सिंहदरबारमा आमा कर्मचारी- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबारमा आमा कर्मचारी

सन्तानसहितका कर्मचारीका समस्याबारे परिवार र कार्यालयका सहकर्मी संवेदनशील नबन्दा काम र गृहस्थी जीवनबीचको तालमेल मिलाउन चुनौतीपूर्ण 
मधु शाही

काठमाडौँ — कार्यालय जानुअघि सरकारी कर्मचारीको पहिरन लगाएर घरबाट निस्कनुअघि अञ्जली रम्तेल एउटा ठूलो झोला बोक्छिन् । बच्चाका डाइपर, लुगा, खानेकुरा र अन्यका लागि आवश्यक सामग्रीसहितको झोला कार्यालय जान उनका लागि सेतो सर्ट र नीलो रङको पोसाक जस्तै अत्यावश्यक भइसकेको छ । कारण, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारस्थित गृह मन्त्रालयमा कार्यरत उनी आफ्नो डेढ वर्षका छोरा काखी च्यापेरै कार्यालय पुग्छिन् । 

हुन त उनी अन्य सहकर्मी जस्तै सरकारी कामकाज गर्छिन् । तर उनको दैनिक भूमिका भने त्यसमा मात्रै सीमित छैन । उनले बोक्ने झोला उनको जिम्मेवारीको पोको हो । जाडो मौसममा घरमै राखेर पनि आफ्ना सन्तानलाई चिसोदेखि जोगाउन मुस्किल परिरहेका बेला बूढानीलकण्ठकी ३२ वर्षीया रम्तेलले बच्चाको स्याहारसँगै जागिरको दोहोरो जिम्मेवारी पूरा गर्दै आएकी छन् । एकल परिवारमा बालबच्चा सम्हाल्दै जागिरे जीवन बिताइरहेकी रम्तेल आमा भएपछि मात्रै मातृत्व दायित्व नजिकबाट अनुभूत गरेकी हुन् ।

स्नातकोत्तर गरेकी उनी बिहेअगावै करिअर बनाउनका लागि निकै संघर्ष गरिन् । एक वर्षको कडा मिहिनेतपछि नायब सुब्बामा नाम निकाल्न सफल भइन् । यसमा सफल भएसँगै उनको अब शाखा अधिकृत बन्ने चाहना छ । तर, अब भने पहिले जस्तो सजिलो छैन । कामको निरन्तरता र गृहस्थी जीवनबीचको तालमेल मिलाउन उनीजस्तै युवापुस्ताका लागि थुप्रै चुनौती थपिएका छन् । पहिलेका आमाबुबाले कामको बाँडफाँट गर्थे । आमाले घर र बच्चा सम्हाले पुग्थ्यो । बाबुले घरबाहिरको काम र आर्थिक जोहो गर्थे । अब भने सामाजिक संरचनामा केही फेरबदल आएको छ । श्रीमान्श्रीमती दुवै आत्मनिर्भर हुन थालेपछि युवतीले तुलनात्मक रूपमा बढी चुनौती खेप्नुपरेको छ ।

अञ्जलीका अनुसार आफैं सक्षम हुने, करियर बनाउने र गृहणीको समेत भूमिका पूरा गर्ने चुनौती त्यति सजिलो कहाँ छ र ? सन्तान नहुँदै पढेर लोक सेवा पास गरेकी थिइन्, त्यो सरलता र सहज वातावरण भने अब उनले पाउन मुस्किल छ । ‘दुई छोराको जिम्मेवारी सम्हाल्ने कि पढ्ने ?’ उनी भन्छिन्, ‘बच्चाहरू निदाएपछि एक/दुई घण्टा मात्र किताब हेर्न पाइन्छ ।’ एउटा छोरा सुत्यो भने अर्को उठ्ने बेला हुन्छ । यति मात्रै नभएर कार्यालयमा आइपर्ने काममा पनि उनी खटिएकै हुन्छिन् । कहिलेकाहीं आमा कर्मचारीको समस्याप्रति कार्यालयका हाकिम र परिवारसमेत संवेदनशील नभइदिँदा कामकाजी युवतीले थप तनाव झेल्नुपरेको उनको अनुभव छ ।

