२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

हल्काराको यात्रा

निर्देशक विक्रम सापकोटाले रिभ्युका लागि पठाएको ‘हल्कारा’को स्क्रिप्ट पढेपछि महेश उक्त फिल्म खेल्न लोभिए । त्यसअघि अभिनयबाट अलग हुने सोचेका उनले अन्ततः ‘हल्कारा’बाटै अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारे ।
अनिश भट्टराई

गण्डकी — कलाकार बन्ने सपना बोकेर काठमाडौं लागेका थिए, पोखरा कास्कीकोटका महेश त्रिपाठी । आफ्नो सपनासँगै गाउँ छाडेका महेश अढाई दशकपछि फर्कंदा भने परिचय फेरिएको छ । खासमा पछिल्लो समय उनको परिचय बनेको छ, ‘हल्कारा’ । कारण, फिल्मको ‘हल्कारा’को सफलता र चर्चा । यो १५ वर्षलाई महेश ‘वनबास’ मान्छन् । अभिनेता बनेर पोखरा आउनासाथ उनी ‘फ्ल्यासब्याक’ मा गए । उनले देखाएको फ्ल्यासब्याकको पहिलो ‘सिन’ मा उनले पोखरा छाड्दै थिए ।

हल्काराको यात्रा

भर्खर दुई दशक पार गरेको ठिटोले सपनाको समुद्रमा डुबुल्की मार्न बस चढ्दै थियो । साथमा न कोही थियो, न केही । काठमाडौं गएपछि अभिनयमा साथ दिने र सहयोग गर्ने पनि कोही चिनेका थिएनन् । एकखाले ‘सस्पेन्स’ कै कथामा उनी काठमाडौंको यात्रामा थिए ।

पोखरा छाड्दा उनीसँग एउटा झोला थियो, लत्ताकपडा र केही दिनको खानासँगै आशा, सपना, भोक, व्यग्रता, संघर्षको । परिवारले महेशमा देखेको आविष्कारकलाई पोखरामै बिसाएर उनी काठमाडौं पसे । ‘परिवारले राम्रो जागिर खाओस्, सेटल होस् भन्ने चाहे पनि म अव्यावहारिक भएरै काठमाडौं लागें,’ उनी भन्छन् ।

आविष्कारक बन्ने सपनामा पनि उनले केही किलोमिटरको यात्रा तय गरिसकेका थिए । पोखरामै उनले आविष्कार केन्द्र खोलेका थिए, २०६३ मा । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर केही साथी जम्मा पारेका उनले खोज र आविष्कारको काममा हात हालिसकेका थिए । डाँडाकाँडामा पुग्दा केबलकार राख्न सकिने गरी डिजाइन उतिबेलै बनाउँथे, खोलातिरमा पनि केही ‘स्ट्रक्चर’ कोर्थे । आविष्कार र खोजमा लगानी पनि बढी हुने हुँदा त्यसलाई टिकाउन भने सकेनन् । विज्ञानको बाटो छाड्नुमा उनीभित्रको सुषुप्त अभिनेता पनि उत्तिकै कारक बन्यो । पोखरा इन्जिनियरिङ कलेजमा पढ्दै आविष्कार र खोजको काम गर्ने उनको चाहनालाई थाँती राखिदिए ।

विज्ञानमा भन्दा पहिले रुचि अभिनयमै बसिसकेकाले अभिनयलाई महेशले रोजे । टेलिभिजन भर्खर–भर्खर गाउँमा पुग्दा उनीमा त्यसबारे ज्ञान कम, रोमाञ्च बढ्ता थियो । टेलिभिजनमा देखिने दृश्य, मानिस, भूगोल, कथाले उनलाई अभिनयको भोक बढायो । फिल्म हेर्दा उनलाई अभिनय गर्छु भन्ने पहिल्यैबाट थियो । हिरोको ‘ग्ल्यामर’ को पनि उनी भोका थिए । तर नाटक/फिल्ममा अभिनय गर्ने आत्मविश्वास भने बढिसकेको थिएन ।

