कोरियाका नेपालीले मनाए बुद्धजयन्ती

गोकुल थोकर

सोल — दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा मध्याह्न १२ बजेदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारासहित सहर परिक्रमा गरिएको थियो ।

‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन । यस्ता कार्यक्रमले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ,’ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले भने ।

नेपाली राजदूतावास, नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगीत साधना समूह मिलेर कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रम सहभागी भएका शिव शंकर थारु चौधरीले कोरियाको ठाउँमा भएको कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए ।

‘आज बिहान पनि पानी परेको थियो । कोरियालीहरुले बुद्धका बारेमा सुनेका छन् । यसरी सार्वजनिक रुपमा कार्यक्रम गर्दा उनीहरुमा पनि चासो बढ्ने रहेछ । हामी सहर परिक्रमा गर्दा पनि धेरै कोरियालीले साचोपूर्वक हेरेका थिए,’ उनले भने ।

कोरियालीहरुले भने नेपालको बुद्धजयन्ती भन्दा पछि मे महिनाको २७ तारिखमा मनाउँदैछन् । बुद्ध जन्मिएको दिन अर्थात् ‘बुछनीम ओसिननाल’ भनिने कोरियामा सार्वजनिक बिदा दिनुको साथै यहाँ रहेका गुम्बा चैत्यमा पूजा गर्ने चलन छ ।

सन् २०१५ गरिएको जनगणना अनुसार ७६ लाख कोरियालीहरु बौद्ध धर्म मान्ने गर्छन् । कोरियाको राजधानी सोलमा वर्षेनि ५ लाखभन्दा बढी मानिसहरु सहभागी भएर ‘लोटस ल्यान्टर्न फेस्टिभल’ मनाउने गर्छन् । सो फेस्टिभलमा १ लाख भन्दा बढी लालटिनहरु बाल्ने गरिन्छ ।

विश्वका ३० भन्दा बढी देशका बौद्ध धर्मालम्बीहरु सहभागी हुने यो फेस्टिभल संसारका ठूला बौद्ध धार्मिक महोसत्वमा पर्छ भने युनेस्कोले ईन्टेन्जीवल कल्चरल हेरिटेजको लिस्टमा समावेश गरेको छ ।

प्रकाशित : वैशाख २४, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियामा हात्तीले घर भत्कायो

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका-३ भगरैयास्थित खाता जैवीक मार्ग आसपासमा हात्तीले पक्की घरसहित केही भौतिक संरचना भत्काएको छ ।

स्थानीय सनत शाहको घरमा हात्तीले आक्रमण गरी भत्काएको खाता रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । शनिबार घरमा कोही नभएका बेला आक्रमण गरेकाले मानवीय क्षति नभएको पीडितले बताएका छन् ।

शाहको घरसँगै जोडिएको सशस्त्र प्रहरी बलले हवाई फायर गरेपछि हात्ती भागेको शाहले बताए । तीन दिन अघि मधुवन—३ कोठीयाघाटस्थित शिव मन्दिरको हातामा रहेको आश्रम पनि हात्तीले धक्का दिएर भत्काएको छ ।

'पोथी हात्ती निकै आक्रामक बनेको छ,’ सहायक वन अधिकृत चौधरीले भने, ‘केही दिनअघि कोठीयाघाट स्थित प्रहरी चौकीबाट हात्ती धपाउन खटिएका प्रहरीलाई समेत लखटेको छ ।'

स्थानीय अधिकारीहरूका अनुसार भारतीय सीमासँग जोडिएको कतरनीयाघाट वन्यजन्तु आरक्षबाट आउजाउ गर्ने हात्तीले जैवीक मार्गमा आतंक फैलाएको छ ।

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ सेनाको कच्ची पोस्ट पनि हात्तीले भत्काएको प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले बताए । हात्तीले विगतमा जस्तो मानवीय क्षति नपुर्‍याए पनि केही दिनयता उपद्रव मञ्चाएको उनले बताए ।

हात्ती धपाउन राखिएको साइरन पनि राति नबज्ने गर्दा हात्ती समुदायमा प्रवेश गरेको आफूहरूलाई जानकारी नहुने स्थानीयहरू बताउँछन् । गर्मीयाम सुरु भएयता बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाटबाट जैवीकमार्ग हुँदै वन्यजन्तुहरू हुलका हुल आउजाउ गर्ने गरेका छन् । बर्दिया निकुञ्जमा १ सय २० वटा हात्ती रहेको अनुमान रहेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जनाए ।

प्रकाशित : वैशाख २४, २०८० १५:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×