प्रजिना राईको १० महिनाकी छोरी ।

मोरङ घर भएकी ३६ वर्षीया प्रजिना राईको दिनचर्या पनि रम्तेलको जस्तै छ । प्रशासकीय अदालतकी कर्मचारी राई हरेक दिन बालकुमारीबाट आफू कार्यरत कार्यालय सिंहदरबार आउँदा १० महिनाकी छोरी बोकेर ल्याउँछिन् । कहिले माइक्रोबस त कहिले पठाओ चढेर आउँदाका रोचक घटनाहरू उनले भोग्नुपरेको छ । ‘सार्वजनिक बसमा आफू च्यापिएर भए पनि बच्चा जोगाएर ल्याउँछु,’ उनी भन्छिन्, ‘ट्राफिक जाम र भीडभाडले हैरान हुन्छ ।’ उनका दुई छोरी छन् । कलेज पढाउने श्रीमान्ले घरको काममा सहयोग गर्छन् । तर आमा भएकै कारण सन्तानप्रति प्राकृतिक रूपमै बढी जिम्मेवार हुनुपर्छ । ‘दूध खान आमा नै खोज्छन् बच्चाले,’ उनी भन्छिन् । छोरीको स्याहारमा लाग्दा करिअर अघि बढाउन समस्या भएको उनको भोगाइ छ ।

चिकित्सक दीक्षा जोशी भने कामकाजी युवतीको जिम्मेवारी धेरै हुनु स्वाभाविक नै मान्छिन् । इतिहासकालदेखि नै हेर्ने हो भने पनि महिलाहरू ‘मल्टिटास्क’ का लागि सक्षम देखिएका छन् । घरको कामदेखि खेतीपाती र सन्तान हुर्काउने काम प्राचीन समयदेखि नै महिलाहरूले गर्दै आएका डा. जोशीको भनाइ छ । यस हिसाबले आफूले पनि आधुनिक युगमा मल्टिटास्किङको दायित्व निभाएको उनले बताइन् । उनकी ७ वर्षकी छोरी छन् । छोरीको हेरचार सँगै अस्पतालमा बिरामीको उपचार गर्न भ्याउँछिन् उनी । वीर अस्पतालकी मुटु सर्जन ३७ वर्षीया जोशीले कामकाजी महिलाका समस्या सन्तानले समेत पछि महसुस गर्ने गरेको बताइन् । उनकी छोरीले आमा काम गर्छिन् भन्ने थाहा पाएकी छन् । त्यसैले अफिसको काममा छोरीले कहिल्यै बाधा नपुर्‍याएकी उनले सुनाइन् । तर, कहिलेकाहीं छोरी बिरामी हुँदा भने उनलाई समस्या पर्छ ।

राति अस्पताल जाँदा धेरै पटक छोरीले ‘न जानु मलाई छोडेर’ भनेकी छन् । बुबा सँगै हुँदा पनि छोरीले आमा नै खोज्ने हुँदा जोशी भावुक हुन्छिन् । छोरी बिरामी भइन् भने जोशी सकेसम्म अस्पताल बिदा लिन्छिन् । छोरी अलि सानै हुँदा ‘म पनि बिरामी छु, मलाई नै उपचार गर्नु ममी आज अस्पताल नजानु,’ भनेर आँखाभरि आँसु लिएको क्षणले जोशीलाई संवेदनशील बनाएको थियो । उनी भन्छिन्, ‘बच्चा र कामको म्यानेज गर्न त्यति सजिलो कहाँ छ र ?’

