कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

इन्जिनियरिङ भन्दा अभिनय गाह्रो : महेश त्रिपाठी

'मलाई स्टेरियोटाइप हिरो बन्नु छैन, स्टेरियोटाइप भए सीमित मात्रै भइन्छ'
रीना मोक्तान

काठमाडौँ — विश्वकै पुरानो फिल्म महोत्सवमध्यको 'वर्ल्डफेस्ट ह्युस्टन'मा महेश त्रिपाठी 'हल्कारा'बाट उत्कृष्ट अभिनेता घोषित भए । अवार्ड उचाल्न अमेरिका पुग्न नसके पनि आयोजकले पठाइदिएको प्रमाणपत्र हालै महेशको हातमा पर्‍यो । 'यो अवार्ड मैले नै कसरी पाएँ त ?' मनोनयमा परेका अन्य राम्रा कलाकारहरुको सूचीमा उत्कृष्टको अवार्ड पाउँदा महेशलाई फेरि आफूले गरेको चरित्रमाथि समीक्षात्मक हुन लगायो ।

इन्जिनियरिङ भन्दा अभिनय गाह्रो : महेश त्रिपाठी

विक्रम सापकोटा निर्देशित फिल्ममा उनी 'रक्स्याहा' चरित्रमा देखिएका छन् । चरित्र निर्माणमा आफूले अभ्यास गर्दै आइरहेको प्रक्रियाले यो अवार्ड दिलाएको महेशको बुझाइ छ । 'लामो समयदेखि म अभिनय करिअरमा छु । यसबीच खास कामहरु नआउँदा म गलत बाटोमा पो छु की भन्ने लाग्थ्यो । बल्ल केही कामहरु त देखिँदैछन् । तर, यो अवार्डले अभिनयलाई मैले जसरी अभ्यास गर्दैछु त्यो सही छ भन्ने कन्फिडेन्स थपिदिएको छ,' महेशले दंग पर्दै सुनाए, 'स्टिभन स्पिलबर्ग, आङ ली, वार्नर ब्रोजजस्ता व्यक्तिहरु जोडिएको यो फेस्टिभलको अवार्ड पाउँदा अत्यन्तै खुशी छु ।'

चरित्र निर्माणमा बाह्य(एक्स्ट्रनल) कुरालाई महत्त्व नदिइ भित्री(इन्टरनल) मानवीय पाटालाई केलाउँदै अभिनय गर्छन्, महेश । सुरुमा अभिनय गर्ने चरित्रको संसार बुझ्छन् । त्यसपछि त्यो चरित्रलाई महेश भएर बुझ्छन् अनि त्यो पात्रलाई आफूभित्र लिन थाल्छन् । उनी चरित्र निर्माणमा मानवीय(ह्युमन) गुण खोज्छन् । 'त्यो चरित्रको ह्युमन र मभित्रको ह्युमनबीचको समानता आफूभित्र खोज्छु । हामी सबैको परिस्थिति फरक हुन्छ । उक्त पात्रको ह्युमन इसेन्स थाहा पाएपछि त्यो चरित्रलाई सहजै प्रस्तुत गर्न सक्छु नि,'महेशले चरित्र निर्माणको अभ्यासबारे सुनाए,'चरित्र निर्माणमा फरक देखिनुपर्छ भनेर हिँडाइ, बोलाइ र लुक्समा परिवर्तन गर्नु भन्दा पनि त्यो चरित्रको जीवनका भित्री कुराहरुलाई महसुस र आत्मसाथ गर्दा परिवर्तन आफैं देखिन्छ । म मनाङ गए भने बख्खु लगाउँछु, विस्तारै तराई झर्दै गएपछि बख्खु हट्छ अनि पातलो कपडा लाउँछु । यो चरित्र निर्माणको बाह्य कुरा हो । म बाहिरी कुरामा भन्दा पनि ह्युमनका पाटो हेरेर अभिनय गर्छु ।'