पहिलो नाटक उनले कक्षा ६ मा हुँदा गरे । उनी पढेको कालिका माध्यमिक विद्यालयमा पहिलोपल्ट स्टेज चढे । नाटक खेल्न समूह उनी आफैंले तयार गरेका थिए । नाटक लेखन भने महेशका बुबाले नै गरिदिए । नाटकमा उनी नेताको पिछलग्गुको रोलमा थिए । उनले नाटक त खेले, तर स्टेजमा के गरें, के बोलें खासै याद छैन । ‘सिँढी उक्लेको र ओर्लेको याद छ । त्यसबीच मैले के गरें, के भनें याद छैन,’ उनले भने । जसो स्टेज ओर्ले, तब उनका साथी/गुरुहरूले भने हौस्याए । ‘बढो राम्रो गरिस्’ भन्दै काँधमा धाप पाएको भने याद छ । त्यही धाप, त्यही प्रशंसाबाट उनी पुलकित भए । विद्यालयमा थुप्रै अभिनय गरिरहे ।


बाल्यकालकै सपना अघि किशोरावस्थाको सपना धेरै टिकिरहेन, उनको हकमा । त्यसैले आविष्कारक बन्ने बाटो मोडेर अभिनयका लागि पसेका हुन् राजधानी । काठमाडौं बसाइको पहिलो दुई वर्षमै उनले केही सिरियल खेले । सुरुमा उनलाई निर्देशक र अभिनय क्षेत्रका मान्छे भेट्नै धौ भयो । बल्लबल्ल भेटेका निर्देशकलाई उनले सुटिङ स्थलमा लैजान अनुनयविनय गरे । जान पनि पाए । तर अभिनय भने गर्न पाएनन्, हिरो–हिरोइनलाई पानी दिने, छाता ओढाउने काम गरे । अभिनयको काम कसरी हुन्छ हेरे, हेर्दै सिक्दै गरे । पछि उनलाई सिरियल खेल्ने अफर आयो । सकारे । तर ३ वटा सिरियल खेलेपछि नै उनलाई वितृष्णा जाग्न थाल्यो । सिरियल खेल्न छाडिदिए । ‘म अभिनय, फिल्म, हिरो, निर्देशक सबैका बारे अध्ययन गर्थें । उनीहरूले पाएको सम्मान देख्थें, मञ्च देख्थें,’ उनले भने, ‘तर मैले सिरियलमा जे गरिरहेको थिएँ, त्यो एकदमै सामान्य थियो, त्यही मञ्चमा डोर्‍याउने ल्याकतको थिएन ।’


पहिलो दुई वर्षमा उनी एकदमै ढुलमूल भए । कहिले काठमाडौं त कहिले पोखरा गरिरहे । आफैंले राजेको बाटोमा अनेक प्रश्न गरिरहे । अनेकखाले समीक्षाका कठघरामा उभ्याइरहे । उनले पछि निधो गरे– फिल्म पढ्ने । अस्कर कलेजमा फिल्म पढ्न थाले । पढाइसँगै अभिनय पनि गरिरहे । केही सर्ट फिल्म, केही सिरियल खेलिरहे । काठमाडौं बसाइका तीता अनुभव सम्झँदा उनका निधारमा रेखा देखिन्छन् । उनी एउटा खोजकर्ता, अभिनेता हुन् नै एक असल प्रेरक पनि मान्छन् । ‘मलाई प्रेरणा दिने काठमाडौंमा कोही थिएन, आफैंले आफैंलाई हौस्याउँथे । आफैंलाई सम्झाउँथे, सम्हाल्थें,’ उनी भन्छन् ।