उनका अनुसार फेलोसिप, ट्रेनिङ जस्ता व्यावसायिक क्षमता बढाउने क्रियाकलापमा सहभागी हुन बच्चाकै कारण रोकिनुपर्छ । बालमनोविज्ञानमा प्रभाव नपर्ने गरी काम र घर सम्हाल्न पतिपत्नीले एकअर्कालाई सहयोग गर्नुपर्ने उनको बुझाइ छ । उनका श्रीमान् पेसाले इन्जिनियर हुन् । तर आफ्नो व्यावसायिक सफलतामा श्रीमान्को सहयोग नभएको भए सम्भव नहुने उनी बताउँछिन् । ‘श्रीमान्ले सहयोग गरेरै करिअरमा एकाग्रह हुन सकेको छु,’ उनी भन्छिन्, ‘छोरीले पनि आमाको व्यस्तता बुझ्न थालेकाले खुसी छु ।’

कुपन्डोल घर भएकी सौरगंगा दर्शनधारी दम्पती नै कलाकार हुन् । सौरगंगा प्रिन्ट मेकिङ आर्ट बनाउँछिन् । केमिकल र मेसिनद्वारा गरिने सिर्जना भएकाले सौरगंगालाई बच्चा हुर्काउँदै करिअर अघि बढाउन जटिलता छ । उनलाई बच्चा जन्माउनुअघि एउटा चित्र प्रिन्ट गर्न दुई साताभन्दा बढी समय लाग्दैन थियो ।

आफ्ना बच्चासँग सिंहदरबारमा सौरगंगा दर्शनधारी । तस्बिर : इलिट जोशी/कान्तिपुर

अहिले उनले दुई सन्तानलाई हुर्काएकी छन् । तीन वर्षको छोरालाई सम्हाल्दै कलामा रमाएकी छन् । चित्र बनाउनुका साथै सिर्जना कलेज अफ फाइन आर्ट्स र ललितकला क्याम्पसमा पढाउँछिन् । साताको चार दिन उनले कलेजका लागि नै समय दिनुपर्छ । चित्र बनाउनु त छँदै छ । त्यसमा पनि छोराको स्याहारमा उनी खटिएकी हुन्छिन् । ‘चित्र बनाउँदै गर्दा छोराले समेत ब्रस चलाउन खोज्छ,’ उनी भन्छिन्, ‘यस्तो बेला आफूले कामै छोडेर बच्चाको खुसीमा चित्र कोर्न सिकाउन थाल्छु ।’ छोराछोरी भएपछि उनीहरूको खुसी नै प्राथमिकतामा पर्ने उनले बताइन् । ‘कामबाट जब थाकेर घर आउँछु, बच्चाको हाँसो देखेर सबै पीडा भुल्छु,’ उनी भन्छिन्, ‘कामकाजी आमाका दुःख सँगै सुख पनि छन् ।’

बुद्धनगरस्थित रोजबर्ड स्कुलकी शिक्षक हुन्, लोचना अधिकारी । अढाई वर्षका कान्छो छोरा हुर्काउँदै शिक्षक पेसा निरन्तर गर्दै छिन् । भक्तपुरको थिमि घर भएकी उनी छोरा माइतीमा पुर्‍याएर मात्रै स्कुल जान्छिन् । कौशलटारमा उनका आमाबुबा बस्छन् । बिहानै ८ बजेभित्र माइतीमा आमाको काखमा छोरा छोडेर उनी बुद्धनगर स्कुल आइपुग्नुपर्छ । ‘दूध चुसाउन नपाउँदा पीडा हुन्छ,’ उनी भन्छिन्, ‘मन बुझाएरै काम गर्छु ।’ स्कुलमा अरूका छोराछोरी पढाइरहँदा आफ्नै नानी जस्तै माया लाग्छ । पूरै समय सँगै बसेर बच्चा हुर्काउने अवसर कामकाजी आमालाई नमिल्ने उनले सुनाइन् । उनीहरूकै भविष्यका लागि पनि काम गर्न जरुरी रहेको भन्दै मन बुझाउनुको विकल्प नभएको उनले बताइन् । अधिकारीका श्रीमान् पनि शिक्षक हुन् । दुवैले मिलेर बच्चा हुर्काउँदै करिअर धानिरहेका छन् ।