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

अभिनयमा धेरै कलाकारले एउटै कुरा दोहोर्‍याइरहेको हुन्छ,'मैले फिल्ममा त्यो चरित्र बाँचे'। महेश कलाकारले कहिल्यै अर्को चरित्र बाँच्न नसक्ने बताउँछन् । १० वर्षदेखि अस्कर इन्टरनेश्नल कलेजमा अभिनय पढाउँदै आएका उनी नेपाली कलाकार चरित्र निर्माणको बाह्य तडकभडकमै रमाउने गरेको विश्लेषण गर्छन् ।

'एउटा कलाकारको अभिनयमा देखिनु पर्ने कुरा एकछिनको भ्रम/रमाइलो होइन। त्यो चरित्रको प्राण देखिनुपर्‍यो अभिनयमा । यो कलाकारले मज्जाले हँसायो भन्नेमा मख्ख पर्छन् दर्शक/फिल्मकर्मी । हँसाउनु ठूलो कुरा होइन नि । एउटा उट्पट्याङ काम गर्‍यो भने पनि हाँसो उठिहाल्छ नि । फिल्ममा निर्माण गरिएको संसारमा पात्रलाई त्यही हिसाबले प्रस्तुत गर्नु महत्त्वपूर्ण हो । हामीकहाँ त ड्रेडलक पाल्ने कि त तडकभडक देखाउने किसिमकै काम भइरहेको छ,' महेश सुनाउँछन्,'खासमा कलाकारले कहिल्यै पनि अर्को चरित्र बाँच्न सक्दैन । पात्रको मानवीय पाटालाई मात्र बुझ्ने हो । एक्टिङ इसेन्स भनेको मनोरञ्जन गराउन, रमाइलो तरिकाले बोलिदिने/हिँडिदिने होइन । त्यो पात्रलाई न्याय दिने कुरा हो ।'

नेपाली फिल्म क्षेत्रमा कस्तो अभिनय अभ्यास भइरहेको छ त ? प्रश्न भुइँमा खस्न नपाउँदै महेशले भने,'हामीले गरिरहेको अभिनय राम्रै हो । तर, विश्वस्तरमा पुग्नका लागि यति पर्याप्त होइनजस्तो लाग्छ ।'

महेशले 'वर्ल्डफेस्ट ह्युस्टन'को मनोनयनमा परिएला भन्ने सोचेका पनि थिएनन् । अभिनयको विधामा मनोनित भएको खबरले चकित नै भए । 'अधिकांश समय त फेस्टिभलहरुमा हामी फिल्म पठाउँछौं । त्यो फेस्टिभलमा फिल्म छनोट हुनु नै ठूलो कुरा हुन्थ्यो । तर, मेरो नाम पनि उत्कृष्ट अभिनेताको मनोनयनमा देख्दा अचम्म लाग्यो । पछि पो अनुभव भयो ओह्हो हाम्रो पनि त सम्भावना रहेछ,'महेश मनोनयनमा पर्दाको क्षण सम्झन्छन् । 'हल्कारा' महेशको प्रमुख भूमिका रहेको फिल्म हो । फिल्मको छायांकन भएको ४/५ वर्ष भइसक्यो । वैशाख २९ देखि प्रदर्शनमा आउने फिल्ममा रामको भूमिकामा देखिँदैछन । आफूले फिल्ममा गरेको अभिनयबाट महेशले महोत्सवका निर्देशकबाट तारिफसमेत बटुले । 'साह्रै राम्रो अभिनय गरेका रहेछौं, म नतमस्तक भएँ । यो महोत्सव गरिरहँदा मैले तिमीजस्ता केही कलाकार मात्र देखेको छु । अझै राम्रो काम गर्दै जानू, शुभकामना । कुनैदिन भेटौंला,'महोत्सवका निर्देशकले आफूलाई पठाएको सन्देश उद्धृत गर्दै उनले सुनाए ।

अभिनयमा करिअर सुरु गरेदेखि नै चरित्र निर्माणका पक्षले महेशलाई तान्यो । ०६५/६६ मा पोखराबाट काठमाडौं आउने बित्तिकै टेलिश्रंखलातिर लागे । झट्टै विश्वास गरेर काम दिने अवस्था थिएन । त्यसैले टेलिश्रंखलाका धेरै निर्देशककहाँ धाए, हात जोडे । महेशलाई थाहा थियो यो क्षेत्रमा 'सियो' बनेर छिर्नुपर्छ । त्यतिबेला उनले के पो गरेनन्, कलाकारको जुत्ता सफा गर्ने ।

