२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१
प्रकट पंगेनी ‘शिव’

गृहस्थी कवि, प्रेमिल गजलकार

किन रोयौ भन तिमी मनको बलेसीमा, किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा...
दीपक परियार

पोखरा — एकै व्यक्तिले आफूलाई कति विधामा अब्बल ठहर्‍याउन सक्छ ? एक, दुई वा तीन ? प्रकट पंगेनी ‘शिव’ अपवाद थिए । तीसको दशकमा अभिनेता र कवि, ५० को दशकदेखि गीतकार र गजलकार । जति उमेर ढल्किँदै गयो, उति प्रेमिल गजल । आफूभन्दा अनुज पुस्तासँग संगत गर्न रुचाउने उनको स्वभावले युवापनको झल्को दिए पनि मंगलबार स्वास्थ्यले साथ दिएन । सधैं मुस्कुराइरहेको अनुहारको प्रतिविम्ब छोडेर उनी सधैंका लागि अस्ताए । 

गृहस्थी कवि, प्रेमिल गजलकार

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा उनको निधन भयो । जन्डिस र निमोनियाले गाँजेपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मंगलबार भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनले संसार त्यागे । गहकिला कविता, मन, मुटु छुने गीत र प्रेमरसले भरिपूर्ण गजलहरू छोडेर हरेक उमेर समूहका पाठकको स्मृति रहिरहे ।

२०३३ सालमा तत्कालीन रूपा गाउँ पञ्चायतको देउराली उकालीबाट पृथ्वीनारायण क्याम्पस झरेका उनको भेट ०३५ सालतिर साहित्यकार सरुभक्तसँग भयो । त्यसअघि ०३३ मा स्थानीय ‘हिमदूत’ पत्रिकामा विडम्बना नामको कथा छपाएर साहित्याकाशमा प्रवेश गरिसकेका थिए । क्याम्पसकै एक कार्यक्रममा उनले गरेको प्रहसन सरुभक्तलाई मन पर्‍यो । त्यतिबेला युवा नाटक परिवार (युनाप) बाट एकांकी नाटक गरिरहेका सरुभक्तलाई पूर्णांकी नाटक गर्न कलाकार आवश्यक थियो । उनले प्रकट पंगेनीलाई भेटे ।

उनको वास्तविक नाम शिवराज पंगेनी थियो । विदेशी शिक्षिकाले ‘प्रकट’ झुन्ड्याइदिएकी थिइन् । सरुभक्तले ‘एउटा घरको कथा होइन’ नाटकमा पंगेनीलाई पहिलो मौका दिए ।

२०३८ मा सरुभक्तकै निर्देशनमा उनले ‘गोलार्द्धको कालो आकाश’ नाटकमा अभिनय गरे । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३९ मा आयोजना गरेको नाटक महोत्सवमा पंगेनी उक्त नाटकबाट सर्वोत्कृष्ट अभिनेताका रूपमा पुरस्कृत भए । उनले ४० को दशकसम्म सरुभक्त, विश्व शाक्यलगायतका नाटकमा अभिनय गरे । ‘उनी परिमार्जित र स्वाभाविक अभिनेता थिए,’ सरुभक्तले सम्झिए ।

उनी जति उत्कृष्ट अभिनय गर्थे, उत्तिकै अब्बल कविता कोर्थे । ग्रामीण परिवेशका शब्दलाई टपक्क टिपेर कवितामा उन्थे । गाउँका कथा, व्यथा, दुःख, गरिबीलाई कवितामा प्रस्फुटन गर्थे । प्रचलित लोक र झर्रा शब्दको संयोजनबाट लेखिएका कविता रुचाइएका थिए । सरुभक्तले उनलाई ‘गृहस्थी कवि’ भनेर उपनाम नै दिए । छोराछोरीबाट घरमा एक्लै छाडिएका बूढा आमाबुबाको दैनिकीलाई उनले ‘अक्सर बाटुलेचौरमा आमाहरू’ कवितामा बुनेका छन् ।

बुहारी छैन,

विचरा आमाहरूलार्ई कोठा बढार्नु र

पोचो लगाउनुको सास्ती छ

छोरी छैन,

विचरा बाबाहरूलाई कोठा मिलाउनुको हत्ते छ

यत्रो धौले घर,

खै कहिले को आएर बस्ने हो यो घरमा ?

दोस्रो पुस्तामा १४ लाइनका गीतबाट उनले अर्को छाप छोडे । आँसु र वियोगका गीत लेखे । यो मन कतै अल्झेको छ (२०५६) र जुनको चिठी जुनालाई (२०६०) उनका वियोगान्त गीतका संग्रह हुन् । पहिलो संग्रहमा संगृहीत गीत थियो–

‘किन रोयौ भन तिमी मनको बलेसीमा

किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा’