काठमाडौंको शान्तिनगर घर भएकी जिया कर्माचार्य बैंकर हुन् । पढाइ पूरा गरेर जागिर खाएपछि उनले ३६ वर्षको उमेरमा बिहे गरिन् । जसका कारण बिहेलगत्तै सन्तान जन्माउनुपर्ने दबाब पर्‍यो । उनको अहिले ७ महिनाको छोरा छ । चार महिनासम्म सुत्केरी बिदा बसेकी उनले अब छोराको हेरचार गर्ने कि कार्यालय धाउने चुनौती थपिएको छ । श्रीमान्समेत व्यस्त हुने हुँदा एक्लैले जागिर सँगै बच्चा स्याहार्नुपर्छ । ‘बच्चा हेर्ने मान्छे राखेकी छु, तर ढुक्क हुनै सकिन्न,’ उनी भन्छिन् । त्यसमाथि राम्ररी बच्चाको स्याहार गर्ने मान्छे पाउनै गाह्रो छ । ‘छोराका कारण कार्यालयमा समेत राम्ररी काम गर्न सकेकी छैन,’ उनी भन्छिन् ।

कार्यालयबाट थाकेर घर पुग्दा उनका श्रीमान्समेत थाकेर आएका हुन्छन् । यस्तो बेला आफू नै अघि सरेर बच्चाको ख्याल गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । घर र कार्यालयको काम अनि करियरको पनि चिन्ताका कारण तनाव बढ्ने कर्माचार्यले बताइन् ।‘कहिलेकाहीं त तनावले निद्रा नै लाग्दैन,’ उनले भनिन् । तनाव व्यवस्थापनका लागि चिकित्सकसँग परामर्शसमेत लिन थालेकी छन् उनले । कामकाजी आमाका चुनौती सहज बनाउन परिवारका सदस्यदेखि कार्यरत संस्था संवेदनशील हुनुपर्ने उनको बुझाइ छ । ‘घरमा परिवारले अनि कार्यालयमा हाकिमले बुझिदिनुभयो भने जीविकोपार्जन गर्न सहज हुन्छ ।’

प्रकाशित : पुस २९, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

अझै पनि बालीघरे बोझ

आयआर्जनको दरिलो विकल्प नपाउँदा शिक्षा, स्वास्थ्यमा पछि परेका दलित समुदाय अझै पनि बालीघरे प्रथा धान्दै
मधु शाही

काठमाडौँ — आगोको रापसँग खेल्नु ललितपुर गोदावरी–१० का साधुराम विश्वकर्माको दैनिकी हो । विष्टबराजु (नियमित ग्राहक) को काममा थोरै पनि ढिलासुस्ती नगरी उनी बिहानैदेखि जुटिहाल्छन् । बुधबार उनको आरनमा पुग्दा फलामका औजार बनाउन उनलाई भ्याइनभ्याई थियो ।

‘विष्टबराजुको काममा ढिला गर्नु हुँदैन भनेर बाउबाजेदेखि सिक्दै आएको छु,’ पुर्खौली हातेपंखा चलाउँदै फलाम तताइरहेका साधुराम भन्छन्, ‘काम छिट्टै सक्छु, समयमै बुझाउँछु ।’

उमेरले सात दशक पार गरेका उनी विष्टको सेवामा जति समर्पित छन्, उति परिश्रमको मूल्य पाउँदैनन् । वर्षभरि काम गरेबापत उनले पैसा होइन, एकपाथी अन्नबालीमा चित्त बुझाउनुपर्छ । त्यो पनि विष्ट बराजुले मनपरि हिसाबले दिन्छन् । बाउबाजेको पालामा जे जति अन्न दिइन्थ्यो, अहिलेसम्म त्यही चलन रहेको उनले सुनाए । भन्छन्, ‘उहिले पनि एकपाथी धान दिन्थे अहिले त बरु घट्दै गएको छ ।’