कलाकारलाई पानी दिने, रिफ्लेक्टर समात्नेसम्मको काम गरे । पासिङ सिनहरुमा काम पाए । निर्देशनमा सहायक भएर काम गर्ने मौका पाए । इन्टरनेट चलाउन जानेका हुनाले अभिनयबारे त्यतिबेलैदेखि खोज्न थालेका थिए । टेलिश्रृंखलामा काम गर्दा-गर्दै नवरसबारे सिके । विश्वमा अभिनयको निकै तारिफ हुन्छ, ठूला विश्वविद्यालयमा कलाकार पुगेर मास्टरक्लास पनि दिइरहेका हुन्छन् । यही नवरसकै कामले त्यहाँ पुग्ने हो त ? भन्ने प्रश्न उब्जन्थ्यो । त्यसपछि नै हो महेशलाई फिल्म पढ्नुपर्छ भन्ने भएको ।

अस्कर पढ्न सुरु गरेपछि बल्ल अभिनयबारे गहिरिन पाए । 'प्रस्तुति भनेको जीवन हो, जीवनबाट नै प्रस्तुति हुन्छ । त्यसमा मानवीय पाटा हुन्छन् भन्ने बुझ्न थाले । राम्रो मेन्टरहरु पाएँ । त्यसपछि मलाई लाग्यो अभिनय त विश्वकै ठूलो विषय हो,'महेशले सुनाउँछन्,'त्यतिबेला मैले इन्जिनियरिङ पढिरहेको थिएँ । इन्जिनियरिङ भन्दा गाह्रो लाग्न थाल्यो अभिनय । खोज्ने कुरा त कति मिहिन विषयहरु हुँदा रहेछन् । एउटा मानवीय व्यवहार र मनोविज्ञान बुझ्नुपर्ने । त्यो पात्रको समाज, त्यहाँको सामाजिक राजनैतिक अवस्थाजस्ता मसिना कुराहरुले चरित्रमा असर गर्दो रहेछ । अनि पो चरित्र बन्दो रहेछ भन्ने भयो ।'

अस्करमा दोस्रो वर्ष पढ्दै गर्दा इन्जिनियर बनाउने बुबाआमाको रहर लत्याएकोमा बिरक्तिए । यो २०६९ तिरको कुरा हो । इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक सकेर अभिनयतिर मोडिएका कुराले मन पोल्न थाल्यो । दैनिक रुन थाले । पढाइ फलामको चिउरा चपाएझैं हुन थाल्यो । त्यसै डर लाग्न थाल्यो । घरको जेठो छोरा, महेश । इन्जिनियर सकेर परिवारको जिम्मेवारी सम्हाल्ने बेलामा काठमाडौं हान्निए, कलाकार बन्न । इन्जिनियर छाडेर गल्तीको आभासले रातमा निदाउन सक्थेनन् । कता जाने भनेर अन्योल मात्रै थियो ।

'इलेक्ट्रोनिक्स इन्जिनियरिङमा एउटा विषयमा प्रवेश गरे पुग्थ्यो । तर, अभिनय यस्तो विधा रहेछ कि यसको असीमित छ अध्ययन भन्ने थाहा पाएपछि जटिल बन्न थाल्यो । कन्फ्युजन धेरै हुन थाल्यो,'बिरक्तिदाको क्षण सम्झिन्छन्, 'भित्र कतै पुग्नुपर्छ भन्ने थाहा थियो । तर, कता ? जाने थाहा थिएन ।' त्यतिबेला ८ महिना फकिर जिन्दगी पनि बिताए । त्यसबीच अस्करका प्रिन्सिपल विनोद पौडेलले पढाइ सकिनै बित्तिकै अस्करमा पढाउने प्रस्ताव राखे । पढाउँदै गएपछि अभिनयका आयामहरु वास्तवमै बुझ्ने भए । 'यति वर्ष जति मैले अभिनय पढाएँ । यो थप १० वर्ष खासमा मैले अध्ययन गरेको हो,' उनले भने । अस्करमा पढाएको १/२ वर्षपछि उनलाई लाग्यो,'म पढाउनलाई आएको होइन । कलाकार बन्न हो ।' फेरि मन आत्तिन थाल्यो, एन्जाइटी भयो । त्यही समयमा आएको प्रस्ताव हो, 'हल्कारा' ।