संगीत संयोजक सुनील बर्देवाले सन् १९८८ मा पंगेनीको ‘यो मन कतै अल्झेको छ’ गीत संग्रह गायक सञ्जीव सिंहलाई थमाइदिए । सिंहले उक्त गीत रोजेर रेकर्ड गरे । हाल अमेरिकामा रहेका सिंहले उक्त गीत नै आफ्नो गायन जीवनको ‘टर्निङ प्वाइन्ट’ भएको बताए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेका कर्मचारी रहेका उनले ५० कै दशकमा ‘अक्षर यात्रा’ को परिकल्पना गरे । भावना परिवार, नवनित साहित्य सागर र गजल सन्ध्याले हरेक महिनाको तेस्रो शनिबार तत्स्थानमा गएर साहित्य सिर्जना गर्ने र वाचन गर्ने प्रकृतिको ‘अक्षर यात्रा’ लाई अघि बढाए । आजपर्यन्त उक्त कार्यक्रम निरन्तर छ ।

पछिल्लो समय उनलाई प्रणयपरक गजलले स्थापित बनायो । ‘तप्प तप्प जलविन्दु...’, ‘तिम्रो हातले भरी गिलास...’, ‘हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो...’, ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख...’, ‘किन अहिले हतारिन्छ×्यौ बसौला नि भरे राति...’ लगायत उनका चर्चित शृंगारिक गजल छन् ।

दुई दशकअघि काठमाडौंको गुरुकुलमा गजल वाचन कार्यक्रम ‘प्रणयमा प्रकट दाइ’ भव्य रूपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमपछि उनी युवा पुस्तामाझ झनै लोकप्रिय बने । उनले नेपाल र विदेशका विभिन्न सहरमा ‘प्रणयमा प्रकट दाइ’ का १५ भन्दा बढी शृंखलामा गजल वाचन गरिसकेका छन् । टिकट काटेरै उनको गजल सुन्न युवा पुस्ता लालायित हुन्थे ।

उनले ०६४ मा गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशनमा ल्याए । उनको गजलले अश्लीलताको आरोप पनि खेप्नुपर्‍यो । तर, उनी आफ्नो गजलमा संयोग होइन, स्पर्श रहेको तर्क गर्थे । भन्थे, ‘सौन्दर्यको वर्णन गर्दा अश्लील बन्न जान्छ भन्नु यौन कुण्ठित दृष्टिकोण हो ।’ युवाले गर्ने प्रक्रियालाई मात्रै प्रेम भनिने परिभाषा नफेरिएकामा उनी चिन्तित थिए । उनी प्रेम शाश्वत भएकाले हर कुनै उमेरमा हुन सक्ने बताउँथे । यौन र साहित्य दुवै जीवन भएकाले यौनबिनाको साहित्य नुनबिनाको तरकारीजस्तै हुने विचार राख्थे ।

नेत्र स्मृति पुरस्कार, प्रतिविम्ब नाट्य सम्मान, वीरेन्द्र ऐश्वर्य सेवा पदक, रेडियो नेपालबाट पनि उत्कृष्ट गीतकारबाट पुरस्कृत र पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्षसमेत रहेका उनी भन्ने गर्थे, ‘साहित्यले नाम दियो, दाम दिएन । जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुगिएन ।’ थोरै लेखनीले नाम दिएकामा भने उनी आफूलाई भाग्यमानी ठान्थे ।

उनै साहित्यकारको जीवनको अन्तिम अवस्थामा उपचार गर्न सहयोग रकम संकलन गर्नुपर्‍यो । उनको उपचारमा आर्थिक अभावसमेत देखिएपछि आफन्त र घरपरिवारको आग्रहमा सांस्कृतिक परिवारले मंगलबारदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको थियो । उनको उपचारमा पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गर्न सुरु गरिसकेका थिए । संकलित रकम उनको परिवारलाई नै हस्तान्तरण गरिने संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

प्रकट पंगेनी अभिनय र गजलमा उत्तिकै पोख्त भए पनि सरुभक्तलाई कवि र गीतकारका रूपमा बढी सशक्त लाग्छ । ‘उनको असामयिक निधन पोखराका लागि ठूलो क्षति हो,’ उनी भन्छन्, ‘साथीसंगी र सबै उमेर समूहकासँग उत्तिकै घुलमिल हुने भएकाले व्यक्तिगत रूपमा पनि क्षति महसुस भएको छ ।’ उनका समकालीन कवि तीर्थ श्रेष्ठ प्रकट पंगेनीलाई सशक्त लेखकसँगै प्रभावकारी वाचकका रूपमा सम्झन्छन् । ‘कविता, मुक्तक, गीत, गजल वाचनका दृष्टिकोणले मन्त्रमुग्ध बनाउने किसिमको थियो,’ उनले भने, ‘उनी जिन्दगीमा सबैभन्दा सिर्जना र सिर्जनात्मक गतिविधिमा केन्द्रित रहे ।’

पछिल्लो समय उनी रूपा गाउँपालिकास्थित घरमा पर्यटक राख्न मिल्ने गरी ‘यशस्वी कटेज’ बनाएर बसेका थिए । कटेजले पूर्णता पाउँदै थियो । उपन्यासको पनि तयारीमा उनी थिए ।

नयाँ वर्षको पूर्वसन्ध्यामा उनले फेसबुकमा लेखेका थिए–

मनमा राग पराग भए पो नयाँ वर्ष मनाउनु

भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुसी जनाउनु

अर्को वर्ष बाँचिएछ भने तीन दिनअघि माया साटौंला

त्यतिबेला यशस्वी कटेजलाई कटेजजस्तै बनाउनु ।


प्रकाशित : वैशाख ५, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?