कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मध्य भोटेकोशीको सुरुङबाट चुहियो पानी

काठमाडौँ — चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप २०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा ढिलाइले सुरुको लागत १२ अर्ब २८ बाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले यस अवधिमा ब्याज मात्र ५ अर्ब तिरिसकेको छ ।

मध्य भोटेकोशीको सुरुङबाट चुहियो पानी

लामो प्रयासपछि निर्माण सकेर विद्युत् उत्पादनका लागि ‘वेट टेस्टिङ’ का क्रममा सुरुङ फुटेर पानी चुहिएपछि आयोजनाको संरचनाको निर्माण नै गुणस्तरहीन कि डिजाइनमै कमजोरी हो भन्ने प्रश्न उठेको छ । विद्युत् प्राधिकरणले बाह्रबिसे नगरपालिकामा सबस्टेसन निर्माण सुरु गरेको सात वर्ष बिते पनि पूरा हुने सम्भावना देखिएको छैन । स्थानीयले ट्रान्समिसन लाइन तान्न अवरोध गरेको ९ महिना बिते पनि समाधान हुन सकेको छैन ।

विद्युत् उत्पादन हुनुको साटो आयोजनामाथि नयाँ नयाँ समस्या थपिँदै गएका छन् । दिनको ४० देखि ५० लाख अर्थात् मासिक झन्डै १५ करोड ब्याज मात्र तिरिरहेको आयोजनाको समस्या समाधान गर्ने भरपर्दो प्रयास भएको छैन । समस्यै समस्याले घेरिएको आयोजनाको विद्युत् उत्पादनको समय अनिश्चित बन्दै गएको छ ।

सुरुङमा पानी चुहिएका कारण काम रोकिएको डेढ महिना बिते पनि निर्माण कार्यमा संलग्न चिनियाँ ठेकेदारले अब गर्ने कामको प्रस्ताव तयार गरिसकेको छैन । सुरुङ फुटेर पानी जमिनबाहिर निस्केको घटनाले विगतमा उठ्दै आएको गुणस्तरको प्रश्न ब्युँतिएको मात्र छैन, कतै डिजाइनमा समेत कमजोरी थियो कि भन्ने बहस सुरु भएको छ ।

सुरुङ निर्माण गर्दागर्दै ०७७ मंसिरमा आयोजनाका प्राविधिक कर्मचारी र ठेकेदाबीचको मिलेमतोमा कामको गुणस्तर घटाउने सर्तमा २ करोड घूस प्रस्तावको अडियो टेप सार्वजनिक भएको थियो । आयोजनाको पुरानै नेतृत्वले कमजोरी गर्‍यो कि अहिलेको व्यवस्थापनले भन्ने प्रश्न पनि उठेको छ ।

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गरेर निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीलाई अगाडि बढ्ने प्रस्ताव तयार गर्न निर्देशन दिएको जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए । ‘समस्या पहिचानका लागि नै वेट टेस्टिङ गरिएको हो,’ उनले भने । समस्या यकिन गरेर काम सुरु गरेपछि बढीमा दुई–तीन महिनामा काम सकिने शिवाकोटीले जनाए ।

आयोजनाका प्राविधिकहरूका अनुसार ७ किमि सुरुङमध्ये ४ देखि ५ किमि क्षेत्रको स्थानीय बोर्डरल्यान्ड नजिकैको भूभागबाट पानी बाहिर निस्केको हो । उक्त स्थानमा आयोजना बनाउनुअघि ढुंगा निकाल्ने खानी रहेको स्थानीयको भनाइ छ । सुरुङको झन्डै ८ सयदेखि ९ सय मिटर क्षेत्रमा पानी निस्केको छ ।

गत पुस अन्तिम साता ‘वेट टेस्टिङका क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिन सुरु गरेको हो ।

सुरुङभित्र विशेष प्रकारको प्लास्टर मात्र गर्ने कि ढलान (तल्लो तहको बेड–लाइनिङ) गर्ने यकिन नभएको एक प्राविधिक बताउँछन् । चुहिएको स्थानबाट सुरुङको अहिलेको स्थान छल्न सकिने अवस्था भए पनि लापरबाही गरिएको स्रोतको भनाइ छ । परामर्शदाता र आयोजनाका प्राविधिकको लापरबाहीका कारण सुरुङको सुपरभिजनमा कमजोरी भएको स्रोतको दाबी छ ।

आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोका प्रतिनिधि गोविन्द पौडेलले तत्कालीन सीईओ मणिकुमार काफ्लेलाई आफूले भनेअनुसार काम गरे २ करोडसम्म घुस दिने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । स्थानीय सरोकार समितिले आयोजना प्रमुख सुनिल लामाको उपस्थितिमा ०७७ मंसिरमा आयोजना स्थल बाह्रबिसेमा अडियो सार्वजनिक गरेको थियो । मुख्यतः आयोजना निर्माणका क्रममा सञ्चालक, परामर्शदाता र ठेकेदार कम्पनी संलग्न हुन्छन् ।

प्रकाशित : चैत्र ३०, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?