त्यतिबेला निर्माता रामकृष्ण पौडेलले 'हल्कारा'को स्क्रिप्ट पठाए । सोचेका थिए, पढेर प्रतिक्रिया दिन पठाए होलान् । जब स्क्रिप्ट पढिसकेपछि लाग्यो,'यस्तो कथामा अभिनय गर्न पाए' । त्यसपछि फिल्मका लागि अडिसन दिए । खासमा निर्माण टिमले उनलाई नै रामको भूमिकामा रोजिसकेका रहेछन् । 'तीन वर्षको गाह्रो अवस्था । त्यो तीन वर्षमा मैले भित्री रुपमा जे भोगिरहेको थिएँ हल्काराको प्रमुख चरित्र त्यही हो । त्यो चरित्र जन्माउन प्रकृतिले नै मलाई त्यो जटिल अवस्थामा पुर्‍याएको जस्तो लाग्छ अहिले । उनी केही कुरा खोजिरहेका थिए, नभेटिँदाको पीडामा छ त्यो चरित्र,'महेश सुनाउँछन् ।

चरित्र निर्माणमा महेशले गरेको मिहेनत पर्दामा देखिन थालेको छ । हालै, महेश अभिनित 'प्रसाद २' प्रदर्शनमा आयो । फिल्ममा उनी अजयको भूमिकामा देखिएका छन् । उनको अभिनयको धेरैले तारिफ गरे । महेशले यसअघि नै 'चपलीहाइट ३' मा गरेको अभिनयबाट नोटिसमा परेका थिए । फिल्ममा उनी भ्रष्ट इन्सपेक्टरको भूमिकामा देखिएका थिए ।

पर्दामा छोटो भूमिका पाए पनि पात्रलाई जीवन्त प्रस्तुत गरिदिन्छन् महेश । अहिलेसम्म उनी नकारात्मक भूमिकामै देखिएका छन् । ‍'सुरुमा चपली हाइटको त्यो इन्स्पेक्टरको चरित्र नकारात्मक मात्रै लेखिएको थियो । सबै चरित्र नकारात्मक मात्रै हुन्छन् भन्ने होइन नि । ऊभित्र पनि मानवीय संवेदना हुन्छन् । त्यो चरित्रलाई मानवीय लगाएपछि नै मैले फिल्म खेलेँ,'महेश सुनाउँछन्,'फिल्ममा त्यो इन्स्पेक्टर कसरी भ्रष्ट भयो भन्ने कुरालाई पनि देखाएको छ ।'

१५ वर्षको यो अभिनय करिअरमा महेशले 'नोभेम्बर रेन'बाहेक अन्य लघु फिल्महरुमा मात्र काम गरे । अहिले बल्ल उनका कामहरु मूलधारमा देखिँदैछन् । यसबीच महेशलाई फिल्मको अफर नआएको होइन । तर, चित्तबुझ्दो स्क्रिप्ट नआउँदा ती फिल्म खेलेनन् ।

धेरै निर्देशक चकलेटी अनुहार, ज्यान बनाएको हिरो खोज्थे । तर, महेशलाई कहिल्यै स्टेरियोटाइप हिरो बन्ने मन भएन । 'मलाई स्टेरियोटाइप हिरो पनि बन्नु छैन । त्यो भयो भने खुलेर काम गर्न सकिँदैन । कहिले दुब्लाउनु पर्ला, कहिले पातलो हुनुपर्छ । तर, स्टेरिटोइप हिरो भयो भने सीमित भइन्छ,'महेशले भने ।

प्रकाशित : वैशाख २१, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?