दलित समुदायले परम्परादेखि विष्टबराजु बनाएर सेवा गरेबापत अन्नबाली दिइने चलनलाई बालीघरे प्रथा भनिन्छ । परम्पराको नाममा निरन्तरता पाइरहेको बालीघरे प्रथा आधुनिक समयसम्म आइपुग्दा निर्मूल हुन सकेको छैन । दलित समुदायभित्रका विश्वकर्माहरूले परम्परागत कामका रूपमा हँसिया, कोदालो, कुटी, खरुवालगायत फलामका औजार बनाउँछन् भने परियारहरूले लुगा सिलाउने गर्छन् ।

साधुरामको तीन पुस्ता बालीघरेमै भर परिरहेको छ । महँगीले आकाश छुन लागे पनि श्रमको मूल्य बढ्न सकेको छैन । उनका ३० वर्षे छोरा पनि आरन चलाउँछन् । गाउँमा बेरोजगार हुनुभन्दा बाबुले गर्दै आएको काममा लाग्दा खाली बस्नु नपरेको उनको भनाइ छ । तर मेहनतअनुसारको मूल्य नपाउँदा उनको जाँगर मर्दै गएको छ । ‘दुःख धेरै गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्नको सट्टा पैसा माग्दा धेरैले आनकानी गर्छन् । कसैले त त्यही अन्न पनि दिँदैनन् ।’ वर्षभरि काम गरेर एक घरबाट १५ सय पनि नआउने उनले गुनासो गरे । सादुरामका पुर्खौली विष्टबराजु ३० देखि ३५ जना छन् । ‘सबैले वर्षमा अन्नको सट्टा १५ सय रुपैयाँ दिए भने पनि ५० हजार हुने रहेछ,’ साधुरामकी पत्नी कालु भन्छिन्, ‘अन्न लिएर वर्षभरि खान पुग्दैन, नुनतेल जुटाउन पनि गाह्रो पर्छ ।’

उनीहरूको आयआर्जनको स्रोत नै परम्परागत सीप हो । आरन चलाएरै परिवार पाल्नुपर्ने बालीघरे प्रथा हट्न नसकेको वडा सदस्य सुजाता विकले बताइन् । गोदावरी–१० कै ४५ वर्षीया सुनिता परियारको परिवार पनि यही प्रथामा धानिएको छ । उनी विष्टका लुगाफाटा सिलाउने गर्छिन् । ६ महिना, वर्ष दिन कुरेर अन्न थाप्न जानुपर्छ । ‘त्यही अन्नबाली पनि राम्रो परे त हुन्थ्यो नि,’ सुनिता भन्छिन्, ‘कुहिएका मकै दिएर पठाउँछन् । मन रुवाउँदै घर फर्किन्छु ।’

उनकै छिमेकी मदन परियारले पुर्खादेखि सिलाइ गर्दै आए । पढाइ छैन, विदेश जान लगानी चाहिन्छ । गाउँमै बसेर जीविकोपार्जन गर्न प्रशस्त जमिन छैन । ‘बालीघरे काम नगरे अरू उपाय छैन, काम गर्दा पनि सम्मानजनक व्यवहार नपाउँदा झनै दुःख लाग्छ,’ उनले भने, ‘पैसा दिँदैनन्, अन्न लिँन जाँदा हेपेर दिन्छन् ।’

बाँकेको राप्तीसोनारी–९ खैरी गाउँका घनश्याम विकको परिवारले पुर्ख्यौली आरन चलाउँदै आएको छ । बालीघरे कामले गुजारा नभएपछि ३२ वर्षीय घनश्याम रोजगारीका लागि काठमाडौं आए । घर बनाउने काम गर्दागर्दै महँगीले उनी आत्तिए, फेरि फर्किएर गाउँमै आरन चलाउन थाले । महँगी बढे पनि उनका विष्टबराजुले दिने अन्नबालीको मात्रा बढेको छैन । पछिल्लो समय उनले परिश्रमको मूल्य पैसामा दिन अनुरोध पनि गरे । तर, धेरै अन्नबालीमै चित्त बुझाऊ भन्दै जवाफ दिने गरेका छन् । ‘कसैले त पैसा दिइहाल्छन्, कोही चाहिँ परम्परा हो अन्न नै लैजाऊ भन्छन्,’ घनश्यामले भने ।

