ महिना सेवा प्रवाह गरेपछि दुई वर्षयता पर्यटन मन्त्रालयको योजना तथा वैदेशिक सहायता शाखा प्रमुखका रूपमा कार्यरत छिन् ।

अधिकृत भएपछि उपसचिव हुँदासम्म उनलाई निजामती सेवा बुझ्नै समय लाग्यो । ‘जसरी भए पनि लोक सेवा पास गरेर जागिर गर्नुपर्छ, जागिर खाएपछि पछि सबै ठीक हुँदै जान्छ’ भन्ने उनलाई लाग्थ्यो । कामको अलावा उभ्रिएको समयमा सहसचिवको तयारी गर्थिन् । पाँचदिने तयारी कक्षा लिइन् । तयारी कक्षामा पाएका पृष्ठपोषणले गर्दा सहसचिवमा नाम निकाल्ने आत्मविश्वास बढेको थियो । उनले आन्तरिक र खुल्ला दुवैतर्फ परीक्षा दिइन् । आन्तरिकमा भने नाम निस्केन । खुल्लातर्फको परीक्षामा पास मात्रै भइनन्, देशकै पहिलो ‘टपर’ महिला सहसचिवको रेकर्ड नै कायम गरिन् । केही दिनमा नियुक्ति लिएपछि कार्यभार सम्हाल्ने तयारीमा छिन् ।

सेवा प्रवाहमा उत्कृष्ट हुने लक्ष्य

पाल्पामा क्याम्पस पढ्दा काठमाडौं आउन उत्प्रेरित गर्ने गुरुहरूलाई उनले सम्झिँदै भनिन्, ‘अवसर धेरै पाइन्छ भनेर काठमाडौं पढ्न आउनमा मेरो दुई जना श्रद्धेय गुरुहरूले हौसला दिनुभएको मलाई सधैं याद आउँछ, उहाँहरूको त्यही शब्दले गर्दा म यो सफलतामा आइपुगें ।’ अहिले सबैको प्रशंसा पाइरहँदा सेवा प्रवाहमा कमीकमजोरी हुने हो कि भन्ने चुनौती महसुस भइरहेको उनले सुनाइन् । ‘जसरी रेकर्ड ब्रेक गरेर पहिलो नम्बर भएको कुरा छ, सेवा प्रवाहमा पनि त्यसरी नै उत्कृष्ट हुने चुनौती थपिएको छ, सेवा प्रवाहमा उत्कृष्ट हुने गरी काम गर्ने लक्ष्य राखेकी छु,’ उनले भनिन् ।

सहसचिवमा उनको सिफारिससँगै परिवार, आफन्त, नातागोतामा पनि खुसी छाएको छ । पढ्नका लागि समय व्यवस्थापन गर्न उनी अधिकांश विवाह, व्रतबन्ध, बर्थडे, पूजाआजा लगायतका सामाजिक कार्यमा गइनन् । जानैपर्ने ठाउँमा श्रीमान्लाई नै पठाउने गर्थिन् । ‘आफन्तहरूबाट पनि तिमीहरू ठूलाबडा भयौ भनेर कहिल्यै नराम्रो टीकाटिप्पणी आएन, अहिले मेरो सफलताले सबैजना खुसी हुनुहुन्छ,’ उनले सुनाइन् ।

पढाइलाई सधैं निरन्तरता

जागिर सँगसँगै सार्वजनिक प्रशासन र राजनीतिशास्त्रमा थप स्नातकोत्तर गरेका छन् जगतले । कृष्णकुमारीले पनि अंग्रेजीसँगै सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्न भ्याइन् । दुवैले एलएलबी सँगसँगै पढे । पछिल्लो समय दुवै जना पढाइमा लाग्दा छोराछोरीहरूको हेरचाहमा समय दिन नसकिरहेको महसुस गरेर पढाइ रोकेका छन् । आजसम्मको सफलतामा परिवार र आफन्तको सहयोग उत्तिकै छ । छोराछोरीको हेरचाहमा दाइदिदीका छोरीहरूले पढ्दै, काम गर्दै सँगै बसेर सहयोग गरे । खाना पकाउने, भाडा माझ्ने, लुगा धुने, सरसफाइ सबैले मिलेर गर्छन् । घरायसी काम गरेर अलि बढी पढ्ने समय निकाल्नेमा कोसिस गर्छन् । सामाजिक सञ्जालले समय खाने भएकाले सीमित चलाउँछन् । लोक सेवा तयारी गर्नेलाई पनि यही सल्लाह दिन्छिन् ।

लोक सेवा तयारी गर्नेका लागि एकोहोरो ढंगले निरन्तर मिहिनेत गर्नुपर्ने सुझाव दिन्छिन् । ‘सबैतिर हात हालेर हुँदैन, लोक सेवाको परीक्षा एकदमै निष्पक्ष छ, सबैको आशा भरोसाको केन्द्र हो,’ उनले उमेर हद छँदै लोक सेवा तयारीमा लाग्नुपर्ने भन्छिन्, ‘एक हिसाबले आफैं तयारी गरेर मिहिनेतसाथ परीक्षा दिनुपर्छ, सबैको नाम निस्किन्छ भन्न पनि सकिँदैन, उमेर सकिन लागेको हुन्छ नाम निस्कन्छ तर वैकल्पिकमा भइदिन्छ ।’

महिलाहरूले आफ्नो पढाइलाई असर नगर्ने गरी सामाजिक कार्यमा संलग्न हुनपर्ने बताउँछिन् उनी । ‘जस्तो मैले तीज र तिहार एक दिन मात्रै मान्छु, दसैं चाहिँ घरपरिवार भेटघाट भनेर एक साताभर मनाउने गर्छु, त्यसपछि म धेरै जमघट पनि गर्दिनँ,’ उनले भनिन्, ‘किनकि सामाजिक कार्यमा सहभागी हुँदा पढ्ने समय खेर गइरहेको हुन्छ, पढाइमा केन्द्रित हुन सकिँदैन ।’ पढेको कुरा हामीले खाना पकाउँदै गर्दा, भाडा माझ्दै गर्दा, घर सफाइ गर्दैगर्दा सम्झिन सकिन्छ । घुमफिर, रमाइलो, जमघट कम गर्ने, अति आवश्यक पर्दा मात्रै फोनको प्रयोग गर्ने, भिडियो कल गर्दा समय बितेको पत्तै नहुने भएकाले बोल्नैपरे सकभर फोन (नम्बर) बाटै कुरा गर्ने, बोल्नैपर्ने विषयमात्रै बोल्ने जस्ता ससाना कुराहरूमा ध्यान दिनुपर्ने बताइन् । ‘उत्तर लेख्दा विषयवस्तुमा केन्द्रित रहने र भाषिक शुद्धतामा ध्यान दिनुपर्छ । अक्षर राम्रो बनाउन सक्दा ‘प्लस प्वाइन्ट’ हुन्छ,’ उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?