अस्करमा पढाइ सकाएपछि उनले त्यहीं जागिर खाए । फिल्म नै पढाउने भएपछि उनीसँग फिल्मका स्क्रिप्ट आउन थाले । स्क्रिप्टमा उनलाई रोल होइन, रिभ्यु मागिन्थ्यो । अभिनय गर्न काठमाडौं लागेका महेश आफैं स्क्रिप्ट हेर्ने, आफूजस्तै सपना बोकेर आएकालाई पढाउने भइसकेका थिए । तर उनी आफूसँग भने खुसी थिएनन् । ‘म त्यसबेला रातभर सुत्न सक्थिनँ, कोही साथी भए हुन्थ्यो जस्तो लाग्थ्यो । रात परेपछि डर लाग्थ्यो, छटपटी हुन्थ्यो,’ उनी भन्छन् । अभिनय गरेर हिरो बन्ने, ठूला मञ्चमा पुग्ने सपना बोकेर गएका उनी पढाएर बसेका थिए । अरूलाई सुझाव दिइबसेका थिए । उनलाई त्यसबेला लाग्थ्यो, कहिलेकाहीं आफ्नै सपना बोझ बनिदिन्छन् ।

उनी आफैंलाई धिक्कार्थे, आफैंसँग चरम दुःखी थिए । त्यही निराशाकै बेला उनको हातमा आइपरेको स्क्रिप्ट थियो ‘हल्कारा’ को । विक्रम सापकोटाले पठाएका थिए स्क्रिप्ट । स्क्रिप्ट पढेपछि भने उनलाई रिभ्यु दिनभन्दा पनि खेल्न मन लाग्यो ।

त्यसअघिसम्म फिल्म नगर्ने मुड बनाइसकेका उनले ‘हल्कारा’ का लागि आग्रह गरे, अडिसन नै दिए । ‘हल्काराको स्क्रिप्ट आएपछि बल्ल मैले यो खेलें भने यसले मलाई निराशाबाट निकाल्न सक्छ जस्तो लाग्यो,’ उनी सम्झन्छन् । बच्चा हुँदा अरूका चिठी पढेर सुनाएको, गाउँले परिवेश जस्ता कुराले ‘हल्कारा’ खेल्न प्रेरित गर्‍यो ।

‘हल्कारा’ मा उनले सक्दो मिहिनेत गरेका छन् । त्यो फिल्ममा देखिन्छ पनि । हल्कारा पात्रले सुर्ती खाने कथा भएकाले खान सिके । त्यसअघि कहिल्यै सुर्ती मुखमा नहालेका उनले फिल्म खेल्दा यति खाए कि अम्मल बस्यो । अहिले छाडिसकेका छन्, तर त्यसको असर भने अझै छ । ‘पछि मेरो घाँटी यति सुक्खा भयो कि म क्यान्सर नै लाग्यो भनेर छाडिदिएँ । अहिले पनि खाना खान गाह्रो हुन्छ,’ उनी सुनाउँछन् । अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने सपना देखेका महेश पहिलो लिड रोलबाटै पुगे पनि । अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जिते । उनलाई भने अझै पत्यार छैन । ‘अवार्ड पाएपछि नेमप्लेट पुछेर आफ्नै नाम हो कि होइन भनेर चेक गरें,’ उनी हाँसो गर्छन् ।

खासमा महेशलाई अब बल्ल अभिनयको भोक बढेको छ । यो पुरस्कार उनको १५ वर्षको संघर्षको सानो प्रतिफल मात्र हो । उनी अब अझै ऊर्जावान्, अझै सिर्जनशील बनेका छन् । तर यो जोसमा उनी आफू जस्तोतस्तो स्क्रिप्टमा काम नगर्ने बताउँछन् । व्यावसायिकतामा नैतिकता जोडेर स्क्रिप्ट रोज्ने मनसाय छ, उनको । ‘मलाई सजिला काम गर्नु छैन, एकदमै मिहिनेत लाग्ने काम चाहिन्छ । मिहिनेतको भोको छ, मलाई मिहिनेत गर्न दिनुहोस्,’ उनी बिट मार्छन् । उनको मिहिनेत ‘हल्कारा’मा दर्शकले देख्न पनि पाएका छन् शुक्रबारदेखि । विक्रम सापकोटाको लेखन/निर्देशनमा बनेको फिल्ममा महेशसँगै विनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, उमेश तामाङलगायतको अभिनय छ ।

प्रकाशित : जेष्ठ १, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?