पाल्पाको रैनादेवी छहरा–६ खड्कबहादुर विकले चार जना छोराछोरी बालीघरे गर्दागर्दै हुर्काए । उनले अहिले पनि तीन पुस्ता पुरानो आरन चलाइरहेका छन् । ‘विष्टको सोखमा हाम्रो ज्याला अडिएको छ । मन खुसी भए दिइहाल्छन् नभए रित्तै पठाउँछन्,’ उनले भने, ‘भोकै बस्नुभन्दा थोरैमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।’

०००

बालीघरे प्रथाले दलित समुदायको श्रम र सीपको शोषण गरेको भन्दै विगतमा दलित आन्दोलन पनि भए । १९९७ सालमा दलित अधिकारकर्मी भगत सर्वजित विश्वकर्माको नेतृत्वमा बालीघरे प्रथाविरोधी आन्दोलन भएको इतिहास छ । परम्परागत बालीघरे प्रथाले उत्पीडित भएका दलित समुदायमाथि श्रम शोषण भएको र आर्थिक विकासमा दमन भएको भन्दै आन्दोलन चर्किएको थियो । विश्वकर्माले आरनको टुँडो भाँचेर, परियारले लुगा सिलाउने कल बन्द गरेर, सार्की समुदायले छालाको काम बन्द गरेर विरोध गर्ने घोषणा गरेका थिए ।

कुनै स्थानीय तहले बालीघरे प्रथा अन्त्य गर्न आधुनिक सीप सिकाउने तालिमको पनि व्यवस्था गरे । अर्घाखाँचीको मालारानी–५ वडामा गएको आर्थिक वर्ष १० जनालाई सुधारिएको आरन व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो । दलित समुदायले खुसीले सहभागी भए तर, त्यसको नजितमा भने परिवर्तन नआएको वडासदस्य विष्णु सुनार बताउँछिन् । बालीघरे काम सीप र क्षमतासँगै विभेदकारी सोचसँग जोडिएकाले अन्त्य गर्न कठिन भएको उनको बुझाइ छ । ‘तालिम पाएर राम्रै काम गरे पनि विष्टहरूले परम्परा हो भन्दै अन्नबाली नै दिन्छन्,’ उनले भनिन्, ‘परम्परा तोड्न चुनौती छ ।’

०००

चार वर्षअघि बागलुङको काठेखोला गाउँपालिकाले बालीघरे प्रथा अन्त्य गर्ने अभियान थालेको थियो । तत्कालीन वडा सदस्य सुन्तली विकको अध्यक्षतामा ‘बालीघरे प्रथाविरुद्ध साझा अभियान’ चलेको हो । घरदैलोमा पुगेर दलित समुदायलाई आर्थिक व्यवसाय गर्न सुझाव दिइएको थियो । अभियानपछि गाउँपालिकामा ७० प्रतिशत दलितले बालीघरे प्रथालाई रूपान्तरण गरेर आर्थिक व्यवसाय अपनाउन थालेको काठेखोला–३ का वडाध्यक्ष कुलबहादुर विकले बताए । उनका अनुसार बालीघरेसँगै हलिया प्रथा गाउँमा अझै कायम छ । यसलाई हटाउने थप योजना बनाउन लागिएको उनले बताए । ‘दलितले नै पैसा विना काम नगर्ने भन्ने सिकाएपछि प्रथा हट्न थालेको छ,’ उनले भने, ‘बिस्तारै पुरै हटाउँछौं ।’

