कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा 

नेपालमा दर्ता गरेर सञ्चालन गर्दै आएको पूर्ण रुपमा विदेशी लगानी रहेको कम्पनीले सफ्टवेयर उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएको देखिन्छ ।
ऋषिराम पौड्याल

काठमाडौँ — राजस्व अनुसन्धान विभागले सेयर स्वामित्व हस्तान्तरणका क्रममा लाभकर र मुल्य अभिबृद्धि कर(भ्याट) नतिरेर कर छली गरेको अभियोगमा अमेरिकी लगानी रहेको कोटीभीटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २० हजार माग दाबीसहितको मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ ।

कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा 

अमेरिकामा रहेको कम्पनीले नेपालमा स्वास्थ्यसम्बन्धी सफ्टवेयरको काम सिलसिलामा नयाँ-नयाँ कम्पनी खोल्दै सेयर हस्तान्तरण गर्दै आएको सूचनाका आधारमा गरिएको अनुसन्धानबाट कर छलीको प्रमाण भेटिएको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार ५ अर्ब १८ करोड कर छली बिगो र सतप्रतिशत जरिवाना कायम गरी आइतबार उच्च अदालतमा मुद्दा दायर भएको हो ।

ढुंगानाका अनुसार काठमाडौंमा स्टाफको रुपमा ६२० जना भन्दा नेपाली इन्जिनियरसहित स्टाफहरु राखेर उक्त कम्पनी सञ्चालन गर्दै आएको भेटिएको छ ।

उक्त सफ्टवेयर निर्माण गरेर अमेरिका पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । कम्पनीले विशेषतः स्वास्थ्यसँग सम्बन्धित विश्लेषण गरेको देखिन्छ । उसले कर छलीको नियत राखेर मूल कम्पनीबाट विभिन्न कम्पनीमा सेयर हस्तान्तरण गर्दै आएको भेटिएको छ ।

विभागले कर छलीको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि अनुरोध गरेको छ । कम्पनीले बस्तु निर्यात वापत भ्याट ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार र लाभ कर ४१ करोड ६४ लाख १७ हजार तिर्नुपर्ने देखिएको छ ।

स्वामित्व परिवर्तन हुँदा सबै कर छली गरेको देखिएको छ । सेयर स्वामित्व हस्तान्तरण हुँदा कम्पनी रजिष्ट्रारको कार्यालयले पनि कर तिरे/नतिरेको सोधपुछ नगरेको विभागले जानकारी दिएको छ ।

‘सेयर स्वामित्व परिर्वतन हुँदा कानुनअनुसारको कर तिरेको/नतिरेको सोध्ने जिम्मेवारी कम्पनी रजिष्ट्रार कार्यालयको हो, ‘अनुसन्धान अधिकृत केदार कोइरालाले भने, 'सेयर अपडेट गर्दा सोधिने यो सामान्य प्रक्रियाको पनि पालना गरेको रेकर्ड कतै देखिएन ।’ २०६१ सालदेखि नेपालमा एक जना कम्पनी सचिव नियुक्ति गरेर राखेपनि उनको औपचारिक हस्ताक्षर कतै नभेटिएको कोइरालाले जानकारी दिए ।

विभागले कम्पनी सचिवलाई पनि बयान लिएको थियो । नेपालमा दर्ता गरेर सञ्चालन गर्दै आएको पूर्ण रुपमा विदेशी लगानी रहेको कम्पनीले सफ्टवेयर अमेरिकामा निर्यात गर्दै आएको देखिन्छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले प्यान नम्बर ३०१६१६१९२ रहेको उक्त कम्पनी सेयर आर्थिक वर्ष २०७२/२०७३ मा १७ लाख ५ हजार २०२ कित्ता रहेको जानकारी दिए ।

उनकाअनुसार उक्त सेयर बेलाबेलामा विभिन्न कम्पनी खोलेर स्वामित्व हस्तान्तरण गर्दै आएको देखिन्छ । सेयरधनी दर्ता किताबअनुसार अहिले उक्त सबै सेयरको स्वामित्व कोटिभिटी कम्पनीको एकल नाममा कायम रहेको देखिन्छ ।

मुद्दामा विभागले कम्पनीका प्रतिनिधिको रुपमा काम गरिरहेका डा. एमाद रिजेक, केरी एस्किन, मिटर क्यास्पो, अपर्णा कथुर र ब्रेट मगुनलाई पनि विपक्षी बनाएको छ ।

दुई वर्षदेखि लगातार गरेको अनुसन्धानबाट कारोबार देखिएको कोटिभीटी नेपाल प्रालि कम्पनी बन्द गर्ने तयारी गरिरहेका बेला मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरेकाले अब कम्पनी बन्द गर्न नमिल्ने सूचना अधिकारी नवराजले बताए ।

प्रकाशित : चैत्र १९, २०८० १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?