कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा मिस नेपालको ताज

अनिश भट्टराई

पोखरा — पोखरामा मिस नेपालको ताज प्रदर्शन गरिएको छ । आयोजक द हिडन ट्रेजरले पहिलो पटक काठमाडौंबाहिर अडिसन गर्ने तयारीमाझ मिस नेपालको ताजलाई पोखरा ल्याएको हो ।

पोखरामा मिस नेपालको ताज

पोखरा अडिसन बुधबार गरिने आयोजकले जनाएको छ । अडिसनअघि आयोजकले सोमबार पोखरामा अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा मिस नेपाल प्रतियोगिता, प्रतियोगिताका नियम, प्रतियोगिताका चरणहरुबारे जानकारी गराइने बताइएको छ । हिडन ट्रेजरले पोखराबाहेक नेपालगञ्ज, सुर्खेत र धनगढीमा पनि अडिसन गर्ने तालिका छ । वीरगन्जइटहरीमा भने यसअघि नै अडिसनबाट भइसकेको छ ।

‘प्रतियोगिता साँघुरो भएको, काठमाडौंमा मात्रै केन्द्रित भयो भन्ने आरोप लाग्ने गरेको छ । यसकारण क्षेत्रीय अडिसन गर्न लागेका हौं,’ हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले भने । अडिसनपछि मिस नेपालका दुई प्रमुख विधाका फाइनल पोखरामै गर्ने पनि आयोजकको भनाइ छ । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार वैशाख १५ गते पोखरामा दुई विधाका फाइनल गराइनेछ । ‘२४ जना प्रतिस्पर्धीलाई पोखरा ल्याएर फाइनल गराउने सोच छ । योसँगै हामी पहिलो पटक काठमाडौंबाहिर मिस नेपालको इभेन्ट गर्नेछौं,’ कंसाकारले भने ।

हिडन ट्रेजरले मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिसकेको छ । चैत १ सम्म आवेदन खुला रहने बताइएको छ । मिस नेपालमा भाग लिन १८ वर्षदेखि २७ वर्षसम्मका युवतीले आवेदन दिन सक्छन् । यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी ३ वटा मुख्य विधा राखिएको आयोजकले जानकारी दिएको छ ।

मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा गरिने तय छ । २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड भएकी थिइन् भने सरिशा श्रेष्ठ मिस अर्थ र न्यान्सी खड्का मिस इन्टरनेशनल २०२२ जित्न सफल भएकी थिइन् ।

प्रकाशित : फाल्गुन ८, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?