नेपालगन्जमा २०६२/६३ तिर अधिकारकर्मी ५८ वर्षे रेशम परियारको नेतृत्वमा बालीघरे र खली प्रथाविरुद्ध अभियान थालिएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा दुई वर्षसम्म लगातार प्रथा विरोधी अभियानका गतिविधि गरिएको रेशमको भनाइ छ । एउटा पाइन्ट सिलाएको वर्षभरि एक पाथी धान दिन्थे । पछि लुगा सिलाएको ज्याला उचित रकममा लिन थालेपछि दलित समुदायको आर्थिक अवस्थामा सुधार आएको रेशमको अनुभव छ । उनी भन्छन्, ‘परियार समुदायमा बालीघरे प्रथा निकै कम भइसकेको छ, यद्यपि सुदूरपश्चिमतिर बाँकी छ ।’

अनुसन्धानकर्ता सीताकुमारी विश्वकर्माले ‘बालीघरे प्रथा र दलित समुदायमा पारेको प्रभाव’ विषयमा शोध गरेकी छन् । सामाजिक समावेशीकरण अनुसन्धान कोषको लागि प्रस्तुत गरिएको प्रतिवेदनमा बागलुङ जिल्लाका तीन बस्तीका दलित समुदायको पेसागत अवस्था पारे नमुना अध्ययन गरिएको छ । जसमा ५८ घर दलित समुदायको घरधुरीमध्ये ४७ प्रतिशत दलित समुदाय बालीघरे पेसामा आबद्ध भएको तथ्यांक छ । ७७ प्रतिशत फलामको काम गर्छन् भने २३ प्रतिशत कपडा सिलाउने तथा बाजा बजाउने गर्छन् । बालीघरे प्रथा अपनाउँदै आएकामध्ये ८०.७० प्रतिशतले आर्थिक आय राम्रो नभएको बताएका छन् । प्रतिवेदनमा दलितहरूले बालीघरे पेसा गरेबापत वार्षिक प्रतिघर ४ देखि १० पाथी मकै, १ देखि ५ माना फापर पाउने गरेका छन् । जसअनुसार बालीघरे पेसा अपनाउने दलितको औसत परिवार संख्या ५ जना छन् । उनीहरूलाई ३ महिनासम्म पनि खान नपुग्ने अवस्था अनुसन्धानले देखाएको छ ।

बालीघरे प्रथा हटाउन विभिन्न समयमा दलित समुदायले आफ्नै शैलीले विरोध गरिआए पनि राज्यस्तरबाट केही भएको छैन । अधिकारकर्मी जेबी विश्वकर्माका अनुसार दलित समुदायलाई पृथ्वीनारायण शाहको पालादेखि नै श्रमको आधारमा दास प्रथा कायम गर्ने परम्परा बसेको थियो । सीपको आर्थिक रूपान्तरण गराउँदा दलितको पुँजीमाथि अधिकार हुन्छ भन्ने मान्यता थियो । पुँजीले अधिकार र प्रश्न गर्ने हिम्मत जुटाउछ । जसले गर्दा दासत्व कम हुँदै जाने डरले शासकले दलितको श्रमको नियन्त्रण गर्न खोजिएको उनको मत छ ।

‘अहिलेसम्म पनि जीवित कुप्रथा हुनुको कारण दमित दास मनोभावको संकेत हो,’ उनी भन्छन् । संविधानले सबै प्रकारका विभेद र शोषण हटाउनुपर्छ भनिरहँदा बालीघरे दास प्रथा पनि एउटा मुल मुद्दा पर्छ । तर, यसको मुख्य जिम्मेवारी जनप्रतिनिधिको हुने विश्वकर्माको बुझाइ छ । आधुनिक सीपको विकास गर्ने, आयआर्जनको वैकल्पिक बाटो देखाउने र जागृत गराउन सके बालीघरे प्रथाको अन्त्य हुने उनको भनाइ छ ।

प्रकाशित : पुस ३, २०७९ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×